बदलिँदो तीज, बदलिँदा गीतहरू

गाउँबाट तीज गीत र भाका सहर पसेको छ, शब्द–शैली फेरिएको छ । महिलाका कथा–व्यथा नयाँ तीज गीतमा भेटिन छाडेको छ । अब तीज गीतहरू बजार–व्यापारमै केन्द्रित छन् ।

श्रावण ६, २०८२

आरती पौडेल

Changing tunes, changing songs

What you should know

काठमाडौँ — उहिले–उहिले आमा–हजुरआमाका तीज गीतका कथा हुन्थे– समाजले महिलालाई गरिरहेको विभेद, असमानता, स्वतन्त्रताको चाहना...। खासमा ती थिए– लैगिंक प्रतिरोधको मौलिक भाषा । बदलिँदो नेपाली समाजमा तीज गीतले पनि आफ्नो परिभाषा बदलेको छ । 

पहिलेका गीतहरू महिला बाँचिरहेको जिन्दगीका असली आवाज थिए, जसले सासु, घरपरिवारको व्यवहार, भोगिरहेको पीडामाथि व्याख्या–विमर्श गर्थे । माइत जान पाएका/नपाएका महिला घर–आँगन–पिँडी, फलैंचामा बसेर दुःख र आँसु गाउँथे । र, तीज गीत थिए– जनचेतनामूलक सन्देश प्रवाह गर्ने माध्यम । ती गीत आँगन–चौतारीमै सीमित हुन्थे । 

तर, अब तीज गीत सहर पसेको छ, तिनका भाका, शब्द र शैली फेरिएका छन् । महिलाका पुराना कथा–व्यथा नयाँ तीज गीतहरूमा भेटिन छाडेको छ । अब तीज गीतहरू बजार–व्यापारमै केन्द्रित छन् ।

समय बदलिएसँगै स्वाभाविक हो– पीडा, परिवेश पनि बदलिनु । निकै समयअघि गायिका हरिदेवी कोइरालाको गीत चौतारीमा बसेर गुन्गुनाउँथे महिलाहरू । उनको गीत असाध्यै प्रख्यात थियो, जुन रेडियो–टीभीमा निकै बज्थ्यो–

उडी आयो रानी चरी बस्यो सेतो हिमालमा, 

बुहारीभन्दा दाइजो प्यारो अहिले नेपालमा

मुखले त भन्छन्, सबैले दाइजो हामीलाई चाहिन्न,

साच्चै दाइजो नलिने त कोही पाइन्न...

हरिदेवीको समय बेग्लै थियो । त्यो बेलाको यो तीज गीतले दाइजो प्रथाजस्ता कुरीतिमाथि चुनौती थपेको थियो, गीतले धेरैलाई सचेत बनाएको थियो । त्यो गीतले समाजको व्यथिति, असमानतालाई प्रस्तुत गर्दै समाज परिवर्तनमा ठूलो भूमिका खेलेको थियो । समय परिर्वतन भएसँगै महिलाहरु स्वतन्त्र हुनु, शिक्षित हुनु, पीडा सहेर नबस्नु, आफ्नो आवाज उठाउन सक्ने हुनु, हक– अधिकारका लागि लड्न सक्ने हुनुले तीज गीतको शैली परिवर्तन भएको विज्ञहरु बताउँछन् । 

बजारमा बर्सेनि तीज गीत आउँछन्, घर–घरघरमा तीज प्रवेश गर्नुअगावै । जसरी यस वर्ष आएका छन् । युट्युबमा भर्खरै रिलिज भएको गायिका एलिना चौहानको गीतले नेपाली समाजमा आएको परिर्वतन र महिलाको आँटको कथा भन्छ–

छैन छैन कसैको डर छैन, सबैको हाइहाई बन्न सकिँदैन, 

दुई दिनको जिन्दगी लाउने, खाने, रमाउने 

आफ्नो बानी छैन, खुट्टा कमाउने....!

अबका महिला कसैको डरमा बाँच्ने होइन, बिनाडर जिउन सक्छन् भन्ने सन्देश ‘सबैको हाइहाइ बन्न सकिँदैन’ बोलको गीतले दिन्छ । अन्य गीतमा पनि यसै किसिमको सन्देश भेटिन्छ । तर, अहिलेका अधिकांश तीज गीतले के संकेत गर्छन् ? तिनका शब्दहरू किन फेरिएका छन् ? महिलाका व्यथा वा गुनासो, लैगिंक समानता/असमानताका कथासँगै किन तीज गीतमा ‘स्ल्याङ’ प्रयोग बढिरहेको छ ?

समयअनुसार तीज गीतका विषयवस्तु फेरिनु स्वाभाविकै भए पनि चाडका नाममा उच्छृंखलता थपिनु चिन्ताको विषय रहेको विज्ञहरु बताउँछन् ।  पछिल्लो समय तीज गीतका नाममा विकृति फैलाइएको भन्दै विभिन्न गायक/गायिकाले चर्को आलोचना खेपिरहेका छन् । गत असार २६ मै कला क्षेत्रको साइबर अपराध हेर्ने गरी ‘फोकल पर्सन’ तोक्न गृहमन्त्री रमेश लेखकले निर्देशन पनि दिए । तीज गीतमा अपाच्य शब्द र भिडियोको प्रयोग बढेको लोकदोहोरीसँग सम्बन्धित संस्थाकै आरोप छ ।

Changing tunes, changing songs

गायिका हरिदेवी कोइराला अहिलेका तीज गीतका अपाच्य र अश्लिल शब्दले चिन्तित छिन् । उनको समयमा उनका स्वर सुनेर गीत नगुन्गुनाउनेहरु सायदै हुन्थे । चेलिहरुले मनका रहर वा विरहलाई गीतका शब्दमार्फत पोख्ने गर्थे । हरिदेवी भन्छिन्, ‘पहिलाका तीज गीत त कति शिष्ट, सभ्य र सालिन थिए नि !’ दाजुभाइहरु पिँढीमा बसेर चेलीले गुन्गुनाएका गीत सुन्दै दर पकाएका पुराना दिनहरू सम्झिँदा उनलाई रमाइलो लाग्छ । ती गीतले पौराणिक कथा भन्छ, हिंसाविरुद्ध स्वर बुलन्द पार्थे, राजनीतिक बेतिथिमाथि प्रश्न गर्थे । ‘जसले त्यस्ता अपाच्य गीत गाएका छन्, उनीहरु आफैले घर परिवारसँग बसेर हेर्न र गाउन सक्ने छैनन् । यस्ता खालका गीत पनि बजारमा आएका छन्,’ उनी भन्छिन्, ‘पैसा, र क्षणिक नाम कमाउने हिसाबमा आएका हुन् ती गीत । अबका सन्ततीलाई के सिकाउने, तिनीहरुले अश्लिल गीत, दृश्य सुनेर–हेरेर भोलि के सिक्छन्, कस्ता सन्देश पाइरहेका छन् भनी सोच्यौ भने सबैले टाउको समाउनुपर्ने अवस्था छ ।’

गीत अश्लिल हुनुपछाडि प्रविधिलाई दोष दिन नमिल्ने तर्क गर्छिन्, हरिदेवी । ‘प्रविधिलाई दोष दिनभन्दा पनि मानसिकतालाई दोष दिन आवश्यक छ । प्रविधिले धेरै राम्रा कुरा सिकाएको छ, हामीले कसरी उपयोग गर्‍यौं, हाम्रो मनस्थिति र मानसिकता कता छ । त्यहाँ एउटा प्रश्न उठ्छ । वास्तवमा यस्ता नकारात्मक सन्देश दिने खालका गीत दर्शक, स्रोताले मन पराएर हेरेका होइनन्,’ हरिदेवीको तर्क छ,’ के, कस्तो रैछ भनि जिज्ञासाले हेरिएको हो, त्यसैले बढी ‘भ्युज’ गएको हो । हृदयमा लागेर सुनेको जस्तो मलाई लाग्दैन । प्रविधिको दुरुपयोग गरी गाइएका र ल्याइएका यस्ता विषयवस्तुले कसैलाई पनि हित गर्दैन ।’

तीज गीत भन्नेबित्तिकै गायक पुरुषोत्तम न्यौपानेको नाम छुट्ने कुरै भएन । पहिला र अहिलेको तीज गीत अनि मनाउने शैलीमै निकै परिर्वतन आएको महसुस हुन्छ, पुरुषोत्तमलाई । ‘पहिलेको सन्दर्भमा महिलालाई निकै पीडा भएको बताउँदै उनी भन्छन्, ‘छोरीलाई पढाउने चलन थिएन, छोरा अंश खाने हुन्, छोरी अर्काको घर जानेलाई किन पढाउने भन्ने समय थियो । जस्तै म भन्दा सानो भाइलाई कापीकलम किन्दिनी, म दुःखी छोरीलाई डोको बुन्दिनी भनेर गाइन्थ्यो । बिहे गरेका चेलीलाई सासुले हेप्ने, दाइजो ल्याइन भनेर श्रीमानले पिट्ने, विभिन्न किसिमका यातना दिने चलन थियो ।’ अहिलेका तीज गीतमा महिलाका जिन्दगीभन्दा पनि अनावश्यक, छाडा विषयवस्तु र शब्दहरूले ठाउँ पाएको देख्दा उनी दिक्क छन्, दुःखी छन् । उनी फेरि पहिलेको गीत सम्झिन्छन्–

‘तीज आयो जाउ न बाबु दिदी लिनलाई,

खुट्टैमा ढोग गरे है भेट्दा भेनालाई

हुन्छ, आमा दिदी लिन जान्छु जान त,

कोसेली पो के लानी हो पर्छ लान त....

‘यसरी गीतबाट संवाद गरेर हामी तीजमा दिदी–बहिनी लिन जान्थ्यौं र घरमा ल्याएपछि उनीहरुले वर्षभरि पाएको पीडा सुनाउँथे गीतमा– आँगन छेउ साथीसंगीसँग बसेर,’ ती दिनहरू याद गर्छन् उनी ।

पुरुषोत्तमले भनेझैं त्यो बेला प्राकृतिक प्रकोप, चोरी–डकैती, दाइजो नल्याएका कारण चेलीमाथि गरिएको हिंसा र यातना समेट्दै जनचेतना फैलाउन सर्जकहरुले गीत गाउँदै समाजलाई सजग गराउँथे । ‘बर्खाको याम जंगलको बाटो, खोलाको बाटो हिँड्नु पर्थ्यो, त्यस सन्दर्भमा पनि तीज गीत बनेका छन् । जस्तो, लाली जोवन कालीले लग्यो सलल...।’ 

उबेला महिला–पुरुष मिलेर गीत गाउँदा मौलिकता, संस्कार र संस्कृति नभुलेको सम्झिन्छन् पुरुषोत्तम । ‘तर, अहिले तीजको विषयवस्तुभन्दा पनि गीतहरूमा फरक विषयवस्तु दोहोरिन थालेको छ,’ उनी भन्छन्, ‘मौलिकता, संस्कार, संस्कृतिलाई हामीले भुलेका थिएनौं । अहिलेका गीतहरू संस्कार, संस्कृति जोगाउन होइन, क्षणिक भाइरल हुन गाइन्छ । प्रविधिले फड्को मारेसँगै भ्युज बटुल्ने नाममा, पैसा कमाउन र स्टेजमा चल्नेजस्ता गीतलाई पनि तीज गीतको नाम दिएर बजारमा ल्याउने चलन बढेको छ । हामीले आउँदो पुस्तालाई के हस्तान्तरण गर्ने भन्ने विषयमा सबैले सोच्नुपर्छ ।’

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरलाई पनि तीज गीत उच्छृंखल बन्न थालेको अनुभव–अनुभूति छ । ‘मौलिक गीत गाएर, राम्रो गीत निकालेर केही हुँदैन रहेछ, सबैले चिन्न र पैसा कमाउन जे गरे पनि हुँदोरहेछ भन्ने सोच्न थालेका छन् आजकाल,’ उनी भन्छिन्, ‘मिडियाले पनि राम्रा कलाकारको भन्दा पनि अश्लिल र पचाउन नसक्ने गीत गाउनेलाई बढी मान्यता दिएको छ । कलाकारले राम्रा गीत पनि बजारमा ल्याएका छन्, तर समाज यस्तो छ कि नकारात्मकतिरै बढी उन्मुख छ ।’

Changing tunes, changing songs

गीत/संगीतसँग सम्बन्धित ऐन–कानुन नभएकैले पनि छाडा र उच्छृंखल गीत आइरहेको रिताको बुझाइ छ । त्यसैले आफूहरु कानुनी प्रक्रियामा जान बाध्य भएको रिता सुनाउँछिन्, ‘गीत छाडा भएपछि सरकारसँग कानुनबमोजिम कारबाही गरी पाउँ भनेर साइबर ब्युरो पनि जाने दिन आए । यो हाम्रो संस्कृतिकै लागि घातक छ । अब सबै मिलेर सुधारतर्फ लाग्नुपर्छ,’ भन्छिन्, ‘कानुनी प्रक्रियामा गएपछि कलाकारहरूले पनि बुझ्नुभयो पक्कै– यस्तो गर्नुहुँदैन भन्ने । अपाच्य र अश्लिल शब्द मिमिएका गीत–भिडियाले समाजलाई ठिक दिशामा डोहोर्‍याउँदैन ।’ 

नयाँ पुस्ता जहिल्यै परिवर्तनमुखी हुन्छ । तिनले फेरिएको समाजअनुरुपकै संस्कृति निर्माण गर्छन् । ‘तर, मौलिकता त कायम गर्नैपर्छ सिर्जनामा,’ उनी भन्छिन्, ‘परिमार्जन पनि गर्नुपर्छ, तर हाम्रो सांस्कृतिक विशेषता भुल्नुहुँदैन ।’

गायक बद्री पंगेनीको विचारमा भाइरल हुने निहुँमा यस किसिमको गीत निर्माण भइरहेका छन् । ‘सामाजिक सञ्जाल मुख्यत: टिकटकमा जस्ता अश्लिल गीतलाई पनि दर्शक–स्रोताले प्रोत्साहन गर्ने र नाच्ने देखियो, दर्शकको समर्थनले पनि बजारमा नराम्रा र अश्लिल गीतले स्थान पाए । भाइरल हुने निहुँमा यस्ता गीत बनिरहेका छन् । तीज गीतमा विकृति फैलिनु चिन्ताको विषय हो,’ उनले भने । 

समयसँगै महिला शिक्षित र सक्षम भएकाले तीज गीतमा पीडा नभइ स्वतन्त्रता, अधिकार र समानताका धुन गुन्जिन थालेको बताउँछिन् गायिका राधिका हमाल । ‘पहिलेको तीज गीतका विषयवस्तु महिलाले भोगेको यातना, सासु–नन्द–अमाजुले दिएको दुःखमाथि केन्द्रित हुन्थे, तिनका भाव–शैली–कथा पीडाले भरिएका हुन्थे,’ उनी भन्छिन्, ‘तर, अहिले महिलाहरू इच्छा र सपना पूरा गर्नेतर्फ लक्षित छन् । शिक्षित र सक्षम भएपछि नारीहरु बलियो हुने नै भए, अहिले महिला–पुरुषमा समानता पनि छ । महिलामा पनि हेपाई, यातना सहेर बस्ने होइन, आवाज उठाउनुपर्छ भन्ने सोच्न थालेका छन् । त्यसैले अहिले पीडाभन्दा पनि स्वतन्त्रता, समानताका गीतहरू गाइन्छन्, बज्छन् । यो समाजकै सकारात्मक विषय हो ।’

‘गीतका नराम्रा विषयवस्तुले संस्कृति बिग्रने डर छ,’ भन्छिन् हमाल, ‘गीत–संगीत समाजको ऐना हो, कलाकारले मर्यादा ख्याल राख्नुपर्छ, उत्तरदायी हुनुपर्छ । समाजमा पनि राम्रो गीत रचना गर्ने सर्जक/कलाकारलाई सम्मान गरेको खासै सुन्दैनौं । तर, नराम्रा गीत गाउनेलाई प्रोत्साहन गर्ने चलन व्यापक छ ।’

समय परिवर्तन हुनु, प्रविधिको तीव्र विकास हुनुले गीत–संगीतमा पनि फरकपन आएको महसुस छ उनलाई । ‘पहिले सामान्य सारंगी–मादल–बाँसुरी मात्रै प्रयोग हुन्थ्यो गीतमा । अहिले प्रविधिको विकासले फड्को मारसँगै अन्य बाजागाजामा पनि सहज पहुँच पुगेको छ र बजार पनि बृहत् भएको छ । यो खुसीको कुरा हो । तर, कसरी संगीत अब्बल र सभ्य बनाउने भन्नेमा विमर्श जरुरी छ ।’ 

प्रत्येक सिर्जना समाजकै उपज हो र प्रतिविम्ब पनि, जसमा देखिन्छ– समाजको ऐना । अब समाज मात्रै बदलिएन, मान्छेको बाँच्ने शैली, तौरतरिका पनि फेरियो । यो बदलावसँगै गीत फेरिनु अनौठो रहेन, तर त्यसको सामाजिक प्रभावमाथि बहस–विमर्श हुनैपर्छ । 

गायक खुमन अधिकारीको बुझाइमा पहिले र अहिलेको तीज गीतमा परिवर्तन आएको छ । ‘पहिले हिंसा–पीडा धेरै हुन्थे गीतमा, रोदन मिसिएका हुन्थे । तर, समाज परिर्वतनसँगै चेतनाको विकास हुँदै गयो,’ खुमन भन्छन्, ‘तीज गीतमा पनि यस्तै विषयवस्तु प्रवेश हुन थालेको छ ।’ विरहमात्रै होइन स्वतन्त्रता, समानताका गीत गुन्जिन थाल्नु संगीतमा आएको सुन्दर परिर्वतन ठान्छन् उनी । 

समाजशास्त्री निर्मला ढकाललाई पनि लाग्छ, तीज गीतमा व्यापक परिर्वतन आयो । भन्छिन्, ‘तीज गीत अन्याय र विभेदविरुद्ध हुन्थे । घर–परिवारका विषयमा हुन्थे– श्रीमान्, सासु, ससुराको व्यवहार लगायतका । धपेडी, सुख–दुःखका कथा हुन्थे । २/४ वर्ष अघिसम्म पनि महिलाका स्वतन्त्रता र अधिकारका कुरा जोडेर गाइन्थ्यो, तर अहिले स्वतन्त्रता–समानताका भन्दा दर्शक, स्रोतालाई कस्ता शब्दले आकर्षित गर्छन् भन्नेमा गीत केन्द्रित छ । अहिले ‘अडियन्स’ सामु जस्ता गीत पनि पुगिरहेकै छन् । यो दुःखद् हो ।’ 

गीतमा छाडा शब्द मिसाउँदा तीजको महत्व नै घटिरहेकोमा उनी असाध्यै चिन्तित छिन् । ‘अहिले गीतलाई बजारमा बिक्री गरिने वस्तुका रुपमा मात्रै हेरियो । पवित्र चाडमा पनि छाडा शब्दहरु ल्याउन थालियो, जसले समाजमा नकारात्मक सन्देश प्रवाह गर्‍यो । म घर–परिवारसँग बसेर हेर्न–सुन्न सक्दिन वा त्यो गीत बजाएर नाच्न सक्दिन भने त्यो त तीज गीत भएन । त्यसले न तीज गीतको मर्म बुझ्यो, न महिलाको,’ उनी भन्छिन् । 

तीज गीतमार्फत महिलाका प्रगतिका कथाहरू गाइयो त्यसले समाज विकासमा सुन्दर सहयोग गर्ने ढकालको भनाइ छ । ‘प्रविधिको विकास, स्वतन्त्रता, महिला सशक्तिकरणका कुरा गीतमा गाउन सकिन्छ । त्यसले महिलामा हौसला प्रदान गर्छ ।’ 

मानवशास्त्री डम्बर चेम्जोङलाई लाग्छ, समाज परिर्वतनको कारण नै तीज मनाउने शैली र गीत पनि परिर्वनत भएको छ । ‘तीजमा तडकभडक छ । गाउँमा तीज मनाउने बेग्लै तरिका छ, सहरमा बेग्लै । गाउँतिर पुराना परम्परा कायमै छ । राजनीतिक–आर्थिक परिर्वतन, बसाइँसराई, उत्पादनका सम्बन्धमा आएका परिर्वतनले तीज मनाउने र गीत गाउने परिपाटी मात्रै होइन, हरेक कुरा परिर्वतन भएको छ,’ उनी भन्छन् । 

‘तीज महिलाको स्वतन्त्रता र अधिकारसँग जोडिएको विषय भएको र पुरुषले जे गर्दा पनि पच्ने, महिलाले गर्दा नपच्ने भन्नु गलत भएको’ उनको बुझाइ छ । ‘गीतमार्फत व्यंग्य गर्ने कुरा पनि समाजलाई पुरुषहरुले गर्दा पच्ने र महिलाहरुले गर्दा नपच्ने भन्नेखालको धारणा पनि परिर्वतन हुनु जरुरी छ र विस्तारै परिर्वतन भइरहेको छ । समाजले के पचाउँछ के पचाउँदैन भन्ने विषय पनि अलिकति पूर्वाग्राही कुरा हो,’ उनी भन्छन् । 

तीज गीतकै कारण समाजमा नकारात्मक सन्देश फैलिएको भन्ने भाष्य गलत भएको डम्बरको भनाइ छ । भन्छन्, ‘पहिले समान अधिकार नहुँदा दुःख–वेदनाका गीत मात्रै गाउने भन्ने हुन्थ्यो, अहिले हरेक विषयमा गाउन सकिन्छ । यो सबै राजनीतिक, सामाजिक र आर्थिक परिर्वतनको झल्को हो ।’ 

प्रत्येक सिर्जना समाजकै उपज हो र प्रतिविम्ब पनि, जसमा देखिन्छ– समाजको ऐना । अब समाज मात्रै बदलिएन, मान्छेको बाँच्ने शैली, तौरतरिका पनि फेरियो । यो बदलावसँगै गीत फेरिनु अनौठो रहेन, तर त्यसको सामाजिक प्रभावमाथि बहस–विमर्श हुनैपर्छ ।

आरती पौडेल

Link copied successfully