काभ्रे — धुलिखेल–९ स्थित काभ्रेभञ्ज्याङमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
परीक्षण गरिएका ५१ वटा स्वाबमध्ये २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए । ९ वर्षका बालबालिकादेखि ८० वर्षका जेष्ठ नागरिकसम्मलाई कोरोना पुष्टि भएको छ ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण भएको सूचनाका आधारमा समुदायमा नै परीक्षण गर्दा धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाको आधारभूत स्वास्थ्य शाखा संयोजक सन्दिप केसीले जानकारी दिए ।
नगरपालिकाले १ हजार जनाको परिक्षण थालिसकेको छ । धुलिखेलमा हालसम्म ९५ जनामा संक्रमण पुष्टि भइसकेको छ । वडा क्षेत्र सिल गरेर डिसइन्फेक्सन गरिएको नगरपालिकाले जनाएको छ ।
जिल्लामा हालसम्म ३ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार मात्रै धुलिखेल–५ मा ४ जना, पनौती–५ मा ३ र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारत १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
