बैंकले अस्‍वाभाविक नाफा खोजे अप्ठेरोमा पर्छन्, उद्योग मर्छन् : अर्थमन्त्री 

काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले अहिलेको अवस्थामा बैंकहरूले अत्यधिक नाफा खोज्‍न नहुने बताएका छन् । उनले बैंकहरूले अस्वाभाविक नाफा खोज्न थालेमा उद्योग मर्ने र बैंकहरू अप्ठेरोमा पर्ने बताएका हुन् ।

बैंकले अस्‍वाभाविक नाफा खोजे अप्ठेरोमा पर्छन्, उद्योग मर्छन् : अर्थमन्त्री 

प्रतिनिधिसभाको आइतबारको बैठमा आर्थिक विधेयक, २०७७ माथिको दफावार छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री खतिवडाले भने, 'बैंकहरूलाई सामान्या नाफाको अवस्थामा राखेर अस्वभाविक नाफाको स्थितिबाट अहिले बैंकहरू जान खोज्यो भने उद्योगहरू मर्छन् र बैंकहरू पनि अप्ठेरोमा पर्छन् । यो कुरा मैले बारम्बार भन्दै आएको छु र धेरै पहिलेदेखि भन्दै आएको हो ।'

बैंकहरूले अहिलेको अवस्थामा धेरै नाफा खोज्‍न नहुने भन्दै सांसदहरूले त्यसमा सरकारको नीति के हो भनेर प्रश्न गरेका थिए । 'अहिले बैंकहरूको स्प्रेड ५ प्रतिशतभन्दा तल छ । असार मसान्तभित्रमा ४ प्रतिशतमा ल्याउने भन्ने राष्ट्र बैंकको योजना छ । आगामी दिनमा मौद्रिक नीति मार्फत सरकार र राष्ट्र बैंकले कम गर्ने नै छ ।'

मन्त्री खतिवडाले अहिले राजस्‍वको स्थिति अप्ठ्यारो रहेको बताए । उनले सरकारका तथ्यांकहरूले त्यस्तो देखाएको जानकारी दिए । 'अहिले हामीले दैनिक जति राजस्‍व उठाइरेका छौं त्यो राजस्‍वले दैनिक खर्च धान्‍ने स्थिति छैन,' उनले भने ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउन खुकुलो पारेसँगै मुलुकको अर्थतन्त्र विस्तारै चलायमान हुँदै गएको अर्थमन्त्रीको भनाइ थियो । उनले जेठ महिनामा मासिक झन्डै ४० अर्ब अनिवार्य दायित्वमा खर्च हुने र त्यसको पूर्तिका लागि मासिक रूपमा भन्सारबाट औसत १५ अर्बजति उठ्ने र केही अर्ब रुपैयाँ आन्तरिक राजस्‍वबाट उठ्ने गरेको बताए । त्यतिले नपुगेर चालू खर्च अन्तर्गत अनिवार्य दायित्वलाई पूरा गर्नका लागि सरकारले थप प्रयास गर्नुपर्ने भएको मन्त्री खतिवडाको भनाइ थियो ।

मन्त्री खतिवडाले व्यवसायिक वातावरण खुकुलो हुँदै गएको बताए । उनले केही हदसम्म व्यवसायिक वातावरण खुकुलो पार्दा आन्तरिक व्यापार विस्तार हुँदै गरेको र आयात पनि सामान्य अवस्थामा फर्किने क्रममा रहेको बताए । वैशाख महिनाको लकडाउनले भने अर्थतन्त्रमा असर गरेको उनको भनाइ थियो । अर्थमन्त्री खतिवडाले आर्थिक अवस्था र कोरोनाको बारेमा सबै दल मिलेर जानुपर्ने बताए ।

अर्थमन्त्री खतिवडाले कृषि सामग्रीमा कर नलगाएको र विद्युतीय सवारीमा लगाएको भन्सारबारे सांसदहरूले उठाएका कुरा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले विद्युतीय सवारी सार्वजनिक यातायातका लागि भएमा भन्सार खुकुलो पार्दै जाने बताउँदै आएका छन् । विद्युतीय सवारीमा बढाएको भन्सार दरको सांसदहरूले विरोध गर्दै आएका छन् ।

प्रकाशित : जेष्ठ ३२, २०७७ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?