नेपालीको औसत आयु नै थोरै भएकाले वृद्धभत्ताको उमेर घटाइएको हो : अर्थमन्त्री

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले नेपालीको औसत आयु नै थोरै भएकाले सामाजिक सुरक्षा भत्ता दिने उमेर कम बनाइएको बताएका छन् । बजेट छलफलमा उठेका प्रश्नको शुक्रबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । 

नेपालीको औसत आयु नै थोरै भएकाले वृद्धभत्ताको उमेर घटाइएको हो : अर्थमन्त्री

उनले १५ औं आवधिक योजनाले निकालेको निष्कर्षअनुसार नेपाली औसत आयु ६९.७ वर्ष रहेको उल्लेख गर्दै सामाजिक सुरक्षा भत्ता दिने उमेर कम गरिएको बताए । यसभन्दा अघि ७० वर्षमा वृद्धभत्ता दिइँदै आएकोमा आगामी आर्थिक वर्षको नयाँ बजेटमा उमेर घटाएर ६८ वर्ष बनाइएको छ ।

‘विपन्न नागरिकहरूको सामाजिक सुरक्षा भत्ता दिने उमेर कम गरेको विषय छ । नेपालको १५ औं आवधिक योजनाले निकालेको निष्कर्ष नेपालको औसत आयु ६९.७ वर्ष रहेछ । यो योजना आयोगले १५ औं योजनामा निकालेको तथ्यांक हो । त्यो भएकाले एउटा तल्लो वर्ग रहेको छ । उसको आयु कम नै हुने गरेको छ । त्यसलाई पनि सामाजिक सुरक्षामा ल्याउने उद्देश्यका साथ सामाजिक सुरक्षा भत्ता पाउने उमेर ६८ वर्ष बनाइएको छ ।’

मन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट सबै सरोकारवाला निकायहरुसँगको छलफल, सुझाव र योजनाका आधारमा बजेट ल्याएको बताए । अर्थशास्त्रीदेखि निजी क्षेत्रको समेत सुझाव समावेश गरेर बजेट ल्याएको उनको दाबी थियो । सबैको माग, सुझाव र छलफलको माध्यमबाट बजेट प्रस्तुत भएकाले बजेट सबैको स्वामित्व रहेको उनले बताए ।

प्रकाशित : जेष्ठ २०, २०७९ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?