[अर्काइभ] २९ वर्षअघि यस्तो थियो ६२ अर्बको वार्षिक बजेट 

एमालेको समर्थनमा लोकेन्द्रबहादुर चन्दले नेतृत्व गरेको सरकारका अर्थमन्त्री रवीन्द्रनाथ शर्माले २०५४ असार २६ मा सिंहदरबारस्थित संयुक्त संसद् बैठकमा प्रस्तुत गरेको बजेटको मूल प्राथमिकता उदारीकरण र बजारीकरण अर्थ व्यवस्थालाई सुदृढ बनाउने नै थियो, जुन अहिले पनि जारी छ ।

वैशाख २२, २०८३

कान्तिपुर संवाददाता

[Archive] This is what the annual budget of 62 billion was like 29 years ago

What you should know

काठमाडौँ — आजभन्दा २९ वर्षअघि अर्थात् २०५४ असार २६ मा बहुदलीय व्यवस्था प्राप्त भएको ८ वर्ष टेकेको थियो । अहिले मुलुकको वार्षिक बजेट साढे १९ खर्ब रहेको छ भने त्यतिबेला ६२ अर्ब २ करोड २२ लाख ९४ हजार थियो । त्यतिबेला वार्षिक बजेट १ खर्ब पनि पुग्न सकेको थिएन । 

एमालेको समर्थनमा लोकेन्द्रबहादुर चन्दले नेतृत्व गरेको सरकारका अर्थमन्त्री रवीन्द्रनाथ शर्माले २०५४ असार २६ मा सिंहदरबारस्थित संयुक्त संसद् बैठकमा प्रस्तुत गरेको बजेटको मूल प्राथमिकता उदारीकरण र बजारीकरण अर्थ व्यवस्थालाई सुदृढ बनाउने नै थियो, जुन अहिले पनि जारी छ । बजेटको आकार सानो भए पनि साधारण खर्चभन्दा विकास खर्च बढी थियो । 

अर्थमन्त्री शर्माले प्रस्तुत गरेको बजेटमा ४० प्रतिशत वैदेशिक ऋण र अनुदानमा आधारित थियो । ६२ अर्बको बजेटमा ५ अर्ब घाटा बजेट तयार गरिएको थियो भने विकास बजेटलाई विगत वर्षहरूको तुलनामा खुम्च्याइएको भनाइ विपक्षीहरूको थियो । बजेटमा ४ करोडको गरिबी निवारण कोष स्थापना गर्ने घोषण गरिएको थियो । बजेटको लक्ष्यमा विकासलाई गाउँमुखी बनाउने प्रस्ताव गरिएको थियो । तर ४ करोडले कसरी गरिबी निवारण गर्न सकिन्छ भन्ने प्रश्न थियो । 

सावाव्याज भुक्तानी र विकास खर्च 

अर्थमन्त्री शर्माले विकास खर्चका लागि ३४ अर्ब ३ करोड ८८ लाख ४८ हजार र साधारण खर्चका लागि २७ अर्ब ९८ करोड ३४ लाख ४६ हजार विनियोजन गरेका थिए । आर्थिक वर्ष २०८२/२०८३ सँग तुलना गर्ने हो भने त्यतिबेला साधारण खर्चभन्दा विकास खर्च बढी देखिनुलाई सकारात्मक मान्न सकिन्छ ।[Archive] This is what the annual budget of 62 billion was like 29 years ago

अहिले साढे १९ खर्बको बजेटमा झण्डै १२ खर्ब साधारण खर्च रहेको छ । चालु वर्षका लागि विकास बजेटको शीर्षकमा हाराहारी २१ प्रतिशत विनियोजन गरिएको छ । आव २०५४/२०५५ का लागि अर्थमन्त्री शर्माले त्यतिबेला ऋणको साँवाव्याज भुक्तानीमा मात्र बर्सेनि ८ अर्ब १६ करोड ९७ लाख छुट्याएका थिए । उक्त आर्थिक वर्षमा कर्मचारीको तलब औसतमा १३ प्रतिशत वृद्धि गरेको र साँवाव्याज भुक्तानीमा ठूलो रकम खर्च गर्नुपर्ने भएकाले सरकारले साधारण खर्च  बढेको स्पष्टीकरण दिएको थियो । कुल बजेटमध्ये राजस्वबाट ३४ अर्ब ८५ करोड २४ लाख ७१ हजार र वैदेशिक सहायताबाट १५ अर्ब ५४ करोड २ लाख ५४ हजार प्राप्त हुने अनुमान गरिएको थियो । 

विद्युत् आयोजनालाई प्राथमिकता

बजेटमा विद्युत् आयोजनाको निर्माण र विद्युतीकरणलाई प्राथमिकता दिइएको थियो । कालीगण्डकी ‘ए’, पुवा खोला, मोदी खोला जस्ता आयोजनालाई समयमै पूरा गर्न बजेट विनियोजन गरिएको थियो ।

बजेटले प्रशारण लाइन निर्माण र ग्रामीण विद्युतीकरणलाई प्राथमिकतामा राखेको थियो । उक्त आवमा ३५ हजार ग्राहकलाई विद्युत् सेवा उपलब्ध गराउने लक्ष्य राखिएको थियो । त्यतिबेला विद्युत् आयोजना निर्माणमा निजी क्षेत्र आकर्षित भएको थियो । स्वदेशी र विदेशी निजी लगानकर्ता नेपाल भित्रिएका थिए । 

महत्त्वाकांक्षी राजस्व लक्ष्य 

अर्थमन्त्री शर्माले राजस्व लक्ष्य भने महत्त्वाकांक्षी राखेका थिए । यद्यपि, कतिपय करका दर घटाइएको थियो । बैंकमा ५ लाखको निक्षेप राख्ने र १० लाख भन्दा बढीको सवारी साधन चढ्नेले अनिवार्य रूपमा आयकर प्रमाणपत्र लिनुपर्ने व्यवस्था बजेटले गरेको थियो । त्यस्तै नेपाल राष्ट्र बैंकबाट १ अर्बभन्दा बढीको ओभर ड्राफ्ट सुविधा लिन नपाउने व्यवस्था गरिएको थियो ।[Archive] This is what the annual budget of 62 billion was like 29 years ago

चुरोट र मदिराको अन्तःशुल्क बढाइएको थियो भने नेपालमा उत्पादन हुने सवारी साधनमा १५ देखि ४० प्रतिशत अन्तः शुल्क लगाउने बजेटमार्फत घोषणा गरिएको थियो । सवारी साधन भन्सार महसुल १ सय १० प्रतिशतबाट ८० मा झारिएको थियो भने टेलिभिजन तथा इँटामा लाग्ने अन्तःशुल्क खारेज गरिएको थियो । 

विपक्षीको विरोध

विपक्षी दलहरूले राजस्व संकलन लक्ष्य महत्त्वाकांक्षी राखेको र विकास बजेट खुम्च्याइएको भन्दै बजेटको आलोचना गरेका थिए । बजेटलाई अर्थविद्हरूले ‘गैरप्राविधिकबाट प्रस्तुत गरिएको प्राविधिक बजेट’ भनेका थिए । मुलुकमा नवौं पञ्चवर्षीय योजना चलिरहेको स्मरण गराउँदै विपक्षीहरूले सोही अनुसारको बजेट नल्याएको भन्दै आलोचना गरेका थिए ।[Archive] This is what the annual budget of 62 billion was like 29 years ago

पूर्वअर्थमन्त्री रामशरण महतले बजेटले गरेको राजस्व अनुमान कृत्रिम रहेको बताएका थिए । उनले बजेटले मुद्रास्फीति बढाएर मूल्यवृद्धि गराउने दाबी गरेका थिए । बजेटमा नयाँपन नभएको धारणा उनको थियो ।

२०४६ पछिको अन्तरिमकालका अर्थमन्त्री देवेन्द्रराज पाण्डेले बजेट बाठा अर्थमन्त्रीले बाठो तरिकाबाट प्रस्तुत गरेको बताएका थिए । उनले ४ करोडले गरिबी निवारण हुन नसक्ने तर्क गरेका थिए । उनले ‘ओभरड्राफ्ट’ लिने गैरजिम्मेवार परम्परा रोक्ने नीतिको भने प्रशंसा गरेका थिए । कतिपय अर्थविद् र पूर्वअर्थमन्त्रीहरूले बजेट कांग्रेसले लिएको नीतिमा आधारित भएको बताएका थिए । 

झण्डै तीन दशकअघिको मुलुकको बजेटका विषयमा केन्द्रित भएर विजय घिमिरे, राजेन्द्र सुनुवारसहितका पत्रकारहरूले तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५४ असार २७ मा विभन्न शीर्षकमा प्रकाशन गरेको थियो । कान्तिपुरले ‘अर्थमन्त्रीद्वारा आर्थिक वर्ष २०५३/०५४ को बजेट प्रस्तुत,’ ‘अनुमान गरिएको राजस्व संकलन हुने कुरामा शंका’, ‘करका विभिन्न पक्षमा परिवर्तनको प्रस्ताव’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । 

प्रस्तुतिः ऋषिराम पौड्याल 

कान्तिपुर

Link copied successfully