साना व्यावसायीलाई स्थानीय सरकारले हेर्नुपर्छ

कार्तिक १२, २०८१

विशाल कुमाल

Small businesses should be looked after by the local government

चितवनको पर्यटन र उद्योग क्षेत्रसँग जोडिनुपर्छ भनेर मैले २०६९ सालमा गोलाघाटमा हस्तकला उद्योग सुरु गरेँ । यहाँ अहिले पनि ४ सयजनाले प्रत्यक्ष रोजगारी पाउनु भएको छ । यो ठाउँ र यहाँका मेरा साथीभाइलाई केही सहयोग गर्नुपर्छ भनेर मैले उद्योग सञ्जालन गरेको थिएँ । आज चितवन राष्ट्रिय निकुञ्जले पनि मलाई पर्यापर्यटन प्रवर्द्धनका लागि कदर गरेकोमा म आभारी छु ।

हिजो म आफैँ खोलामा जाँदा वा जंगलमा घाँस काट्न जाँदा मेरैसामू बाघले मेरा साथीलाई तानेको र गैँडाले मार्दै गरेको दृश्य मलाई खपिसाध्य भएको थिएन । आज पर्यापर्यटनमा मेरो पहलले पनि केही टेवा पुगेको छ भन्ने महसुस गरेको छु । आदिवासी- जनजातिहरू खोलाको तिर, जंगलको छेउमा बस्ने हुन् । उनीहरूको आय-आर्जन जंगलकै तिरमा हुन्छ र उनीहरूको हक-अधिकार सरकारले सुनिश्चित गर्नुपर्छ भन्ने हाम्रो बुझाइ हो । यसलाई हामीले पर्यटनसँग जोड्नुपर्छ भन्ने लाग्छ किनभने हाम्रो भाषा, वेशभूषा सबै गुमेर जाँदै छ । 

आदिवासी-जनजातीको कला, संस्कृति संरक्षण गर्न हामीले पहल गरेका छौं । हाम्रो मेयरले पनि चितवनका सबै जातजातीको संग्रहालय मेघौलीमा बनाउने प्रतिबद्धता जाहेर गर्नुभएको छ । त्यसो गर्न सकियो भने पश्चिम चितवनमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउनसक्ने सम्भावना हुन्छ । म व्यावसायी साथीहरूलाई चाहिँ हामीले हाम्रो उत्पादन बेच्नुपर्छ भनेर आग्रह गर्न चाहन्छु । विदेशको ब्लु लेभल, ब्ल्याक डबल लेभल बेच्न आवश्यक छैन । हामीले यहीँ अर्गानिक अर्ने (तीनपाने) उत्पादन किन नगर्ने ? कुमाल भाषामा अर्ने भनिने तीनपाने उत्पादनका लागि स्थानीय सरकारले नीतिगत रूपमै स्विकृत दिने व्यवस्था गरिदिनुस् भनेर म आग्रह गर्छु ।  

हाम्रो सांस्कृतिक खाना चिचर, ढिँडो, ढिकर, घोङ्गी, लोकल हाँस छन्, यी अर्गानिक हुने भएकाले स्वास्थलाई कुनै असर गर्दैनन् । यो चिजलाई हामीले प्राथमिकता दिनुपर्छ ।  विदेशी पदार्थलाई निरुत्साहित गरेर स्वदेशीलाई अगाडी बढाऊँ भनेर मैले १६ वटा परिकार मेरो होटलमा बनाउन थालेको छु । मैले बनाउने हाँस, कुखुरा, माछा, घुँङ्गी यहाँका चौधरी, कुमाल र अन्य स्थानीयहरूबाट खरिद गर्ने भएकाले यहाँका किसान लाभान्वित भएका छन् । आर्थिक रूपमा विपन्न समुदायलाई हामीले यसरी पनि साथ दिन सक्दा रहेछौं ।  

म पूर्वी चितवन, सौराहाको प्रोडक्ट हुँ, मैले त्यहीँबाट पर्यटनबारे सिकेको हुँ । यसो भनिरहँदा सौराहा, मेघौली, नवलपरासीभन्दा पनि समग्र चितवन जिल्लाकै विकास हुनुपर्छ भन्ने मेरो बुझाइ हो । चितवनलाई व्यावसायसँग जोड्न सकेनौँ भने वा यहाँका व्यवसायीलाई माथि उक्सान सकेनौँ भने यहाँको समाज र महानगरपालिकाको विकास सम्भव हुँदैन । यहाँका व्यवसायीलाई प्रवर्द्धन गर्न, स्थानीय उद्यमशिलता प्रवर्द्धनका लागि स्थानीय र प्रदेश सरकारले आवश्यक वातावरण तयार गरिदिनुपर्छ । 

यहाँका साना व्यवसायीहरूले पूर्वाधार विस्तार, कर्मचारीको क्षमता अभिवृद्धि र आफ्ना सेवा-सुविधा बढाउन आर्थिक चुनौती झेल्ने गरेका छन् । स्थानीय सरकारले साना व्यावसायीलाई हेर्नुपर्छ । साना व्यवसायीले भोग्दै आएको ल्याब टेस्टसम्बन्धी समस्या हामीले पटक-पटक उद्योग मन्त्रालय नेतृत्वसमक्ष राख्दै आएका छौं । ल्याब टेस्ट नगरी सामान निर्यात गर्न नसकिने भएकाले त्यस्तो मेसिन ल्याइदिनुपर्यो भन्ने माग हो । तर अझैसम्म हाम्रो यति सानो माग पूरा हुन सकेको छैन । यसरी सानोभन्दा सानो कुरामा पनि हामी अल्झिने गरेका छौं ।

हस्तकलासम्बन्धी क्षेत्रमा २५ हजारभन्दा धेरै दिदी-बहिनी, दाजु-भाइलाई रोजगारी पाउनु भएको छ । तर हाम्रा समस्याहरूको सुनुवाइ हुँदैन । हामीले ६ महिनाका लागि निर्यात कर्जा पाउँछौं तर सामग्री बनाइसक्नै तीन महिना लाग्छ र पठाइसक्न तीन महिना लाग्छ । यसले गर्दा हामीलाई व्यवसाय सञ्चालन र विस्तारमा समस्या हुने गरेको छ ।

म टागर टप्सको नजिकै जन्मिएको मान्छे, यहाँको पर्यटनको कुरा गर्दा जिम एडवार्डलाई भुल्न हुँदैन भन्ने लाग्छ । उहाँले सन् १९६३ मा चारवटा कोठाबाट टाइगर टप्स हन्टिङ कम्पनी स्थापना गर्नु भएको थियो । पछि यसलाई २० वटा कोठामा विस्तार गर्नु भयो र महारानी एलिजावेथजस्ता विभिन्न अन्तर्राष्ट्रिय  व्यक्त्तित्वलाई आतिथ्य प्रदान गर्न सक्नु भयो । टाइगर टप्स आज बत्तीमुनीको अँध्यारो बनेको छ । यसलाई ब्युँताउनुपर्छ ।  

-कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘चितवन चिन्तन’ मा चितवन-गोलाघाट पर्यटन विकास समितिका अध्यक्ष कुमालले व्यक्त गरेको भनाइको सम्पादित अंश

चितवन चिन्तन

विशाल कुमाल चितवन-गोलाघाट पर्यटन विकास समितिका अध्यक्ष हुन् ।

Link copied successfully