फोहरबाट रोजगारी सिर्जना गर्दै पोखरा

हाल रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तर्गत कोइकाको ९.८ मिलियन अमेरिकी डलर र यूएनडीपीको ०.८७ मिलियन अमेरिकी डलर आर्थिक सहयोगमा परियोजना सञ्चालन भइरहेको छ । परियाजनाअन्तर्गत पोखरा प्रदर्शनी केन्द्रमा ग्रिन भेन्चर जोन (जीभीजेड) सेन्टर निर्माण भइरहेको छ ।

श्रावण ३०, २०८२

दीपक परियार

Pokhara creating jobs from garbage

What you should know

पोखरा — फोहर संकलन गर्ने गाडीमा फाल्न ठिक्क पारिएका पुराना कपडा अचेल पोखरा महानगरपालिका–९ पार्वतीटोलमा रहेको 'हाम्रो जीवनशैली समूह'ले संकलन गर्छ । यो समूहले पुराना कपडाको पुनर्प्रयोग र पुनर्उत्पादन गरी नयाँ सामग्री तयार गर्छ । ती सामग्री तयार गर्न ११ जना महिला खटिएका छन् ।

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोईका) र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) को सहयोगमा पोखरा महानगरपालिकाले सञ्चालन गरेको रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजना (जीसीआरयू) को सहयोगमा समूहले पुराना कपडाको पुनर्प्रयोग गर्ने घरेलु उद्योग स्थापना गरेको छ । 

समूहकी अध्यक्ष लेखमाया थापाका अनुसार समूहका सदस्यले टोल, छरछिमेकमा पुगेर पुराना र खेर गएका कपडा संकलन गर्छन् । तीमध्ये पेल्न मिल्ने कपडा छुट्याइन्छ । बलियो कपडालाई झोला, पर्स जस्ता नयाँ उत्पादनमा प्रयोग गरिन्छ । राम्रा कपडा धोइपखाली गरी कपडा पुनः बिक्री हुन्छ । समूहमा कपडा धुने, छुट्याउने, काट्ने, सिलाउने, डिजाइन निकाल्ने, आइरन गर्ने लगायत काममा ११ जनाले रोजगारी पाएका छन् । 

परियोजनाले विद्युतीय सिलाइ मेसिन, वासिङ मेसिन, फोहर छुट्याउदा लगाउने बुट, टोपी, मास्क लगायत सामग्रीसहयोग गरेको  छ । ‘पहिला घरमै मोबाइल हेरेर समय बित्ने गर्थ्यो,’ अध्यक्ष थापाले भनिन्, ‘अहिले आफूलाई तिहुन, तरकारी खाने पैसा भएको छ । जीविकोपार्जनका लागि दिउँसो बच्चाहरु विद्यालय गएपछि खाली समयमा काम गरिरहेका छौं ।’ समूहले उत्पादन गरेका सामग्री टिकटक, इन्स्टाग्राम, फेसबुक लगायत सामाजिक सञ्जालबाट पनि बिक्री गरिरहेको छ । 

परियोजना अन्तर्गत नै पोखरा–८ सिमलचौरमा रहेको महिला सिप विकास संस्थामा एकसय जनाले रोजगारी पाएका छन् । संस्थाको आफ्नै कारखानामा खेर गएका प्लास्टिक, बोरा, कपडा, धागोको पुनर्प्रयोग गरी हस्तकलाका सामान बनाउने कार्यमा उनीहरुले रोजागारी पाएका हुन् । संस्थाकी प्रमुख कार्यकारी अधिकृत रामकली खड्काका अनुसार वडा नम्बर ८, १४ र १६ का महिलालाई तालिम दिएर संस्थामै रोजगारी दिइएको छ । ‘यसरी फोहर व्यवस्थापनमार्फत रोजगारी सिर्जना गर्ने कार्य पोखराका लागि महत्त्वपूर्ण छ,’ उनले भनिन्, ‘रिसाइकल गरिएका सामग्री प्रयोग गर्ने बानी बसाल्ने हो भने अझै रोजगारीको अवसर वृद्धि हुन्छ ।’ 

Pokhara creating jobs from garbage

विगत १२ वर्षदेखि पोखरा औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेको हिमालय लाइफ प्लास्टिक प्रालिले प्लास्टिकका बोतल संकलन गरी प्रशोधन गरेर दाना बनाएर बेचिरहेको छ । परियोजनाले गत वर्षदेखि मेसिनरी सहयोग गरेपछि हाल प्रालिले प्लास्टिक बोतलका बिर्को संकलन गरी पुनर्प्रयोग गरिरहेको छ । प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रकाश भारतीले हाल प्लास्टिक बोतलका बिर्कोबाट किरिङ, पट, क्लचर लगायतका सामग्री उत्पादन गरिरहेको छ । यो कार्यमा थप ५ जनाले रोजगारी पाएका छन् ।  

पोखरा–२ अर्चलबोटमा महिला समूहले पुराना पत्रिकाबाट सिसाकलम बनाउने उद्योग सञ्चालन गरेका छन् । परियोजनाले पत्रिकाबाट सिसाकलम बनाउने मेसिन र तालिममा सहयोग गरेपछि पोखरेली सिसाकलम समूहमा हाल ५ जना स्वरोजगार भएका छन् । पोखरेली सिसाकलमकी सञ्चालक शान्ति अधिकारीले फोहर व्यवस्थापन र रोजगारी सिर्जनासँगै हुने र पर्यावरणमैत्री पनि हुने भएकोले पत्रिकाबाट सिसाकलम बनाउने उद्योग सञ्चालन गरेको बताइन् । 

हाल रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तर्गत कोइकाको ९.८ मिलियन अमेरिकी डलर र यूएनडीपीको ०.८७ मिलियन अमेरिकी डलर आर्थिक सहयोगमा परियोजना सञ्चालन भइरहेको छ । परियाजनाअन्तर्गत पोखरा प्रदर्शनी केन्द्रमा ग्रिन भेन्चर जोन (जीभीजेड) सेन्टर निर्माण भइरहेको छ । पोखरा महानगरपालिका क्षेत्रमा १ सय ३६ सामुदायिक समूह निर्माण गरी उनीहरूलाई आवश्यक तालिम तथा प्राविधिक प्रशिक्षण पनि प्रदान गरिएको छ । ‘यस परियोजनाले युवाहरूलाई रोजगारीसाग जोड्ने छ भने हरित अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान गर्नेछ,’ नगर प्रमुख धनराज आचार्यले भने । उनका अनुसार पोखरामा हाल झन्डै २ सय टन फोहर दैनिक उत्पादन हुन्छ । यो परियोजनाले १० प्रतिशत फोहर घटाउन सहयोग पुग्ने छ । 

फोहरमैलाको उचित व्यवस्थापनमार्फत हरित रोजगारी सिर्जना र चक्रीय अर्थतन्त्रको सिर्जनशील उपयोग आम समुदायका लागि निकै महत्त्वपूर्ण हुने विश्वास गरिएको छ । हरित अर्थतन्त्रमा योगदान पुर्‍याउने आरयू उद्यमलाई बढवा दिन दिगो नीतिको सुनिश्चितता सहित महानगरपालिकाले परियोजनाको स्वामित्व लिनेछ । परियोजनामार्फत आगामी २ वर्षमा ३ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ । 

महानगरमा हाल दैनिक उत्पादन हुने फोहरको व्यस्थापन पोखरा–३२ को अस्थायी ल्यान्डफिल साइटमा हुँदै आएको छ । पोखरा–३३ बाघमारामा स्थायी ल्यान्डफिल साइट बनाउने भनिए पनि सुरु भइसकेको छैन । नगर प्रमुख आचार्यले फोहरबाट ग्यास वा बिजुली निकाल्ने मोडलमा स्थायी ल्याइन्डफिल साइट बनाउन कम्पनी छनोटको अन्तिम चरणमा रहेको बताए ।

डिसेम्बर २०२९ मा सकिने कोइका, यूएनडीपी र पोखरा महानगरको यो परियोजनाले हरित रोजगारीको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । छनौट गरिएका समुदायमा ६ सय ८० हरित रोजगार सिर्जना गरिने लक्ष्य राखिएको छ । यसको अतिरिक्त रिसाइक्लिङ र अपसाइक्लिङ उद्यममार्फत थप ३ सय रोजगारी सिर्जना गर्ने योजना छ । यसरी कुल ९ सय ८० जना व्यक्तिलाई प्रत्यक्ष रूपमा रोजगारीको अवसर प्रदान हुने छ ।

परियोजनाले क्षमता विकासलाई विशेष प्राथमिकता दिएको छ । महानगरपालिकाका ८ सय ११ अधिकारी र अन्य सरोकारवालाले प्रभावकारी फोहोर व्यवस्थापन सम्बन्धी तालिम तथा सिकाइ प्राप्त गर्नेछन् । छनौट भएका समुदायका ८ हजार १ सय ६० घरधुरीलाई प्रभावकारी फोहोर व्यवस्थापनका तालिम र उपकरणहरू प्रदान यो परियोजनाले गर्ने छ ।

उद्यमशीलता विकासको क्षेत्रमा छनौट गरिएका समुदायका १ हजार ३ सय ६० व्यक्तिलाई रिसाइक्लिङ र अपसाइक्लिङसँग सम्बन्धित उद्यमशिलता तथा सीप प्रशिक्षण प्रदान गरिनेछ । साथै १ सय ३६ रिसाइक्लिङ र अपसाइक्लिङ समूहलाई उपकरण र प्रविधि सहयोग यो परियोजनाले गर्ने छ ।

ग्रीन भेन्चर जोनका लागि पोखरा महानगरपालिकाले प्रदर्शनी केन्द्रमा आवश्यक जग्गा उपलब्ध गराएको हो । नयाँ शैलीको भवनको निर्माण र यसको गुरु योजना विकास परियोजनाले नै गरेको छ । भवन निर्माण सुरु भइसकेको छ । यो जोनमा इन्क्युबेसन, बजारीकरण र जनचेतनामूलक गतिविधि सञ्चालन हुनेछन् । परियोजनाअन्तर्गत सहयोग पाएका उद्यमीको उत्पादनलाई कोसेली घरका रुपमा बिक्रीका लागि राखिने छ । परियोजनाले ३० वटा रिसाइक्लिङ र अपसाइक्लिङ उद्यमको स्थापना वा सुदृढीकरण गर्ने र उनीहरूलाई इन्क्युबेसन कार्यक्रममार्फत सहयोग गर्ने योजना बनाएको छ ।

पोखरा महानगरको फोहोर व्यवस्थापन नीति, रणनीति, ऐन निर्माण र परिमार्जनमा पनि सुझाव यो परियोजनाले दिने छ । त्यसका लागि फोहोर व्यवस्थापन समन्वय समिति सक्रिय भएर १५ वटा फोहोर व्यवस्थापन सम्बन्धी कानुनी व्यवस्थाहरू सिफारिस गरी कार्यान्वयनका लागि महानगर कार्यपालिकालाई बुझाउनेछ । फोहोर व्यवस्थापनमा डाटा ट्र्याकिङ उपकरण विकास र कार्यान्वयनमा ल्याइने परियोजनाको लक्ष्य छ ।

‘फोहोरलाई मूल्यमा रूपान्तरण गर्ने अवधारणालाई व्यावहारिक रूप दिनु यसको विशेषता हो,’ नगर प्रमुख आचार्यले भने, ‘परियोजनाले न केवल रोजगारी सिर्जना गर्नेछ बल्कि वातावरणीय संरक्षण र सामाजिक दिगोपनमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ ।’ चक्रीय अर्थतन्त्रको मोडेलमा आधारित यो परियोजनाले पोखरालाई स्वच्छ र हरित सहरको रूपमा विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनी बताउँछन् । कोरियामा अभ्यास भइरहेको यो मोडलको अवलोकन गर्न महानगरका जनप्रतिनिधि र प्राविधिक कर्मचारीले कोरियाको भ्रमण समेत गरेका थिए ।

महानगरहरुको फोहरमैला व्यवस्थापनबारे ईकान्तिपुरमा प्रकाशित सम्बन्धित समाचारहरु :

फोहर व्यवस्थापनका विषयमा संघीय सरकारसँग जुध्न पुगेको महानगर अहिले के गरिररहेको छ ?

‘ओहो वीरगन्ज’ देखि ‘आहा वीरगन्ज’सम्म

विराटनगरमा तीन संस्थामार्फत फोहोर व्यवस्थापन, मासिक १ रुपैयाँदेखि ३ लाखसम्म अनुदान

कसैलाई नगन्हाउने भरतपुरको दुर्गन्ध

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully