चिनियाँ निर्माण कम्पनीले नेपाली प्राविधिकको सुझाव अटेर गर्दा सुरुवातमै अल्झो
पाल्पा — सिद्धार्थ राजमार्गको तानसेन–बुटवल खण्डअन्तर्गत सिद्धबाबामा सुरुङमार्ग निर्माणको ठेक्का लिएको चिनियाँ निर्माण कम्पनीले नेपाली प्राविधिकको सुझाव अटेर गर्दा सुरुवातमै पहिरोको समस्या झेल्नुपरेको छ ।
साउन पहिलो साता सिद्धबाबा मन्दिरको दक्षिणतर्फ सुरुङ प्रवेश बिन्दु र दोस्रो साता उत्तरतर्फ हेडवर्क्स रहेको रामापिथेकस पार्कतर्फको सुरुङ प्रवेश बिन्दुमा पहिरोले क्षति पुर्याएको हो ।
ठेकेदार कम्पनीलाई कमजोर भूगोल भएकाले जोखिम हुने हुँदा बर्खाको समयमा काम नगर्न सुझाउँदा पनि नमानेको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालय प्रमुख रामपुकार जयसवालले बताए । सुरुङमार्ग निर्माणका लागि प्रारम्भिक काम अघि बढेको अवस्थामा दुवैतर्फ पहिरो खसेको हो । निर्माण कम्पनीले सुरुङमार्ग प्रवेश बिन्दुको दक्षिण र उत्तर ‘रिब’ को एङकरिङ (सुरुङको प्रवेश बिन्दु सुरक्षित गर्ने) राखेर काम सुरु गरेको थियो ।
सडक विभाग, निर्माण कम्पनी र स्विस कन्सल्ट्यान्टबीच विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मूल्यांकन भइरहेकै अवस्थामा काम सुरु गरेको आयोजनाले जनाएको छ । आयोजनाको पूरै डीपीआरै स्वीकृत हुन बाँकी छ । दुवै प्रवेश बिन्दुमा साइट क्लियरेन्स, गुणस्तर मापनका लागि ल्याब स्थापना, क्रसर प्लान्टलगायत तयारीका काम गत फागुन दोस्रो सातादेखि भइरहेका छन् ।
ठेकेदारले टनेल खन्नुअघि प्रोटेक्सनको काम सुरु गरेको थियो । अहिले भएका सबै काम अस्थायी प्रकृतिका हुन् । सुरुङ खन्नुअघि प्रोटेक्सन गरेर माथिल्लो भागमा सुरक्षित बनाउन बाँकी थियो । माथिल्लो भागमा गर्नुपर्ने काम नसक्दा पहिरो खसेर क्षति पुगेको हो । ‘अहिले गरेका सबै सुरुङ खन्नुअघि गर्नुपर्ने अस्थायी काम हुन्,’ सडक विभाग, गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर (सीडीई) दीप बाराहीले भने, ‘निर्माण व्यवसायीलाई सोझै काम नगर भन्दा म्याद थप र हर्जाना दाबी बेहोर्नुपर्छ । वर्षायाममा काम गर्दा जोखिम हुन्छ भनेको हो ।’ कार्यालयले पटकपटक फोन र पत्रबाट सुरक्षाका सम्पूर्ण विधि अपनाएर काम गर्न सुझाव दिएको उनले जनाए ।
प्राथमिकताका आधारमा काम गर्न दुवैतर्फको पोर्टलको डीपीआर स्वीकृत भएको आयोजनाको दाबी छ । पूरै डीपीआर स्विस, सडक विभाग र निर्माण कम्पनी बसेर अझै मूल्यांकनको काम भइरहेको सडक विभागले जनाएको छ । ‘सुरुङमार्गको भेन्टिलेसन, बत्ती जडान, टनेल खन्ने, प्रोटेक्सनको काम स्वीकृतिको तयारीमा छ,’ सीडीई बाराहीले भने, ‘स्विसले सिभिल वर्कको मूल्यांकन करिब सकेको छ । सडक विभाग र निर्माण कम्पनीबाट मूल्यांकनको काम भइरहेकाले कतिपय काम ढिला भएका हुन् ।’
निर्माण व्यवसायीले दुवैतर्फबाट डाइभर्सनको काम र स्लोब कटिङ सकेर ‘रिब’ को काम अघि बढाएको थियो । स्विस कन्सल्ट्यान्ट स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कर्पोरेसन (एसडीसी) ले यस क्षेत्रको भौगर्भिक अध्ययनपछि डीपीआर तयार गरेको हो । सोहीअनुसार नेपाल सरकारले बजेट सुनिश्चित गरेर ठेक्का लगाएको हो । ग्लोबल टेन्डरबाट भएको ठेक्काअनुसार सिद्धबाबामा सुरुङमार्गको काम ५ वर्षभित्र सक्ने गरी ७ अर्ब ३४ करोड २१ लाखमा ०७८ फागुन २५ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सम्झौता गरेको थियो । ठेकेदारले ५८ करोड पेस्की लिएर प्रारम्भिक काम गरिरहेको सडक विभागका सिनियर डिभिजनल इन्जिनियर बाराहीले बताए ।
सम्झौतामा निर्माण कम्पनीले ९ महिनाभित्र डिजाइन प्रतिवेदन बुझाउने र बाँकी चार वर्ष तीन महिनामा निर्माण सक्ने उल्लेख भएको सडक विभागले जनाएको छ ।
निर्माण व्यवसायीले साइट क्याम्प तिनाउ गाउँपालिका–२ दोभानमा तयार गरेको छ । सरकारको आयोजना कार्यालय भने रूपन्देहीको नयाँ गाउँमा छ । बुटवल चिडियाखोलादेखि ड्यामसाइटसम्मका बिजुलीका पोल सारेर थ्रिफेजको काम सकिएको छ । तिनाउ–३ दोभान बजारदेखि तल्लो सिद्धबाबासम्मको चार किलोमिटर क्षेत्र जोखिमयुक्त छ । यस क्षेत्रमा सुरुङ ११ सय २६ मिटर मात्र बन्नेछ । उत्तरतर्फ रामापिथेकसपार्कबाट सुरु भएर दक्षिणतर्फ पाल्पातर्फको सिद्धबाबा मन्दिर नजिक टुंगिनेछ ।
