सिन्धुलीमा कोरोना परीक्षण सुरु

मंसिर ७, २०७७

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीमा आइतबारदेखि पीसीआर विधिबाट कोभिड–१९ को परीक्षण सुरु गरिएको छ ।

यसअघि कोरोनाको शंकास्पद बिरामीको स्वाब संकलन गरि पीसीआर परिक्षण गर्न हेटौंडा र धुलिखेल पुठाउनुपर्थ्यो । 

वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले सिन्धुली अस्पताललाई पीसीआर मेसिन दुई महिनाअघि सहयोग गरेसँगै जडान गरी परिक्षण सुरु गरिएको हो । 

सिन्धुली अस्पतालको मातहतमा रहने गरि कमलामाई नगरपालिका-६ शिवनगरमा मेसिन जडान गरि ल्याब सञ्चालनमा ल्याइएको हो । वाग्मती प्रदेश सरकारको एक करोड २५ लाखको लागत र सिन्धुली अस्पतालको १५ लाख बराबरको व्यवस्थापन खर्चमा उक्त ल्या‍ब सञ्चालनमा ल्याइएको अस्पताल विकास समितिका अध्यक्ष प्रल्हादकुमार पोखरेलले जानकारी दिए । प्रयोगशाला सञ्चालनका लागि ९ जना स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ । 

सामाजिक विकास मन्त्री युवराज दुलालले कोभिड–१९ पीसीआर ल्याबको सदरमुकाम सिन्धुलीमाढीमा उद्घाटन गरेका छन् । १५ हजार प्रतिव्यक्ति लिएर सुरु भएको स्वाब परीक्षण एकहजार पाँचसयमा झरेको र आगमी दिनमा नि:शुल्क सेवा दिने प्रदेश रकारको योजना रहेको बताए ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै वाग्मती प्रदेश सरकारले हेटौडा, काभ्रे, भक्तपुर, त्रिशुली र सिन्धुलीमा पीसीआर मेसिन जडान गरि सेवा दिएको उनले बताए ।

कोरोना भाइरस

राजकुमार कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

Link copied successfully