काभ्रे — अविरल वर्षाका कारण काभ्रेको बनेपास्थित पुलबजार क्षेत्र डुबानमा परेको छ । सोमबार रातिदेखिको वर्षाले बनेपाको पुलबजार क्षेत्र डुबानमा परेकाले अरनिको राजमार्गमा सवारी आवगमनमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुरेश थापाले जानकारी दिए ।
उनका अनुसार, वर्षाका कारण पुण्यमति खोलामा पानीको बहाव बढेर सडकमा पुगेको छ । अरनिको राजमार्ग भएर गुड्ने साना सवारी साधनलाई समस्या भएको काभ्रेका ट्राफिक प्रमुख थापाले बताए । ‘ठूला सवारीलाई समस्या छैन, साना सवारीलाई नालाको बाटो हुँदै पठाइरहेका छौं,’ उनले भने, ‘बाटो खुलाउने प्रयास गरिरहेका छौं ।’
त्यस्तै, वर्षाका कारण धनेश्वर पुल, इट्टाभट्टाको रेशम मार्ग क्षेत्र पनि डुबानमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ । सो क्षेत्रमा पनि सवारी आवगमनमा समस्या भएको कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै, बाढीकै कारण काभ्रको रोशी गाउँपालिकास्थित तालढुंगा क्षेत्रमा आएको बाढीका कारण बीपी राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुरेश थापाले जानकारी दिए । उनका अनुसार, वर्षाका कारण आएको बाढीले गर्दा आज बिहानदेखि बीपी राजमार्ग अवरुद्ध भएको हो । बाटो खुलाउने प्रयास भइरहेको उनले बताए ।
