[अर्काइभ] पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा ‘कमिसनको खेल’ जोडिएपछि... 

मूल्यवृद्धिको विरोध गर्दै एमाले महासचिव माधवकुमार नेपालले आफ्नै पार्टीका उप्रधान तथा गृहमन्त्री वामदेव गौतमलाई ज्ञापनपत्र बुझाएका थिए । महासचिव नेपालले आफ्नै पार्टीको सरकारले बढाएको मूल्य घटाउन माग गरेका थिए ।

वैशाख १६, २०८३

कान्तिपुर संवाददाता

[Archive] After the 'commission game' was added to the price increase of petroleum products...

What you should know

काठमाडौँ — २०५३ चैतमा गठन भएको संयुक्त सरकारको मन्त्रिपरिषद्ले गर्ने कतिपय निर्णय व्यक्तिगत र समूहगत स्वार्थकेन्द्रित हुने गर्थ्यो । प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको कमजोर नेतृत्वले गृहमन्त्री वामदेव गौतम निकै शक्तिशाली देखिन्थे ।

२०५४ जेठ ४ र १३ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेले बहुमत ल्याएका कारण गृहमन्त्रीको शक्ति झन् बढेको थियो । किनकि, विपक्षीले निर्वाचनमा राज्यस्रोतको व्यापाक दुरुपयोग भएको र विपक्षीलाई तह लगाउन बल प्रयोग गरेको आरोप लगाइरहेका बेला एमाले अध्यक्ष मनमोहन अधिकारीले वामदेवलाई धन्यवाद दिएका थिए । आफ्नो पार्टीलाई धेरै सिट जिताउन सफल भएको भन्दै अध्यक्ष मनमोहनले नै धन्यवाद दिएपछि मन्त्रिपरिषद्‍मा वामदेवको प्रभावकारी हस्तक्षेप झन् बढेको थियो । प्रधानमन्त्री चन्दलाई पनि मन्त्रीहरूको चित्त बुझाएर संयुक्त सरकार टिकाइराख्नुपर्ने बाध्यता थियो । सरकारमा चन्द निरीह भएको भन्दै राप्रपाका महामन्त्री तथा परराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनीले त राजिनामा नै दिएका थिए । त्यसैले सरकार स्वेच्छाचारी छ र व्यक्तिगत स्वार्थ तथा कमिसनको खेलमा जोडिएका निर्णयहरू फटाफट हुने गर्छन् भन्ने प्रमाणहरू सतहमा आई नै रहेका थिए । 

यही पृष्ठभूमिमा चन्द नेतृत्वको संयुक्त सरकारले २०५४ जेठ ३१ को निर्णय अनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको घटना निकै ठूलो आलोचित मात्र बनेन, संसदको सार्वजनिक लेखा समिति र अख्तिायरले समेत सरकारको हस्तक्षेप गरेको थियो । निगमको अपारदर्शी कारोबार र मन्त्री नै पिच्छे कर्मचारी भर्ना गर्ने परिपाटी झांगिँदै गएका बेला मूल्यवृद्धिलाई सर्वसाधारणले स्वाभाविक मानेका थिएनन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका बेला सरकारका केही मन्त्रीको अनौपचारिक सहमतिमा मूल्यवृद्धि गरेको खुलेपछि ‘कमिसनको खेल’ सतहमा आएको थियो । खासगरी तत्कालीन आपूर्ति मन्त्री गजेन्द्रनारायण सिंहले पेट्रोलियम पदार्थका व्यापारीलाई नै निगमको सञ्चालक समितिमा नियुक्त गरेको र औपचारिक प्रस्तावबमोजिम मूल्यवृद्धि नगरेकाले कसैको स्वार्थ पूरा गर्न सर्वसाधारणको दैनिक जीवनमा असर पर्ने निर्णय गरेको आवाज उठेको थियो । 

शेरबहादुर देउवाको सरकार ढाल्ने समयमा २०५३ चैत २३ मा आपूर्तिमन्त्री सिंह अचानक चन्दको पक्षमा खुलेका थिए । देउवा सरकार ढलेपछि सिंह पुनः आपूर्ति मन्त्री बनेका थिए । उनले सरकार गठनका बेला लगाएको गुन तिर्न पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्न सरकार बाध्य भएको अनुमान गरिएको थियो । सरकारले पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको थियो । पेट्रोलमा ५ रुपैयाँ, डिजेलमा ३ रुपैयाँ ५०, मट्टीतेलमा १ रुपैयाँ ५० पैसा र ग्यासमा ६० प्रतिशत मूल्यवृद्धि गरेको थियो । सरकारले निगम घाटामा रहेकाले मूल्यवृद्धि गर्नुपरेको दाबी गरेको थियो । [Archive] After the 'commission game' was added to the price increase of petroleum products...

मूल्यवृद्धि गर्ने प्रस्ताव औपचारिक रूपमा मन्त्रिपरिषद्‍मा नलगी प्रधानमन्त्री, उप्रधानमन्त्रीसहित दुई जना मन्त्रीको सल्लाहमा मात्र निर्णय गरिएको लेखा समितिको बैठकमा सदस्यहरूले दाबी गरेका थिए । २०५४ असार १० मा लेखा समितिमा भएको छलफलमा समितिका सदस्य विरोध खतिवडाले प्रधानमन्त्री चन्द, गृहमन्त्री गौतम, अर्थमन्त्री रवीन्द्रनाथ शर्मा र आपूर्तिमन्त्री सिंहको अनौपचारिक छलफलले मूल्यवृद्धि गरिएको दाबी गरेका थिए । लेखा समितिको उक्त बैठकमा प्रधानमन्त्री चन्द, गृहमन्त्री गौतम, अर्थमन्त्री शर्मा, आपूर्तिमन्त्री सिंह र स्वास्थ्य मन्त्री राधाकृष्ण मैनालीको उपस्थिति थियो । मूल्यवृद्धिको मुख्य कारण सरकारले निगम घाटामा रहेको बताएको थियो । यद्यपि ७ वर्षदेखि निगमको लेखा परीक्षण गरिएको थिएन । तर नौ महिनादेखि घाटाको विवरण प्रस्तुत गरिएको थियो । 

लेखा समिति बैठकमा सत्तापक्षका सांसद तथा एमाले स्थायी समिति सदस्य खड्गप्रसाद ओलीले निगम घाटामा नभएको तथ्यांक पेस गरेका थिए । लेखा समितिका सदस्यसमेत रहेका ओलीले बैठकमा भनेका थिए, ‘२०४६ देखि २०५२/५३ सम्म निगम ८५ करोड ८८ लाख नाफामा छ । उनले समग्र आर्थिक अवस्थाको विश्लेषण नगरी सरकारले हचुवाका भरमा मूल्य बढाउने र घटाउने काम गरेको दाबी गरेका थिए । समिति बैठकमा अर्थमन्त्री शर्माले निगममा ‘ओभर स्टाफिङ’ भएको जानकारी दिएका थिए । उनले निगममा मात्र नभएर सबै संस्थानमा कर्मचारी धेरै रहेको भन्दै उनीहरूलाई हामीहरू (राजनीतिक नेतृत्व)ले नै भर्ना गरेको बताएका थिए । कर्मचारी कटौती गर्ने हो भने पनि घाटा धेरै कम हुन सक्ने दाबी अर्थमन्त्री शर्माले लेखा समितिमा राखेका थिए । 

अख्तियारको छानबिन 

अख्तियारले मूल्यवृद्धि हुनुमा निगमको सञ्चालमा रहेका तेल व्यापारीको फाइदा जोडिएको भन्दै छानबिन सुरु गरेको थियो । सिंहले देउवा नेतृत्वको सरकारमा आपूर्ति मन्त्री भएका बेला डेढ वर्षअघि निगमसँग कारोबार गर्ने व्यापारीलाई सञ्चालक नियुक्त गरेका थिए । त्यतिबेला उनको नियुक्ति ऐन विपरीत भएको आवाज उठेको थियो । तर त्यतिबेला पनि देउवा सरकार टिकाउन भूमिका खेलेबापत नियमविपरीतको नियुक्तिलाई पनि बेवास्ता गरिएको थियो । तर उक्त विषयलाई अख्तियारले छानबिन गरिरहेको थियो ।[Archive] After the 'commission game' was added to the price increase of petroleum products...

अख्तियारमा आयुक्त नभएका कारण छानबिनको फाइल थन्क्याइएको थियो । मूल्यवृद्धिपछि अख्तियारले उक्त फाइल खोल्ने जानकारी दिएको थियो । नेपाल डिलर्स एसोसिएसनका महासचिव सरोज पाण्डेले सरकारले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यवृद्धि भएको तर्क गर्नु हास्यास्पद भएको बताएका थिए । व्यवसायीहरूले निगमलाई सेतो हात्तीको संज्ञा दिँदै कर्मचारीलाई सुविधा दिन र बोनस ख्वाउन नागरिकले चर्को मूल्य तिर्नुपरेको भन्दै सरकारको आलोचना गरेका थिए । व्यवसायीले आर्थिक घोटाला गर्नेहरूमाथि कारबाहीको माग पनि गरेका थिए ।  

वामदेवलाई माधवको ज्ञापनपत्र

मूल्यवृद्धिको विरोध गर्दै एमाले महासचिव माधवकुमार नेपालले आफ्नै पार्टीका उप्रधान तथा गृहमन्त्री वामदेव गौतमलाई ज्ञापनपत्र बुझाएका थिए । महासचिव नेपालले आफ्नै पार्टीको सरकारले बढाएको मूल्य घटाउन माग गरेका थिए । उनले सरकार र आफ्नो दलबीच भएको सहमति तोडेको भन्दै मूल्यवृद्धि फिर्ता लिन आग्रह गरेका थिए । नेपाली कांग्रेस र संयुक्त जनमोर्चाले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेर सरकारले अपराध गरेको धारणा सार्वजनिक गरेका थिए । सरकारको चौतर्फी विरोध भएपछि मूल्य घटाउने निर्णय गरेको जानकारी प्रधानमन्त्री चन्दले लेखा समितिलाई दिएका थिए । [Archive] After the 'commission game' was added to the price increase of petroleum products...

सरकारले पेट्रोलियम पदार्थ र ग्यासमा गरेको मूल्यवृद्धिको निर्णयमाथि सार्वजनिक लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरु गरेको अनुसन्धानमा केद्रित भएर तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५४ असारमा विभिन्न शीर्षकमा प्रकाशन गरेको थियो । कान्तिपुरले असार ५ मा ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधः एमाले महासचिवद्वारा उपप्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । त्यस्तै ६ गते ‘मूल्यवृद्धिमा अख्तियारद्वारा छानबिन’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । असार ११ मा ‘पेट्रोलियम पदार्थको मूल्यबारे आयल निगमलाई निर्देशन’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully