[अर्काइभ] ‘...त्यसो भएको भए देउवाद्वारा सांसदलाई अमेरिका पठाइन्थ्यो’

राजनीतिक दलहरू सिद्धान्तका संस्था नभएर स्वार्थका संस्था बनेको भनाइ पूर्वसभामुख दमननाथ ढुंगानाको थियो । ‘पार्टीहरू त सिनेमा हलका टिकट–घरजस्ता बनेका छन्,’ उनले भनेका थिए ।

वैशाख ८, २०८३

कान्तिपुर संवाददाता

[Archive] '...If that had happened, Deuba would have sent the MP to America'

What you should know

काठमाडौँ — आजभन्दा ठिक २९ वर्ष २ दिनअघि अर्थात् २०५४ वैशाख ६ गते । नेपाल ल क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको औपचारिक कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुंगानाले प्रश्न गरे, ‘आफ्नै पार्टीका दुई जना सांसदलाई किन संसदमा उपस्थित गराउन सक्नु भएन ?’ एउटै मञ्चमा बसेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई लक्षित गर्दै प्रश्न गरेका थिए, ‘उहाँ (देउवा)लाई थाहा भएर पनि कसको डरले बोल्न सकिरहनुभएको छैन ?’ उनले अगाडि थपेका थिए, ‘निरंकुश व्यवस्थाको विरुद्ध लड्ने नेता आज कसको डरले बोल्न सक्नुहुन्न ?’ 

विश्वासको मत लिने दिन संसदमा आफ्नै पार्टीका दुई जना सांसद अनुपस्थित भएपछि डेढ महिनाअघि प्रधानमन्त्री पद गुमाएका देउवालाई ढुंगानाले पटक–पटक पेचिला प्रश्न गरेका थिए । प्रधानमन्त्री पदबाट मुक्त भएपछि देउवाले कांग्रेस संसदीय दलको नेताबाट पनि राजिनामा दिएका थिए भने एमाले अध्यक्ष तथा संसदीय दलका नेता मनमोहन अधिकारीलाई पन्छाएर राप्रपा संसदीय दलका नेता पूर्वपञ्च लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाइएको थियो । त्यही प्रसंग जोड्दै पूर्वसभामुख ढुंगानाले भनेका थिए, ‘हक छोड्नु त्याग होइन, दुष्कर्म हो । एउटा विश्वासको प्रस्तावले एकसाथ प्रधानमन्त्री र प्रतिपक्षी नेतालाई धक्का मारेको इतिहास संसारमा छैन ।’

संसदीय व्यवस्थाको परम्पराअनुसार सबैभन्दा ठूलो दलले सरकार बनाउँछ भन्दै उनले दोस्रो ठूलो दल सरकार बनाउन प्रतीक्षारत् हुने बताएका थिए । देउवाले संसदीय दलको नेता गुमाउनुपरेको र प्रमुख प्रतिपक्षी दलको नेताले प्रधानमन्त्री बन्न नपाउने विडम्बनापूर्ण अवस्थाबाट मुलुकको संसदीय व्यवस्था अघि बढेको भनाइ उनको थियो । ढुंगानाले भनेका थिए, ‘प्रमुख प्रतिपक्षी दलको नेता मनमोहन अधिकारीले राप्रपा नेता चन्द प्रधानमन्त्री भएको टुलुटुलु हेरिरहनुभएको छ ।’ [Archive] '...If that had happened, Deuba would have sent the MP to America'

२०५३ फागुन २३ मा संसदमा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको मतदानमा बहुमत नपुगेपछि देउवाले प्रधानमन्त्रीबाट राजिनामा दिएका थिए । मतदानमा कांग्रेसकै सांसदद्वय दीपकजंग शाह र चक्रबहादुर शाही अनुपस्थित भएका थिए । दुई मतले देउवाको विश्वासको मत असफल भएको थियो । त्यसपछि उनले त्यसैदिन प्रधानमन्त्रीबाट राजिनामा दिएका थिए । उनले पार्टीको संसदीय दलको नेताबाट पनि राजिनामा दिएका थिए । त्यसपछि कांग्रेसले संसदीय दलको नेता गिरिजाप्रसाद कोइरालालाई सर्वसम्मत रूपमा बनाएको थियो ।

देउवा सरकार ढलेपछि एमाले आफू ठूलो पार्टी भए पनि प्रधानमन्त्री भने राप्रपाका लोकेन्द्रबहादुर चन्दलाई दिएर सरकारमा सहभागी भएको थियो । पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्रीले ७ वर्षपछि पुनः सरकारको नेतृत्व गर्ने अवसर पाएका थिए । चन्दलाई प्रधानमन्त्रीमा समर्थन गरेकामा ढुंगानाले भने असन्तुष्टि जनाउँदै आएका थिए । उनले भनेका थिए, ‘संसदीय व्यवस्थाबाटै चन्द, एमालेको समर्थनमा प्रधानमन्त्री बन्नुभए पनि जनताले प्रश्न गरिरहेका छन्, ०४६ अघिको अनुहार यति छिट्टै कसरी सरकारको नेतृत्वमा पुग्यो ?’ 

देउवाविरुद्ध प्रधानमन्त्री बनेको १८ महिनामा एमालेले संसदमा दुईपटक अविश्वास प्रस्ताव ल्याएको थियो । विपक्षीले ल्याएको अविश्वास प्रस्तावबाट जोगिएका देउवा आफैंले संसदबाट विश्वासको मत लिन खोज्दा आफ्नै सांसदको अनुपस्थितिले प्रधानमन्त्रीबाट राजिनामा दिनुपरेको थियो । देउवाको १८ महिने कार्यकालमा विश्वास र अविश्वास प्रस्तावबाट जोगिन सांसदहरूको खरिद, सांसदहरूलाई सुरा, सुन्दरी, विदेश भ्रमण, सांसद अपहरणजस्ता गतिविधि भएका थिए । त्यसले सरकारको बदनाम गरिरहेको थियो । सत्ताका लागि गरिएका अस्वाभाविक र निकृष्ट चलखेलप्रति पूर्वसभामुख ढुंगानाको असन्तुष्टि थियो । 

त्यसैले ढुंगानाले सरकारविरुद्धको अविश्वास प्रस्ताव असफल बनाउन पूर्वप्रधानमन्त्री देउवाले मन्त्रीहरूलाई बैंकक पठाएको प्रसंग जोड्दै भनेका थिए, ‘तेस्रो पटक पनि अविश्वास प्रस्ताव आएको भए सांसदहरूलाई अमेरिका पठाउनुहुन्थ्यो ।’ राजनीतिक दलहरू सिद्धान्तका संस्था नभएर स्वार्थका संस्था बनेको भनाइ उनको थियो । ढुंगानाले भनेका थिए, ‘पार्टीहरू सिनेमा हलका टिकट–घर जस्ता बनेका छन् ।’ उनले पूर्वगृहमन्त्री खुमबहादुर खड्कालाई ‘बहुदल र सत्ता जोगाउने पुरस्कार’ दिनुपर्ने व्यंग्य गरेका थिए ।

गृहमन्त्री खड्काले सत्ता जोगाउने खेलका क्रममा नेपाल मजदुर किसान पार्टीका सांसद भक्तबहादुर रोकायलाई भारतको पूर्णिया लगेको स्विकारेका थिए । त्यही प्रसंगमा ढुंगानाले गृहमन्त्री खड्कालाई व्यंग्यात्मक शैलीमा पुरस्कार तोकेका थिए । त्यसैले देउवालाई पनि दुईपटक अविश्वास प्रस्ताव आउँदा सांसदहरूलाई पूर्णिया पठाएकामा तेस्रो पटक फेरि अविश्वास प्रस्तावको सामना गर्नुपरेको भए अमेरिका पठाइने भन्दै व्यंग्य गरेका हुन् । 

कार्यक्रममा एमाले सांसद सुवास नेम्वाङले पूर्वसभामुख ढुंगानाको भनाइको प्रतिवाद गरेका थिए । नेम्वाङको भनाइ थियो, ‘कांग्रेसले आफू सत्तामा भएका बेला एमाले सबैभन्दा ठूलो पार्टी भएको बिर्सेको थियो । सत्ताबाट हटेपछि बल्ल चाल पाएको छ ।’ २०५१ को मध्यावधि निर्वाचनपछि एमालेको अल्पमतको सरकार बन्ने बेलामा कांग्रेसले पूरै अवधि सरकार टिकाइदिने बचन दिएको स्मरण गराउँदै नेम्वाङले मनमोहन सरकार ढाल्दा संसदमा एमाले सबैभन्दा ठूलो दल हो भन्ने कांग्रेसले बिर्सेको थियो भनेका थिए । 

कार्यक्रममा देउवाले नेम्वाङको भनाइप्रति लक्षित गर्दै भनेका थिए, ‘दमनजीले संसारको प्रचलन अनुसार ठूलो पार्टी एमालेका नेता अधिकारीले प्रधानमन्त्री बन्नुपर्थ्यो भन्दा चित्त दुखेछ, लोकेन्द्रजीलाई नै पार्टीको अध्यक्ष बनाए पनि हाम्रो भन्नु केही छैन ।’ राप्रपासँग कांग्रेसको सरकार बनेको भए स्थानीय चुनावमा ‘अपवित्र गठबन्धन’ गरेको भनेर एमालेको गाली खाइने थियो,’ देउवाले थपेका थिए, ‘एमाले राप्रपाको पुच्छर बनोस् तर पञ्चायतको पुच्छर नबनोस् ।’ 

 एमाले सांसद शंकर पोखरेलले ०४५ पछि अदृश्य शक्तिले बहुदलीय व्यवस्था र राजनीतिक पार्टीलाई कमजोर बनाउने प्रयास भइरहेको तर्क अघि सारेका थिए । उनले संवैधानिक राजतन्त्रलाई सक्रिय बनाउने खेल भइरहेको दाबी गरेका थिए । देउवाले भने बहुदलपछि राजाको सम्मान बढेको बताएका थिए । उनले भनेका थिए, ‘पञ्चायतकालमा ट्रकमा हालेर राजाका कार्यक्रममा मान्छे ल्याइन्थ्यो, अहिले आफैं आएका छन् ।’ पूर्वसभामुख ढुंगानाले आफूमाथि लगाएको आरोपको प्रतिवाद गर्दै देउवाले भनेका थिए, ‘बैंकक जाने अहिले मन्त्री छन् ।’ राजनीतिमा अपराधीकरण भित्र्याएको आरोपका बारेमा देउवाले एमाले केन्द्रीय कमिटीको बैठकमा सुरा र सुन्दरीको आरोप लागेका वामदेव गौतम उपप्रधान तथा गृहमन्त्री रहेको भन्दै आफूलाई आक्षेप लगाउँदा विचार गर्नुपर्ने बताए । 

भन्सारका पियनको १० वटा घर : देउवा 

कार्यक्रममा मन्तव्य राख्ने क्रममा देउवाले आफू प्रधानमन्त्री भएका बेला भित्र्याएको पजेरो संस्कृतिको बचाउ गरेका थिए । कानुन संकायका डिन श्यामकान्त सिलवालले चुनावमा चन्दा माग्ने सांसदले लाखौंको गाडी कसरी किन्न सके भन्दै देउवालक्षित प्रश्न राखेका थिए । त्यसको जवाफमा देउवाले भन्सारको पियनका १० वटा घर भएको चर्चा गर्दै उनैमाथि प्रतिप्रश्न गरेका थिए, ‘जनताबाट निर्वाचित सांसदले एउटा गाडी भन्सार सुविधामा किन्न नपाउने ?’ कतिपय सांसदले गाडी किन्न नसकेर व्यापारीकहाँ धाएको चर्चा गर्दै देउवाले भनेका थिए, ‘त्यस्तो थाहा पाएको भए गाडी किन्ने सुविधा नै दिने थिइनँ ।’ देउवाले सत्ता जोगाउने खेलमा सांसदहरूलाई भन्सार छुटमा गाडी ल्याउने निर्णय मन्त्रिपरिषद्बाट गराएका थिए । उक्त विषय निकै आलोचना भएको थियो । तर देउवाले भने निर्णयको बचाउ गरेका थिए । अहिले पनि देउवालाई प्राडो र पजेरो संस्कृति भित्र्याउने नेताका रूपमा चर्चा गरिन्छ । 

राष्ट्रिय मुद्दामा प्रधानमन्त्रीको अनभिज्ञता 

एमालको समर्थनमा चन्द प्रधानमन्त्री बने पनि सरकारको अल्पकालीन र दीर्घकालीन सबै काममा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको हालीमुहाली थियो । त्यतिबेला चन्द एक प्रकारले खोपीका देउताजस्तै हुन् भन्ने गरिन्थ्यो । वहालवाला आईजीपीलाई हटाउनेदेखि स्थानीय तहको निर्वाचन लक्षित गरेर कर्मचारीको व्यापक सरुवा र हेरफेर गरेको विषयमा चन्द चुपचाप थिए । उनी प्रधानमन्त्री भएको लगभग डेढ महिनापछि आफ्नै निवास बालुवाटारमा सञ्चारकर्मीहरूसँगको भेटघाटमा उनले मुलुकका सबै विषयमा अनभिज्ञता प्रकट गरेका थिए । उनले पत्रकारसँग व्यक्तिगत रूपमा भेटेर प्रश्नोत्तर गरेका थिए । एकैपटक सम्बोधन गरेका थिएनन् । 

चन्द प्रधानमन्त्री बनेको भोलिपल्टदेखि नै राप्रपा अध्यक्ष सूर्यबहादुर थापा कांग्रेसको नेतृत्वमा आफू प्रधानमन्त्री बन्ने चर्चा चलेको थियो । एमाले अध्यक्ष मनमोहन र कांग्रेस सभापति गिरिजाप्रसादले औपचारिक रूपमा चन्द सरकारको आलोचना सुरु गरेका थिए । मुलुकका यावत् समस्याका बारेमा चन्दले हो र ? भन्दै आफूलाई थाहा नभएको बताउने गरेका थिए ।[Archive] '...If that had happened, Deuba would have sent the MP to America'

पत्रकारहरूले स्थानीय निर्वाचन घोषणा भएपछि पनि प्रहरी र प्रशासनमा व्यापक सरुवा गरेको, कांग्रेसले विशेष अधिवेशन बोलाउन चाहेको, कर्णाली चिसापानी परियोजनामा लगानी गर्न इन्रोन कर्पोरेसनलाई इच्छा पत्र दिने तयारी गरेको जस्ता प्रश्नको जवाफ चन्दले दिएका थिएनन् । उनले आफूलाई यी सबै कुराबारे थाहा नभएको जवाफ दिएका थिए ।

चन्दले प्रधानमन्त्री हुनुअघि दार्चुला कालापानीबाट भारतीय सेनाको शिविर हटाउने अडान राख्दै आएका थिए । तर प्रधानमन्त्री बनेपछि भने ‘कुरा हुँदैछ’ भन्दै पन्छिएका थिए । सरकार बनेको डेढ महिनामा धेरै मन्त्रालय आफ्नै मातहतमा राखेको सन्दर्भमा उनले मन्त्रिमण्डल विस्तारका बारेमा सोधेको प्रश्नमा भनेका थिए, ‘मैले यसबारे सोचेको छैन ।’

महाकाली सन्धि, स्थानीय निर्वाचनसम्बन्धी अध्यादेश, मुलुकको अर्थतन्त्र, माओवादी विद्रोह सबैजसो विषयमा चन्दले प्रस्ट जवाफ दिएका थिएनन् । आफैंले बोलाएका सञ्चारकर्मीहरूको प्रश्नको जवाफमा चन्दले ‘हो र ?’, ‘ए,...’, ‘मलाई त थाहा छैन’, ‘बुझ्दै छु’, ‘होइन होला’ भन्नेजस्ता जवाफ दिएका थिए । उनले पञ्चायतकालमा भन्दा बहुदलमा बढी जिम्मेवारी महसुस गरेको र सबैलाई मिलाउनुपर्ने दायित्व रहेको भने बताएका थिए । 

 देउवा सरकारका बेला भएका अराजनीतिक र सत्ता जोगाउन गरिएको अस्वाभाविक गतिविधिप्रति राजनीतिक नेताहरूबाटै सार्वजनिक भएका विचार र चन्द प्रधानमन्त्री भएपछिका गतिविधिलाई सन्दर्भ बनाएर तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५३ वैशाख ७ मा प्रकाशन गरेको थियो । समाचारको शीर्षक थियो, ‘देउवा बोल्न सक्नुहुन्न... मनमोहन टुलुटुलु हेर्नुहुन्छ’ । त्यही दिन प्रधानमन्त्री चन्दको पत्रकार भेटघाटको समाचार शीर्षक थियो, ‘प्रधानमन्त्रीद्वारा पत्रकार भेटघाट : ‘हो र ?’, ‘मलाई थाहा छैन ।’

प्रस्तुति : ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully