हवाई यातायात पर्याप्त नभएको र सडक पूर्वाधार समेत निकै कमजोर रहेकाले पर्यटक आवागमन प्रभावित भइरहेको छ । काठमाडौंदेखि चितवन, चितवन–बुटवल, चितवन–भैरहवा, चितवन–पोखरा जाने सडक राम्रो हुनुपर्छ ।
करिब ५ दशकदेखि पर्यटन व्यवसाय सुरु भएको चितवनस्थित सौराहामा १६० वटा होटल र ६० भन्दा बढी रेष्टुरेन्ट छन् । नेपालको पहिलो राष्ट्रिय निकुञ्जको पहिलो प्रवेशद्वार सौराहालाई लिइन्छ । सौराहामा जब निकुञ्ज स्थापना भयो त्यही बेलादेखि पर्यटन सुरु भयो र सौराह बन्यो ।
निकुञ्ज स्थापनापछि राप्ती तटीय क्षेत्रमा होटल तथा रेस्टुरेन्ट खुलेका छन् । यसको मुख्य श्रेय ‘टाइगर टप्स’लाई नै जान्छ । अहिले सौराहपछि पटिहानी, मेघौलीदेखि नवलपरासीसम्म होटल तथा रिसोर्ट खुलिरहेको छ । समग्रमा भन्नुपर्दा चितवन राष्ट्रिय निकुञ्ज नभएको भए यो सम्भव नै थिएन ।
अन्तर्राष्ट्रिय विमानस्थल र पहिलो प्रवेशद्वार भएकाले काठमाडौं पहिलो, एभरेष्ट बेस क्याम्प जाने धेरै पर्यटक पुग्ने भएकाले पोखरा दोस्रो र चितवनलाई स्वघोषित रुपमा पर्यटनको तेस्रो गन्तव्य भनिरहेका छौं । अब पहिलो र दोस्रो गन्तव्य कसरी बन्ने भन्नेमा हाम्रो जोड छ । भरतपुर महानगरपालिकाका भरतपुर भ्रमण वर्ष २०२४ लाई समग्र चितवन भ्रमण वर्षका रुपमा लिइरहेका छौं ।
मेघौली पुगेका पर्यटकलाई पनि सौराहा नपुगी चितवन आएको महसुस हुँदैन । त्यसैले सौराहले भएका पूर्वाधारमा अझै कसरी राम्रो सेवा सुविधा र विकास गर्ने विषयमा चिन्तन गर्न जरुरी छ । चितवनका पालिकाहरू, प्रदेश, संघ सरकार र व्यवसायीहरू मिलेर ‘डेस्टिेनेसन प्रमोसन’, डेस्टिेनेसन मार्केटिङ, चितवन राष्ट्रिय निकुञ्ज र सफारी पर्यटनलाई विश्वबजारमा पुर्याउने काम गर्नुपर्छ ।
टाइगर टप्स निकुञ्जभित्र हुँदा र बाहिरहुँदाको फरक हामीले देखिसकेका छौं । सफारी पर्यटन घट्दो क्रममा छ । सरकारले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । सेप्टेम्बरको अन्तिमसम्म ८ लाख ६३ हजार मात्रै पर्यटक भित्रिएका छन् । सरकारकै लक्ष्यमा ठूलो संख्याको अन्तर आएकोले चितवन आउने पर्यटकको संख्या पनि लक्ष्यभन्दा कम नै छ ।
हवाई यातायात पर्याप्त नभएको र सडक पूर्वाधार समेत निकै कमजोर रहेकाले पर्यटक आवागमन प्रभावित भइरहेको छ । काठमाडौंदेखि चितवन, चितवन–बुटवल, चितवन–भैरहवा, चितवन–पोखरा जाने सडक राम्रो हुनुपर्छ । हवाई यातायात तथा सडक पूर्वाधारमा ध्यान नदिएसम्म चितवनमा पर्यटन प्रवर्द्धन गर्न गाह्रो छ । पर्यटन व्यवसाय कहिले भूकम्प कहिले कोरोनाको मारमा पर्छ । पर्यटन व्यवसाय ‘पर्ख र हेर’ को अवस्थामै छ । यद्यपी कोरोना महामारी पछि अघिल्लो वर्ष केही हदसम्म माथि उठेको अनुभव गरेका थियौं । तर स्थिर भएन् ।
सन् २०२४ मा सरकारले १६ लाख पर्यटक आउने लक्ष्य राखेपछि हामीले पनि त्यहि अनुसार तयारी गरेका थियौं । तर लक्ष्यअनुसार पर्यटक भित्रिएन् । व्यवसायीले लगानी गरेको गर्यैं छ । कसरी राम्रो बनाउन सकिन्छ भनेर चिन्तित र कटिबद्ध छौं । तर यति हुँदाहुँदै पनि हामी व्यवसायीमा चिन्ता के छ भने हाम्रो जुन बैंकको व्याजदर छ, त्यो चर्को छ ।
साँच्चिकै पर्यटन क्षेत्रमा न्यून व्याजदरमा कर्जा चाहिएको छ । त्यसैले सरकारले कृषिमा जस्तै पर्यटन क्षेत्रलाई पनि न्यून ब्याजदरमा ऋण दिनुपर्छ भन्ने हाम्रो माग हो । बैंकको ब्याजदर महँगो पर्न गएकाले पर्यटन क्षेत्रमा न्यून ब्याजदरमा ऋण चाहिएको छ ।
-कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित कार्यक्रम 'चितवन चिन्तन' मा पर्यटन व्यवसायी घिमिरेले राखेका विचारको सम्पादित अंश ।
