बजेटबारे व्यवसायीको प्रतिक्रिया : कोरोना प्रभावित अर्थतन्त्रलाई सहयोगी, कार्यान्वयनमा चुनौती

जेष्ठ १५, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — उद्योगी व्यवसायीहरूले कोरोना भाइरसबाट असर परेको अर्थतन्त्रलाई सहयोग पुर्‍याउने गरी बजेट आएको प्रतिक्रिया दिएका छन् । उनीहरूले नीति तथा कार्यक्रमजस्तै बजेट पनि सकारात्मक आएको भए पनि कार्यान्वयनको पक्ष भने चुनौतीपूर्ण भएको प्रतिक्रिया दिएका छन् ।

बिहीबार अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७९ का लागि बजेट प्रस्तुत गरेपछि प्रतिक्रिया दिएका उद्योगी तथा व्यवसायीहरूले कोरोना नियन्त्रणका लागि राम्रा योजना आए पनि मुलुकको उत्पादन क्षेत्रलाई अगाडि बढाउन आवश्यक पर्ने कार्यक्रम भने अपेक्षाअनुसार आउन नसकेको बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोरोनाको संक्रमणबाट मानव जीवन बचाउने गरी बजेट आएकोले स्वागतयोग्य भएको बताए । 

यस्तै कृषि, उत्पादन, रोजगारी सबै क्षेत्रलाई समेटिएको तर कार्यान्वयनमा अझैपनि आशंका गर्ने ठाउँ रहेको उनको भनाइ थियो । कोरोनाबाट अर्थतन्त्रमा पर्ने असरका लागि छुट्याएको रकम ५० अर्ब रकम न्यून भएको उनले भनाइ थियो । 

कोरोनाबाट भएको क्षति कम गर्न सबै क्षेत्रलाई समेटेको छ तर विनियोजन गरेको बजेट अझै अपुग हुने लागेको उनले बताए । उनले उद्योगी व्यवसायीको सुझावअनुसार विद्युतमा छुट दिइएको बताए । स्वास्थ्य क्षेत्रलाई प्रोत्साहन गर्ने गरी बजेट आएकोले स्वागतयोग्य भएको उनले बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोरले बजेट लगानी अभिवृद्धि गर्ने विषयमा केन्द्रित भएको बताए । रोजगारी सिर्जनाका लागि लगानी बढाउने विषयमा आएका विषय राम्रो भएको बताए । बाहिरबाट आउने व्यक्तिहरूलाई कृषिमा लगाउने र कृषिलाई आधुनिकीकरण गर्ने विषयसमेत समावेश भएको बताए । स्वास्थ्य क्षेत्रमा कसरी अगाडि बढने विषयसमेत प्रष्टसँग उनको भनाइ थियो । 

होटल संघका पूर्वअध्यक्ष विनायक शाहले कोरोना भाइरसका कारण सबैभन्दा बढी संकटमा परेको पर्यटन क्षेत्रको पुर्नरुत्थानका लागि बजेटले उपयुक्त कार्यक्रम ल्याएको बताए । होटल क्षेत्र लगायत समग्र पर्यटन क्षेत्रको पुर्नरुत्थानका लागि बजेटले धेरै कुरा समेटेको उनको भनाइ थियो । व्यवसायीहरूको ऋणको ब्याज र साँवा तिर्नका लागि ५ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने गरी ५० अर्बको पुर्नरुत्थान कोष र एक खर्बको पुर्नसंरचना कोष ल्याउनु सकारात्म भएको उनले बताए । 

सरकारका नीति तथा कार्यक्रम पनि सकारात्मक आएको तर कार्यान्वयनको पक्ष चुनौतीपूर्ण रहेको उद्योगीहरूको भनाइ छ । 

कान्तिपुर

Link copied successfully