हेटौंडा छिर्ने नाकामा ‘अटोमेटिक सेनिटाइज मेसिन’

वैशाख १३, २०७७

प्रताप विष्ट

हेटौंडा — भारत र तराईका जिल्लाबाट हेटौंडा छिर्ने मुख्य नाकामा राखिएको अटोमेटिक सेनिटाइज मेसिन शुक्रबारदेखि सञ्चालनमा ल्याइएको छ । विशेषगरी  भारतबाट सामान लिएर आउने चालकलाई लक्षित गरेर हेटौंडाको चुरियामाईमा हेटौंडा उपमहाानगरपालिकाले सेनिटाइज मेसिन राखेको हो ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेको समयमा तराईबाट हेटौंडा छिर्ने मुख्य नाकामा राखिएको मेसिनको मुख्यमन्त्री डोरमणि पौडेलले एक समारोहबीच शुक्रवार उद्घाटन गरेका थिए । उक्त नाकाबाट कुनैपनि व्यक्ति हेटौंडा प्रवेश गर्दा सेनिटाइज गरेर मात्र छिर्न पाउँछन् ।

भारत र प्रदेश–२ बाट छिर्ने चालकसहित अन्य यात्रु सेनिटाइज गरेपछि मात्र प्रवेश पाउने छन ।  हेटौंडा  उपमहानगरपालिकाले उक्त मेसिन एक लाख ६० हजार रुपैयाँमा खरिद गरेको हो  

रातोमाटे हुँदै हेटौंडा प्रवेश गर्ने यात्रु, चालक, सहचालकलगायतलाई  अनिवार्य सेनेटाइज गर्न मुख्यमन्त्री पौडेलले निर्देशन दिएका छन् । यस्तै मेसिन  प्रदेशका विभिन्न स्थानहरु राखिने उनले बताए । भौतिक दूरी कायम गरी सेनिटाइज गरिने हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख सुपेन्द्र कार्कीले बताए । नेपाल युवा उद्यमी मञ्च चितवनले उत्पादन गरेको उक्त मेसिनको क्षमता २ सय लिटर  रहेको छ । २ सय लिटरले २ हजार जनालाई सेनिटाइज गर्न सकिने स्वास्थ्य शाखा प्रमुख कार्कीले वताए । 

कोरोना भाइरस

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully