विशेषतः सत्तामा बस्नेहरूको बोली र गतिविधिलाई पनि हिंसा बढ्नुको मुख्य कारण मानिएको थियो । इन्सेकका तत्कालीन महासचिव राजेश गौतमले भनेका थिए, ‘सिद्धान्तको राजनीति सकिएर शक्तिको राजनीति सुरु भएकाले राजनीतिक हिंसा बढेको हो ।’
What you should know
काठमाडौँ — माओवादीले सशस्त्र विद्रोह सुरु गरेको १८ महिना बितेको थियो । मध्यपश्चिमका जिल्लाहरूबाट सुरु भएको सशस्त्र विद्रोहको नाममा हत्या, हिंसा, अपहरण बढ्दै गएको थियो । माओवादी त्रासले सर्वसाधारण विस्थापित हुने क्रम बढ्दो थियो । कारबाहीका नाममा सरकारले गरेको दमनको सिकार पनि सर्वसाधारण नै भइरहेका थिए ।
२०५१ कात्तिकमा भएको मध्यावधि निर्वाचनपछि २ वर्ष ८ महिनामा तीन जना प्रधानमन्त्री बनिसकेका थिए । राजनीतिक अस्थिरताको यो असर सर्वसाधारणको जीवनमा पनि परेको थियो ।
सांसद खरिद, सांसदलाई सुरा–सुन्दरी व्यवस्थापन, सांसदहरूको अपहरण, सरकारी खर्चमा विदेश भ्रमण, ४८ सदस्यीय मन्त्रिमण्डल गठनजस्ता विकृतिले सत्ता प्राप्ति फोहरी खेलका रूपमा विकसित हुँदै गएको थियो । संसदीय व्यवस्थामा देखिएको विकृतिले माओवादी सशस्त्र आन्दोलनलाई मलजल गरेको थियो । संसदीय व्यवस्थाको चर्को विरोधीका रूपमा देखिएको माओवादीले जंगलबाट यिनै विकृतिलाई नाराका रूपमा अघि सारेर शासन प्रणालीमाथि प्रहार गरिरहेको थियो ।
राजनीतिक परिवर्तनका नाममा माओवादीले राज्यका संरचनालाई ध्वस्त बनाउने मात्र होइन, व्यक्ति हत्यालाई पनि पश्रय दिइरहेको थियो । २०५२ भदौमा गठन भएको नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा नेतृत्वको १८ महिने शासनकालमा ८१ जनाले ज्यान गुमाएका थिए । २०५३ चैतमा बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता लोकेन्द्रबहादुर चन्द नेतृत्वमा बनेको सरकारको चार महिने शासनकालमा ३५ जनाले ज्यान गुमाइसकेका थिए ।![[Archive] That form of brutal murder series committed in the name of politics...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kp-saun-20-2054r-0552026070025-1000x0.jpg)
चन्द सरकारका गृहमन्त्री वामदेव गौतलले मन्त्री पदको शपथ गरेपछि मान्छे मात्र होइन, चरा पनि मर्दैन भनेर दिएको अभिव्यक्ति व्यवहारमा उल्टो भएको थियो । उनले गृहमन्त्री भएको केही समयपछि सबै विरोधीलाई एउटै खाल्डोमा पुर्नुपर्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्ति निकै विवादमा परेको थियो । उनको चार महिने कार्यकालमा माओवादीको नाममा १७ जना र स्थानीय निर्वाचनका क्रममा १६ जनाको ज्यान गएको थियो । राजनीतिसँग जोडिएको हत्याका घटना बढ्दो थिए । सर्वसाधारण माओवादी र राज्य दुवैको मारमा परिने डरले आक्रान्त थिए ।
निसानामा प्रतिपक्ष र कांग्रेस कार्यकर्ता
२०५४ जेठमा भएको स्थानीय निर्वाचन निकै हिंसात्मक भएको थियो । खासगरी दलहरूबीचको झगडा र सरकारले आफ्ना कार्यकर्तालाई दिएको संरक्षणका कारण स्थानीय निर्वाचनमा भएको धाँधली सतहमा आएको थियो । उक्त निर्वाचनका क्रममा एमालेले बहुमत सिट जितेको थियो । कतिपय जिल्लामा मतदाता मात्र होइन, विपक्षी दलका उम्मेदवारले नै मत खसाल्न नपाई एमालेको पक्षमा परिणाम घोषणा गरिएको थियो ।
कतिपय गाउँ विकास समितिमा विपक्षीले प्राप्त गरेको मत गणना नै नगरी एमालेका उम्मेदवार विजयी घोषणा गरिएको थियो । विश्लेषकहरूले स्थानीय निर्वाचनलाई इतिहासमै सबैभन्दा हिंसात्मक भनेका थिए । निर्वाचनकै क्रममा ६ वर्षेर् बालकसमेतको हत्या भएको थियो ।
स्थानीय निर्वाचनमा पराजित भएको रिसइबी साँध्ने क्रममा ०५४ जेठ २६ मा सिन्धुपाल्चोकको बाँसखर्कमा ६ वर्षीय फुर्बा स्याङ्बो र ११ वर्षीय गणेश स्याङ्बोलाई सालको काठको अचानोमा राखेर घाँटी छिनालेको घटनालाई त्यतिबेला ‘राजनीतिक प्रतिशोधका नाममा क्रूर हत्या’को संज्ञा दिइएको थियो ।
अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले २०५३ चैत १९ देखि ०५४ असार १६ सम्मको तथ्यांक प्रस्तुत गर्दै हत्या र हिंसाको शृंखला बढ्दै गएको जनाएको थियो । विशेषतः सत्तामा बस्नेहरूको बोली र गतिविधिलाई पनि हिंसा बढ्नुको मुख्य कारण मानिएको थियो । इन्सेकका तत्कालीन महासचिव राजेश गौतमले भनेका थिए, ‘सिद्धान्तको राजनीति सकिएर शक्तिको राजनीति सुरु भएकाले राजनीतिक हिंसा बढेको हो ।’
मानवअधिकार तथा शान्ति समाजका अध्यक्ष कृष्ण पहाडी र महासचिव गौतमको एउटै भनाइ थियो, ‘मुठभेडको राजनीति बढेको छ । जेठको स्थानीय चुनाव सबैभन्दा हिंश्रक ठहरियो ।’ उनीहरूले निर्वाचन ‘ब्यालेट’भन्दा ‘बुलेट’बाट बढी निर्णायक बनेको निष्कर्ष निकालेका थिए । सांसद पद्मरत्न तुलाधरले प्रजातन्त्रप्रति बोलीमा प्रतिबद्ध भए पनि व्यवहार नभएको र राजनीतिक इमानदारी नदेखिएको बताएका थिए ।
माओवादीले मूलतः आफ्नो निसानमा कांग्रेस कार्यकर्ता बनाएका थिए । गृह मन्त्रालयको तथ्यांकअनुसार चन्द सरकारको समयमा माओवादीसँग जोडिएर १७ जना सर्वसाधारणको हत्या भएकामा १० जना कांग्रेस समर्थक थिए । रोल्पाका नरबहादुर डाँगी, अमित पुन, सलमान पुन, केहरसिंह पुन, ललजित बुढा, शेरबहादुर दमै र उनकी पत्नी, रुकुमका भीमबहादुर पुन र बलबहादुर पुन तथा जाजरकोटका मानबहादुर सिंहलगायतको हत्या भएको थियो । सरकारले यस्ता घटनालाई बेवास्ता गरेको आरोप विपक्षीको थियो ।
विशेषतः कांग्रेस कार्यकर्ता र समर्थक माओवादीबाट बढी त्रासमा थिए । पार्टीका नेताहरू सरकारले शान्ति सुरक्षा दिन नसकेको बताउने गर्थे । काभ्रे भीमपोखरी–१ बाट सदस्य पदमा निर्वाचित ललिता किङरिङ मगर माओवादीले मार्ने धम्की दिएका कारण कांग्रेसको केन्द्रीय कार्यालयमा आएर सुरक्षा मागेकी थिएन् । तर नेताहरूले सरकारले सुरक्षा दिएन भन्दै फर्काएका थिए । नेताहरूले सरकार हत्याराको मतियार बनेको बताएका थिए । ललिता मगर उदाहरण मात्र थिइन्, राजनीतिक कार्यकर्ताहरूले पोख्ने यस्ता पीडा बढ्दै गएको थियो । तर मुलुकको शान्ति सुरक्षा निकै कमजोर हुँदै गएको थियो ।
सरकारले भने माओवादीलाई लक्षित गरेर ‘आतंककारी तथा विध्वंसात्मक अपराध नियन्त्रण तथा सजाय’ सम्बन्धी विधेयक ल्याउने तयारी गरेको थियो । तर यो विधेयकको विरोध भइरहेको थियो । राजनीतिका नाममा मुलुकमा बढिरहेको हिंसा र नागरिकले अनाहकमा ज्यान गुमाइरहेको विषयमा केन्द्रित भएर पत्रकार पंचमणि अधिकारीले तयार गरेको विश्लेषणात्मक समाचार कान्तिपुर दैनिकले ‘भयावह गतिमा बढ्दो छ– राजनीतिक हत्या र हिंसा’ शीर्षकमा २०५४ साउन २० मा प्रकाशन गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] That form of brutal murder series committed in the name of politics...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/bamdev-gautam-0492020030952-1000x0-2212025025902-watermarked-1242026082649-1000x0.jpg&w=1001&h=0)