एमालेको समर्थनमा लोकेन्द्रबहादुर चन्दले नेतृत्व गरेको सरकारका अर्थमन्त्री रवीन्द्रनाथ शर्माले २०५४ असार २६ मा सिंहदरबारस्थित संयुक्त संसद् बैठकमा प्रस्तुत गरेको बजेटको मूल प्राथमिकता उदारीकरण र बजारीकरण अर्थ व्यवस्थालाई सुदृढ बनाउने नै थियो, जुन अहिले पनि जारी छ ।
What you should know
काठमाडौँ — आजभन्दा २९ वर्षअघि अर्थात् २०५४ असार २६ मा बहुदलीय व्यवस्था प्राप्त भएको ८ वर्ष टेकेको थियो । अहिले मुलुकको वार्षिक बजेट साढे १९ खर्ब रहेको छ भने त्यतिबेला ६२ अर्ब २ करोड २२ लाख ९४ हजार थियो । त्यतिबेला वार्षिक बजेट १ खर्ब पनि पुग्न सकेको थिएन ।
एमालेको समर्थनमा लोकेन्द्रबहादुर चन्दले नेतृत्व गरेको सरकारका अर्थमन्त्री रवीन्द्रनाथ शर्माले २०५४ असार २६ मा सिंहदरबारस्थित संयुक्त संसद् बैठकमा प्रस्तुत गरेको बजेटको मूल प्राथमिकता उदारीकरण र बजारीकरण अर्थ व्यवस्थालाई सुदृढ बनाउने नै थियो, जुन अहिले पनि जारी छ । बजेटको आकार सानो भए पनि साधारण खर्चभन्दा विकास खर्च बढी थियो ।
अर्थमन्त्री शर्माले प्रस्तुत गरेको बजेटमा ४० प्रतिशत वैदेशिक ऋण र अनुदानमा आधारित थियो । ६२ अर्बको बजेटमा ५ अर्ब घाटा बजेट तयार गरिएको थियो भने विकास बजेटलाई विगत वर्षहरूको तुलनामा खुम्च्याइएको भनाइ विपक्षीहरूको थियो । बजेटमा ४ करोडको गरिबी निवारण कोष स्थापना गर्ने घोषण गरिएको थियो । बजेटको लक्ष्यमा विकासलाई गाउँमुखी बनाउने प्रस्ताव गरिएको थियो । तर ४ करोडले कसरी गरिबी निवारण गर्न सकिन्छ भन्ने प्रश्न थियो ।
सावाव्याज भुक्तानी र विकास खर्च
अर्थमन्त्री शर्माले विकास खर्चका लागि ३४ अर्ब ३ करोड ८८ लाख ४८ हजार र साधारण खर्चका लागि २७ अर्ब ९८ करोड ३४ लाख ४६ हजार विनियोजन गरेका थिए । आर्थिक वर्ष २०८२/२०८३ सँग तुलना गर्ने हो भने त्यतिबेला साधारण खर्चभन्दा विकास खर्च बढी देखिनुलाई सकारात्मक मान्न सकिन्छ ।![[Archive] This is what the annual budget of 62 billion was like 29 years ago](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-asar-27-0452026085905-1000x0.jpg)
अहिले साढे १९ खर्बको बजेटमा झण्डै १२ खर्ब साधारण खर्च रहेको छ । चालु वर्षका लागि विकास बजेटको शीर्षकमा हाराहारी २१ प्रतिशत विनियोजन गरिएको छ । आव २०५४/२०५५ का लागि अर्थमन्त्री शर्माले त्यतिबेला ऋणको साँवाव्याज भुक्तानीमा मात्र बर्सेनि ८ अर्ब १६ करोड ९७ लाख छुट्याएका थिए । उक्त आर्थिक वर्षमा कर्मचारीको तलब औसतमा १३ प्रतिशत वृद्धि गरेको र साँवाव्याज भुक्तानीमा ठूलो रकम खर्च गर्नुपर्ने भएकाले सरकारले साधारण खर्च बढेको स्पष्टीकरण दिएको थियो । कुल बजेटमध्ये राजस्वबाट ३४ अर्ब ८५ करोड २४ लाख ७१ हजार र वैदेशिक सहायताबाट १५ अर्ब ५४ करोड २ लाख ५४ हजार प्राप्त हुने अनुमान गरिएको थियो ।
विद्युत् आयोजनालाई प्राथमिकता
बजेटमा विद्युत् आयोजनाको निर्माण र विद्युतीकरणलाई प्राथमिकता दिइएको थियो । कालीगण्डकी ‘ए’, पुवा खोला, मोदी खोला जस्ता आयोजनालाई समयमै पूरा गर्न बजेट विनियोजन गरिएको थियो ।
बजेटले प्रशारण लाइन निर्माण र ग्रामीण विद्युतीकरणलाई प्राथमिकतामा राखेको थियो । उक्त आवमा ३५ हजार ग्राहकलाई विद्युत् सेवा उपलब्ध गराउने लक्ष्य राखिएको थियो । त्यतिबेला विद्युत् आयोजना निर्माणमा निजी क्षेत्र आकर्षित भएको थियो । स्वदेशी र विदेशी निजी लगानकर्ता नेपाल भित्रिएका थिए ।
महत्त्वाकांक्षी राजस्व लक्ष्य
अर्थमन्त्री शर्माले राजस्व लक्ष्य भने महत्त्वाकांक्षी राखेका थिए । यद्यपि, कतिपय करका दर घटाइएको थियो । बैंकमा ५ लाखको निक्षेप राख्ने र १० लाख भन्दा बढीको सवारी साधन चढ्नेले अनिवार्य रूपमा आयकर प्रमाणपत्र लिनुपर्ने व्यवस्था बजेटले गरेको थियो । त्यस्तै नेपाल राष्ट्र बैंकबाट १ अर्बभन्दा बढीको ओभर ड्राफ्ट सुविधा लिन नपाउने व्यवस्था गरिएको थियो ।![[Archive] This is what the annual budget of 62 billion was like 29 years ago](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-asar-27-2-0452026085859-1000x0.jpg)
चुरोट र मदिराको अन्तःशुल्क बढाइएको थियो भने नेपालमा उत्पादन हुने सवारी साधनमा १५ देखि ४० प्रतिशत अन्तः शुल्क लगाउने बजेटमार्फत घोषणा गरिएको थियो । सवारी साधन भन्सार महसुल १ सय १० प्रतिशतबाट ८० मा झारिएको थियो भने टेलिभिजन तथा इँटामा लाग्ने अन्तःशुल्क खारेज गरिएको थियो ।
विपक्षीको विरोध
विपक्षी दलहरूले राजस्व संकलन लक्ष्य महत्त्वाकांक्षी राखेको र विकास बजेट खुम्च्याइएको भन्दै बजेटको आलोचना गरेका थिए । बजेटलाई अर्थविद्हरूले ‘गैरप्राविधिकबाट प्रस्तुत गरिएको प्राविधिक बजेट’ भनेका थिए । मुलुकमा नवौं पञ्चवर्षीय योजना चलिरहेको स्मरण गराउँदै विपक्षीहरूले सोही अनुसारको बजेट नल्याएको भन्दै आलोचना गरेका थिए ।![[Archive] This is what the annual budget of 62 billion was like 29 years ago](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-asar-27-1-0452026085856-1000x0.jpg)
पूर्वअर्थमन्त्री रामशरण महतले बजेटले गरेको राजस्व अनुमान कृत्रिम रहेको बताएका थिए । उनले बजेटले मुद्रास्फीति बढाएर मूल्यवृद्धि गराउने दाबी गरेका थिए । बजेटमा नयाँपन नभएको धारणा उनको थियो ।
२०४६ पछिको अन्तरिमकालका अर्थमन्त्री देवेन्द्रराज पाण्डेले बजेट बाठा अर्थमन्त्रीले बाठो तरिकाबाट प्रस्तुत गरेको बताएका थिए । उनले ४ करोडले गरिबी निवारण हुन नसक्ने तर्क गरेका थिए । उनले ‘ओभरड्राफ्ट’ लिने गैरजिम्मेवार परम्परा रोक्ने नीतिको भने प्रशंसा गरेका थिए । कतिपय अर्थविद् र पूर्वअर्थमन्त्रीहरूले बजेट कांग्रेसले लिएको नीतिमा आधारित भएको बताएका थिए ।
झण्डै तीन दशकअघिको मुलुकको बजेटका विषयमा केन्द्रित भएर विजय घिमिरे, राजेन्द्र सुनुवारसहितका पत्रकारहरूले तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५४ असार २७ मा विभन्न शीर्षकमा प्रकाशन गरेको थियो । कान्तिपुरले ‘अर्थमन्त्रीद्वारा आर्थिक वर्ष २०५३/०५४ को बजेट प्रस्तुत,’ ‘अनुमान गरिएको राजस्व संकलन हुने कुरामा शंका’, ‘करका विभिन्न पक्षमा परिवर्तनको प्रस्ताव’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] This is what the annual budget of 62 billion was like 29 years ago](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/budgetsamikshya-1612022091511-0452026090337-1000x0.jpg&w=1001&h=0)