[अर्काइभ] मेयरका उम्मेदवारबीच ‘फेस टू फेस’ : सुरा–सुन्दरीदेखि चन्दा असुलीसम्म बनेको थियो एजेन्डा...

‘डिबेट’का क्रममा कांग्रेस उम्मेदवार मनमोहन भट्टराईले महानगरको विकासमा सिस्टम बनाउनुपर्ने धारणा अघि सारेका थिए भने एमाले उम्मेदवार केशव स्थापितले काठमाडौंमा आप्रवासीको ठूलो समस्या रहेको औंल्याउँदै एकपटक प्रधानमन्त्री र मन्त्री भएपछि काठमाडौं छोड्नै नमान्ने प्रवृत्तिको विकास भएको धारणा राखेका थिए ।

वैशाख १२, २०८३

कान्तिपुर संवाददाता

[Archive] 'Face to Face' between mayoral candidates: The agenda ranged from alcohol and beauty to fundraising...

What you should know

काठमाडौँ — २०५४ जेठ ९ । स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा काठमाडौंका मतदाताहरू राष्ट्रियसभा गृहमा खचाखच भरिएका थिए । उनीहरू निकट भविष्यमा हुन लागेको स्थानीय निर्वाचनमार्फत काठमाडौं महानगरको मेयरका उम्मेदवारलाई प्रश्न सोध्न चाहन्थे । त्यतिबेला मेयरका उम्मेदवारमध्ये नेपाली कांग्रेसका मनमोहन भट्टराई र एमालेका केशव स्थापित थिए । जनमत कांग्रेस र एमालेको पक्षमा बाँडिएको थियो । काठमाडौं जेसिजले आयोजना गरेको उक्त ‘डिबेट’मा दुवै उम्मेदवारसँगै राखेर काठमाडौं महानगरपालिकाको भावी योजनाबारे मतदाताले प्रश्न गर्ने कार्यक्रम तय गरिएको थियो । 

 कार्यक्रम बिहान ११ बजे भनिए पनि कांग्रेस उम्मेदवार भट्टराई आधा घण्टापछि र एमाले उम्मेदवार स्थापित पौने दुई घण्टापछि उपस्थित भएका थिए । उम्मेदवारहरूले समयको पालना नगरेकामा मतदाताले सबैभन्दा पहिलो प्र्रश्न स्थापितलाई सोधेका थिए, ‘चुनाव नजित्दै त समयको ख्याल छैन भने जितेपछि के गर्नुहुन्छ ?’ स्थापितको जवाफ थियो, ‘कार्यक्रमको जानकारी ढिलो पाएकाले समयमा आउन सकिनँ ।’ स्थापित आउने टुंगो नभएपछि जेसिजले मनमोहनलाई बोल्न दिएर कार्यक्रम सुरु गरिसकेको थियो । मतदाताले महानगरको भावी योजनाभन्दा पनि दलीय रूपमा राजनीतिक विषयलाई जोडेर प्रश्न गरेका थिए । 

 ‘पश्चिममा परिणाम आफ्नो पक्षमा आएन भन्दैमा चुनाव नै रद्द गर्न माग गर्नु मतदाताको अपमान होइन र ?’ एक जना प्रश्नकर्ताले कांग्रेस उम्मेदवार मनमोहनलाई सोधेका थिए । मनमोहनको उत्तर थियो, ‘पहिलो चरणको चुनावमा सत्तारुढ दलले भय, त्रास र आफ्नो पक्षमा परिणाम ल्याउन बल प्रयोग गर्‍यो । उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले २०३६ मा भएको धाँधलीपूर्ण चुनाव स्विकार गर्‍यौं भने यो पनि स्विकार्नोस् भन्नुभएको छ ।’ उनले पहिलो चरणको जेठ ४ मा भएको चुनावमा एमालेले पश्चिमी जिल्लाहरूमा कब्जा गरेर जितेको बताएका थिए ।[Archive] 'Face to Face' between mayoral candidates: The agenda ranged from alcohol and beauty to fundraising...

‘चुनाव आवधिक कुरा हो, कब्जा आवधिक होइन,’ उनले भनेका थिए । गौतमले सत्तामा बसेर जनतालाई मनोवैज्ञानिक त्रास उत्पन्न गराएको आरोप पनि उनले लगाएका थिए । उनले गृहमन्त्री गौतमले ४० हजार प्रहरीले २ करोड जनतालाई सुरक्षा दिन नसक्ने तर्क गरेकामा मनमोहनले आपत्ति जनाएका थिए । उनले त्यही आधारमा मतदातालाई मनोवैज्ञानिक त्रास सिर्जना गराएको भनाइ राखेका थिए । उनले एक प्रश्नको जवाफ दिने क्रममा कांग्रेस दोस्रो चरणको निर्वाचनमा पनि मुठभेडमा नजाने बताएका थिए ।

दोस्रो चरणको निर्वाचन जेठ १३ मा तय भएको थियो । त्यसको पाँच दिनअघि भएको उम्मेदवारहरूलाई प्रश्न सोध्ने कार्यक्रममा महानगरपालिकाको विकास भन्दा पनि राजनीतिक प्रश्नले बढी प्रश्रय पाएको थियो । 

‘नर्कटको बाँस तेर्स्याउन मिल्दैन’

प्रश्नकर्ताले भनेका थिए, ‘एमालेले प्रजातन्त्रलाई अन्तिम लक्ष्य मानेको छैन । भोलि गणतन्त्र ल्याएर एउटै चिहान बनाउने त होइन, त्यसको ग्यारेन्टी कसरी दिनुहुन्छ ?’ प्रश्नको उत्तर दिँदै स्थापितले भनेका थिए, ‘साम्यवाद र गणतन्त्रको कुरा गरे पनि त्यो समृद्धिको उत्कर्षका लागि गरेका हौं ।’ जनताको चेतना उठेपछि संविधान मानिरहनुपर्छ भन्ने छैन भन्दै स्थापितले सार्वभौम जनताले त्यसको निर्णय गर्ने बताएका थिए । उनले जनताले जनादेश दियो भने संविधानरूपी नर्कटको बाँस तेर्स्याएर काम नलाग्ने तर्क गरेका थिए । 

महानगर वडा नम्बर १५ का मतदाता रामप्रसाद खतिवडाले सोधेका थिए, ‘एमालेको नौ महिने शासनकालमा तस्करसँग सम्झौता गरेर तिनीहरूलाई खेलकुदमा समावेश गराउनुभयो । यदि तपाईं महानगरको मेयर हुनुभयो भने प्रतितपत्र (एलसी) काण्डका अभियुक्तहरू टिबडेवाला र आनन्द अग्रवाललाई फेरि सल्लाहकारमा नियुक्त गर्नुहुन्छ कि ?’

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिवसमेत रहेका स्थापितको जवाफ थियो, ‘को कालो व्यापारी हो, को तस्कर हो र कसले के गर्छ, मलाई थाहा छैन, त्यो मेरो जिम्मेवारी पनि होइन । खेलकुदमा लगानी गरे, उनीहरूलाई मैले सल्लाहकार राखेँ ।’ कालो व्यापार र तस्करी गरेमा उनीहरू पक्राउ पर्ने भन्दै स्थापितले मोहनगोपाल खेतानबाट सबै पार्टीले चन्दा उठाएको बताए । उनले भनेका थिए, ‘लाचारीका साथ भन्नैपर्छ, खेतानबाट हाम्रो पार्टीले बढी रकम लिएको छ, त्यति मात्र हो ।’ 

‘डिबेट’का क्रममा कांग्रेस उम्मेदवार भट्टराईले महानगरको विकासमा सिस्टम बनाउनुपर्ने धारणा अघि सारेका थिए । उनले खानेपानी समस्या, सुलभ आवास र स्वरोजगारी मुख्य एजेण्डा भएको बताएका थिए । स्थापितले भने एकीकृत ग्रेटर काठमाडौं बनाएर मात्र समस्या हल हुने तर्क गरेका थिए ।

स्थापितले काठमाडौंमा आप्रवासीको ठूलो समस्या रहेको औंल्याउँदै एकपटक प्रधानमन्त्री र मन्त्री भएपछि काठमाडौं छोड्नै नमान्ने प्रवृत्तिको विकास भएको धारणा राखेका थिए । उनले गुनासो गरेका थिए, ‘नीति निर्माता र कर्मचारी बाहिरबाट आएर यहाँ बसे पनि महानगरको विकासका लागि बजेट छुट्याउँदैनन् ।’

स्थापितलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन रहेकामा मतदाताले प्रश्न गरेका थिए । त्यसको जवाफमा एमाले उम्मेदवार स्थापितले भनेका थिए, ‘राप्रपाले महानगरमा आफ्नो उम्मेदवारी झिकेर बधाई दिएको हो । यदि राप्रपाले यहाँ सहयोग नदिएको भए भैरहवामा हाम्रा युवाहरू किन लाठो लिएर उठ्थे ? उनको उत्तर सुनेर प्रश्नकर्ताले भैरहवाका युवाहरू काठमाडौं ल्याउने कि भनेर सोधेका थिए । तर स्थापितले त्यसको जवाफ दिएका थिएनन् ।

स्थापितलाई सत्ता परिवर्तनका बेला ‘सुरा–सुन्दरी’ आपूर्ति गर्ने र एलसी काण्डका दोषीलाई छुटाउने काममा लागेको आशंका गर्दै त्यसका बारेमा प्रस्ट पार्न भनिएको थियो । स्थापितको जवाफ थियो, ‘हामी समीकरण भत्काउन हिँडेका थियौं । हामी ‘सुरा–सुन्दरी’ र ‘रस्साकसी’ मा लागेको कुरा पनि एमाले केन्द्रीय सदस्य ईश्वर पोखरेलद्वारा आरोप लगाइयो । यदि एमाले जस्तो शुद्ध पार्टी यस्तो कुरामा लागेको भए पश्चिमबाट लहर आउने थिएन ।’

केन्द्रीय सदस्य ईश्वर पोखरेलले एमाले केन्द्रीय समिति बैठकमा गृहमन्त्री वामदेव गौतममाथि सांसद खरिद–बक्रीमा सहभागी भएको, पार्टीको रकम हिनामिना गरेको, सुरा–सुन्दरीको व्यवस्था गरेको लगायतका लिखित आरोप लगाएका थिए । स्थापितले सोही विषय जोडेर जवाफ दिएका थिए । महानगरका दुई मेयर उम्मेदवारलाई मतदाताले गरेको प्रश्न र उनीहरूले दिएको जवाफका विषयमा केन्द्रित भएर तयार गरेको समाचार कान्तिपुर दैनिकले ‘चुनाव र कब्जा सँगसँगै जान सक्दैन : भट्टराई र जनादेश भयो भने संविधानरूपी नर्कटको बाँस काम लाग्दैन : स्थापित’ शीर्षकमा २०५४ जेठ १० मा प्रकाशन गरेको थियो ।

प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully