कृषिमै निर्भर भएका किसानको खेती बाहेक अन्य केही विकल्प छैन

कार्तिक १४, २०८१

घननाथ महताे

Farmers who depend on agriculture have no other option but farming

काठमाडौँ — हिजोका पुर्खाहरूले कृषि कर्म गरेर आफूलाई पुगेपछि विदेशमा खाद्यान्न निर्यात गर्थे । आज हामी कस्तो प्रकारको संस्कृति, पढाइ र कुन दिशातर्फ जाँदैछौं ? आज अर्बौंको कृषिजन्य खाद्यवस्तु आयात भएको छ । हाम्रा पूर्वजहरूले ‘उत्तम खेती, मध्यम व्यापार भन्थे,’ आज साबित हुन आएको छ ।

कृषिमा ६५ प्रतिशत किसान आबद्ध हुँदा पनि यो अवस्था छ । कृषिमा ६५ प्रतिशतभन्दा बढी आबद्ध हुँदा पनि यस्तो अवस्था छ । इजरायलमा ३ प्रतिशत किसानले खेती गरेर आत्मनिर्भर भएर विदेश निर्यात गर्छन् । हामी ६५ प्रतिशतले खेती गर्छौं, तर हामीलाई खान पुग्दैन । यो पहिचान गर्न जरुरी छ ।

हामीसरहको मुलुक बंगलादेश, जापान, कोरिया, नेपाल एक समयमा अल्प विकशित थियौं । तर आज ती मुलुक समृद्ध भएका छन् । संसारभर मार्केट लिएका छन् । हामीले किन गर्न सकेका छैनौं, यसको जवाफ खोज्नुपर्छ ।
कृषि पेसामा आएर अत्यन्त खुसी र प्रभावित छु । मास्टर डिग्री गरेपछि बेरोजगार थिएँ । कामको खोजीमा एउटा अध्ययन गरें । स्वदेशमा निकै जग्गा जमिन बाँझो भए पनि विदेशबाट ट्रकका ट्रक केरा आयात हुने रहेछ ।

केरा आयातलाई रोक्न यसको खेती र अन्य कृषिकर्म गर्दा सम्भावना देखें । गर्न पनि सकिन्छ भन्ने भयो । त्यसलाई महसुस गरेर कृषिमा लागें । मन स्थिर राखेर, जसरी पनि सफल हुन्छु भन्ने मार्गनिर्देश गरें । त्यही अनुसार सफल पनि भएँ । यो व्यवसायलाई अझै बढाउँदै लैजाने उद्देश्य छ ।

किसानले प्रतिपिस ३/४ रुपैयाँमा  केरा बेच्छन् । उपभोक्तासम्म पुग्दा १०/११ रुपैयाँ पर्छ । किसान र उपभोक्ताबीचमा खाडल छ । त्यसमाथि भारतको केरा यहाँ आउँछ, त्यसले पनि प्रभावित पार्छ । यहाँको बजार बिगारिदिन्छ । हामी आफैं पनि उपभोक्ता हो, उत्पादक पनि हो । आज ३ रुपैयाँमा बेच्दै गर्दा भोलि त्यही केरा १०/११ रुपैयाँमा किन्नुपर्छ ।

यस्तो किसिमको खाडलको व्यवस्थापन कसरी गर्ने ? यसलाई कसरी समाधान गर्न सकिन्छ ? अर्को, प्याकेजिङ र गुणस्तरको कुरा पनि छ । हामीकहाँ भारतबाट र विदेशबाट निर्वाध रूपमा केरा आउँदा यहाँको केरा के हुन्छ ? यहाँका केरा किसानले उत्पादन गर्दा भोगेका समस्या के के छन्, त्यो बुझ्न जरुरी छ ।

पहिलो रासायनिक र प्राङ्गारिक मलको कुरा आउँछ । रासायनिक मलको समस्या छ । किसानहरूले सयौं बिघामा केरा खेती गरेका छन् । ती किसानले झोला बोकेर ५/६ किलो लिन जाने कि कृषिकर्म गर्ने, यो पनि समस्या छ । किसानले कसरी खेती गरेका छन्, त्यो आकलन गर्न जरुरी छ ।

तल्लो स्तरको किसानको कुरा सुनुवाइ भएको छैन । नीतिगत समस्या होला, कानुन बनाउनुपर्ने होला, त्यो आफ्नो ठाउँमा छ । बिमाकै कुरा गर्दा तल्लोस्तरका किसानले बिमा रकम पाएका छन् कि छैनन् ? त्यो कसले बुझ्ने ? कृषिमै निर्भर भएका किसानको खेती बाहेक अन्य केही विकल्प छैन । ती कुरा सम्बोधन भएका छैनन् ।

केराबाट चिप्स बनाएर बजार लैजाने अभ्यास भयो । तर त्याे त्यति सफल हुन सकेन । गुणस्तर र प्याकेजिङको समस्या भएर हो वा अन्य कारणले त्यसाे भएको हो, अध्ययन गर्न जरुरी छ ।

केरा उत्पादनमा चितवन जोनबाट सुपरजोन भएको छ । केराका अन्य उत्पादन र औद्योगीकरणमा पनि जानुपर्छ । हामी जान पनि चाहन्छौं, तर मुख्यतः मार्केटिङको समस्या छ ।

(चितवन केरा उत्पादक संघका निवर्तमान अध्यक्ष घननाथ महतोले ‘चितवन चिन्तन’को दोस्रो सत्र ‘कृषिको केन्द्रमा किसानका मुद्दा’ विषयक छलफलमा विचारको सम्पादित अंश)

चितवन चिन्तन

घननाथ चितवन केरा उत्पादक संघका निवर्तमान अध्यक्ष

Link copied successfully