राष्ट्रिय प्राथमिकता के हो, त्यसमा पहिला स्पष्ट हुनुपर्छ

कार्तिक १२, २०८१

अञ्जन श्रेष्ठ

What is the national priority should be clear first

वास्तविक कुरा भनौं भने हाम्रो अर्थतन्त्र कोभिडको पोइन्टमा आउँदा एकदमै हिसाबले तीव गतिमा वृद्धि भइरहेको थियो । त्यसपछि कोभिड आयो । आफ्नो जीवन रहन्छ कि रहदैन? के हुन्छ ? भन्ने विकराल परिस्थितिमा रहेका थियौं ।

त्यसपश्चात् हाम्रो अर्थतन्त्रमा केही समस्याहरू देखिए । तर त्यो समस्यासमाधान गर्नका लागि जुन किसिमको सोच बनाइयो त्यो गलत थियो । यो कुराहरू सबैले स्विकार्नुपर्छ । किनभने एउटा वृद्धि भईरहेको र अगाडी बढ्दै गईरहेको अर्थतन्त्रलाई राज्यले त्यसबेला नीति लिएर नै संकुचन गराउने कुरामा अगाडी बढ्यो । जस्तै ः आयातलाई निरूत्साहिन गर्ने र खपतको लय (कन्जम्पसन प्याट्रन) लाई घटाउने । यो किसिमको जुन नीति लिइयो त्यसले गर्दा नै अहिले यो अवस्था आएको हो । 

तत्पश्चात आर्थिक वृद्धिदर कमै भएपनि अहिले सरकारलेपछिल्लो बजेटमार्फत ६ प्रतिशतको आर्थिक वृद्धिदरको अपेक्षा गरेको छ । तर यसका लागि सरकारको तयारीहरू पुगेको छैन कि ?गर्नुपर्ने कार्यहरू भएको छैन कि ? भन्ने कुरा यहाँ देखिन्छ । 

जुन चालु खर्च वृद्धि भएर गईरहेको छ, झण्डै ६१ प्रतिशतको चालुखर्च छ । प्रत्येक वर्ष चालु खर्च वृद्धि भईरहेको छ । यसले सबैभन्दा ठूलो समस्या ल्याएको छ । अर्को कुरा पुँजीगत खर्च प्रत्येक वर्ष घट्दो छ ।अर्थात् विकास निर्माण खर्च घटेर गएको छ । त्यसले पनि समस्या ल्याएको छ । अर्को वित्त व्यवस्थापनको खर्च वृद्धि भएर गएको छ । पछिल्लो बजेटमा पुँजीगत खर्चभन्दा वित्त व्यवस्थापन धेरै राखिएको छ । 

आउने वर्षमा क्रमबद्ध बढ्दै जाने कुरा म सुन्दैछु । अब आउने आर्थिक वर्षमा हाम्रो करिब यो वित्तीय व्यवस्थापन खर्च ६ खर्ब रुपैयाँ हाराहारी हुने कुरा सुनिरहेको छु । राज्यले पछिल्लो पटक के गर्‍यो भने यो आन्तरिक उत्पादन बढाउनेभन्दा पनि आन्तरिक ऋण लिएर गर्जो टार्ने काम गरेको कुरा स्पष्ट देखिन्छ ।

निजी क्षेत्रलाई विश्वासमा लिनुपर्छ । हुनत बजेटको कुरा गर्‍यो भने सधैं निजी क्षेत्रलाई विश्वासमा लिने कुरा गरिन्छ । सबैभन्दा ठूलो कुरा निजी क्षेत्रलाई विश्वासमा लिएको खै ?सबैभन्दा पहिले यसमा समस्या छ । सरकारले निजी क्षेत्रलाई विश्वासमा लिन सकेको छैन । 

नाम नलिउ, पूर्वप्रधानमन्त्रीहरूले हालै बोल्दा खेरी के भन्नुभएको छ भने हाम्रो राजनीति जबसम्म स्थिर हुँदैन तबसम्म आर्थिक नीति पनि स्थिर हुँदैन । खुला रूपमा भन्नुभएको छ । त्यो भनिसकेपछि प्राथमिकता राजनीतिमा छ आर्थिक नीतिमा छैन ।आर्थिक नीतिमा प्राथमिकता नभएसकेपछि आर्थिक पाटोमा अगाडी बढाउने कुरा प्राथमिकता हुँदैन तबसम्म यो मुलुकमा यस्तो अवस्थाहरू आउँछ । यो ६ प्रतिशतको वृद्धिदर हासिल गर्न पनि गाह्रो हुन्छ । 

नीतिगत कुरा गर्दा नीति त आउँछन् । कतिपय राम्रा नीतिहरू आउँछन् । तर नीति स्पष्ट छैनन्, निरन्तर छैनन् । सबैभन्दा ठूलो कुरा हाम्रो ऐन नियमहरू अनुमान गर्न सकिने (प्रेडिक्टेबल) छैनन् । छोटो समयका लागि आउँछन् । एउटा व्यक्तित्वपिच्छे सरकार परिवर्तन हुँदा नीतिहरू परिवर्तन हुन्छन् । यसले गर्दा उद्योग व्यवसायीले लगानी गर्ने मनोबल बनाएर अगाडी आउने स्थिति छैन । 

यो कुरामा सानो उदाहरण दिन्छु । जस्तो स्टार्टअपलाई अघिल्लो आर्थिक वर्षमा २५ लाख रुपैयाँसम्म २ प्रतिशत व्याजदरमा ऋण दिने भन्यो । तर त्यो आर्थिक वर्षमा कार्यान्वयन भएन । यो २५ लाख रुपैयाँ दिने यो आर्थिक वर्षमा कार्यान्वय भएको छ । तर यो आर्थिक वर्षमा आउँदा १ प्रतिशतले व्याजदर बढ्यो । एउटा राज्यले ल्याएको अवधारणा (कन्सेप्ट) सुरु नै भएको छैन, एक प्रतिशतले व्याजदर वृद्धि गर्‍यो, किन ? राज्यले कमाउने हो की ? के को लागि त्यो व्याजदर बढाएको ? जबकी स्टार्टअप, नयाँ उद्यमीलाई उद्यमशीलतावृद्धि गर्न एक प्रतिशत व्याजदरमै राज्य अन्योल हुन्छ । यसमा मन्त्रीहरू एकदम सचेत हुनुपर्छ । यसलाई गम्भिर रूपमा लिनुपर्छ । 

अब उद्योग वाणिज्य क्षेत्रको नीतिका कुरा गर्दा स्टिल उद्योगको दुई वर्ष अगाडी आएको नीति र अहिले दुई वर्षमा भएको परिवर्तनको कुरा, अटोमोबाइल क्षेत्रमा भईरहेको बारम्बार परिवर्तनको कुरालगायतका विभिन्न औद्योगिक उद्योगको लागि हुनुपर्ने नीतिहरूमा भएको परिवर्तन । 

नेपालमा दुधको उत्पादन धेरै भएको छ । अहिले यहाँको दुध खपत हुन नसकेर दुग्ध पदार्थ आयात गर्नलाई रोकिएको छ । तर अहिले मिडियामा भारत सरकारको दबाबमा दुग्ध पदार्थ आयात खोल्ने कुराहरू आईरहेको छ । त्यसमा भारतले सिमेन्ट, जुत्ता, प्लाईउडका कुरामा दिनुपर्ने पीएसआई सर्टिफिकेट नदिने किसिममा सौदाबाजी गर्ने कुरा आईरहेको छ । 

भनेपछि राष्ट्रिय स्वार्थ कहाँ नेरी हेर्ने हो ? राष्ट्रिय स्वार्थ कहाँ संरक्षण गर्ने हो ? यो कुरा पहिलाहेर्नुपर्छ । राष्ट्रिय स्वार्थ के हो ?यो कुरामा स्पष्ट हुनुपर्छ । 

यहाँराज्यलाई उद्योग चाहिएको हो कि व्यापार ?यो कुरामा राज्य पहिला स्पष्ट हुनुपर्छ । हो, निश्चय व्यापार चाहिन्छ । उद्योग गरिसकेपछि व्यापार गर्नुपर्छ । किनभने सबैले उद्योग गर्दैनन् । मैले उद्योग उत्पादन गरिसकेपछि व्यापार र बिक्री गर्नुपर्छ । कति हाम्रो मुलुकमा उत्पादन हुन सक्दैन त्यो विदेशबाट ल्याउनुपर्छ । 

प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को कुरा गर्दा जहाँ सहज छ, त्यहाँ एफडीआई जान्छ । पैसा भनेको चिज जहाँ ढलान छ, त्यतातिर बग्छ । त्यो कुरामा सबैभन्दा राज्यले विचार गर्नुपर्छ । किनभने एफडीआईमा सबैले नीति हेर्ने हो । एकदम सजिलो खोज्छ । जुन मुलुकमा सजिलो छ त्यो मुलुकमा लगानी गर्न चाहन्छ । 

मैले अघि नै भने हाम्रा नीतिहरू स्पष्ट छैनन् । प्रत्येक नेतृत्व परिवर्तनमा नीति परिवर्तन हुन्छ । त्यस्तो कारणले गर्दा हाम्रोमा एफडीआई आउन सजिलो छैन । राज्यले पछिल्लो समय लगानी सम्मेलनमार्फत प्रयास गर्‍यो तर त्यसको नतिजा आज के छ भन्ने कुरा हामी सबैलाई थाहा छ । 

हाम्रा प्रतिबद्धताहरू स्पष्ट छैनन् । अर्को उदाहरण प्रस्तुत गर्छु । चितवन पर्यटन नगरी पनि हो । यो लगानी सम्मेलन हुन अघिमहासंघले सरकारका सचिवहरूसँग धेरै दिनको घनिभूत भएर कुन–कुन ऐन संशोधन गर्ने भनेर छलफल गर्‍यौं । संसोधनमा हामीले सिफारिस गर्‍यौं त्यसमा दुई/चार कुराहरू काटिए । जस्तै, धेरै अघिदेखि पर्यटन क्षेत्रका उद्योगीहरूले माग गर्नुभएको थियो होटल उद्योगलाई पनि अन्य उद्योग सरह सुविधा र सहुलियत दिनुपर्‍यो । हामीले सिफारिस गर्‍यौं । त्यसबेला सहि पनि गर्‍यौं । तर पछि निर्णय भएर आउने बेला होटल र अम्युजमेन्ट पार्कको निर्णय हटेर आयो । भन्ने बेला सरकारलेनिजी क्षेत्रसँग एउटा प्रतिबद्धता गर्छ । भएको एउटा समझदारी बिगार्न जाँदा के हुन जान्छ ? त्यसले लगानी ल्याउन राज्यको प्रतिबद्धता स्पष्ट हुनुपर्छ । त्यो कुरा अकाट्य हुनुपर्छ ।विदेशी लगानीकर्ताले त्यसरी हेर्छ ।

नेपालमा हाम्रो लक्ष्मी ग्रुपले गत बैशाखदेखि हुण्डाई गाडीको उत्पादन गर्न सुरु गरेको छ । त्यसमा हुण्डाई मोटर कम्पनी कोरियाले लगानी गर्न रुचि देखाएको छ । तर उहाँहरू नीति अध्ययन गरेर सोधिरहेका छन् । लगानी गर्दा के छ त ?यहाँ लक्ष्मी ग्रुपले आफ्नै लगानी गरेर उत्पादन गर्न सक्छौं । तर कोरियाली कम्पनीले वास्तविक चाहेका कुरा भनेको लगानी गरेपछि निर्यातको सम्भावना खोजिरहेका हुन् ।

अहिले हाम्रो चार/पाँच हजार गाडी उत्पादन गर्ने क्षमताको उद्योग चलिरहेको छ ।उनीहरू वार्षिक ५० हजारदेखि एक लाख सम्म गाडी उत्पादन गर्ने क्षमताको रूपमा अगाडी जाने भनेर अध्ययन गरिरहनु भएको छ ।कोरियाली कम्पनी नेपालको नीतिहरू अध्ययन गरिहेका छन् । यसमा हामीलाई सोध्दा जवाफ दिने ठाउँ छैन । 

एउटा समझदारी भएर होटल उद्योगलाई दिन्छु भनेको निर्णय त्यो परिवर्तन भएर नआउदा विश्वास कहाँ गर्ने ?निजी क्षेत्र र सरकार, शासक र प्रशासकबीचको खाडल पुरिनुपर्छ ।म बारम्बार भन्दै आईरहेको छु पहिला राज्यले नेपालको निजी क्षेत्रको विश्वासमा लिनुपर्‍यो । 

अरु उद्यमीलाई कुनै विदेशीले नेपालमा लगानीको वातावरण कस्तो छ भनेर सोध्यो भने निश्चय पनि नागरिकको हैसियतले राम्रो भन्ला तर उसको हाउभाउले त्यसलाई राम्रो छ भनेर भनिरहेको हुँदैन । किनभने उभित्र पीडाहरू धेरै छन् ।उसले भोगेका समस्याहरू धेरै छन् । 

निजी क्षेत्रलाई हेर्ने, बुझ्ने र सोच्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्‍यो । राजनीतिक रूपमा परिवर्तन गराइदिनु पर्‍यो । अझ कर्मचारीतन्त्रमा ठूलो खाँडल छ । कर्मचारीतन्त्रमा अझ धेरै समस्या छ । जबसम्म यो परिवर्तन हुँदैन नेपालमा लगानीको वातावरण बन्दैन । मैले कलमले सही गरिदिएर उसले कमाई खाने भन्ने सोच्नु भएन । नेपालमा यसलाई परिवर्तन गर्नपर्‍यो । मैले सदर भनेर निर्णय गरिसकेको छु, भोली यसले कमाएर खान्छ, करोडपति अर्बपति बन्छ भनेर सोच्नु भएन । करोडपति र अर्बपति भएसकेपछि यही मुलुकमा बस्छ । यही मुलुकमा समृद्धि ल्याउँछ भन्ने सोच्नुपर्छ ।

-कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित कार्यक्रम 'चितवन चिन्तन' मा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले राखेका विचारको सम्पादित अंश ।

चितवन चिन्तन

अञ्जन श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष हुन् ।

Link copied successfully