सिन्धुपाल्चोक पहिरो : चारको शव निकालियो, ६ जना अझै बेपत्ता

आश्विन १३, २०८१

अनिश तिवारी

Sindhupalchok Landslide: Four bodies recovered, 6 still missing

सिन्धुपाल्चोक — अविरल वर्षाले सिन्धुपाल्चोकका विभिन्न स्थानमा गएको पहिरोले पुरिँदा बेपत्तामध्ये आइतबार बिहानसम्म  चार जनाको शव निकालिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार सुनकोशी गाउँपालिका-४ च्यानेक्षेत्रमा रहेको सिन्धु बिच रिसोर्टछेउ पहिरोले पुरिएर ज्यान गुमाएका एक कोरियन र एक नेपालीको शव निकालिएको छ । मृत्यु हुने नेपाली सेनाको मेजर पदमा कार्यरत दोलखाका मिलन केसी रहेको परिचय पत्रबाट खुलेको जिल्ला प्रहरी प्रमख सन्तोष खड्काले जानकारी दिए ।

शनिबार यही रिसोर्टबाट १५ जनालाई सकुशल उद्धार गरिएको थियो  । 'वर्षा थामिएकाले केही सहज अवस्था छ ,तर जताततै पहिरोले ढाकेका हुनाले बेपत्तालाई खोज्न गाह्रो भइरहेको छ,' खड्काले भने ।

जुगल -१ कुनेगाँउमा दुईको शव निकालियो, अरु अझै बेपत्ता

त्यसैगरी शनिबार दिउँसो जुगल गाउँपालिका–१ कुनेगाँउमा पहिरोले ३ घर बगाउँदा ४ जना बेपत्ता भएकोमध्ये दुईको शव निकालिएको छ । 'ती निकालिएको दुई शवको पनि पहिचान भइसकेको छैन , यहाँ दुई बेपत्ताको खोजी भइरहेको छ,'जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले भने ।  

यसअघि लिसंखु-३ मा पहिरोले पुरिएर पूर्व वडाध्यक्ष काजिबहादुर तामाङसहित उनकी श्रीमतीको मृत्यु भएको थियो  । उता शनिबार दिउँसो लिसंखुपाखर गाँउपालिका-३ की  तृष्णा मोक्तानको घर पहिरोले पुरिँदा उनीसहित उनका एक छोरा र एक छोरी गरी बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बाढी पहिरो

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully