काठमाडौँ — हिजोका पुर्खाहरूले कृषि कर्म गरेर आफूलाई पुगेपछि विदेशमा खाद्यान्न निर्यात गर्थे । आज हामी कस्तो प्रकारको संस्कृति, पढाइ र कुन दिशातर्फ जाँदैछौं ? आज अर्बौंको कृषिजन्य खाद्यवस्तु आयात भएको छ । हाम्रा पूर्वजहरूले ‘उत्तम खेती, मध्यम व्यापार भन्थे,’ आज साबित हुन आएको छ ।
कृषिमा ६५ प्रतिशत किसान आबद्ध हुँदा पनि यो अवस्था छ । कृषिमा ६५ प्रतिशतभन्दा बढी आबद्ध हुँदा पनि यस्तो अवस्था छ । इजरायलमा ३ प्रतिशत किसानले खेती गरेर आत्मनिर्भर भएर विदेश निर्यात गर्छन् । हामी ६५ प्रतिशतले खेती गर्छौं, तर हामीलाई खान पुग्दैन । यो पहिचान गर्न जरुरी छ ।
हामीसरहको मुलुक बंगलादेश, जापान, कोरिया, नेपाल एक समयमा अल्प विकशित थियौं । तर आज ती मुलुक समृद्ध भएका छन् । संसारभर मार्केट लिएका छन् । हामीले किन गर्न सकेका छैनौं, यसको जवाफ खोज्नुपर्छ ।
कृषि पेसामा आएर अत्यन्त खुसी र प्रभावित छु । मास्टर डिग्री गरेपछि बेरोजगार थिएँ । कामको खोजीमा एउटा अध्ययन गरें । स्वदेशमा निकै जग्गा जमिन बाँझो भए पनि विदेशबाट ट्रकका ट्रक केरा आयात हुने रहेछ ।
केरा आयातलाई रोक्न यसको खेती र अन्य कृषिकर्म गर्दा सम्भावना देखें । गर्न पनि सकिन्छ भन्ने भयो । त्यसलाई महसुस गरेर कृषिमा लागें । मन स्थिर राखेर, जसरी पनि सफल हुन्छु भन्ने मार्गनिर्देश गरें । त्यही अनुसार सफल पनि भएँ । यो व्यवसायलाई अझै बढाउँदै लैजाने उद्देश्य छ ।
किसानले प्रतिपिस ३/४ रुपैयाँमा केरा बेच्छन् । उपभोक्तासम्म पुग्दा १०/११ रुपैयाँ पर्छ । किसान र उपभोक्ताबीचमा खाडल छ । त्यसमाथि भारतको केरा यहाँ आउँछ, त्यसले पनि प्रभावित पार्छ । यहाँको बजार बिगारिदिन्छ । हामी आफैं पनि उपभोक्ता हो, उत्पादक पनि हो । आज ३ रुपैयाँमा बेच्दै गर्दा भोलि त्यही केरा १०/११ रुपैयाँमा किन्नुपर्छ ।
यस्तो किसिमको खाडलको व्यवस्थापन कसरी गर्ने ? यसलाई कसरी समाधान गर्न सकिन्छ ? अर्को, प्याकेजिङ र गुणस्तरको कुरा पनि छ । हामीकहाँ भारतबाट र विदेशबाट निर्वाध रूपमा केरा आउँदा यहाँको केरा के हुन्छ ? यहाँका केरा किसानले उत्पादन गर्दा भोगेका समस्या के के छन्, त्यो बुझ्न जरुरी छ ।
पहिलो रासायनिक र प्राङ्गारिक मलको कुरा आउँछ । रासायनिक मलको समस्या छ । किसानहरूले सयौं बिघामा केरा खेती गरेका छन् । ती किसानले झोला बोकेर ५/६ किलो लिन जाने कि कृषिकर्म गर्ने, यो पनि समस्या छ । किसानले कसरी खेती गरेका छन्, त्यो आकलन गर्न जरुरी छ ।
तल्लो स्तरको किसानको कुरा सुनुवाइ भएको छैन । नीतिगत समस्या होला, कानुन बनाउनुपर्ने होला, त्यो आफ्नो ठाउँमा छ । बिमाकै कुरा गर्दा तल्लोस्तरका किसानले बिमा रकम पाएका छन् कि छैनन् ? त्यो कसले बुझ्ने ? कृषिमै निर्भर भएका किसानको खेती बाहेक अन्य केही विकल्प छैन । ती कुरा सम्बोधन भएका छैनन् ।
केराबाट चिप्स बनाएर बजार लैजाने अभ्यास भयो । तर त्याे त्यति सफल हुन सकेन । गुणस्तर र प्याकेजिङको समस्या भएर हो वा अन्य कारणले त्यसाे भएको हो, अध्ययन गर्न जरुरी छ ।
केरा उत्पादनमा चितवन जोनबाट सुपरजोन भएको छ । केराका अन्य उत्पादन र औद्योगीकरणमा पनि जानुपर्छ । हामी जान पनि चाहन्छौं, तर मुख्यतः मार्केटिङको समस्या छ ।
(चितवन केरा उत्पादक संघका निवर्तमान अध्यक्ष घननाथ महतोले ‘चितवन चिन्तन’को दोस्रो सत्र ‘कृषिको केन्द्रमा किसानका मुद्दा’ विषयक छलफलमा विचारको सम्पादित अंश)
