मकवानपुरमा पहिरोमा उद्धार गरिएकी महिलाको मृत्यु

श्रावण २३, २०८०

प्रताप विष्ट

हेटौंडा — मकवानपुरमा पहिरोमा उद्धार गरिएकी महिलाको मृत्यु भएको छ । मकवानपुरको वाग्मती गाउँपालिका–५ भोर्लेनीमा सोमबार राति गएको पहिरोले घर बगाउँदा एकै परिवारका ५ जना बेपत्ता भएका छन् ।

अविरल वर्षाका कारण घरमाथिबाट पहिरो झरेर अक्कलबहादुर स्याङ्तानको घर पहिरोले पुरेको थियो । घरमा राति सुतिरहेका अक्कलबहादुर, उनकी पत्नी शान्तिमाया, ज्वाइँ जीवन पहरी, छोरी शिला स्याङ्तान र दुई जना नातिनातिना घर बगाउँदा पुरिएका हुन् ।

स्थानीयले बिहान सबेरै शान्तिमायालाई पहिरोबाट उद्धार गरेका थिए । तर स्थानीय स्वास्थ्य चौकीमा उपचारको क्रममा उनको मृत्यु भएको गाउँपालिका अध्यक्ष सर्केश घलानले बताए । '५ जनाको खोजी भइरहेको छ,' उनले भने । पहिरोले घरको जगसहित बगाएको छ । स्थानीयबासी, प्रहरी सबै पहिरोमा हराएकाहरुको खोजी गरिरहेका छन् ।  

बाढीपहिरो

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully