‘ओहो वीरगन्ज’ देखि ‘आहा वीरगन्ज’सम्म

अब महानगरको मुख्य सडक छेउ दिनभरि फोहोर थुप्रो देखिँदैन । मुख्य सडक छेउका व्यापारी र निजी प्रतिष्ठानहरूले आफ्नो पसल तथा कार्यालयबाट निस्कने कागजपत्रको फोहोर अधिकारले फाल्दैनन् । कारण हो जरिवानामा पर्ने डर ।

श्रावण ३०, २०८२

शंकर आचार्य

From 'Oho Veerganj' to 'Aha Veerganj'

What you should know

पर्सा — कुनै समय वीरगन्ज सुन्दा फोहोर र दुर्गन्धित सहरको झल्को आउँथ्यो । अनि दिक्दार मानेर भन्थे ‘ओहो वीरगन्ज’ । तर अहिले स्थिति बदलिएको छ । केही वर्षको अन्तराल पछि वीरगन्ज आउनेहरूको प्रतिक्रिया हुन्छ ‘आहा वीरगन्ज’ । 

अब महानगरको मुख्य सडक छेउ दिनभरि फोहोर थुप्रो देखिँदैन । मुख्य सडक छेउका व्यापारी र निजी प्रतिष्ठानहरूले आफ्नो पसल तथा कार्यालयबाट निस्कने कागजपत्रको फोहोर अधिकारले फाल्दैनन् । कारण हो जरिवानामा पर्ने डर । वीरगन्ज महानगरपालिकाको कार्यालयले यसरी जानाजान फोहोर गर्नेहरूलाई जरिवाना गर्न थालेपछि फोहोर गर्नेहरू हच्किएका हुन् । 

यसरी सडक फोहोर पार्ने प्रवृत्ति निरुत्साहित भएपछि महानगरको मुख्य र भित्री सडकहरू पनि तुलनात्मक रूपमा सफा भएको छ । पहिले मुस्किलले बिहान फोहोर बोक्न आउने महानगरको ट्याक्टर अहिले दैनिक बिहान, दिउँसो र बेलुका गरी ३ पटकसम्म आउने गरेको छ । महानगरका कुचीकारहरू पनि तीन पटकसम्म सडक बढार्छन् । रातिसम्म संकलन हुने फोहोर राति नै सडकबाट हटाइन्छ । अब यहाँ आउने पाहुनालाई वीरगन्जको फोहोर देखेर नाक खुम्च्याउने अवस्थाको अन्त्य भएको छ । 

From 'Oho Veerganj' to 'Aha Veerganj'

वीरगन्ज महानगरपालिका कार्यालय अन्तर्गत १९ जना सरसफाइकर्मी ठूला नाला तथा नगर क्षेत्रभित्रको सफाइमा खटिएका छन् । ठेकेदार एनके इन्टरेनसनलको तर्फबाट थप ४ सय १० जना सवारीचालक तथा कुचिकार महानगरको १ देखि ३२ सम्म खटिएका छन् । ४९ ट्याक्टर, ४ जेसिबी, १ ब्रुमर, १ ब्याहहोलोडर, २/२ वटा जेटिङ र सक्सन मेसिन दैनिक महानगरबाट संकलन हुने फोहोर संकलनमा परिचालन हुन्छन् । दैनिक २ पटक हरेक क्षेत्रमा सफाइ गरिन्छ । मन्दिर एवम् व्यस्त बजार क्षेत्रमा दैनिक ३ पटक सफाइ गरिन्छ ।  महानगरका सडकमा रातमा पनि बढार्ने, फोहोर संकलन गर्ने र उठाउने काम गरिन्छ । 

वीरगन्ज महानगरपालिका कार्यालयको सरसफाइ महशाखा प्रमुख सर्फुदिन मियाँले २०७९ पुस १७ बाट सडकमा जथाभावी फोहोर फाल्नेलाई जरिवाना गर्ने काम सुरु गरिएको बताए । यस क्रममा १ हजार ५ सय बढी व्यक्ति र संस्थालाई जरिवाना गर्दा करिब ४५ लाख रुपैयाँ राजश्व संकलन भएको छ । यसरी फोहोर गर्नेलाई दण्डित गर्दा जथाभावी फोहोर फाल्ने प्रवृत्तिमा व्यापक कमी आएको र बर्सेनि जरिवाना हुनेहरूको संख्या घट्दो क्रममा रहेको उनले बताए । 

From 'Oho Veerganj' to 'Aha Veerganj'

वीरगन्जको नगवा–मुसहर्वा क्षेत्रमा रहेको ल्यान्डफिल साइटको क्षमता २० बर्षको रहेको छ । ८ वर्षदेखि सञ्चालनमा रहेको छ । ल्यान्डफिल साइट सञ्चालक ठेकेदार कम्पनी एनके इन्टरनेसनल कन्स्ट्रक्सन प्रालिका निर्देशक शिवजी गुप्ता हाल साइटमा नालाको माटो छाडेर दैनिक ६५ देखि ७५ टनसम्म फोहोर संकलन हुने गरेको बताउँछन् । तिनमा प्लास्टिकजन्य फोहोर, फलाम, कुहिने अन्य बस्तु समेत रहने गरेका छन् । कुहिने बस्तुबाट वार्षिक २५ देखि ४० टनसम्म कम्पोस्ट मल उत्पादन गरिन थालेको छ । किसानलाई यो मल प्रतिकिलो १ सय ४० रुपैयाँमा बिक्री गरिरहेको गुप्ता बताउँछन् । 

महानगरपालिका कार्यालयसँग फोहोर संकलन तथा महानगरको मुख्य नाला सरसफाइमा सहयोगी भूमिका खेलिरहेको आदर्शनगर ग्रिन सिटी सामुदायिक संस्थाका अध्यक्ष जयप्रकाश खेतान केही समययता महानगरमा मुख्य नाला सफाइको कामलाई पनि प्राथमिकता दिइएको बताउँछन् । यस क्रममा मुख्य नालाबाट थुप्रै फोहोर निकालिएकाले यस वर्ष महानगरमा डुबानको समस्यामा धेरै हदसम्म कमी आउने उनले दाबी गरे । 

महानगरहरुको फोहरमैला व्यवस्थापनबारे ईकान्तिपुरमा प्रकाशित सम्बन्धित समाचारहरु :

फोहर व्यवस्थापनका विषयमा संघीय सरकारसँग जुध्न पुगेको महानगर अहिले के गरिररहेको छ ?

फोहरबाट रोजगारी सिर्जना गर्दै पोखरा

विराटनगरमा तीन संस्थामार्फत फोहोर व्यवस्थापन, मासिक १ रुपैयाँदेखि ३ लाखसम्म अनुदान

कसैलाई नगन्हाउने भरतपुरको दुर्गन्ध

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully