पार्टीमा अल्पमत र बहुमत पक्षको टकरावका बीच भएको मतदानमा गौतम पक्ष अत्यधिक बहुमतले पराजित भएको थियो । महाधिवेशनमा मतदान प्रक्रियालाई लिएर समेत मतदान भएको थियो । उक्त मतदानमा बहुमत पक्षले ५ सय ८७ र फरक मतले २ सय ३७ मत प्राप्त गरेको थियो ।
What you should know
काठमाडौँ — नेपालगन्जमा नेकपा एमालेको छैटौं महाधिवेशनले बहुमत पक्षको राजनीतिक तथा कार्यनीतिक दस्तावेज पारित गरेपछि अल्मपत पक्षले केन्द्रीय समितिका लागि उम्मेदवारी नै नदिने निर्णय गरेको थियो । बहुमत पक्षका निवर्तमान महासचिव माधवकुमार नेपालले राखेको राजनीतिक प्रतिवेदन बन्दसत्रको हलले अत्यधिक बहुमतले पारित गरेको थियो ।
२०५४ माघ १६ मा भएको मतदानमा ८ सय ५७ प्रतिनिधिमध्ये नेपाल पक्षले ५ सय ९८ मत प्राप्त गरेको थियो । अल्पमत पक्षका वामदेव गौतमले नेपालको प्रस्तावको बदलामा अघि सारेको राजनीतिक दस्तावेज र केशवलाल श्रेष्ठले अघि सारेको महाकाली सन्धिसम्बन्धी फरक मतले २ सय ४४ मत प्राप्त गरेको थियो । १० जनाले मतदान नै गरेनन् ।
पार्टीको कार्यनीतिसम्बन्धी प्रस्तावमा मतदान हुँदा बहुमत पक्षले ६ सय ५ तथा फरक पक्षले २ सय ४२ मत प्राप्त गरेका थिए । पार्टीमा अल्पमत र बहुमत पक्षको टकरावका बीच भएको मतदानमा गौतम पक्ष अत्यधिक बहुमतले पराजित भएको थियो । महाधिवेशनमा मतदान प्रक्रियालाई लिएर समेत मतदान भएको थियो । उक्त मतदानमा बहुमत पक्षले ५ सय ८७ र फरक मतले २ सय ३७ मत प्राप्त गरेको थियो । ![[Archive] After that decision made by the minority party, the majority's dominance...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-magh-20-0762026045334-1000x0.jpg)
दस्तावेजका विषयमा महिनौंदेखि निकै ठूलो घोचपेच र आरोप–प्रत्यारोप गर्दै व्यक्तिगत कमजोरीसमेतको आलोचना गरिरहेका एमाले नेताहरूबीचको फाटो निकै फराकिलो भएको अवस्थामा अल्पमत पक्षलाई निकै ठूलो चोट पुगेको थियो ।
निर्वाचन परिणाम आफ्नो पक्षमा नआपछि अल्पमत पक्षका नेताहरूले निर्वाचन नलड्ने घोषणा गरेका थिए । गौतमले भनेका थिए, ‘बहुमत पक्षले यत्रो बहुमत जुटाएर आएको छ । यस्तो अवस्थामा मैले नेतृृत्वमा रहनुपर्छ भनेर नैतिक रूपमा दाबी गर्न मिल्दैन ।’ गौतमले पराजित हुनुको अर्थ समर्पण नभएको बताएका थिए । उनले अमेरिकी साम्राज्यवाद र भारतीय शासक वर्गको प्रभुत्ववादी चरित्र र महाकाली सन्धिमा राष्ट्रहित नभएको कुरा जहिलेसम्म यो पार्टीले मान्दैन, तबसम्म उठाइरहने बताएका थिए । तर उनले कार्यनीतिको सवाल उठाउन मिल्दैन भनेका थिए ।
निर्वाचनमा अल्पमपत पक्षले उम्मेदवारी नै नदिने भएपछि बहुमत पक्षलाई अझ बढी सहज भएको थियो । मतदानमा मनमोहन अधिकारी, निवर्तमान महासचिव नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली, प्रदीप नेपाल, भरतमोहन अधिकारी, अमृतकुमार बोहरा, ईश्वर पोखरेल, सुवास नेम्वाङ, मुकुन्द न्यौपानेसहित केन्द्रीय सदस्यले जितेका थिए । महाधिवेशनले वैकल्पिक केन्द्रीय सदस्य, अनुशासन समितिका सदस्यलगायत पनि निर्वाचित गरेको थियो । केन्द्रीय सदस्यको निर्वाचनमा कुल ८ सय ३८ मतमध्ये अधिकारीले ७ सय ७७ मत ल्याएका थिए । त्यस्तै नेपालले ७ सय ४० मत प्राप्त गरेका थिए ।
अधिकारी र नेपाल पुनः नेतृत्वमा
०५० जेठ ३ मा मदन भण्डारी र जीवराज आश्रितको जिप दुर्घटनामा दासढुंगामा मृत्यु भएपछि माधव नेपाल महासचिव बनेका थिए । छैटौं महाधिवेशनले भने नेपाललाई निर्वाचित महासचिव बनाएको थियो । मनमोहन अधिकारी पनि दोस्रोपटक अध्यक्ष भएका थिए । छैटौं महाधिवेशनपछि ०५४ माघ १९ मा बसेको केन्द्रीय समितिको पहिलो बैठकले वयोवृद्ध नेता अधिकारीलाई अध्यक्ष र नेपाललाई महासचिवमा निर्वाचित गरेको थियो । महाधिवेशनमा प्रस्तुत आफ्नो प्रस्ताव अनुमोदन नभएपछि अल्पमत पक्षका पार्टीका नेताहरूले उम्मेदवारी नै नदिएर पार्टीको तल्लो तहमा बसेर काम गर्ने घोषणा गरेका थिए । अध्यक्ष अधिकारीले नेता गौतम घेराबाट बाहिर निस्कन नसक्दा यो अवस्था आएको बताएका थिए । महासचिव नेपालले पार्टीमा रहेको गुटको अन्त्य गरेर एकताबद्ध भएर अघि बढ्ने उद्घोष गरेका थिए । ![[Archive] After that decision made by the minority party, the majority's dominance...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-20-0762026045329-1000x0.jpg)
महाधिवेशनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दासँग सम्बन्धित ४१ वटा प्रस्ताव पारित गरेको थियो । एमालेले क्युवामाथि अमेरिकाले लगाएको नाकाबन्दीको विरोध गरेको थियो भने हङकङमाथि चीनको सम्प्रभु रहेकामा खुसी व्यक्त गरेको थियो । त्यस्तै नेपालमा रहेको भुटानी शरणार्थीलाई आफ्नो देशको बाटो भएर फर्कन दिनुपर्ने प्रस्ताव एमालेले पारित गरेको थियो ।
महाधिवेशनले ‘आगामी सरकार एमालेको, अल्पमतको होइन बहुमतको’ भन्ने नारा पारित गरेको थियो । एमालेको छैटौं महाधिवेशनबाट निर्वाचित नेतृत्व, पार्टीको केन्द्रीय समितिमा अल्पमत पक्षको शून्य उपस्थितिलगायतका विषयमा केन्द्रित भएर गुणराज लुइँटेल र दिलभूषण पाठकले तयार गरेको समाचार कान्तिपुर दैनिकले ‘एमालेको छैटौं महाधिवेशनः अधिकारी र नेपाल अध्यक्ष र महासचिवमा पुनः निर्वाचित’ शीर्षकमा ०५४ माघ २० मा प्रकाशन गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] After that decision made by the minority party, the majority's dominance...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page2kpr-magh-20-0762026045340-1000x0.jpg&w=1001&h=0)