कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
बजेट २०७९/०८०

कक्षा ६ सम्मका बालबालिकालाई दिवा खाजा, भर्नाअघि नि:शुल्क स्वास्थ्य परीक्षण

काठमाडौँ — सरकारले कक्षा ६ सम्मका विद्यार्थी दिवा खाजा उपलब्ध गराउने भएको छ ।अर्थमन्त्री जर्नादन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै आगामी आर्थिक वर्षदेखि ६ कक्षासम्मका बालबालिकालाई दिवा खाजा वितरण गरिने बताए । यसअघि ५ कक्षासम्मका विद्यार्थीलाई सरकारले दिवा खाजा उपलब्ध गराउने गरेको थियो । क्रमश: ८ कक्षासम्मका बालबालिकालाई दिवा खाजा उपलब्ध गराइने अर्थमन्त्री शर्माको भनाइ छ ।

कक्षा ६ सम्मका बालबालिकालाई दिवा खाजा, भर्नाअघि नि:शुल्क स्वास्थ्य परीक्षण

शिक्षक अस्पताल निर्माण अघि बढाइने उनले बताए । शिक्षक अस्पताल निर्माणका लागि चितवनमा जग्गा छनोट र सिफारिस भइसकेको छ । १ सय ४० सामुदायिक विद्यालयमा संचालित 'सिक्दै कमाउँदै' कार्यक्रमलाई थप एक सय विस्तार गरिने उनले जनाए । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई पूर्वाधार निर्माणमा केन्द्रित गर्न ८ अर्ब ८८ करोड विनियोजन गरिएको छ ।

शैक्षिक सत्र सुरु हुनुअघि विद्यार्थीको नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउने बजेटमा उल्लेख छ । प्रत्येक प्रदेशमा भर्चुअल शिक्षक कार्यक्रम संचालन गर्न १० करोड रुपैयाँ छुट्टाइएको छ । विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा ५ लाख रुपैयाँसम्म प्रधानाध्यापकले खर्च गर्न पाउने व्यवस्था गरिएको अर्थमन्त्री शर्माले बताए । शिक्षक दरबन्दी पुनरावलोकन गरिने, सामुदायिक विद्यालय नक्साङ्कन समायोजन कार्यक्रमलाई निरन्तरता दिने, शहिद स्मृति विद्यालयहरुलाई क्रमश: सार्वजनिक प्राविधिक विद्यालय बनाउने, प्राविधिक शिक्षालाई प्रदेशमा हस्तान्तरण गर्दै जाने बजेट कार्यक्रममा उल्लेख छ ।

सरकारले स्वदेशमा नै उच्च शिक्षा गर्न प्रदान गर्ने वातारण मिलाउने अर्थमन्त्रीले बताए । विश्वविद्यालयहरुमा विदेशी विद्यार्थीहरुलाई भर्नामा आरक्षण दिने घोषणा गरिएको छ । मेडिकल कलेजहरुमा वर्षको दुई पटक विद्यार्थी भर्ना गराउने व्यवस्था मिलाइने व्यवस्था गरिने उनले बताए । काठमाडौं उपत्यका बाहिर मेडिकल कलेज स्थापना गर्न सहजीकरण गर्ने बजेट कार्यक्रममा उल्लेख छ । समग्रमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको लागि ७० अर्ब ५ करोड, शिक्षा तर्फ प्रदेशमा ५ अर्ब ३२ करोड र स्थानीय तहमा १ खर्ब २९ अर्ब १ करोड हस्तान्तरण गरिएको अर्थमन्त्री शर्माले जनाए ।

प्रकाशित : जेष्ठ १५, २०७९ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?