२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७
अन्तर्वार्ता

'मेरो यो अन्तिम चुनाव'

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल इलाम- १ मा पूर्वसहकर्मी नेकपा एमाले उम्मेदवार महेश बस्नेतसँग मुख्य प्रतिस्पर्धा गर्दै छन् । यो क्षेत्रमा २०४८ सालदेखि उम्मेदवार हुँदै आएका उनले यो आफ्नो अन्तिम उम्मेदवारी भएको बताएका छन् ।

'मेरो यो अन्तिम चुनाव'

उनले गठबन्धनका साझा उम्मेदवारलाई एक ठाउँमा मत खस्नुपर्ने भन्दै आशंकासमेत व्यक्त गरे । खनालसँग कान्तिपुरका गंगा बीसी र अर्जुन राजबंशीले इलाम र झापा बेसीबजारमा शुक्रबार गरेको कुराकानी:

निरन्तर २०४८ देखि उम्मेदवार भइरहनुभएको छ । पुरानै मुद्दा लिएर आउनुभएको छ कि नयाँ पनि छन् ?

मैले यो इलाम जिल्ला आफैँमा कृषिको क्षेत्रमा आफ्नै ढंगले विकसित हुँदै गइरहेको जिल्ला हो । त्यसका लागि हामीले पूर्वाधारको विकास गर्दै आइरहेका छौं । तर, यसलाई पूरा गर्न बाँकी छ । पूर्वाधार व्यापक रुपले प्रत्येक पालिकाका वडासम्म पुर्‍याउनुपर्ने छ । विद्युतीकरण करिब करिब ७० प्रतिशत पूरा गरेका छौं । तर, अझै ३० प्रतिशत पुर्‍याउन बाँकी छ । त्यसका लागि हामीले ६५ करोडको योजना पारेर त्यो अभियान पनि हामीले चलाइरहेका छौं । पानीको स्रोत भएकै जिल्ला हो । खानेपानीको त्यति ठूलो समस्या छैन । तर, यसलाई पनि हामीले व्यवस्थित रुपमा पाइपबाट आउने शुद्ध खानेपानी सबैलाई पुर्‍याउने हिसाबले अभियान चलाएका छौं । इलाम भनेको चियाको राजधानी नै हो । मैले नै प्रचार गरेर चियाले व्यापकता पाएको हो । तर, चियाको बजारीकरण हुन सकेको छैन । यसका लागि राज्यले जुन भूमिका खेल्नुपर्ने हो त्यो भूमिका खेल्न सकेको छैन । इलाम पर्यटन हिसाबले पनि एउटा महत्त्वपूर्ण जिल्ला हो । अन्तुजस्तो डाँडा हामीसँग छ । कन्या, माईपोखरी हामीसँग छ । सन्दकपुर छ । यी क्षेत्रलाई पर्यटनको रुपमा विकास गर्ने कार्यको थालनी मात्र भएको छ । यसलाई व्यवस्थित रुपमा विकास गर्नुपर्ने छ । ०४६ पछि म प्रतिनिधि भए । तर, दश वर्षको जनयुद्धले विकास निर्माणका काम हुन सकेन । ०६२/६३ मा अर्को परिवर्तन भयो । दश वर्ष संविधान निर्माण र शान्ति स्थापनामै हामी लाग्यौं । संविधान भनेपछि बल्ल विकास निर्माण गर्ने योग सुरु भएको छ । पछिल्लो ५ वर्ष फेरि खड्गप्रसाद ओलीको सामना गर्नुपर्‍यो । यो अवधिमा इलाम जिल्लामा त संघबाट बजेट करिब करिब शून्य नै भयो भन्दा पनि हुन्छ । यसलाई सच्याएर अब अघि बढ्नुपर्ने छ । र, म अन्तिमपटक चुनाव लड्दै छु ।

चुनावी अभियानमा हिँड्दै गर्दा मतदाताले तपाईले मतदाताको कस्तो प्रश्नको सामना गर्नुपरेको छ ?

अहिले जनताको आम प्रश्न के छ भने बाटोघाटोचाहिँ सबै पालिका र वडासम्म पुग्यो । तर ती कच्चा बाटो छन् । यी कच्चा बाटालाई पिच बनाइदिनुस् एउटा यो जबरजस्त माग छ । दोस्रो, विद्युतीकरण आंशिकचाहिँ भयो पूर्ण बनाइदिनुस् । ताकि विद्युत्‌बाट पनि हामीले नयाँ कुरा गर्न सकौं । उद्योग खोल्न सकौं । चुल्होमा प्रयोग गर्न सकौं । इलाम ग्रीन जिल्ला छ । इलाममा धेरै जंगल छन् । यसलाई खाली बोलेर मात्र सक्ने होइन । विद्युत आयो भने त्यसको विकल्प तयार हुन्छ । हामीले हाम्रो जंगल पनि संरक्षण गर्न सक्छौं । यो चेत चाही आएको अवस्था छ ।

शिक्षा र स्वास्थ्यको क्षेत्रमा धेरै नै समस्या देखिन्छ ? अझै पनि स्वास्थ्य लिनुपर्दा वा शिक्षा हासिल गर्न तराई नै झर्नुपर्ने बाध्यता छ नि ?

हो, यो समस्या छ । म प्रधानमन्त्री हुँदा सीटीभीइटीको एउटा कार्यक्रम इलाममा ल्याए । तर, त्यो कार्यक्रमको लागि दुई सय विघा जमिन आवश्यक पर्ने रहेछ । धेरै ठाउमा खोजे त्यो पाइएन । जग्गा नपाएपछि मसँग ७० रोपनी जग्गा थियो । त्यसमध्ये ५५ रोपनी जग्गा दिएर सीटीईभीटी विद्यालय स्थापना गरेको छु । अहिले त्यो राम्रोसँग चलिरहेको छ । इलाममा पनि प्राविधिक जनशक्ति उत्पादन भइरहेको छ । त्यस्तै शिक्षाको क्षेत्रमा गुणस्तर सुधार गर्नुपर्ने प्रमुख कारण बनेको छ । आधारभूत विद्यालयको जिम्मा पालिकाहरूलाई दिइयो । तर, पालिकाहरूले राम्रो काम गरिरहेका छैनन् । शिक्षाको गुणस्तर नउठाई राम्रो काम गर्न सकिँदैन । यसका लागि हामीले केही नयाँ प्रयासहरू पनि गरिरहेका छौं । पहिलो चरणमा सूर्योदय नगरपालिकाका केही विद्यालयमा केही नयाँ काम गरेका छौं । त्यसले निजी विद्यालयमा गुणस्तर शिक्षा र सार्वजनिक विद्यालयमा गुणस्तरहीन शिक्षा भन्ने जुन अवस्था थियो । त्यो टुटेको अवस्था छ अहिले । अभिभावकहरूले प्राइभेट स्कुलमा पढाइरहेका विद्यार्थीलाई पब्लिक स्कुलमा ल्याइरहेका छन् । यो एउटा पाइलट प्रोजेक्ट मात्र हो । देशभरी नै यसरी शिक्षाको अवस्था र गुणस्तर सुधार विद्यालयको भौतिक अवस्था सुधार गर्ने, शिक्षकलाई राम्रो तालिम दिने, शिक्षकहरूले १० देखि ५ बजेसम्म राम्ररी काम गर्ने, विद्यार्थीलाई माया गरेर पढाउने, उनीहरूलाई डिजिटिलाइट पनि गरिदिने, विद्यालय व्यवस्थापन समितिले राम्ररी काम गरेको छ कि छैन भनेर अनुगमन र निगरानी गर्नेगरीको व्यवस्था गर्दै गयौं र पाठ्यक्रमलाई पनि माथिबाट सुधार गरिदिने र अलि, नैतिक शिक्षा पनि दिने । यसरी शिक्षामा एउटा क्रान्ति गर्नुपर्ने देखिन्छ ।

स्वास्थ्य भनेको प्रत्येक पालिकामा १५ बेडको अस्पताल र प्रत्येक वडामा एउटा स्वास्थ्य चौकी अनिवार्य हुनुपर्ने नीति चाही बनाइयो केन्द्रमा । तर, त्यो सबै ठाउँमा कार्यान्वयन भइसकेको छैन । र, जिल्ला जिल्लामा डाक्टरलाई थमाउने ठूलो समस्या छ । इलामको पनि यही समस्या हो । डाक्टर बस्दैनन् यहाँ । डाक्टर राख्ने प्रावधान कस्तो इन्सेन्टिभ दिएर राख्न सकिन्छ भन्ने कुरामा अलि इनोभेसन गरेर अबको नयाँ प्रणालीमार्फत् जान आवश्यक छ । अब नयाँ सरकार बन्दाखेरी मलाई एउटा प्रस्ताव लिएर जाने पक्षमा छु । स्वास्थ्य प्रणालीलाई सुधार नगरि यो देशका जनताको स्वास्थ्य राम्रो हुँदैन । त्यसबाहेक हामीले खानपिनमा व्यापक सुधार गर्न जरुरी छ । यहाँ जति पनि सब्जी उत्पादन गर्न सक्छौं । तर, भारतबाट ल्याउछौं । जति पनि गोलभेडा खान्छौं । भारतबाट ल्याउछौं । जति पनि मासु खान्छौं, विदेशको मासु यहाँ खाइरहेका छौं । यो खालको जुन अवस्था छ‚ यसलाई हामीले परिवर्तन गर्नुपर्छ । राष्ट्रिय उत्पादनलाई संरक्षण दिने नीति आगामी सरकारले लिनुपर्छ ।

स्थानीय तह निर्वाचनमा केही स्थानमा स्वतन्त्रले जितेपछि स्वतन्त्रको लहर पनि चलेको छ । के अब राजनीतिक दलको विकल्प स्वतन्त्र उम्मेदवारहरू हुन् ?

विल्कुलै होइन । हामी अहिले बहुदलीय लोकतान्त्रिक प्रणालीको युगबाट अगाडि बढिरहेका छौं । त्यसकारण राजनीतिक दलहरूले नै त्यो भूमिका खेल्नुपर्छ । तर, राजनीतिक दलका नेतृत्वहरूले संविधान बिर्सने, त्यसका मूल्य मान्यता बिर्सने, लोकतान्त्रिक मूल्य मान्यता बिर्सने अनि जनताप्रति उत्तरदायी नहुने, देशको राष्ट्रियताप्रति उत्तरदायी नहुने, स्वतन्त्र राष्ट्रिय अर्थतन्त्र निर्माणप्रति उत्तरदायी नहुने कारणले वितृष्णाहरू केही बढेका छन् । यो वितृष्णाको एउटा प्रतिफल के हो भने स्वतन्त्र हुनुपर्छ भन्ने एउटा प्रवृति विकास भएको छ । तर, यो प्रवृत्तिहरू राजनीतिक दलहरूले राम्रो काम गर्न थाले भने भिजनसहित काम गर्न थाले भने यी प्रवृतिहरू स्वत फेरि पार्टीकरण हुँदै जान्छन् । उदाहरणका लागि रवि लामिछानेलाई लिन सकिन्छ । सुरुमा एकदम स्वतन्त्र भन्नुभयो पछि स्वतन्त्र पार्टी नै बनाउनुभयो । पार्टी नबनाई त धरै छैन ।

गठबन्धनकै शीर्ष नेताहरू पनि गठबन्धनको भोट साझा उम्मेदवालाई एक ठाउँमा खस्नेमा पूर्ण विश्वस्त देखिँदैनन् । स्थानीय निर्वाचनमा पनि गठबन्धनका पार्टीहरूले आशा गरेअनुसार गठबन्धन उम्मेदवारले मत पाउन सकेनन् नि ?

यो मामलामा केही हदसम्म समस्या छ । स्थानीय निर्वाचनमा यो खालको गठबन्धन गरेको पहिलोपटक हो । त्यसमा पनि एकदमै ढिला गरी गठबन्धन गरियो । जसले गर्दा पूर्णरुपले हामीले तालमेल कायम गर्न सकेनौं । अहिलेचाहिँ हामीले त्यसबाट पनि शिक्षा लिएर यो गठबन्धनलाई पूर्णरुपले राष्ट्रव्यापी नै गरौं भनेर हामीले यो गरेका छौं । पहिलाको जस्तो जटिलताचाहिँ यसपटक छैन । तर पनि सतप्रतिशत हुन्छ कि हुँदैन भन्ने कुरा अभ्यासमा हामीले हेर्नुपर्छ । इलाम जिल्लाको पाँच वटा पालिका र ३९ वटा वडामा पुगेर कुराकानी गर्दा आमरुपमा मतदाता गठबन्धनकै पक्षमा उभिएको मैले पाएको छु । अब त्यो मतदानकै बाकसमा जाँदा कता मत कस्छ त्योचाहिँ भोलि तथ्यांकले हेर्नुपर्छ ।

तपाईंले आफ्नो उम्मेदवारी अन्तिम हो भन्नुभयो ? समग्रमा तपाईंको राजनीतिक जीवनलाई फर्किएर हेर्दा कस्तो पाउनुहुन्छ ?

मैले १५ देखि २० वर्ष भूमिगत जीवन बिताए । त्यसपछि लामो कालखण्ड संसदीय राजनीतिमा बिताए । २००६ सालमा पुष्पलालको अगुवाइमा पार्टी बनाएर यो देशको जो जनवादी क्रान्तिको परिकल्पना गर्नुभएको थियो । त्यो परिकल्पना २०६२/६३ मा साकार बनायौं । हाम्रो देशमा जनवादी क्रान्ति सम्पन्न भयो । यो एउटा गौरवमय कुरा हो । एउटा ऐतिहासिक सफलताको कुरा पनि हो । त्यसैले यसमा म गर्व नै गर्छु । त्यसपछि हामीले दश वर्ष लगाएर संविधान बनायौं । यही अवधिमा गणतन्त्र पनि ल्यायौं । संविधान आमराष्ट्रिय सहमतिको संविधान हो यो । यो संविधान बनाएकोमा पनि मैले गर्व नै गर्नुपर्छ । संविधान बनाइसकेपछि आफैँले बनाएको पार्टीभित्रै जसरी त्यहीभित्र विद्रोह गर्नुपर्‍यो । कम्युनिस्ट आन्दोलनलाई पनि पुनर्गठन गर्नुपर्‍यो र गठबन्धनको प्रक्रियाबाट अगाडि बढ्नुपर्ने जुन एउटा अवस्था सिर्जना भएको छ । यो चाहिँ एउटा मिश्रित कुरा हो । एकातिर गठबन्धन नबनाई नहुने स्थिति आयो ऐतिहासिक कालखण्डले अर्कोतर्फ आफ्नै पार्टीमा विद्रोह गर्नुपर्ने स्थिति भयो । यो विद्रोह गर्नुपर्ने स्थिति सुखद होइन । जीवनको यो कालखण्डमा आइपुग्दा फेरि यस किसिमको अनुभव लिनुपर्‍यो । पहिला २०१४ सालमा केशरजंग रायमाझी नेतृत्वमा आएपछि नेपाल कम्युनिस्ट पार्टीलाई शाही कम्युनिस्ट पार्टीमा रुपान्तरण गर्न खोजेपछि अनि भारतको दरभंगा प्लेनम गरेर पार्टीभित्र विद्रोह गर्नु परेको थियो । अहिले फेरि हामीले विद्रोह गरेर अघि बढ्नुपर्ने अवस्थाबाट गुज्रनुपरेको छ । तर, पार्टी पुनर्गठन गर्ने र देशलाई अब क्रमशः संविधानको भाग ४ ले भनेजस्तै समाजवादतर्फ अगाडि बढाउने कुरामा हामीले दृढतापूर्वक अघि बढ्नुपर्छ । कम्युनिस्ट आन्दोलन पुनर्गठित हुन्छ । अहिलेको अवस्थामा गठबन्धनलाई सुदृढ गरेर संविधान बचाउनुपर्ने, लोकतन्त्र बचाउनुपर्ने र स्थायित्वलाई बचाउनुपर्ने, हाम्रो संसद्‌को आयु संविधानले तोकेअनुसार कम्तीमा पनि ५ वर्ष सुनिश्चित गर्नुपर्ने र राष्ट्रियतालाई जोगाउँदै समाजलाई विकास निर्माणको अग्रगतितर्फ तीव्रसाथ अगाडि बढाउनुपर्ने आवश्यकताहरू छन् ।

लामोसमयसम्म पूर्वएमाले सहकर्मी रहेकासँग प्रतिस्पर्धा गर्नुपर्दा दुःख लाग्दैन ?

एमाले पार्टी नेतृत्वले धोका दिएपछि लाग्ने नै भयो । तर, हामी पार्टीको क्रान्तिकारी धार अघि बढाएकोमा गौरव गर्छौं ।

पछिल्लो पुस्ता जसले पहिलोपटक मतदान गर्दै छन्‚ जो राजनीतिलाई खास चासो राख्दैनन्, उनीहरूका मुद्दालाई तपाईंहरूले खासै ध्यान दिनु हुन्न नि ?

अब नयाँ पुस्तालाई हुर्काउनुपर्छ । उमेरले मात्र होइन, विचार बोकेको विचारवान युवालाई अघि बढाउनुपर्छ‚ जसले राष्ट्रियता, लोकतन्त्रलाई सुदृढगरेर साच्चिकै जनमुख लोकतन्त्र, पुजीवादी लोकतन्त्र होइन । यो चुनावमा पनि यति ठूलो खर्च देखिरहेको छु । त्यस्तो कुरामा प्रतिबद्ध युवा पिँढी खडा गर्नुपर्छ । मुलुकको अग्रगति, सामाजिक, आर्थिक रुपान्तरणप्रति प्रतिबद्ध युवा चाहिन्छ । नेपालको संस्कृति संरक्षण गर्ने युवा पिँढी आजको आवश्यकता हो । यस्तो युवा पिढी आयो भने म अहिले नै माला लगाएर स्वागत गर्न तयार छु ।

आसन्न चुनावबाट तपाईंको पार्टीले कति सिटमा जित हासिल गर्छ ?

अहिले हामी १९ सीटमा प्रतिनिधिसभातर्फ र ३५–४० सीटमा प्रदेशतर्फ लडिरहेका छौं । चुनाव लडिरहेकामध्ये हामीले अधिकांशमा जित्छौं । आउने संसद्मा हामी महत्त्वपूर्ण शक्ति बन्छौं । तर, इलाम जिल्लाको आधारमा भन्नुपर्दा नेकपा एमालेको ठूलो संख्यामा कार्यकर्ता पंक्ति अन्यौलमा थियो । अहिले उनीहरू भित्रभित्रै संगठित भएर वास्तवमै पार्टी पुनर्गठन गर्नुपर्ने अवस्था जरुरी रहेछ भन्ने बुझेका छन् । त्यस कारण इलाम जिल्लाको निर्वाचन परिणाम सोचेभन्दा फरक ढंगले आउन सक्छ ।

४० वर्षसम्म केपी ओलीसँगै राजनीति गर्नुभयो । पार्टीलाई सुदृढ बनाउन सँगै खटिनुभयो । अहिले उनीहरूसँगै लड्नुपर्दा नरमाइलो लाग्दैन ?

यो कुरा के ले निर्धारण गर्छ भने वैचारिक, राजनीतिक कार्यदिशाका नीति, सिद्धान्त र लक्ष्यले निर्धारण गर्दो रहेछ । मैले २०२६ सालमा इलाममा कम्युनिस्ट पार्टीको जिल्ला कमिटी गठन गरेको हुँ । त्यहाँदेखि म निरन्तर यात्रामा छु । अहिले जे सोच मैले अगाडि बढाइरहेको छु । त्यो त्यही सोचको निरन्तरता हो । तर, यही सोचको निरन्तरतामा खड्गप्रसाद ओली पनि भएको लाग्थ्यो मलाई । तर, पछिल्लो अवस्थामा त्यो धारबाट उनी धेरै पर गए । पर गएपछि उनले धार छोडेको हुनाले हामीले यो धारलाई अगाडि बढाउनुपर्छ भनेर यो पार्टी गठन गरेको हो । त्यसो हुनाले यसमा दु:ख त पार्टीको नेतृत्वले त्यो ढंगले धोका दिएपछि लाग्ने नै भयो । तर हामी गौरव के मा गर्छौं भने पार्टीको क्रान्तिकारी धारलाई हामीले निरन्तरता दिइरहेका छौं ।

प्रकाशित : कार्तिक २०, २०७९ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?