ट्रक रिजर्भ गरेर घर पठाइएका ६२ भारतीय मजदुरलाई प्रहरीले बाँकेबाटै फर्काइदियो
कानाकोट (धादिङ) — लकडाउनसँगै इँटा बिक्री ठप्प भएपछि उद्योगहरूलाई मजदुर व्यवस्थापन गर्न मुस्किल परेको छ । नजिकै घर भएकाहरू अलिअलि बाटो खर्च लिएर हिँडे पनि भारतीय मजदुर त्यहीँ अड्किएका छन् । अर्कातिर चार महिनादेखिको ज्याला नपाएका मजदुर बिच्किए उद्योग नै बन्द गर्नुपर्ने चिन्ता छ सञ्चालकलाई । लकडाउनले इँटा बिक्री नभएपछि ज्याला दिन नसकेको उनीहरू गुनासो गर्छन् ।
जिल्लाका ४१ इँटा उद्योगमध्ये धुनीबेंसी नगरपालिकामा मात्र २७ वटा छन् । अधिकांशले मजदुर नाइकेलाई जमानी राखेर बाटो खर्चसम्म दिएका छन् । तर भारतीय मजदुर र पश्चिम नेपालबाट मगाइएका खच्चड घर पठाउन सकेका छैनन् ।
‘४० लाख काँचो इँटा पोल्न नपाइ लकडाउन भयो,’ ठूलोबेंसीस्थित टाटा इँटा कम्पनीका सञ्चालक विनोद लुइँटेलले भने, ‘इन्धन अभावले पोल्न पाइएन, रुकुम–रोल्पाका मजदुर मंसिरदेखिको ज्याला पछि लिने सर्तमा घरतिर लागे ।’
धुनीबेंसीका उद्योगमा मात्र रुकुम, रोल्पा, सिराहा, सर्लाहीका र भारतीय गरी करिब ९ हजार मजदुर छन् । तीमध्ये नेपाली ३ हजारजतिलाई बाटो खर्च दिएर नगरपालिकाको अगुवाइमा लकडाउनको तेस्रो साता घर पठाइयो । तर भारतीय मजदुर र पश्चिम नेपालबाट खच्चड लिएर आएका ठेकेदार जान पाएनन् । १९ वटा उद्योगमा ४ सय ५३ वटा खच्चडले ढुवानी गर्छन् । एउटा खच्चडलाई दैनिक २ सयबराबरको दाना एनिमल नेपालले उपलब्ध गराइरहेको छ । एनिमल नेपालले दुई वर्षदेखि खच्चडको उपचारलगायत कार्यक्रम गर्दै आएको संस्थाका डा. अरिसकुमार यादवले बताए ।
‘चराउने जंगल पनि छैन, दानाले मात्र पुग्दैन,’ कानाकोटस्थित सैंथु गणेश इँट्टा उद्योगमा १३ वटा खच्चड ल्याएका नेपालगन्जका हसिम खानले भने । यो उद्योगमा २५ वटा खच्चडले पुस १७ देखि ढुवानी गर्दै आएका थिए ।
३ हजारजति भारतीय मजदुरलाई पठाउन नसकिएको र आर्थिक कारोबार पनि नभएकाले उनीहरूलाई पाल्न समस्या परेको जिल्ला इँटा उद्योग–व्यवसायी संघका अध्यक्ष नीराजन रेग्मीले बताए । उनका अनुसार हरेक वर्ष मंसिर–पुसदेखि जेठसम्म उद्योग सञ्चालन हुन्छन् । यस वर्ष सुरुदेखि नै वर्षाले अवरोध गरेको छ । यस्तोमा पोलेको इँटासमेत बिक्री गर्न नपाएकाले मजदुरलाई उधारोमा बिदाइ गर्नुपरेको रेग्मीले सुनाए ।
भारत, बहराइचका ६२ मजदुरलाई ७० हजारमा ट्रक रिजर्भ गरी पठाइएकोमा प्रहरील बाँकेको सिमानाबाटै फर्काइदियो । बाँकी पैसा पछि दिने सर्तमा पठाइएका उनीहरूलाई अहिले उद्योगमै खानपिन व्यवस्था गरिएको धुनीबेंसी नगरप्रमुख बालकृष्ण आचार्यले बताए ।
मजदुरलाई लकडाउन अवधिमा खाएको खर्च उद्योगीले ज्यालामा कटाइदिने हुन् कि भन्ने चिन्ता पनि छ ।धुनीबेसीमा रहेको सत्यसाई इँटा उद्योग बन्द नै भएपछि त्यहाँका मजदुर कामविहीन भएका थिए । लकडाउन लम्बिएपछि कोही हिँडेरै घरतिर लागे । बालबच्चा भएका र हिँड्न नसक्नेहरू त्यहीँ अड्किए । ‘२६ दिन उद्योगमै बिताएपछि उनीहरूलाई खानाको समस्या भयो । हामीले नै पहल गरेर चामल लिन नेपालगन्ज जान लागेको ट्रकलाई आग्रह गरेर ६२ जना मजदुर गत सोमबार कोहलपुरका लागि पठाएका थियौं, सत्यसाईका सञ्चालक रविन भुजेलले भने ।
६ जिल्ला पार गरी दाङ र बाँकेको सीमा शिव खोला पुगेपछि प्रशासनले प्रवेश दिएन । सोमबार रातभर त्यहीँ बसे । ‘पाँच सय किलोमिटर पार गरेर घरछेउमै पुगेका उनीहरूलाई भोलिपल्ट प्रशासनले त्यही ट्रकमा धादिङ फर्काइदियो’, ट्रक चालक विक्रम लामाले भने ।
नुवाकोटको बेलकोटगढी नगरपालिका–८ स्थित एसपी इँटा उद्योगका मजदुर र तिनका छोराछोरी गरी ८९ जनालाई उद्योगीले गल्छीसम्म ल्याएर छोडेका थिए । भारत जान खोजेका उनीहरूलाई स्थानीय प्रशासनले शुक्रबार बिहान उद्योगमै फिर्ता पठाइदिएको छ ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेल भारतीय मजदुरलाई उद्योगभित्रै राख्नुपर्ने भन्दै अटेर गरेर पठाउने उद्योगीलाई कारबाही गरिने बताए । ‘देश नै लकडाउनमा भएको र नेपाल–भारत सीमामा आउजाउ बन्द भएका यसरी मजदुर पठाउन पाइँदैन,’ उनले भने, ‘मजदुरहरूलाई उद्योग सञ्चालक र स्थानीय तहको समन्वयमा व्यवस्थापन गर्न यसअघि नै आग्रह गरिएको छ ।’
