फोहोरको स्रोतमै छुट्याउने, पुनः प्रयोग र पुन प्रयोग गर्ने अभ्यासको सुरुआत भए पनि जनचेतनाको अभाव, आवश्यक पूर्वाधारको कमी र दीर्घकालीन योजना अभावले चुनौती थपिएको सरोकारवाला बताउँछन् ।
What you should know
विराटनगर — विराटनगर महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि तीन वटा निजी संस्थासँग सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणाअनुसार सेवा सम्झौता गरेको छ ।
महानगरका अनुसार वडा १ देखि ५ र १९ सम्म ‘नेपाल फूलबारी’, वडा ६ देखि ११ सम्म ‘स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल’ र वडा १२ देखि १८ सम्म ‘सगरमाथा मल्टिपल सर्भिस’ले फोहोर संकलन तथा व्यवस्थापनको जिम्मा पाएका छन् ।
महानगरका सरसफाइ व्यवस्थापन प्रमुख पुनमकुमार दाहालका अनुसार सेवा प्रभावकारिता, पहुँच र समुदायसँगको सहकार्यलाई जोड दिँदै यी संस्थाहरूसँग सम्झौता गरिएको हो । ती संस्थाहरूले घर–घरमा सदस्यता प्रणालीमार्फत फोहोर संकलन गर्छन् र सातामा दुईपटक सेवा उपलब्ध गराउँछन् । ‘घरबाट फोहोर उठाएबापत उनीहरुले सदस्यहरूबाट अलग्गै सेवा शुल्क पनि लिन्छन्’, दाहालले भने ।
फोहोर व्यवस्थापनको सेवाबापत महानगरले नेपाल फूलबारीलाई मासिक ८८ हजार, सगरमाथा मल्टिपल सर्भिसलाई ३ लाख रुपैयाँ र स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाललाई प्रतीकात्मक रूपमा मासिक एक रुपैयाँ उपलब्ध गराउँदै आएको छ । ‘संस्थाहरूलाई महानगरले थप प्राविधिक सहयोगस्वरूप १०/१० जना सफाइ कर्मचारीसमेत उपलब्ध गराएको छ,’ दाहालले भने ।
विराटनगरमा दैनिक करिब १०० मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ । संकलित सबै फोहोर वडा ६ स्थित केसलिया खोलानजिकै बरमपुरा गाउँ नजिकै रहेको अस्थायी डम्पिङ साइटमा विसर्जन गरिन्छ । फोहोर व्यवस्थापनका लागि प्रयोग भइरहेको उक्त स्थान करिब २ बिघा क्षेत्रफलको हो, जुन ती निजी संस्थाहरूले लिजमा लिएका हुन् ।
हाल डम्पिङ साइट स्थायी संरचनाबिना सञ्चालनमा रहेको छ । वर्षातका बेला वातावरणीय जोखिम बढ्ने र दुर्गन्ध फैलिने समस्या रहने गरेको छ । दीर्घकालीन समाधानका लागि महानगरले वैकल्पिक ल्यान्डफिल साइट खोजी गरिरहेको जनाइएको छ । तर, डम्पिङ साइट बनाउन कसैले जमिन उपलब्ध गराउनै मान्दैनन् । ‘महानगरमा मात्रै हैन देशैभरि डम्पिङ साइटको समस्या छ’, दाहालले भने । फोहोरको स्रोतमै छुट्याउने, पुनः प्रयोग र पुन प्रयोग गर्ने अभ्यासको सुरुआत भए पनि जनचेतनाको अभाव, आवश्यक पूर्वाधारको कमी र दीर्घकालीन योजना अभावले चुनौती थपिएको सरोकारवाला बताउँछन् ।
महानगरहरुको फोहरमैला व्यवस्थापनबारे ईकान्तिपुरमा प्रकाशित सम्बन्धित समाचारहरु :
फोहर व्यवस्थापनका विषयमा संघीय सरकारसँग जुध्न पुगेको महानगर अहिले के गरिररहेको छ ?
