रसुवामा नमुना मतदानमा १२ प्रतिशत मत बदर

कार्तिक २०, २०७९

बलराम घिमिरे

रसुवा — जिल्ला निर्वाचन कर्यालय रसुवाले आइतबार आयोजना गरेको नमुना मतदानमा १२ प्रतिशत मत बदर भएको छ । मतदाता शिक्षा कार्यक्रमअन्तर्गत कार्यालयले सदरमुकाम धुन्चेमा आइतबार नमुना मतदान गरेको हो । प्रतिनिधिसभा समानुपातिकतर्फको नमुना मतदानमा ८९ मत खसेको थियो । जसमध्ये ७८ मत सदर र ११ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय रसुवाले बताएको छ । 

बदर मत घटाउन मतदाता शिक्षा कार्यक्रमअर्न्तगत नमुना मतदान संचालन गरिएको जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले बताए । यसपटक प्रत्येक मतदाताले ४ वटा मतपत्रमा मतदान गर्नुपर्ने छ । 

रसुवा जिल्लामा शनिबारदेखि जिल्ला निर्वाचन कार्यालयले नमुना मतदान कार्यक्रम थालेको छ । आमाछोदिङ्मो गाउँपालिका–५ थाम्बुचेतमा शनिबार नमुना मतदान गरिएको थियो । जिल्ला निर्वाचन कार्यालय रसुवाका अनुसार जिल्लाको ५ वटै गाउँपालिकामा नमुना मतदान कार्यक्रम गरिने छ । एकमात्र निर्वाचन क्षेत्र रहेको रसुवा जिल्लामा ३४ मतदानस्थल र ५२ मतदान केन्द्र छन् । 

जिल्लामा ३९ हजार ४ सय ५९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रसुवाले बताएको छ । जसमध्ये महिला १९ हजार ३ सय ४०, पुरुष २० हजार १ सय १८ र अन्य १ जना रहेका छन् ।

बलराम

Link copied successfully