हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने दुई सडक पहिरोले अवरुद्ध

श्रावण २३, २०८०

प्रताप विष्ट

हेटौंडा — बाढीपहिरोका कारण हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने दुई वटा सडकमार्ग सोमबार बेलुकादेखि अवरुद्ध भएका छन् । कान्तिलोकपथक सडक खण्डको बकैया गाउँपालिका—११ लामराङमा पहिरो गएकाले सोमबार बेलुका ८ बजेदेखि सडक अवरुद्ध भएको छ ।

सडक माथिवाट खसेको पहिरोसहित ठूलो ढुंगा पन्छाउन नसकेकाले मंगलबार बिहानसम्म पनि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । 'सडक विभागसँग समन्वय गरेर डोजर लगेर पन्छाउने तयारी गरिरहेका छौं,' उनले भने । 

यसैगरी हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दुरीको वैकल्पिक  हेटौंडा—भैसे, भीमफेदी, कुलेखानी फाखेल काठमाडौं सडकमार्गको भीमफेदी गाउँपालिका—२ को ज्यालाटारमा पहिरो गएकाले सडक सोमबार बेलुका देखि नै अवरुद्ध छ । उक्त स्थानमा ठूलो पहिरो खसेको छ । मंगलबार बिहानदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरी जनाएको छ । हेटौंडाबाट राजधानी जाने सवारी साधनहरु त्रिभुवन राजपथ भएर गइरहेका छन् । यस क्षेत्रमा सोमवारदेखि वर्षा भइरहेको छ ।

बाढीपहिरो

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully