दोलखा र रामेछापमा ४ को मृत्यु, ५ सम्पर्कविहीन

आश्विन १३, २०८१

केदार शिवाकोटी

4 dead in Dolakha and Ramechhap, 5 uncontacted

दोलखा — अविरल वर्षाका कारण दोलखामा ३ र रामेछापमा एक गरी ४ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् ।

त्यस्तै, माथिल्लो तामोकोशी जलविद्युत् केन्द्रको बाँधस्थलमा रहेको हेडवर्क्सको विद्युत् सञ्चालन गृह पहिरोले पुरिँदा विद्युत् केन्द्रमा कार्यरत ३ जना कर्मचारी र सेनाका २ जना सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । पहिरोले ४ सय ५६ मेगावाट क्षमताको विद्युत्गृह पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

विद्युत् केन्द्रको बाँधस्थल नजिकै रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा चौकी पनि डुबानमा परेको छ । लामाबगरका केही घर पनि डुबानमा परेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । ‘उद्धारका लागि सबै संयन्त्र परिचालन भएको छ,’ उनले भने, ‘तर बाढीका कारण ज्यान जान सक्ने अवस्था छैन ।’

दोलखाको भीमेश्वर नगरपालिका–६ मैदानेमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामकुमार भुजेल, १६ वर्षीय छोरा रोशन भुजेल र श्रीमती राधा भुजेल रहेको प्रहरीले जनाएको छ । २ वर्षीय छोराको भने जीवितै उद्धार गरिएको छ । पहिरोले जिल्लाको शैलुङ गाउँपालिका–८ मा एक जनालाई पुरेको छ भने एकको जीवितै उद्धार गरिएको छ ।

यस्तै, खिम्ती जलविद्युत् केन्द्र रहेको तामाकोशी गाउँपालिका–५ सहरेको किर्नेटारमा तामाकोशी नदीले रामेछाप र दोलखा जोड्ने मुख्य पुष्पलाल राजमार्ग बगाएपछि यातायात ठप्प भएको छ । नदीले किर्नेटार बजार पनि कटान गरेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । किर्नेटारमा रहेको धुलिखेल अस्पतालमा पनि बाढीले क्षति पुर्‍याएको छ ।

रामेछापमा पहिरोले गोठ पुरिँदा रामेछाप नगरपालिका–६ ओख्रेनी दारिमबोटमा एक महिलाको मृत्यु भएको छ । शनिबार दिउँसो खसेको पहिरोले गोठ पुर्दा भैंसी र बाख्रा फुकाउँदै गरेकी ५४ वर्षकी धनमाया मगरको मृत्यु भएको वडाध्यक्ष राजेश तामाङले जनाए । उनका अनुसार पहिरोले गोठ पुर्दा एउटा भैंसी र ११ वटा बाख्रा पनि मरेका छन् ।

यस्तै रामेछापको खाँडादेवी गाउँपालिका–३ को पुरानो सित्खा बजारका ४ वटा घर सुनकोशीको बाढीले बगाएको छ । सुनकोशीको कटानका कारण एक दर्जनभन्दा बढी घर जोखिममा परेका छन् । बजार जोड्ने झोलुंगे पुल पनि बाढीले बगाएको प्रहरीले जनाएको छ ।

रामेछापकै दोरम्बा शैलुङ गाउँपालिका–६ मा पहिरोका कारण ६ घरमा क्षति पुगेको छ । स्थानीयको भने उद्धार गरिएको वडाध्यक्ष टीकाप्रसाद गौतमले बताए । तामाकोशी नदीको बाढी मन्थली विमानस्थलमा पनि पसेको छ । विमानस्थलको धावनमार्ग जलमग्न भएको विमानस्थलका उपप्रबन्धक हिरण्य शाहले बताए ।

बाढी पहिरो

केदार

Link copied successfully