[अर्काइभ] आन्तरिक द्वन्द्वले रक्ताम्य बनाएको एमालेको त्यो महाधिवेशन...

कार्यकर्ता नै महासचिव माधवकुमार नेपाल र नेता वामदेव गौतमबीचको द्वन्द्वमा विभाजित भएपछि पार्टीमा आन्तरिक झगडा चुलिएको थियो । प्रहरीको लाठीचार्जबाट फरक मत अर्थात् गौतम पक्षका रूपनारायण श्रेष्ठसहित घाइते भएका कार्यकर्तालाई भेरी अञ्चल अस्पतालमा भर्ना गरिएको थियो ।

जेष्ठ २३, २०८३

कान्तिपुर संवाददाता

[Archive] That UML general convention that was made bloody by internal conflict...

What you should know

काठमाडौँ — नेपालगन्जमा भएको एमालेको छैटौं महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमा उल्लेखित सन्दर्भलाई लिएर नेताहरूबीच लामो समयदेखि नै आरोप–प्रत्यारोप चलिरहेको थियो । मुख्यतः एमाले महासचिव माधवकुमार नेपाल र पूर्वउपमहासचिव वामदेव गौतमले तयार गरेका दस्तावेजका समर्थक दुई भागमा विभाजित भएका थिए । कार्यकर्ता नै महासचिव नेपाल र नेता गौतमबीचको द्वन्द्वमा विभाजित भएपछि पार्टीमा आन्तरिक झगडा चुलिएको थियो । 

गौतम र नेपालबीच महाकाली सन्धि, अमेरिका र भारतलाई हेर्ने दृष्टिकोण लगायतका विषयमा केन्द्रित भएर द्वन्द्व निकै बढेको थियो । महासचिव नेपालले गौतमले ‘मण्डले राष्ट्रवादी’ शैलीको दस्तावेज तयार गरेको आरोप लगाएका थिए । गौतमले भने नेपालको दस्तावेज कम्युनिस्ट चरित्रको नभएको आरोप लगाएका थिए । 

गौतमले आफ्नो दस्तावेजमा भारतीय विस्तारवाद र अमेरिकी सामाज्यवाद उल्लेख गरेकामा नेपालले असहमति जनाएका थिए । दुवै नेताको एउटै दस्तावेज बनाएर महाधिवेशनमा लैजाने प्रयत्न सफल नभएकै अवस्थामा २०५४ माघ १४ मा नेपालगन्जमा छैटौं महाधिवेशन सुरु भएको थियो । महाधिवेशनको बन्दसत्रमा केशवलाल श्रेष्ठले महाकाली सन्धिसम्बन्धी फरक मत, केपी शर्मा ओलीको कार्यनीतिसम्बन्धी आधिकारिक दस्तावेज र गौतमको कार्यनीतिसम्बन्धी फरक मत पेस गर्ने निर्णय भएको थियो । [Archive] That UML general convention that was made bloody by internal conflict...

फरक मत पेस गर्नुअगावै एमाले महाधिवेशनमा सहभागी कार्यकर्ताबीच सुरु भएको विवादमा प्रहरी लाठीचार्ज नै गर्नुपर्ने अवस्थामा पुगेको थियो । फरक मत (गौतम) र बहुमत (नेपाल) पक्षधर कार्यकर्ताबीचको झगडा साम्य पार्न प्रहरीले गरेको लाठी चार्जबाट एमाले कार्यकर्तालाई अस्पताल नै लैजानुपर्ने अवस्था सिर्जना भएको थियो । लाठी चार्जबाट फरक मत अर्थात् गौतम पक्षका रूपनारायण श्रेष्ठसहित घाइते भएका कार्यकर्तालाई भेरी अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । आफ्नो पक्षका कार्यकर्ता प्रहरीको लाठीबाट घाइते भएकामा एमाले नेतृहरू सीता खड्का, माया ज्ञवाली, पद्मा भट्टराईसहितका बहुमत पक्षसँग निकै आक्रोशित भएका थिए । उनीहरूले नेतृत्वको कडा विरोध जनाएर सार्वजनिक रूपमा आक्रोश पोखेका थिए । लाठीचार्ज गरेको विषयमा बहुमत पक्षको विरोधमा महिला नेतृहरू लगातार आक्रोशित भएपछि स्थिति निकै तनावग्रस्त बनेको थियो । 

घाइतेहरूलाई उपचारका लागि अस्पताल लगेपछि विद्यार्थी नेता योगेश भट्टराईले महाधिवेशन हलको गेटबाहिर प्रहरी र लालसेनाबीच विवाद गरेका थिए । प्रहरीले रोकेका कारण थप झगडा हुन पाएको थिएन । उता महाधिवेशनको बहुमत पक्षले अल्पमत पक्षका रूपनारायण र पद्मालाई महाधिवेशनस्थलमा गुण्डागर्दी गरेको भन्दै पार्टी सदस्यताबाटै निष्कासन गरेको थियो ।

फरक मत पक्षका कार्यकर्तालाई लाठी चार्ज गर्नुअघि महाधिवेशनस्थलमा बिहानैदेखि दंगा प्रहरी तैनाथ गरिएको थियो । फरक मतका कार्यकर्ताको नेतृत्व गर्दै महाधिवेशनस्थलमा पुगेको रूपनारायण श्रेष्ठ र स्वयंसेवकको उपकमाण्डरबीच विवाद भएका बेला कसैले लालसेनातर्फ ढुंगा हानेपछि प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गरेको थियो । अल्पमत पक्षले प्रहरीले घरमा छिरेर पनि लाठी प्रहार गरेको भन्दै विरोध जनाएको थियो ।

महाधिवेशनमा आएका अल्पमत पक्षका सीपी मैनालीले प्रहरीलाई आक्रोशित मुद्रामा महाधिवेशनबाट हट्न भनेका थिए । सीपी महाधिवेशनस्थको गेटमा पस्ने बेला लालसेनालसँग धक्काधक्की भएको थियो । आफूमाथि दुर्व्यहार गरेको भन्दै सीपीले आफू समर्थक कार्यकर्तालाई गेटमा प्रदर्शन गराएका थिए । फरक मतका गौतम घटनास्थलमा आएपछि उनलाई देखेर घाइते कार्यकर्ता रोएका थिए ।

कार्यकर्ता रोएको देखेर गौतमले प्रहरीलाई तपाईंलाई लाठीचार्ज गर्न कसले आदेश दियो भन्दै प्रश्न गरेका थिए । सहिद पत्नी गेटमा बसेर रोएर बसेका बेला बहुमत पक्षका भीम रावल आएका थिए । रावलसँग कार्यकर्ता असन्तुष्ट थिए । किनकि, प्रहरीलाई लाठी चार्ज गर्ने आदेश रावलले नै दिएको बुझाइ उनीहरूमा थियो । महाधिवेशनस्थलमा सहिद पत्नीहरूले दिनभर विरोध जनाएका थिए । 

‘नांगो बदमासी भएको आरोप’

बहुमत पक्षको नेतृत्व गरिरहेका महासचिव नेपालले अल्पमत पक्षले नांगो बदमासी गरेको आरोप लगाएका थिए । नेपालले महाधिवेशन बिथोल्न खोजेमा कारबाही हुने चेतावनी दिएका थिए । नेपालले गौतम समर्थकले लालसेनामाथि आक्रमण गरेको आरोप लगाएका थिए । अल्पमत पक्षलाई इंगित गर्दै नेपालले नारा लगाएर कम्युनिस्ट पार्टी नचल्ने बताएका थिए । उनले भनेका थिए, ‘नारा लगाएर, धम्की दिएर, वितण्डा मच्चाएर माग स्विकार गराउने परिपाटीमा हामी छैनौं ।’ फरक मत राखेपछि प्रतिस्पर्धा स्विकार्न सक्नुपर्ने भनाइ उनको थियो । सीपीले भने सडक संघर्षमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका थिए । उनले भीम रावलले उत्तेजक भाषण गरेको आधारमा आफू समर्थक विद्यार्थी नेताहरूमाथि कारबाही गरेको दुखेसो गरेका थिए । 

फरक मत पक्षका कार्यकर्ता अजम्बर काङमाङले महाधिवेशनस्थल बाहिर बहुमत पक्षका नेताहरूलाई चुनौती दिएर भाषण गरेका थिए । उनले प्रश्न गरेका थिए, ‘अल्पमतलाई सम्मान गर्नुको बदला आफ्ना हनुमान लगाएर नेतालाई गोद्ने हो भने कति दिन प्रहरी सुरक्षामा बस्नु हुन्छ ?’ 

महाधिवेशनस्थलबाहिर तनाव सिर्जना भएपछि बन्दसत्रमा फरक मतका नेताहरूले विरोध जनाएका थिए । एमालेका निवर्तमान अध्यक्ष मनमोहन अधिकारीले एमालेलाई फुटाउन संसारका धेरै शक्ति लागेको बताएका थिए । उनले गौतम र राधाकृष्ण मैनालीलाई बुटवल नजान भनेकामा नमानेको भन्दै असन्तुष्टि जनाएका थिए । ०४९ माघमा भएको पाँचौं महाधिवेशनमा मदन भण्डारीले प्रस्ताव गरेको जनताको बहुदलीय जनवाद पारित भएको थियो भने सीपीको नौलो जनवाद अस्विकार गरिएको थियो । त्यतिबेलादेखि नै विजारोपण भएको आपसी द्वन्द्व विभिन्न बहानामा गहिरिँदै गएको थियो । महाकाली सन्धि पारित गराउने विषय, लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाउने सन्दर्भलगायतका विषयमा एमाले नेताहरू एकमत हुन सकेका थिएनन् । महाकाली सन्धि पारित गराउने र नगराउने विषय सबैभन्दा धेरै पेचिलो बनेको थियो । उक्त विषयमा अहिले पनि चर्चा हुने गरेको छ । 

उल्लेखित सबै विषयले द्वन्द्वको खाडल बढाएका बेला नेपालगन्जमा भएको छैटौं महाधिवेशनमा आपसमा भौतिक आक्रमणको स्थिति बनेको थियो । कम्युनिस्ट पार्टीहरूमा सबैभन्दा धेरै देखिने अल्पमत र बहुमतको द्वन्द्व र त्यसबाट सिर्जना भएको परिस्थितिले एमाले महाधिवेशनमा प्रहरी हस्तक्षेप नै गर्ने अवस्था सिर्जना भएको सन्दर्भमा केन्द्रित भएर पत्रकारद्वय गुणराज लुइँटेल र दिलभूषण पाठकले नेपालगन्ज ‘डेटलाइन’मा तयार गरेको समाचार ०५४ माघ १५ मा कान्तिपुर दैनिकले ‘एमालेमा विभाजनको संकेतः फरकमतका कार्यकर्तामाथि प्रहरीद्वारा लाठी प्रहार’ शीर्षकमा प्रकाशन गरेको थियो । 

प्रस्तुतिः ऋषिराम पौड्याल 

कान्तिपुर

Link copied successfully