[अर्काइभ] सूर्यबहादुरको मध्यावधि सिफारिसलाई राजा वीरेन्द्रले सर्वोच्च अदालत पुर्‍याएपछि...

राजाले सर्वोच्च अदालतसँग राय मागेकामा राजनीतिक दलहरूले भने आपत्ति जनाएका थिए । कांग्रेसले श्री ५ को निर्णयलाई आश्चर्यजनक भनेको थियो भने एमालेले राय माग्न आवश्यक नभएको प्रतिक्रिया दिएको थियो ।

जेष्ठ २१, २०८३

कान्तिपुर संवाददाता

[Archive] After King Birendra took Surya Bahadur's mid-term recommendation to the Supreme Court...

What you should know

काठमाडौँ — ‘मुसा प्रवृत्ति’का आफ्नै पार्टी राप्रपाका सांसदहरूले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेर हटाउन खोजेको सुइँको पाएपछि प्रधानमन्त्री सूर्यबहादुर थापाले राजालाई मध्यावधि निर्वाचनको सिफारिस गरेका थिए । उनले संसद् विघटन गरेर मध्यावधि निर्वाचनको सिफारिस गरेकै दिन राप्रपासहितका एमालेका ९६ जना सांसदले प्रतिनिधिसभाको विशेष अधिवेशन माग गरेर राजदरबारमा समावेदन पत्र दर्ता गराएका थिए । 

प्रधानमन्त्री थापाले आफ्नो विशेष अधिकार भन्दै मध्यावधि निर्वाचन घोषणा गर्न सिफारिस गरेका थिए भने एमालेले प्रधानमन्त्री अल्पमतमा परेको भन्दै विशेष अधिवेशनमा जोड दिएको थियो । एमालेले थापाविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी पनि गरेको थियो । 

संसद् विघटन गरेर मध्यावधि निर्वाचन गराउने कि अधिवेशन बोलाउने भन्नेमा राजा वीरेन्द्र अलमलमा परेका थिए । त्यसैले उनले प्रधानमन्त्री थापाले ६ दिनअघि गरेको सिफारिसका सम्बन्धमा सर्वोच्च अदालतसँग राय माग गरेका थिए । २०५४ पुस २४ मा प्रधानमन्त्रीले गरेको सिफारिस र एमालेसहितका दलले त्यसै दिन दर्ता गराएको समावेदनको विषय सर्वोच्चमा पुगेपछि राजाको भूमिकाप्रति दलहरूले असन्तुष्टि जनाएका थिए । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश विश्वनाथ उपाध्यायले समेत यसमा सर्वोच्चको राय माग्न आवश्यक नरहेको प्रतिक्रिया दिएका थिए । [Archive] After King Birendra took Surya Bahadur's mid-term recommendation to the Supreme Court...

तर, नेपालको संविधान २०४७ को धारा ८८ को उपधारा (५) मा राजाले संवैधानिक वा अन्य कुनै कानुनी व्याख्यासम्बन्धी जटिल कानुनी प्रश्नमा प्रस्ट हुन सर्वोच्चको राय माग्न सक्ने व्यवस्था थियो । संविधानमा राजाको राय मागेमा सर्वोच्चले प्रतिवेदन दिनुपर्ने संविधानमा उल्लेख थियो । साथै राजाले मागेको राय प्रतिवेदन पेस गर्न सर्वोच्चको पूर्ण इजलासले सार्वजनिक सुनुवाइ गरेर निर्णय गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको थियो । त्यसैलाई आधार मानेर राजाले राय मागेको भनाइ एकाथरीको थियो ।

राजाले पूर्वप्रधानमन्त्रीहरू, विपक्षी दलका नेता, कानुनविद‍्हरूसहित सरोकारवालाहरूसँग पनि परामर्श गरेका थिए । यसअघिका प्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीले गरेको संसद् विघटन र मध्यावधिको सिफारिसलाई राजाले तत्कालै कार्यान्वयन गरे पनि यसपटक कानुनी परामर्श गरिएको थियो । मध्यावधि निर्वाचन भएको तीन वर्षमा अर्को मध्यावधि निर्वाचनका लागि सिफारिस गरिएको थियो ।[Archive] After King Birendra took Surya Bahadur's mid-term recommendation to the Supreme Court...

२०४८ को संसदीय निर्वाचनपछि साढे तीन वर्षमा मध्यावधि निर्वाचन भएको थियो भने यसपटक पनि पुनः सिफारिस भएकाले यस्ता गतिविधिले राजनीतिक अस्थिरता निम्त्याउने तर्क एकाथरीको थियो । थापाले प्रधानमन्त्रीको विशेष अधिकार कार्यान्वयन गर्नुपर्ने भन्दै राजालाई कानुनी व्यवस्थासमेत उल्लेख गरेर पुनः लिखित भनाइ जाहेर गरेका थिए । थापाले पत्र पठाएको ३० घण्टापछि राजाले सर्वोच्चसँग राय माग गरेका थिए । यसले राजाको भूमिकाका विषयमा प्रश्न उठेको थियो । कानुनविदहरूले भने प्रधानमन्त्री र राजाको अधिकारको सम्बन्धमा सर्वोच्चद्वारा पुनर्व्याख्या हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

यसबीचमा राजाले प्रधानमन्त्री थापालाई पटक–पटक भेटेका थिए । राजासँगको भेटपछि थापाले बोलाएको सत्तापक्षका दलको बैठकमा १ सय ५ जना सांसद प्रधानमन्त्रीको कदमको पक्षमा रहेको देखिएको थियो । त्यतिबेला सरकार बनाउन १ सय ३ जना सांसद चाहिन्थ्यो । कांग्रेसका ८९, राप्रपा थापा पक्षका ११, नेपाल सद्भावना पार्टीका ३ र नेमकिपाका २ जना  सांसद थापाको पक्षमा देखिएका थिए । त्यसबाट अविश्वास प्रस्ताव पास भए पनि एमालेलाई सरकार बनाउन सिट संख्या नपुग्ने दाबी थापा पक्षको थियो । 

दलहरूको आपत्ति 

राजाले सर्वोच्च अदालतसँग राय मागेकामा राजनीतिक दलहरूले भने आपत्ति जनाएका थिए । नेपाली कांग्रेसले श्री ५ को निर्णयलाई आश्चर्यजनक भनेको थियो । राजाले सिफारिस कार्यान्वयन नगरेको भन्दै राप्रपाले प्रधानमन्त्रीको अधिकार खोसिएको व्याख्या गरेको थियो ।[Archive] After King Birendra took Surya Bahadur's mid-term recommendation to the Supreme Court...

एमालेले राय माग्न आवश्यक नभएको प्रतिक्रिया दिएको थियो । कांग्रेसका महामन्त्री तथा प्रवक्ता तारानाथ रानाभाटले संविधानमा लेखेको विषयमा ‘कन्फ्युजन’ भएमा सर्वोच्चले यसअघि गरेका नजिर हेर्न राजालाई सुझाएका थिए । राप्रपा नेता तथा मन्त्री कमल थापाले प्रधानमन्त्रीलाई सिफारिसको अधिकार भएकाले यसमा बन्देज हुन नहुने तर्क गरेका थिए ।

एमाले महासचिव माधव नेपालले भने सर्वोच्चसँग राय माग नगरी विशेष अधिवेशन बोलाउनुपर्ने माग गरेका थिए । उनले प्रधानमन्त्री थापा र कांग्रेस सभापति गिरिजाप्रसादले राजालाई धम्क्याएको दोष लगाएका थिए । उनीहरूले मध्यावधि निर्वाचन गराउन राजालाई धम्क्याएको भनाइ महासचिव नेपालको थियो । एमाले नेता झलनाथ खनालले भने राजाले सर्वोच्चमा राय माग्नु स्वाभाविक भएको बताएका थिए ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष तथा सांसद नारायणमान विजुक्छेले राजाले प्रधानमन्त्रीको सिफारिस अनुसार मध्यावधि निर्वाचन गर्नु नै स्वाभाविक हुने बताएका थिए । 

२०४६ को राजनीतिक परिवर्तनपछि तेस्रो पटक मध्यावधि निर्वाचनको सिफारिस गरिएको र त्यसको कार्यान्वयनमा जटिलता उत्पन्न भएपछि राजाले सर्वोच्च अदालतसँग राय माग गरेको सम्बन्धमा उठेका प्रश्नमा आधारित भएर तयार गरेको समाचार कान्तिपुरले २०५४ माघ १ मा ‘श्री ५ बाट मध्यावधिको सिफारिस र विपक्षीको समावेदन सम्बन्धमा सर्वोच्चको राय माग’ शीर्षकमा प्रकाशन गरेको थियो । सोही दिन दलहरूले राजाको कदमको आलोचना गरेको समाचार पनि प्रकाशन गरेको थियो । 

मध्यावधि निर्वाचन मुलुकको आवश्यकता र राजनीतिक स्थिरताभन्दा पनि दलहरूभित्रको द्वन्द्वले निम्त्याएको थियो । यसले नागरिक तहमा संसदीय व्यवस्थाप्रतिको मोह बिस्तारै भंग हुँदै गएको थियो । 

प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully