लोथरको पहाडमा छैन परीक्षण

समुदायस्तरमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए पनि स्थानीय सरकारले ध्यान दिएनन्

जेष्ठ २५, २०७८

रमेशकुमार पौडेल

चितवन — जिल्लाकै विकट पहाडी गाउँमा पर्छ राप्ती नगरपालिका–१२ र १३ स्थित लोथर । यहाँ न सहज बाटोघाटो छ, न बिजुली बत्ती नै पुगेको छ । सीमान्तकृत आदिवासी चेपाङ समुदायको मुख्य बसोबास रहेको यो क्षेत्रमा कोरोना संक्रमित हुनेको संख्या औंलामा गन्न सकिन्छ ।

कोरोनाको दोस्रो लहर सुरु भएयता वडा–१२ मा ४ जनामा संक्रमण पुष्टि भएको छ । वडा–१३ मा भने अहिलेसम्म संक्रमित नभेटिएको वडाध्यक्ष सूर्यबहादुर चेपाङले बताए । तर यहाँ कोरोना परीक्षण गरेर संक्रमण नभएको पक्का भने भएको होइन । ‘यो वडामा ५ सय ९६ घरधुरीमध्ये ९५ प्रतिशत चेपाङ छन्,’ उनले भने, ‘अहिलेसम्म हामी जोगिएरै बसेका छौं । यहाँ टेस्ट भएको त छैन । गर्न आवश्यक पनि छैन ।’

वडा–१२ मा भने ज्वरो आएर परीक्षण गर्न गएका व्यक्तिमा संक्रमण पुष्टि भएको हो । उक्त वडाको एउरेलीटारका सन्त तामाङ कोरोना पोजिटिभ देखिएका व्यक्ति हुन् । वैशाख २२ देखि उनलाई ज्वरो आएको हो । उनका अनुसार त्यसरी ज्वरो आउने गाउँमा धेरै नै थिए । ‘त्यो बेला आप्पै १५/२० जनालाई ज्वरो आएको थियो । के हो के हो भनेर म, मेरो मामा र माइजू चेक गर्न भण्डारा गयौं । जेठ २ मा तीन जनालाई नै पोजिटिभ भन्यो,’ तामाङले भने ।

त्यसबेला ज्वरो आएका अरु कोही परीक्षणका लागि नगरपालिकाको केन्द्र भण्डारा झरेनन् । परीक्षण गर्न भनेर कोही पहाड पनि उक्लेनन् । ‘हामीलाई घरमै बसेर बेसार पानी र अदुवा पानी तताएर खाएर निको भयो । अरू भने परीक्षण गर्न पनि गएनन् । हामी निको हुँदा उनीहरू पनि निको भए,’ तामाङले भने, ‘अहिले त त्यस्तो ज्वरो आएका गाउँमा कोही छैनन् ।’ वडा–१३ का गाउँमा अहिले पनि कसैलाई ज्वरो आएको खबर नपाएको वडाध्यक्ष चेपाङले बताए । ‘ज्वरो आयो भनेर टेस्ट गर्न जाने हो भने कोरोना नै भन्दो रहेछ । मैले ख्याल गरेको छु तर हाम्रोमा ज्वरो आएको भेटिएको छैन । भगवान्ले जोगाएका छन्,’ उनले भने ।

राप्तीका नगर स्वास्थ्य संयोजक सुरेश न्यौपानेले यो पटक वडा–१० र १३ मा कसैलाई पनि संक्रमण नदेखिएको बताए । वडा–१२ का तीन जनामा एन्टिजेन र एक जनामा पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको उनले बताए । नगरक्षेत्रमा वैशाखयता २ सय २८ जनामा संक्रमण पुष्टि भएको छ । नगरपालिकाअन्तर्गतको भण्डारा अस्पतालमा एन्टिजेन परीक्षणको व्यवस्था छ । सातामा तीन दिन आइतबार, मंगलबार र बिहीबार पीसीआर परीक्षणसमेत हुने गरेको उनले बताए । ‘अहिलेसम्म चार सय जतिको यहीं परीक्षण भएको छ । कतिपय पीसीआर गर्न भरतपुर पनि गएका छन्,’ उनले भने, ‘तर यहाँ परीक्षण गर्न आउनेमा पहाडका कमै छन् ।’ नगरपालिकाले परीक्षणका लागि समुदाय तहमै अभियान भने सञ्चालन गरेको छैन ।

एकै ठाउँ धेरै जना बिरामी भएको खबर आए जान सक्ने तर त्यस्तो जानकारी नआएको उनले जनाए । राप्ती–१२ भन्ज्याङ गाउँका प्रेम तामाङ खसी–बोका खरिद गर्न मकवानपुर र चितवनका पहाडी गाउँ डुल्ने गर्छन् । तर एउरेलिटारको जस्तो धेरै जनालाई ज्वरो आएको समस्या भने अन्यत्र नसुनेको उनले बताए । ‘पहाडमा खान अन्न नहुने समस्या चर्को छ, अरू त सुनेको छैन,’ उनले भने । राप्ती–१३ कान्दाकी कृतिमाया चेपाङ गाउँमा भसक्कै बिरामी नभए पनि केहीमा रुघा, ज्वरोको समस्या देखिएको बताउँछिन् । ‘टाउको दुख्ने, खोकी लाग्ने, ज्वरो आउने त हुन्छ । छोरा–छोरीलाई पनि टाउको दुख्ने भयो, कसैलाई दुई दिन कसैलाई चार दिन ज्वरो पनि आयो । तातो पानी दियो, जडीबुटी दियो, निको भयो,’ उनले भनिन् ।

गाउँमा कोरोना नभित्रियोस् भनेर बाहिरका मान्छे गाउँ आउन र गाउँका मान्छे बाहिर जानमा कडाइ गरिएको वडाध्यक्ष तामाङले बताए । ‘वडाको मिटिङ र पार्टीका साथीहरूको मिटिङ राखेर यो बेलामा बाहिर नजाऊँ, साग सिस्नो खाएर घरै बसौं भनेका छौं । तर यसो गर्दा रोगभन्दा अनिकालको डर सुरु भो,’ उनले भने ।

कोरोना खोपकोरोना भाइरस

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully