[अर्काइभ] राजनीतिका नाममा भएको क्रूर हत्या शृंखलाको त्यो रूप...

विशेषतः सत्तामा बस्नेहरूको बोली र गतिविधिलाई पनि हिंसा बढ्नुको मुख्य कारण मानिएको थियो । इन्सेकका तत्कालीन महासचिव राजेश गौतमले भनेका थिए, ‘सिद्धान्तको राजनीति सकिएर शक्तिको राजनीति सुरु भएकाले राजनीतिक हिंसा बढेको हो ।’

वैशाख २२, २०८३

कान्तिपुर संवाददाता

[Archive] That form of brutal murder series committed in the name of politics...

What you should know

काठमाडौँ — माओवादीले सशस्त्र विद्रोह सुरु गरेको १८ महिना बितेको थियो । मध्यपश्चिमका जिल्लाहरूबाट सुरु भएको सशस्त्र विद्रोहको नाममा हत्या, हिंसा, अपहरण बढ्दै गएको थियो । माओवादी त्रासले सर्वसाधारण विस्थापित हुने क्रम बढ्दो थियो । कारबाहीका नाममा सरकारले गरेको दमनको सिकार पनि सर्वसाधारण नै भइरहेका थिए । 

२०५१ कात्तिकमा भएको मध्यावधि निर्वाचनपछि २ वर्ष ८ महिनामा तीन जना प्रधानमन्त्री बनिसकेका थिए । राजनीतिक अस्थिरताको यो असर सर्वसाधारणको जीवनमा पनि परेको थियो । 

सांसद खरिद, सांसदलाई सुरा–सुन्दरी व्यवस्थापन, सांसदहरूको अपहरण, सरकारी खर्चमा विदेश भ्रमण, ४८ सदस्यीय मन्त्रिमण्डल गठनजस्ता विकृतिले सत्ता प्राप्ति फोहरी खेलका रूपमा विकसित हुँदै गएको थियो । संसदीय व्यवस्थामा देखिएको विकृतिले माओवादी सशस्त्र आन्दोलनलाई मलजल गरेको थियो । संसदीय व्यवस्थाको चर्को विरोधीका रूपमा देखिएको माओवादीले जंगलबाट यिनै विकृतिलाई नाराका रूपमा अघि सारेर शासन प्रणालीमाथि प्रहार गरिरहेको थियो । 

राजनीतिक परिवर्तनका नाममा माओवादीले राज्यका संरचनालाई ध्वस्त बनाउने मात्र होइन, व्यक्ति हत्यालाई पनि पश्रय दिइरहेको थियो । २०५२ भदौमा गठन भएको नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा नेतृत्वको १८ महिने शासनकालमा ८१ जनाले ज्यान गुमाएका थिए । २०५३ चैतमा बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता लोकेन्द्रबहादुर चन्द नेतृत्वमा बनेको सरकारको चार महिने शासनकालमा ३५ जनाले ज्यान गुमाइसकेका थिए ।[Archive] That form of brutal murder series committed in the name of politics...

चन्द सरकारका गृहमन्त्री वामदेव गौतलले मन्त्री पदको शपथ गरेपछि मान्छे मात्र होइन, चरा पनि मर्दैन भनेर दिएको अभिव्यक्ति व्यवहारमा उल्टो भएको थियो । उनले गृहमन्त्री भएको केही समयपछि सबै विरोधीलाई एउटै खाल्डोमा पुर्नुपर्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्ति निकै विवादमा परेको थियो । उनको चार महिने कार्यकालमा माओवादीको नाममा १७ जना र स्थानीय निर्वाचनका क्रममा १६ जनाको ज्यान गएको थियो । राजनीतिसँग जोडिएको हत्याका घटना बढ्दो थिए । सर्वसाधारण माओवादी र राज्य दुवैको मारमा परिने डरले आक्रान्त थिए । 

निसानामा प्रतिपक्ष र कांग्रेस कार्यकर्ता

२०५४ जेठमा भएको स्थानीय निर्वाचन निकै हिंसात्मक भएको थियो । खासगरी दलहरूबीचको झगडा र सरकारले आफ्ना कार्यकर्तालाई दिएको संरक्षणका कारण स्थानीय निर्वाचनमा भएको धाँधली सतहमा आएको थियो । उक्त निर्वाचनका क्रममा एमालेले बहुमत सिट जितेको थियो । कतिपय जिल्लामा मतदाता मात्र होइन, विपक्षी दलका उम्मेदवारले नै मत खसाल्न नपाई एमालेको पक्षमा परिणाम घोषणा गरिएको थियो । 

कतिपय गाउँ विकास समितिमा विपक्षीले प्राप्त गरेको मत गणना नै नगरी एमालेका उम्मेदवार विजयी घोषणा गरिएको थियो । विश्लेषकहरूले स्थानीय निर्वाचनलाई इतिहासमै सबैभन्दा हिंसात्मक भनेका थिए । निर्वाचनकै क्रममा ६ वर्षेर् बालकसमेतको हत्या भएको थियो । 

स्थानीय निर्वाचनमा पराजित भएको रिसइबी साँध्ने क्रममा ०५४ जेठ २६ मा सिन्धुपाल्चोकको बाँसखर्कमा ६ वर्षीय फुर्बा स्याङ्बो र ११ वर्षीय गणेश स्याङ्बोलाई सालको काठको अचानोमा राखेर घाँटी छिनालेको घटनालाई त्यतिबेला ‘राजनीतिक प्रतिशोधका नाममा क्रूर हत्या’को संज्ञा दिइएको थियो । 

अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले २०५३ चैत १९ देखि ०५४ असार १६ सम्मको तथ्यांक प्रस्तुत गर्दै हत्या र हिंसाको शृंखला बढ्दै गएको जनाएको थियो । विशेषतः सत्तामा बस्नेहरूको बोली र गतिविधिलाई पनि हिंसा बढ्नुको मुख्य कारण मानिएको थियो । इन्सेकका तत्कालीन महासचिव राजेश गौतमले भनेका थिए, ‘सिद्धान्तको राजनीति सकिएर शक्तिको राजनीति सुरु भएकाले राजनीतिक हिंसा बढेको हो ।’ 

मानवअधिकार तथा शान्ति समाजका अध्यक्ष कृष्ण पहाडी र महासचिव गौतमको एउटै भनाइ थियो, ‘मुठभेडको राजनीति बढेको छ । जेठको स्थानीय चुनाव सबैभन्दा हिंश्रक ठहरियो ।’ उनीहरूले निर्वाचन ‘ब्यालेट’भन्दा ‘बुलेट’बाट बढी निर्णायक बनेको निष्कर्ष निकालेका थिए । सांसद पद्मरत्न तुलाधरले प्रजातन्त्रप्रति बोलीमा प्रतिबद्ध भए पनि व्यवहार नभएको र राजनीतिक इमानदारी नदेखिएको बताएका थिए । 

माओवादीले मूलतः आफ्नो निसानमा कांग्रेस कार्यकर्ता बनाएका थिए । गृह मन्त्रालयको तथ्यांकअनुसार चन्द सरकारको समयमा माओवादीसँग जोडिएर १७ जना सर्वसाधारणको हत्या भएकामा १० जना कांग्रेस समर्थक थिए । रोल्पाका नरबहादुर डाँगी, अमित पुन, सलमान पुन, केहरसिंह पुन, ललजित बुढा, शेरबहादुर दमै र उनकी पत्नी, रुकुमका भीमबहादुर पुन र बलबहादुर पुन तथा जाजरकोटका मानबहादुर सिंहलगायतको हत्या भएको थियो । सरकारले यस्ता घटनालाई बेवास्ता गरेको आरोप विपक्षीको थियो । 

विशेषतः कांग्रेस कार्यकर्ता र समर्थक माओवादीबाट बढी त्रासमा थिए । पार्टीका नेताहरू सरकारले शान्ति सुरक्षा दिन नसकेको बताउने गर्थे । काभ्रे भीमपोखरी–१ बाट सदस्य पदमा निर्वाचित ललिता किङरिङ मगर माओवादीले मार्ने धम्की दिएका कारण कांग्रेसको केन्द्रीय कार्यालयमा आएर सुरक्षा मागेकी थिएन् । तर नेताहरूले सरकारले सुरक्षा दिएन भन्दै फर्काएका थिए । नेताहरूले सरकार हत्याराको मतियार बनेको बताएका थिए । ललिता मगर उदाहरण मात्र थिइन्, राजनीतिक कार्यकर्ताहरूले पोख्ने यस्ता पीडा बढ्दै गएको थियो । तर मुलुकको शान्ति सुरक्षा निकै कमजोर हुँदै गएको थियो । 

सरकारले भने माओवादीलाई लक्षित गरेर ‘आतंककारी तथा विध्वंसात्मक अपराध नियन्त्रण तथा सजाय’ सम्बन्धी विधेयक ल्याउने तयारी गरेको थियो । तर यो विधेयकको विरोध भइरहेको थियो । राजनीतिका नाममा मुलुकमा बढिरहेको हिंसा र नागरिकले अनाहकमा ज्यान गुमाइरहेको विषयमा केन्द्रित भएर पत्रकार पंचमणि अधिकारीले तयार गरेको विश्लेषणात्मक समाचार कान्तिपुर दैनिकले ‘भयावह गतिमा बढ्दो छ– राजनीतिक हत्या र हिंसा’ शीर्षकमा २०५४ साउन २० मा प्रकाशन गरेको थियो । 

प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully