कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कोरोना पीडाबीच हराएको मानवता 

छिमेकीहरु हामी बालकोनीमा गयौं भने पनि टाढाबाटै सर्लाझैँ गरी डराउँथे । कोही भित्र भाग्थे । कसैले टाढैबाट हात मात्र हल्लाउँथे । तर कुरा गर्न चाहँदैनथे ।
नवीनराज पौडेल

असोज १५ गते । अलिअलि ढाड दुखेझैं भयो । त्यसपछि पूरै शरीर र टाउको दुखेको जस्तो भयो । भोलिपल्ट बिहान हल्का रुघा र खोकीसँगै घाँटी पनि खसखस हुन थाल्यो । 

कोरोना पीडाबीच हराएको मानवता 

टन्सिल पनि बढेजस्तो लाग्यो । त्यही रात पूरा शरीर दुख्ने र हल्का ज्वरो आउन थाल्यो । ज्वरो सामान्य थियो । शरीर दुखिरहने, कमजोरी हुने आलस्य भएजस्तो लक्षण देखियो ।

मैले केही दिनअघि कोरोना पुष्टि भएका माधव पाण्डेलाई भेटेको थिएँ । त्योभन्दा अघि पनि चितवनका पत्रकार साथी नारायण अधिकारीलाई भेटेको थिएँ । उहाँलाई पनि कोरोना पुष्टि भएकाले आफू पनि कन्ट्याक्ट ट्रेसिङमा परेको र शरीरमा कोरोनाकोजस्तो लक्षण देखिएकोले असोज २० गते केन्द्रीय प्रयोगशालामा पीसीआर परीक्षण गराएँ । रातभर नतिजाको पर्खाइ मेरा लागि निकै पीडादायी थियो । रातभर राम्ररी निदाउन सकिनँ । कोरोना भइहाल्यो भने के गर्ने भन्ने सोच्दासोच्दै निदाएछु ।

भोलिपल्ट रिपोर्ट पोजिटिभ आयो । घरमा साना छोराहरू थिए । दिमागले केही सोच्नै सकेन तैपनि सम्हालिएँ । म सँगसँगै श्रीमतीलाई पनि कोभिड लक्षण नदेखिएको होइन तर मेरो नतिजापछि परीक्षण गरुँला भनेर बसेको थिएँ । त्यसपछि श्रीमतीलाई पनि लक्षण देखिएकोले उनको पनि पीसीआर परीक्षण गराइयो । उनको पनि रिपोर्ट पोजिटिभ आयो ।

कोरोना भाइरसको बारेमा धेरै कुरा पढे सुने पनि पहिलोपटक आफूलाई संक्रमण भएको थाहा पाउँदा निकै डर लाग्ने रहेछ । जतिसुकै आत्मबल भए पनि रोगको उपचार छैन भनेपछि मनमा एक किसिमको डर छाउने भइहाल्यो । साना छोराहरुलाई यसबाट जोगाउनु त थप चुनौती छँदै थियो । स्थिति जटिल भए पनि सामना गर्नु नै छ । सबैजनालाई खासै असजिलो थिएन । छिमेकी र आफन्तलाई जानकारी गराएर घरमै आइसोलेसनमा बस्यौँ । त्यसपछि त मेरो दैनिकी पूरै परिवर्तन भयो । कामको सिलसिलामा दैनिक पचासौं ठाउँमा पुग्ने म घरको एक कुनामा थन्किन पुगें । अनि डाक्टरको सल्लाहअनुरुप नै अन्य संक्रमितको दिनचर्याझैं मेलै आफूलाई अभ्यस्त गराउन थालें ।

कोभिड संक्रमण भएपछि गुर्जो पानीमा पकाएर १ कप बाँकी रहेपछि ४, ५ पत्ता तुलसीको पात राखी छानेर चियाजस्तै गरी, महसहितको हट लेमन र च्यवनप्रास एक/एक चम्चा बिहान बेलुका मनतातो पानीसँग खाने गरें । तीन दिनपछि लक्षणहरु हराएर गएजस्तो भयो । रुघाखोकी पातलो हुँदै गयो, ज्वरो पनि कम भयो अनि जीउ दुखाइ पनि कम हुँदै गयो । ज्वरो आएको बेला एकदिन सिटामोल पनि खाएँ, भिटामिन सी, डी र भिटामिन बी कम्लेक्स पनि हामी दम्पतीले नै खायौं । यस्तो बेला श्रीमान-श्रीमती नै पोजिटिभ भएकोले कसलाई कतिबेला समस्या बढ्ने हो भन्ने चिन्ताले पनि सताउने रहेछ । साथमा स–साना छोराहरु उनीहरुको समस्या त मैले शब्दमा कसरी वर्णन गर्न सक्छु र !

घरमा बसेको बेला धेरै इस्टमित्र साथीभाइसँग फोन र म्यासेन्जरमा कुरा भयो । सबैले शुभेच्छा प्रकट गर्नुभयो । कोभिडका बारेमा कुरा भयो । कसैले सामान्य त कसैले होसियार हुन सल्लाह दिनुभयो । संक्रमण देखिएपछिको अवस्था झन् फरक हुने रहेछ । यसले मानिसको मनमा कसरी डर जमाएर बसेको छ भन्ने अनुभव पनि भयो । वरिपरिका छिमेकीहरु हामी बालकोनीमा गयौं भने पनि टाढाबाटै सर्लाझैँ गरी डराउँथे । कोही भित्र भाग्थे । कसैले टाढैबाट हातमात्र हल्लाउँथे । कुरा गर्न चाहँदैनथे । हिजोका दिनसम्म नवीनजी के छ ? भन्दै कुरा गर्नेहरु कोभिड भएपछि औपचारिकता निभाउन लागेको मलाई भान हुन्थ्यो । कोभिडले आक्रमण गरेको हामीलाई छिमेकीको फरक व्यवहार देख्दा स्वाभाविक रुपमा नै मन अमिलो भयो ।

छिमेकीहरुले हामीलाई दूध लिन र फोहोर फाल्न पनि बाहिर ननिस्कन आग्रह गर्नुभयो । सबै नडराउँन् पनि कसरी ? कोरोनाले सारा संसारलाई नै आक्रान्त पारेको छ । कोभिडले समाजमा गाडेको प्रभावको मनोवैज्ञानिक प्रभाव बुझ्ने मौका पनि पाएँ । काठमाडौंजस्तो ठाउँमा त कोरोनाबारे मानिसका यस्ता बुझाइ र सोच छ भने अझै गाउँमा मानिसको अवस्था के होला ? कोभिड छिमेकी र आफन्त चिन्ने मौका पनि बन्यो हामीलाई । कति आफन्त पर्नेले त अप्ठेरो पर्‍यो भने सहयोग गर्नुपर्ला भनेझैं थाहा नपाएजस्तो पनि गरे । कतिले औपचारिकता निभाए । यसबाट हामी विचलित भएनौँ । यो सबै अज्ञानताको परिणाम हो भन्ने मलाई बुझ्न कर लाग्यो । हामीले पर्याप्त जनचेतना जगाउन सकेका रहेनछौँ भनेर चित्त पनि बुझाएँ ।

हामीले घरमा चना केराउ उमारेर झोल बनाएर प्रशस्त खायौँ । शरीरमा पानीको मात्रा कमी हुन दिनु हुँदैन भन्ने थाहा थियो । पानीको मात्रा पुग्यो भने फोक्सोलाई अक्सिजन लिन सजिलो हुने वैज्ञानिक आधार पनि छ । त्यसैले धेरै पानी पिउने गर्यौ‌ । कोरोनाले हामीलाई धेरै दुःख नदिए पनि अरुलाई धेरै दुःख दिएको थाहा पाउँदा डर पनि लाग्यो । यो कसैकसैलाई कडा रुपमा पनि आउनसक्दो रहेछ भन्ने पनि लाग्यो ।

कोरोनाले धनी गरिब, ठूलो सानो केही भन्दो रहनेछ । त्यसैले त विश्वमा राष्ट्रपति, मन्त्री, उच्च ओहदाका कर्मचारीलगायत कसैलाई पनि यसले बाँकी राखेन । कतिले यसको संक्रमणबाट नै मृत्युवरण गरे । आखिर उनीहरुसँग भएका करोडौं अर्बौं पैसाले पनि कोभिडलाई परास्त गर्नै सकेन ।

कोरोनालाई परास्त गर्ने मुख्य उपाय रोग प्रतिरोधात्मक क्षमता बढाउने र आत्मबल बलियो बनाउने नै रहेछ । सबै स्वास्थ्य मापदण्ड पालना गर्नुको कुनै विकल्प हामीसँग छैन । कसैलाई पोजिटिभ देखिएपछि घरमा सबै मापदण्ड पालना गरेर कम्तीमा १४ दिन आइसोलेसनमा बसौं । भीडभाडमा नजाने र वृद्धवद्धा तथा दीर्घ रोगीलाई बचाउने काम गरौं ।

यसैबीचमा नागार्जुन नगरपालिकाबाट फोन आयो तर उत्तरदायी भने देखिएनन् । सात दिनभित्र ट्रेसिङमा परेकालाई पीसीआर परीक्षण गर्ने भनेर बाह्र दिनमा मात्रै फोन गरे । 'तपाईंलाई कुनै लक्षण नभएकोले १४ दिन काटेर हिँड्दा हुन्छ, माथिको निर्देशन त्यस्तै छ' भने ।

सरकार यसरी हाम्रो स्वास्थ्यमाथि यति गैरजिम्मेवार हुन्छ भन्ने मैले सोचेको थिइनँ । मिडियामा सरकारले कोरोना संक्रमितको उपचार र परीक्षण नगर्ने खबर आइरहेका थिए ।कर किन तिर्ने जनताले भन्ने प्रश्न पनि आयो तर प्रश्नको उत्तर मसँग थिएन । सरकार हटाउने जिम्मा नागरिककै हुन्छ । फेरि पनि चुनाव आउँछ भन्ने लाग्यो ।

कोरोनाबाट छिमेकी र आफन्त डराएसँगै मैले चितवनको घर जाने निधो गरें । बेलुका आफ्नै गाडीमा चितवन आएर कात्तिक २ गते भरतपुर अस्पतालमा पीसीआर जाँच गरेर घरमै आइसोलेसनमा बसें । तर यहाँ पनि काठमाडौंकै घटना दोहोरियो । यता पनि फलानो आएछ कोरोना के भयो ? कस्तो हुँदो रहेछ ? भन्ने प्रश्न तेर्सिन थाले । मलाई जसरी पनि कोरोनालाई जितेर पहिलेकै अवस्थामा आउनु थियो । छोराहरु आफ्ना साथीसंगी भेट्न् र खेल्न आतुर थिए । मैले कहिले घुमाउन लान्छु, कहिले यो किन्दिदिन्छु भनेर फकाउन थालेँ । दोस्रो परीक्षण नतिजामा मभन्दा बढी छोराहरुलाई चासो र चिन्ता बढी देखें । किनकी झण्डै दुई हप्तादेखि बच्चाहरु बाहिर निस्किन पाएका थिएनन् । दिनहुँ खेल्न अनि घुम्न जाने छोराहरु बन्द कोठामै बस्नु परेपछि उनीहरुमा हुटहुटी हुनु स्वभाविक नै थियो ।

छोराहरु दस-दस मिनेटमा 'रिपोर्ट आयो बाबा ?' भन्दै सोध्न थाले । मैले पनि धेरैपटक अस्पताल प्रशासनलाई फोन गरेँ । समय लाग्छ भनेपछि कुर्नुको विकल्प भएन । यो दुई साता लामो पीडादायी दैनिकी कात्तिक ४ गते सबैको कोरोना रिपोर्ट नेगेटिभ आएसँगै अन्त्य भयो । हाम्रो खुसीको सीमा रहेन, ठूलै युद्ध जितेजस्तै भयो ।

तर यो अवधिमा हाम्रो परिवारले भोगेको तीता अनुभव, आफन्त र छिमेकीको हेराइ, संकटको बेला सरकारले गरेको व्यवहार हाम्रा लागि कहिल्यै नमेटिने छाप बनेका छन् । संक्रमित हुनु ठूलो अपराधजस्तो गरी व्यवहार गर्नेहरुले आफू संक्रमित भएमा अरुबाट यस्तै अपेक्षा गर्थे होलान् ? मानिसहरु यति छिटै कसरी परिवर्तन हुँदा रहेछन् ? आफन्त र छिमेकीसँगको सम्बन्ध कस्तो कुरामा अडिँदो रहेछ त ? दुःख परेका बेला जनता तर्साउने कस्ता सरकार र मानवीयताहीन मानिसहरुबीचको यो समाज कस्तो होला ?

मेरो अनुभवले भन्छ कोरोना सामान्य रोग होइन तर सावधानी अपनाए यसलाई पराजित गर्न पनि गाह्रो छैन । औषधि उपचार सँगसँगै उनीहरुलाई गरिने व्यवहार महत्वपूर्ण हुँदोरहेछ । संक्रमितलाई दूरदूर नगरौं । दूरी कायम गरी माया गरौं । हौसला दिऔँ, आत्मबल दह्रो बनाइदिऔं । मानवीयता देखाउँ । सामान्य बेला तपाईंले अरुलाई गर्ने व्यवहारभन्दा बढी असल व्यवहार देखाउनु भयो भने तपाईं वास्तवमा असल छिमेकी र आफन्त हो । नत्र अघि पछिको हाइ–हेलो केवल लोकाचारमात्र हुन् ।

प्रकाशित : कार्तिक ७, २०७७ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?