बजेट २०७९/०८०

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अगाडि बढाइने

काठमाडौँ — सरकारले बाराको निजगढमा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल अगाडि बढाउन बजेटमा योजना राखेको छ । सर्वोच्च अदालतले बिहीबार निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न फैसला गरेको अवस्थामा सरकारले भने बजेटमा नै विमानस्थल निर्माणका लागि योजना ल्याएको हो । 

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अगाडि बढाइने

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेटमा निजगढ विमानस्थल निर्माणको योजना अगाडि सारेका छन् । संघीय संसद्का दुवै सदनको संयूक्त बैठकमा मन्त्री शर्माले भने, 'निजगढ विमानस्थल पुनर्निर्माणको लागि ढाँचा निर्माण गरी लगानी बोर्ड नेपालमार्फत आयोजना विकास कार्य अगाडि बढाइनेछ ।'

त्यस्तै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याइने पनि अर्थमन्त्री शर्माले जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चापलाई व्यवस्थगित गर्न ट्याक्सी वे र दोस्रो टर्मिनल भवन निर्माणका लागि २ अर्ब २० करोड बजेटमा विनियोजन गरिएको छ । हवाई तथा यात्रु चापको विश्लेषणमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमाानस्थलको दोस्रो टर्मिनल भवन निर्माण कार्य अगाडि बढाइने बजेटमा उल्लेख छ ।

'धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रूपमा विकास गर्न सम्भाव्यता अध्ययन गरिने छ । सुर्खेतको रामघाटमा प्रादेशिक विमानस्थल निर्माणको कार्य अगाडि बढाइनेछ,' संसदमा बजेट प्रस्तुत गर्ने क्रममा मन्त्री शर्माले भने ।

प्रकाशित : जेष्ठ १५, २०७९ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?