सेती दोभानमा पनि सहज रुपमा गाडी ओहोरदोहोर हुन थाले
चितवन — ठाउँठाउँमा खसेको पहिरोले अस्तव्यस्त भएको नारायणगढ–मुग्लिन सडक सहज बन्दै गएको छ । यो सडक खण्डमा खसेको ठूलो ढुंगो शुक्रबार साँझ पूर्णरुपमा हटाइएको भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए । त्यसैगरी, सेती दोभानमा खस्ने गरेको पहिरो पनि धेरै हदसम्म नियन्त्रणमा आएको हुँदा सवारीसाधन सञ्चालनमा सहज हुँदै गएको उनले जानकारी दिए ।
नारायणगढदेखि १४ किलोमिटर पर असार १७ गते बिहीबार साँझ निकै नै ठूलो ढुंगोसहित पहिरो खसेको थियो । त्यसैगरी, भोलिपल्ट नारायणगढदेखि २० किलो मिटर पर भोर्ले नजिक सेती दोभानमा ठूलो पहिरो खसेपछि यो सडक हुँदै सवारीसाधन सञ्चालन ठप्प जस्तै भएको थियो । १४ किलोको पहिरो सफा भए पनि ठूलो ढुंगा हटाउन निकै सकस भएको थियो ।
झण्डै ८२ टनको उक्त ढुंगा हटाउन ढुंगो फुटाउने मेसिन ‘रक ब्रेकर’ प्रयोग गर्नुपरेको थियो । सडकको लगभग बीच भागमा ढुंगो बसेको हुँदा निकै अफ्ठ्यारो गरी गाडी चलेका थिए । तर हिजो शुक्रबार साँझबाट ढुंगा पूरै हटाएपछि त्यो ठाउँमा अब सजिलै गाडी चल्न थालेको इन्जिनियर खनालले बताए । सेती दोभानमा पनि दुईतर्फी नै गाडी चल्न थालेको उनको भनाइ छ ।
‘सेती दोभानको पहिरो पनि धेरै हदसम्म नियन्त्रणमा आएको हुँदा दोहोरै गाडी चलेका छन्,’ इन्जिनियर खनालले भने । सेती दोभानमा पहिरो सफा गर्दै गए पनि माथिबाट झर्ने क्रम नरोकिएका कारण गाडी चलाउन निकै सकस हुने गरेको छ । त्यहाँ माटोको लेदो र ठूला खाले चट्टान निरन्तर झर्न थालेपछि जोखिम पनि बढेको थियो । पहिरो झर्ने क्रम रोकिन अझै केही दिन लाग्ने देखिए पनि पहिलाको जस्तो सकस नहुने खनालले बताए ।
नारायणगढ–मुग्लिन सडकमा असार १६ गतेदेखि नै ठाउँठाउँमा पहिरो गएपछि सवारीसाधन सञ्चालन रोकिएको हो । सेती दोभानको जस्तो निरन्तर खसिरहने पहिरोले यो वर्ष निकै नै सास्ती दिएको सडक कार्यालयका अधिकारीहरुको भनाइ छ । यो सडक संघीय राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य मार्ग हो । पहिरोले सडक अवरुद्ध हुँदा साना ठूला यात्रु गाडी र मालबाहक ट्रक तथा इन्धनका ट्याङकरको नारायणगढ, भरतपुर क्षेत्रसम्म मात्रै नभएर पूर्वी चितवनसम्म नै लामो लाइन लागेको थियो ।
