विपिन जोशीको रिहाइका लागि पहल गर्न कतारी अमिरलाई प्रधानमन्त्रीको आग्रह

वैशाख १२, २०८१

कान्तिपुर संवाददाता

Prime Minister's request to the Qatari Emir to take initiative for the release of Bipin Joshi

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले इजरायलमा हमासको आक्रमणमा परी बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि पहल गरिदिन कतारी अमिरसँग आग्रह गरेका छन् ।

नेपालको राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिल हमाद अल थानीसँग बुधबार भएको ‘द्विपक्षीय वार्ता’ का क्रममा प्रधानमन्त्री दाहालले जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन् । 

'आफ्नो शैक्षिक इन्टर्नसिपका लागि इजरायलमा रहेका निर्दोष नेपाली विद्यार्थी विपिन जोशी अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणपश्चात् बेपत्ता छन् र उनको अवस्था हालसम्म पनि थाहा हुन सकेको छैन,' प्रधानमन्त्री दाहालले  कतारी अमिरसँगको भेटमा भने, 'म उनको शीघ्र तथा सुरक्षित रिहाइको सहजीकरणका लागि कतार सरकारसमक्ष पुनः अनुरोध गर्न चाहन्छु ।'

प्रधानमन्त्री दाहालले थप भने, 'यस विषयमा महामहिमको व्यक्तिगत ध्यानाकर्षणका लागि अनुरोध गर्दछु ।'  यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले पनि कतारी अमिरसँग जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गरेका थिए ।  

कान्तिपुर

Link copied successfully