हाम्रा प्राथमिकता, हाम्रो बाटो 

सबै राजनीतिक दल, मन्त्रिपरिषद्, प्रशासनिक संयन्त्र, नागरिक समाज, पत्रकार सबै क्षेत्र, वर्ग र समुदायसँग सुमधुर सम्बन्ध स्थापित गरेर सरकारको नेतृत्व अगाडि बढ्न चाहेको छ, हाम्रा सुरुवातका दिन यसैतर्फ लक्षित छन् 

कार्तिक ८, २०८१

विनोद शाह

Our priorities, our path

राजधानीको प्रदेशका रूपमा रहको वाग्मती प्रदेश सरकारका प्राथमिकता, चुनौती र सम्भावना प्रशस्त देखिन्छन् । नेपालको ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्त्विक महत्त्व बोकेको प्रदेश हुनुका नाताले यहाँको कला, संस्कृति र परम्पराको संगमस्थलको संरक्षण, संवर्द्धन र विकास मात्र होइन, विभिन्न जातजाति, भाषाशैली, धर्मसंस्कृति, त्यसको मौलिकताको संरक्षण र विकासमा पहिचानसहितको विविधतालाई सम्बोधन गर्नुपर्ने दायित्व वाग्मती सरकारको जिम्मेवारीमा छ । 

भौतिक संरचनाको निर्माण, सुशासनको प्रत्याभूति, कानुनको शासन, शासन व्यवस्थाप्रति विश्वास आर्जन गर्नुपर्ने चुनौती मात्र होइन, संघीय शासनको औचित्य र आवश्यकता अनुभूत गराउने सेवामुखी कार्यहरूको प्रभावकारी कार्यान्वयनलाई मुख्य कार्यभारका रूपमा अगाडि बढाउनुपर्नेछ । 

प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले सरकार निर्माणमै अन्य दलहरूको सहयोगको आवश्यकता छ । वाग्मतीमा कांग्रेस र एमालेको संयुक्त सरकार कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामा तामाङको नेतृत्वमा चलिरहेको छ । कांग्रेस र एमालेबीच भएको ६७ बुँदे सहमतिबमोजिम आम मानिसमा देखिएको नैरश्य, तृष्णता र असन्तुष्टि चिर्दै विश्वासको वातावरण बनाई आशा जगाउने जिम्मेवारी सरकारको काँधमा छ । 

उल्लिखित सबै परिस्थितिप्रति गम्भीर भएर प्रस्तुत हुनुपर्छ भन्नेमा सरकार गम्भीर छ । सबै राजनीतिक दल, मन्त्रिपरिषद्, प्रशासनिक संयन्त्र, नागरिक समाज, पत्रकार सबै क्षेत्र, वर्ग र समुदायसँग सुमधुर सम्बन्ध स्थापित गरेर सरकारको नेतृत्व अगाडि बढ्न चाहेको छ । हाम्रा सुरुवातका दिन यसैतर्फ लक्षित छन् । 

गएको असोज १०–१२ मा आएको अविरल वर्षाका मारमा आम मानिस परेका छन् । वाग्मतीमा ठूलो जनधनको क्षति भएको छ । बाटोघाटो, पुल–पुलेसामा ठूलो अवरोध पुगेको छ । त्यसलाई तत्काल सम्बोधन गर्नुपर्ने थप जिम्मेवारी र दायित्व हाम्रो काँधमा छ । सरकार सञ्चालनसम्बन्धी कार्यविधिले दिएको अधिकारअनुसार मृत्यु हुने परिवारलाई तत्काल एक लाख रुपैयाँ तथा कार्यविधि परिमार्जन गरी थप १ लाख रुपैयाँ र बासस्थान पूर्ण क्षति भएको भएमा अस्थायी टहराका लागि १ लाख रुपैयाँ दिने निर्णय भएको छ । 

हामी प्रदेशका भौगोलिक विशेषताअनुसारको प्राथमिकता निर्धारण गर्न चाहन्छौं । तराई र भित्री मधेशमा उत्पादनलाई प्रोत्साहन गरी त्यसको बजार सुनिश्चित गर्न चाहन्छौं । खाद्यान्न तरकारी, फलफूल र दुग्ध पदार्थको उत्पादन र बिक्री वितरणलाई व्यवस्थित गरी आय आर्जनको भरपर्दो प्रभावकारी र योजना बनाई लागू गर्न चाहन्छौं । 

पहाडी जिल्लाहरूमा उत्पादन हुने फलफूल, तरकारी तथा पशुपालनलाई प्राथमिकताका क्षेत्रहरूमा जोडी स्वस्थ जीवनका लागि सरकारले पहलकदमी लिनुपर्नेछ । यसका लागि व्यावसायिक र विविध कार्यक्रम जनस्तरमै पुर्‍याउनुपर्नेछ । हिमाली क्षेत्रहरूमा पाइने जडीबुटीहरूको संग्रह गरी त्यसको बहुआयामिक उपयोगितालाई प्राथमिकतामा राख्न सके त्यसले राष्ट्रिय अर्थतन्त्रमै टेवा पुर्‍याउने देखिन्छ । स्थानीयस्तरमा आयआर्जन पनि बढ्छ । यसतर्फ सरकारको दृष्टि जानु आवश्यक छ । 

धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरूको थप पहिचान गरी त्यसको संरक्षण, विस्तार र प्रचार अर्को महत्त्वपूर्ण क्षेत्र हुने देखिन्छ । यस्ता बहुआयामिक विषयमा व्यापक छलफल गरी प्राथमिकताका क्रममा सरकारले आफ्नो क्षमता र सीमाभित्र रहेर कार्य गर्ने सोच बनाएको छ । 

देशभित्र अनन्य सम्भावना भएर पनि हाम्रो युवा जनशक्ति बिदेसिएको छ । अब हामीले हाम्रा आवश्यकता र प्राथमिकताका क्षेत्रबारे बृहत् समीक्षा गर्नुपर्नेछ । ज्ञान, प्रविधि र सीपको अभावमा हाम्रो जनशक्तिले विश्वबजारमा प्रतिस्पर्धा गर्न नसकेको तीतो यथार्थ पनि हामीले महसुस गरेका छौं । 

एकातर्फ बिदेसिनुपर्ने बाध्यात्मक परिस्थिति र अर्कोतर्फ श्रमको उचित पारिश्रमिक नपाउनु तथा आफ्नो मातृभूमि क्रमशः अनुत्पादक हुने अवस्था निश्चय नै सुखद होइन । यस विषयमा राष्ट्रियस्तरमै बहस र छलफल हुनुपर्नेछ । जनशक्तिलाई देशभित्र नै व्यवस्थापन गर्न–गराउन क्रियाशील बन्नुपर्ने अर्कौ चुनौती पनि स्थानीय, प्रदेश र संघीय सरकारसामु छ । 

शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधारको विकास र विस्तारले युवा जनशक्तिलाई आकर्षित गर्न सक्छ । सूचना र सञ्चारमा आएको फेरबदलले एउटा कुना र अर्को कुनालाई नजिक्याएको छ । कुनै एउटा भूगोलमा बस्ने मानिसले संसारमा उपलब्ध सम्पूर्ण सेवा र सुविधा उपयोग र उपभोग गर्न पाउने तर अर्को भूगोलको मानिस आधारभूत कुराबाट नै वञ्चित हुनुपर्ने अन्यायपूर्ण अवस्था किन ? सबैसामु गम्भीर प्रश्न खडा भएको छ । 

के फरक भूगोलमा जन्मनु नै अभिशाप हो ? सिमानाको वारिपारि बस्नेकै बीचमा विभेद राज्य सञ्चालकको क्षमता र दृष्टिकोणको कमीले गर्दा देखिएको समस्या हो ? यस्ता अनुत्तरित प्रश्नहरूको जवाफ हामीले समाजलाई दिन सक्नुपर्छ । राज्य व्यवस्थाको चरित्र र प्रवृत्तिलाई बदल्न नसकेसम्म हामी आम मानिसको विश्वास जित्न सक्दैनौं । 

हामी संघ र प्रदेशमा गठबन्धन सरकार चलाइरहेछौं । दलहरूबीच समीकरण बन्ने र भत्कने क्रम तीव्र छ । सरकारका सीमितता पनि देखिन्छन् । विश्वासको वातावरण बनाउन र दलहरूबीच सन्तुलन कायम राख्न समस्या छ । जनअपेक्षा र सरकारको कार्यसम्पादनबीच धेरै तालमेल बन्न सकेको देखिन्न । प्रशासनिक संयन्त्र पनि सेवामुखीभन्दा सुविधामुखी बन्दै गएको जानकार बताउँछन् । 

कार्यसम्पादनमा सुस्तता र कार्यान्वयनमा अनावश्यक झन्झट सिर्जना हुनाले पनि जनभावनामा आघात पुर्‍याएको हो । सरकारको अस्थिरताको फाइदा उठाउने प्रवृत्ति ज्यादा प्रभावशाली देखिनु असन्तुष्टिलाई बढाउने अर्को कारक हो । सतहमा हेर्दा र देख्दा सबैको उद्देश्य जनसेवा नै हो । तर निर्णय र कार्यान्वयनको क्षेत्रमा त्यस्तो अनुभूति हुन नसक्नु समस्याको अर्को पाटो हो । सरकारको अस्थिरताले त्यस्ता विषयमा निर्ममतासाथ प्रस्तुत हुन कठिनाइ परेको सत्य हो । त्यसले शासन–प्रशासन जनभावना र चाहना उन्मुख बन्न नसकेको तर्क नाजायज होइन । यस दिशामा राजनीतिक नेतृत्व सचेत नभएको आम मानिसको गुनासो अन्यथा होइन । 

यी सबै अवस्थाप्रति जानकारी राखेर सचेत भएर सहमतिका साथ नीति तथा कार्यक्रम बनाई सरकार र नागरिकबीच बढेको दूरी घटाउने अभिभारा पूरा गर्न वाग्मती प्रदेश सरकार इमानदारीसाथ लाग्छ ।

विनोद शाह वाग्मती प्रदेशका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हुन् ।

Link copied successfully