कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

मान्छेहरु सोध्छन्– ‘ब्वाईफ्रेण्ड छैन ?’

लकडाउन डायरी ५
सिमाना पौडेल

काठमाडौँ — चौथो दिन (अर्थात एक महिना चार दिन) ।
उसले कहिलेकाहीँ लेखिरहन्छ, ‘तिमीले लेख्यौ भने म खुशी हुन्छु । लेख्न नछोड है ।’ हामी कर्ममात्रै गर्न सक्छौँ । कर्म गर्नुबाहेक हाम्रो बसमा केही छैन । 

मान्छेहरु सोध्छन्– ‘ब्वाईफ्रेण्ड छैन ?’

(लकडाउनमा घरभित्र बसेर जसरी आफूलाई भुलाइरहनुभएको छ । मैले पनि आफूलाई त्यसरी भुलाइरहेकी छु । फिल्म, फेसबुक, फोन ।)

पाँचौ दिन

काठमाडौँमा भारी वर्षा भइरहेकै छ । दादाले भन्नुभयो, ‘हाम्रो पुस्तालाई सहरमा बसेर ढिँडो खान मनपर्ने तर गाउँमा गएर नबस्ने । माटोमा काम नगर्ने । कृषिमा आत्मनिर्भर नभइन्जेल अरुसँग भिख माग्नपर्‍यो । खानकै लागि भिख माग्न परेपछि....’

किसानको सम्मान नहुने देशको अर्थतन्त्र हाम्रो जस्तै डामाडोल हुन्छ ।

आज अध्यादेश फिर्ता भएछ । नेकपा फुट्ने हल्ला गरिरहेका छन्, फेसबुकमा । घरि जारी गर्ने घरि फिर्ता गर्ने । सत्तामा बस्नेहरुलाई रमाईलो छ । उन्माद सत्तामै हुन्छ, मजा लिइरहेकै छन्, लकडाउनमा पनि । ‘आहा ! मेरो स्वतन्त्रता भन्दै कविता गोष्ठी गर्ने बेला होइन’ भन्छन् ।

राजनीति जति रमाइलो खेल केही छैन । राजनीतिको नीति भुलेर राज गर्ने खेल । भूकम्पको बेलामा भ्रष्टचार, बाढी, पहिरो जाँदा भ्रष्टचार । अब कोरोनाको त्राहीमामको बेला सत्ताको घिनलाग्दो खेल ।

प्रधानमन्त्रीले आफैंलाई भन्नुभएको होला, ‘नेपालीले चान्स पायो भने गर्छ ।’

छैटौं दिन

‘बिहे कहिले गर्छ्यौ ?’

‘खोजिदिनु । गरुम्लाँ ।’

‘तिम्रो लकडाउन डायरी पढेको थिएँ । खोजिसकिछ्यौ ।’

डायरी पढेर मान्छेहरु बिहे हुन्छ कि हुन्नदेखि लिएर भविष्यवाणीसम्म गरिदिन्छन् ।

साथीले म्यासेज गरी ‘ओई, तैँले मन पराएको त्यो केटासँग साथी रहिछेस् । तिमारु अझै मन पराउँछौ ?’ म पागल हुन्छु यस्तो म्यासेजले ।

‘लब आजकल’ भन्ने हिन्दी मुभी हेरेँ । फिल्मले हाम्रो पुस्ताको कन्फ्युजनलाई राम्रोसँग बुझेको छ । हाम्रो यो पुस्ता करियर, प्रेम, विवाहलाई लिएर धेरै कन्फ्युज छ । सम्बन्ध भनेको सबथोक हो भनेर सर्मपण गर्न सक्दैन । हाम्रा आमा, बुवाको जस्तो जिन्दगी जिउन पनि चाहँदैन ।

पुरुषहरुलाई खाना मीठो पकाउने, घरको काम गर्ने, बच्चा स्याहार्ने, अफिसको काम भ्याउने जीवनसाथी चाहिएको छ । पुरुषहरु अहिले आफूले एक्लै दुःख गरेर परिवार पाल्ने कुरा सोच्दैनन् । अरुको लागि किन कमाइदिनु सोच्छ तर आफूले विवाह गरेर ल्याउने केटीबाट आफ्नी आमाले बाउलाई गरेजस्तो सम्मान चाहन्छ । उपरखुट्टी लगाएर पत्रिका पढ्दै थर्काउन चाहन्छ– यो गर, त्यो नगर...।

सोचको यो खाडलले असमानता बढाइरहेको छ । त्यस्तो गर्न हुन्न भन्ने थाहा छ तर अवचेतनमा महिलालाई कमजोर र दासी बनाउनुपर्छ नभए हामीलाई यिनीरुले हेप्छन् भन्ने लागिरहन्छ । व्यवहार र सोचबीचको फरक यही अवचेतन मनको परिणाम हो । असमानता पुर्न खोज्ने पुरुषहरु चपेटामा छन् । न पुरुष जमातले हाम्रो हो भन्छ, न महिलाले सबै पुरुष एउटै हुँदैनन् भनेर स्वीकार्छन् । चमेराको कथाजस्तो । चमेराको कथा सुन्नुभएको छ ? पछि भन्छु । (भन्न त महिला र पुरुष समान भनिन्छ । परिपूरक भनेको भए राम्रो हुने ।)

किताब पढ्नु, फिल्महरु हेर्नु, संसार यसरी नै चल्छ भनेर जान्नु हो । आफ्नो मात्रै दुख देख्ने अरुलाई खुशी देख्ने भ्रमबाट बाहिर निक्लनका लागि मलाई किताब र फिल्महरुले सहयोग गरेका हुन् ।

गुरुप्रसाद मैनालीको ‘नासो’ कथा आजसम्म तीनचोटी पढेँ । (संसारमा यति धेरै पढ्नुपर्ने कुरा छन्, धेरै दोहोर्‍याउन कहाँ फुर्सद हुनु । हैन ?) तीनैचोटी पढ्दा एउटै ठाउँमा पुगेपछि रोएँ । फेरि अब त रुन्न भनेर सुरु गर्‍यो । त्यहीँ पुगेपछि मैले ती किताबमा लेखेका अक्षरहरु मात्रै हुन् भनेर बिर्सन्छु । अक्षरहरुले जादु देखाउँछन् । ती पात्रको दुख देखाउँछन् । म रुन्छु । (नासो कथाको मेरो प्रेमले पछिसम्म प्रभाव पार्‍यो । सबथोक बिर्से पनि प्रेम गरेको कुरा कहाँ बिर्सन्छ मान्छे । तपाईँलाई पहिलोचोटी कसैले दिलमै छुने गरी हावाको स्पर्शसरी कतै छोएको याद छ ? सम्झदै गर्नुस् । बिर्सिएजस्तो लाग्न सक्छ तर बिर्सिदैन हृदयले ।)

बाहिर पानी दर्किरहेको छ ।

सातौं दिन

‘दिदी तपाईँको हात हेर्नपर्‍यो ।’

हात झट्कारेँ ।

‘तपाईँको बिहे भएपछि सबैभन्दा बढी माया बुढालाई गर्नुहुन्छ । अनि बच्चबच्चीलाई... हामी टाढा भयौं है ?’

रेडियो नेपालको लाइभ प्रोग्राममा बाबुराम भट्टराई बोलेको कुरामा सरकारले आपत्ति जनायो ।

लाइभ प्रोग्राममा वक्ताले के बोल्छ भनेर रेडियो नेपालले कसरी थाहा पाउनु ? कि वक्ताले यो योमात्रै बोल्नु भनेर भाषण तयार गरेर पठाउनुपर्‍यो । (फेरि यो कुरालाई सुझाव सम्झेर कसले के बोल्ने भन्दै भाषण लेखिबस्ला सरकार ।) व्यक्ति स्वतन्त्र छ बोल्नको लागि । कहिले असगर अलिले समाचार हटाएको, कहिले रेडियो नेपाललाई धम्की दिई माफी माग्न लगाएको समाचार आउँछ । सरकार खुब डराउँछ, आलोचनासँग ।

यस्तै हो भने लोकतन्त्र आएको मतलबै भएन ।

एउटा भिडियो क्लिप सुन्नुभएकै होला, ‘थाहा नदिई एकाएक धादिङको सडकमा केही यात्रु कसरी देखिए ? अनि प्रहरी र सिडिओलाई थाहा नभएको घटनामा त्यहाँ पहिल्यै काठमाडौँदेखि पत्रकार कसरी पुगे ? के यो रहस्यपूर्ण छैन र ?’

कहिले बिहानै आठ बजे उठेर राष्ट्रिय गान गाउनु भन्छन् । सबै कुरा ठप्प भएको बेलामा पनि राजनीतिक उथलपुथल जोडतोडले बढिरहेको छ । कहिले सांसद सुरेन्द्र यादवको अपहरण, कहिले राहत बाँड्दाबाँड्दै ज्ञानेन्द्र शाहीलाई पक्रेर जेल हालियो भन्ने खबर । कहिले पूर्वसचिव भीम उपाध्यायले प्रधानमन्त्रीको बारेमा आलोचनात्मक टिप्पणी गरेकोमा जेल हालिएको खबर ।

सरकारलाई आफ्नो आरती नगाउनेको बैंक एकाउन्ट कसरी ह्याक गर्नपर्छ थाहा छ । आलोचना गर्ने सञ्जालको जालो सफाचट बनाएर आफ्नो आरती मात्रै कसरी उतार्ने थाहा छ । ह्याकरहरुले सरकार चलाईरहेछन् । मान्छेको स्वतन्त्रता ह्याक गर्न खोजिरहेछ सरकार । (लोकतन्त्रात्मक ह्याक शासन । राणा शासन फालेको ह्याक शासन सुरु गर्न होइन नि । कि हो ? तपाईँ के भन्नुहुन्छ यसबारे ?)

अहिले, जो पनि प्रधानमन्त्री बन्न पाउने कुरा आईरहेको छ । संविधान संसोधन गर्न लागेको कुरा सुनिएको छ । केपी ओली सत्तामा अब रहन हुन्न भनेर विरोध भईरहेको छ । जजसले यो सरकारको विरुद्धमा बोलेका छन्, ती सब जेल जानेवालामा छन् । (हामीलाई त के छ र ? घरमा बस्दाबस्दा दिक्क लागिरहेको छ । जेल अनुभव राम्रै हुन्छ । जेलभित्र ढुसी र ढल मिसिएको हावा खान पाउनु रमाईलै हुन्छ । हाम्रो भेट जेलमा भईदिए गज्जब हुने थियो । यस्तो सोच्नुहुन्न ? मास्कचाहिँ खल्तीमै राखिरहनु । समातिहाले भने ? आफ्नो सेफ्टी आफैं गर्नपर्‍यो । मिल्छ भने स्यानिटाइजर पनि । सरकारको आरती गाउनुहुन्छ भने अर्कै कुरा ।)

वीच्याट भन्ने एपमा चीनको बारेमा केही नराम्रो म्यासेज टाईप गर्नेबित्तिकै त्यो ब्लक हुन्छ । हामीले सुविधा पाएका छौं । सँगै असुरक्षा पनि । हाम्रो हत्या मोबाइलबाटै हुनसक्छ । चलाउँदा चलाउँदै मोबाइल पड्कियो भने...।

कोरोनाभन्दा बढी भयावह छ, अवस्था...। (बढी कल्पना गरेर डराउनुपर्दैन ।)

कोठाभित्रै बसिरहनुस् । भीडबाट टाढा रहनुस् । जुम भन्ने एपबाट विभिन्न सेमिनारमा भाग लिन सक्नुहुन्छ । त्यो सुरक्षित हुन्छ भनिएको छ । हामीलाई के मतलब हामी खुल्ला मान्छे । इमान्दार मान्छे । लुकाउनै पर्ने के सूचना हुन्छन् र हामीसँग ? जनता भएकै कारण पारदर्शी बन्नु हाम्र्रो नियति हो । मिडिया हाउसका समाचार त कब्जा भईराख्छ । (सत्ताको कुर्चीमा पुगेपछि असल मान्छेहरु पनि सस्पेन्स थ्रिलरको पात्रजस्तो बन्छन् । सत्ताको मनमत्ता चलिरहन्छ ।)

आठौं दिन

‘लकडाउनभरी नसम्झने ?’ एउटा म्यासेज नै सही । ‘सनसिटीमा कोरोना संक्रमित भेटिए’ भन्ने समाचार पढेपछि उसले मलाई म्यासेज गर्नुपर्थ्यो । मैले पनि गर्न सक्थेँ । गरिनँ ।

अक्सर सम्बन्धहरु प्रेम नभएर भन्दा पनि इगोले बिग्रन्छ । उसले गर्नुपर्छ भन्यो । उसलाई पनि उसले गर्नुपर्छ भन्ने लाग्छ । हामी प्रेम खोज्छौ‌ मात्रै, गर्दैनौँ । हामी सबै प्रेम चाहन्छौं । अरुले मलाई केयर गरोस् । अरुले सम्मान गरोस् । अरुले बुझिदिओस् । हामीले चाहिँ अरुको समस्या बुझ्नै पर्दैन । समस्या यहीँ छ ।

आज दुई ओटा फिल्म हेरें । चुइँगम चपाउँदै पानी पिउँदै । (लकडाउनले सिकाएको काइदा हो । फिल्म हेर्दा बीचबीचमा निदाउने र हेर्दाहेर्दै पज गरेर रुने या मख्ख पर्ने या कल्पना गरेर हराउने बानी छ । कस्तो खराब बानी !)

नवौं दिन

बलिउड अभिनेता इरफान खानको देहान्त भयो । मैले यहीँ लकडाउनमै उनले खेलेको फिल्म ‘लन्चबक्स’ हेरेको थिएँ । अरु मुभीहरु भोलि हेर्नुपर्ला । (पछि....)

म मरेर गएँ भने मेरो परिवारबाहेक अरु को दुखी होला ? कसैको मृत्युमा सारा संसार शोक मनाउँछ । कसैको मृत्यु गुमनाम बन्छ ।

साँच्चै म मरे भने दुखी हुने कति होलान् ? (आफ्नै लागि मात्रै बाँच्नेहरुको मृत्युमा शोक मनाउने पनि कोही हुन्छन् ?)

हात हेर्ने एपसबाट हात हेराउँदा हामी दुवैको एउटै भन्यो । एपअनुसार हामी यस्ता थियौं, ‘इमोसनल, भाग्यमा अलिली विश्वास गर्ने, धेरै समय बाँच्ने, पढाईमा मध्यम, साथीभाइहरु सधैँ आफ्नो नहुने, बुवाआमाको साथ र सहयोग पाईरहने, मनमा धेरै कुरा खेल्ने आदिइत्यादी ।’ यो तपाईँहरुसँग पनि मिल्यो हैन ? मनमा कुरा नखेले के खेल्छ ? दिमागमा पनि खेल्छ है । कुरा मनमा खेल्छ कि दिमागमा ?

दशौं दिन

बलिउड अभिनेता ऋषि कपुरको निधन । हिजो र आज बलिउडका बलिया हस्तीहरुको निधन भयो । उनको फिल्म हेर्नुभएको छ ?

हामीले आज दिनभरि मस्कुलिन ब्रेन र फेमिनाइन ब्रेनको बारेमा कुरा गरेर बस्यौं । ‘लहरो तान्दा पहरो थर्कन्छ,’ जस्तो भयो । केके हो केके कुरा पनि । फेमिनिजमको कुरादेखि लिएर राजनीति हुँदै महाभारत अझ त्योभन्दा अगाडिसम्म यात्रा गरियो ।

महाभारत हुँदैनथ्यो भने... वेद, पुराण, उपनिषद् हुँदैनथे भने... त्यतिबेलाको जमानामा महाभारतलाई फन्टासी मानिन्थ्यो होला है । हुनै नसक्ने कुरा जस्तो । त्यस्तो लाग्दैन तपाईलाई ?

यो घरको काम दिक्कलाग्दो । ओछ्यान सधैं मिलाउनुपर्छ । कोठामा कुचो लगाइराख्नपर्छ । खाना पकाइराख्नपर्छ । खाइ राख्नपर्छ । एकचोटी ओछ्यान मिलाएसी या कोठा सफा गरेसी एक हप्तालाई आनन्द होस् न ।

हामीलाई खान पर्दैनथ्यो भने...।

‘छोरीमान्छेमा के नभए प्रगति गर्छन् ?’

‘करुणा ।’

‘जेपिटी ।’

‘मलाई लाग्छ, हिटलरमा साइकोलोजिक प्रब्लम हुनपर्छ । नभए एउटा छोरा मान्छे त्यति निर्दयी कसरी बन्न सक्छ ? छोरा मान्छे भएकै कारणले हो भने अरु पनि त्यस्तै निर्दयी हुनपर्ने ।’

‘छोरीमान्छे किन हिटलरजस्तो बन्न सक्दैनन् ?’

‘अनेकथोक सोचिबसेको ?’

‘गन्थनमन्थन छाडिदिनु । के हुन्छ लेख्दैमा ?’

ऊ भर्खर मलाई छाडेर छतमा निस्किई । कहिलेकाँही रातभर बसेर फिल्म हेरुँजस्तो हुन्छ । आँखा कहाँ मान्छ ? आँखालाई मनपरेको तस्बिर हेरिरहन मन लाग्छ बरु । त्यो तस्बिर कसको हो थाहा छ ? तपाईको पनि हुनसक्छ । हाहा । डोन्ट टेक इट सिरियस्ली है ।

आज कति गते थाहा छ ?

सम्झिने कोसिस नगर्नुस् । म भन्छु, बैशाख १८ ।

‘तिम्रो ब्वाइफ्रेन्ड कता छ ?’

मान्छेको पर्सनल कुराप्रति किन यति धेरै चासो ?

सन्चो, बिसन्चो सोध्न छाडेर मान्छेहरु ब्वाइफ्रेण्ड छ, छैन ? कोही कुरा गर्ने स्पेसल हुनैपर्छ जिन्दगीमा नभए बोर भइन्छसम्म पुगिसके । लकडाउनचाहिँ थपिएको थपियै छ ।

लकडाउन भएको आज कति दिन भयो ? गन्नुस् त । संक्रमित मान्छे कति पुगे ? त्यो पनि गन्नुस् । नभए समाचार पोर्टलहरु हेर्नुस् । तपाईँ आफैँ एक्टिभ हुनुपर्‍यो नि हैन ? सुरक्षित तपाईँ आफैं हुनुपर्ने छ ।

आफैंले पकाएको खान नसकेर फालेको अनुभव छ ?

(सोधेको मात्रै । खानेकुरा बनाएर ‘लन्चबक्स’ फिल्ममा जस्तै खानेकुरासँगै चिठीचाहिँ नपठाउनु । कतै टिफिनभरी खानेकुरा पठाईदिनुभयो भने ? मासुको परिकार नपठाउनु । खान्न के ।)

उसले सन्चो नभएको जानकारी दिउँसो गराएको थियो । तर, उसलाई कुरिरहेछु । विचारको तरंगले उसलाई तानेर मसँग भेट गराउँछ भन्ने लागिरहन्छ । (विचार विज्ञान पढ्नुभयो ? हामीले हाम्रो विचारबाटै कसैलाई बिरामी बनाउन सक्छौं । आफैंलाई हानी गर्न सक्छौं ।) हिजो तिम्रो बारेमा नराम्रो सोचिबसेको थिएँ । कस्तो खराब मान्छे म ? प्रेम गर्नेहरु यति क्रुर हुनसक्छन् ? (हामी हृदयको जति नजिक हुन्छौ । उति मेरो राम्रा या नराम्रा विचारले तिमीमाथि र तिम्रा राम्रा या नराम्रा विचारले मलाई असर गर्छ । मेरो कारण तिमीले दुख पाउनुपर्‍यो ।) नभन्दै ऊ अनलाइन आयो । (अरु नलेखम् । कत्ति कुराहरु महसुसमात्रै ।)

भोली बिहान उठ्दा तिमीले आफूलाई सन्चो भएको पाउनेछौ । अनि तपाईँहरुले पनि भोली बिहान आफ्नो मन चंगा भएको महसुस गर्नुहुनेछ । विश्वास लागेन ? भोलिसम्म पर्खिनुस् ।

साँच्चै भनेको ।

एघारौं दिन

हिजो रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएछ । हामीलाई विश्वका मान्छेहरु मरेको थाहा हुन्छ तर आफ्नै देशका मान्छेहरु मरेको थाहा हुन्न ।

इतिहास बनाएका मान्छेहरु इतिहास बन्छन् । इतिहासमै भेटिन्छन् ।

(कतै नभेटिनुभन्दा इतिहासका पानाहरुमा भेटिनु राम्रो ।)

पूर्व सचिव भीम उपाध्याय जेलमा दुईदिन बसेर निस्किए । उनले फलोअर्स बढेकोमा खुशी व्यक्त गरे । जेल नगईकन फलोअर्स बढाउन नसकिने भईयो । मलाई पनि जेल हाल भन्दै फेसबुकमा रोईलो गरिरहेछन् ।

मे १, अन्तराष्ट्रिय श्रमिक दिवस ।

आफ्नै पसिनाको कमाईमा रमाउने सबै श्रमजीविलाई शुभकामना ।

‘अब आँशु खसाउनु पर्दैर्न’ भन्ने कवितामार्फत प्रधानमन्त्रीले दिनुभएको शुभकामना पढ्नुभयो ? देश चलाउने मान्छेले कविता कोरेर बसेपछि कविहरुले राजनीति गरे भयो । सिर्जनशीलता आफैंमा नराम्रो होइन ।

बालुवाटारको वास्तु मिलेको छैन, त्यो पहिलेको मसानघाट हो भन्छन् ज्योतिषहरु । त्यही भएर बालुवाटार छिर्ने बित्तिकै जो पनि बौलाउँछ भनेको पनि सुनियो । वास्तुशास्त्रप्रति, ज्योतिषशास्त्रप्रति तपाईँहरुलाई कत्तिको विश्वास छ ? यस्तो होला त ?

अमेरिकाको एल युनिर्भसिटीका ३५ जना सुप्रसिद्ध मनोचिकित्सकले घोषणा गरेका छन्– ‘डोनाल्ड ट्रम्प खतरनाक मनोरोगी हुन् ।’ (बेलायतको पत्रिका इन्डिपेन्डेन्टमा छापिएको समाचार हो । फेक न्युज पनि हुनसक्छ । के थाहा ?)

हाम्रा नेताहरुको पनि मानसिक स्वास्थ्य जाँच गर्नुपर्छ । (मनोरोगी भनेका पागल होइनन् । यसको उपचार छ । अरु कुनै अंग फेरेर स्वस्थ भएजस्तै मनोचिकित्सकद्वारा काउन्सिलिङ गरेर विचार स्वस्थ बनाउन सकिन्छ । सरकारले आफूलाई असुरक्षित महसुस गरेर घरीघरी मान्छे च्याप्प समात्दै जेल हालिराख्ने मानसिकताको अन्त्य भयो भने हामी पनि हाम्रा अभिव्यक्तिहरु सामाजिक सञ्जालमा पोख्नको लागि सुरक्षित हुने थियौं ।)

अलि चर्कै लेखे कि ?

आँ होस् । अड्कली अड्कली के लेख्नु ?

बाह्रौं दिन

केही तयारी बिनै अघि दिउँसो चार बजेतिर फेसबुक लाईभ गरें । लाईभमा के बोल्नु, नबोल्नु । क्यामेरा देख्नेबित्तिकै मुस्कुराउँछु । फेसबुक लाईभमा क्वाँक्वाँ रुनु ?

तेह्रौं दिन

विश्व प्रेस स्वतन्त्रता दिवस । हजुरहरुलाई शुभकामना ।

‘पत्रकारहरु ठूला मान्छे, उनीहरुको सम्बन्ध नेताहरुसँग हुन्छ ।’ नेताहरुकै हातमा छ यो देश । घुस खाँदा, मान्छे मार्दा कानुन लाग्दैन । हामीजस्तो साधारण मान्छेहरुले बाईक कुदाउँदा लेन मिच्दा जरिवाना तिर्नुपर्छ । कानुन सबैलाई बराबरी लाग्नुपर्ने हो तर...।

‘नेता र पत्रकारको सम्बन्ध एउटा न्युजसँग मात्रै हुन्छ । कसरी पत्रकारहरु ठूला भए ? सबै काम बराबरी हो । नेता हुनु ठूलो होइन । नेताले सुन होइन, भातै खानपर्छ,’ नानीको कुरा ठीकै हो तर हाम्रा नेताहरु सुन खान्छन् । ३३ किलो सुन नभए कसले खायो ?

उन्नाईसौं दिन

बीचको डायरी कता गयो भनेर आश्चर्य लाग्यो होला । त्रिपन्नौं दिन । (लामो डायरी पढ्नु दिक्कलाग्दो, अब बुझ्नुभयो होला ।)

काठमाडौंको सनसिटीमा फेरि एकजनामा कोरोना भेटियो । कोरोनाले खतरा भएका तराईका केही जिल्लालाई रेड जोन घोषणा गरिएको छ भने काठमाडौंलाई ग्रिन जोन । तपाईंहरुको क्षेत्र कोरोनाबाट कत्तिको सुरक्षित छ ? जहाँ रहे पनि सुरक्षित रहनुहोला । लकडाउनको पालना गरिरहनुहोला ।

साँच्ची, नेपालमा कोरोना संक्रमित कति पुगे ? (सबैको चासोको विषयमा... त्यस्तो होइन । तपाईं अब न्युज पोर्टल भिजिट गर्नुहुन्छ ।)

लिपुलेकमा भारतले बाटो बनाउँदै, चीनले सगरमाथा हाम्रो भनेको समाचार पढ्नुभयो ?

यो डायरी पूरै पढ्नुभयो । धन्यवाद । (आशा)

हजुरहरुको दिन शुभ रहोस् ।

प्रकाशित : वैशाख २९, २०७७ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?