संसदमा बोल्ने क्रममा राप्रपा सांसद तथा उपाध्यक्ष पद्मसुन्दर लावतीले सभामुख पौडेललाई भनेका थिए, ‘तपाईं मलाई हेपाहा व्यवहार गर्नुहुन्छ । म जति पनि समय बोल्न सक्छु, तपाईं के गर्नुहुन्छ ?’ उनको यो भनाइले २०५३ चैत १४ को संसद् बैठकमा निकै होहल्ला र एकअर्काबीच आरोप–प्रत्यारोप भएको थियो ।
What you should know
काठमाडौँ — २०४६ को जनआन्दोलनबाट पञ्चायती व्यवस्था ढलेको ठ्याक्कै ७ वर्ष बितेको थियो । पूर्वपञ्चहरूको सत्ता हालीमुहाली भने २०५१ को मध्यावधि निर्वाचनदेखि नै सुरु भइसकेको थियो । बहुदल ल्याउन आन्दोलनमा सहभागी भएको मुख्य घटकमध्येको एक नेकपा एमाले (२०४६ को आन्दोलनमा संयुक्त वाममोर्चा) को समर्थनमा पञ्चायतका अन्तिम प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएको तीन साता बितेको थियो ।
नेपाली कांग्रेससहितका केही राजनीतिक दलले पञ्चहरूलाई यति छिट्टै सरकारकै नेतृत्व गर्ने अवसर दिएको भन्दै एमालेको आलोचना गरिरहेका थिए । एमालेले भने कांग्रेसका नेता शेरबहादुर देउवाको प्रधानमन्त्रीकालमा प्रजातन्त्र कमजोर बनाएको आरोप लगाएर चन्दलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो । मुलुकमा सुशासन कायम गर्न नसकेको र भ्रष्टाचारले जरा गाडेको भन्दै एमालेले चन्दलाई प्रधानमन्त्री बनाएर आफू पनि सत्तामा महत्त्वपूर्ण हिस्सा लिएर बसेको थियो । त्यो भन्दा पनि ठूलो आफ्नो नौ महिने अल्पमतको सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाएकामा एमालेले कांग्रेसप्रति निकै ठूलो ‘इगो’ राखेको देखिन्थ्यो । एमाले बरु पूर्वपञ्च चन्दलाई प्रधानमन्त्री बनाउने तर कांग्रेसलाई सत्ता चलाउन नदिने मनस्थितिमा थियो ।
राजनीतिक घटनाक्रम छिटोछिटो विकास भइरहेको थियो । सत्ता जोगाउन भएका खेलहरू निकृष्ट र संसदीय व्यवस्थालाई नै बदनाम गराउने खालका थिए । त्यही सन्दर्भ र पृष्ठभूमिमा सत्ता र प्रतिपक्षी दलका सांसदहरूले २०५३ चैत १४ को संसद् बैठकमा केही रोचक र संवेदनशील विषयमा ध्यानाकर्षण गराएका थिए । सत्ता परिवर्तनको नाममा शीर्ष नेताहरूको चरित्रहत्याको शृंखला सुरु भएको र प्रजातन्त्रविरोधीहरूको हालीमुहालीलाई प्रश्रय दिएको विषय संसदमा चर्को रूपमा उठेको थियो । खासगरी युवा सांसदहरूले यस्तो चिन्ता व्यक्त गरेका थिए ।
सत्तापक्ष र प्रतिपक्ष दुवै पार्टीका युवा सांसदहरूले राजनीतिलाई बिस्तारै चक्रब्युहमा पारेको धारणा राखेका थिए । संसद् बैठकमा सत्तारुढ एमाले सांसद शंकर पोखरेलले राष्ट्रिय राजनीतिमा प्रमुख पार्टीहरूको भूमिका कमजोर पार्ने र नेताहरूको चरित्रहत्या गर्ने काम भइरहेको बताएका थिए । उनले यो वा त्यो बहानामा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलाई कमजोर बनाएको प्रसंग कोट्याउँदै आफ्नो पार्टीमा पनि ह्वीप उल्लंघन गरेर अनुशासन तोड्ने प्रवृत्ति हावी भएको बताएका थिए ।![[Archive] When the National Panchayat was discussed in Parliament...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-chait-15-3-1942026084624-1000x0.jpg)
सांसद पोखरेलले आफ्नो पार्टीका नेता तथा गृहमन्त्री वामदेव गौतमको नामै लिएर दुई/दुई पटक ह्वीप उल्लंघन गरेर अनुशासन तोड्ने नेता बनेको बताएका थिए । पोखरेलले अनुशासित एमाले पार्टी ह्वीप उल्लंघन गर्ने चक्रब्युहमा परेको बताएका थिए । गौतमले चन्दलाई प्रधानमन्त्री बनाएर आफू सत्तामा जान सक्रिय भूमिका निर्वाह गरेका थिए । त्यसैले उनलाई उपप्रधान तथा गृहमन्त्री बनाइएको थियो । उनीमाथि एमाले केन्द्रीय समिति बैठकमा नेता ईश्वर पोखरेलले सत्ताका लागि आर्थिक हिनामिना गरेको र सांसद खरिदमा संलग्न भएको लिखित आरोप लगाएका थिए ।
शंकर पोखरेलले संसदमा भनेका थिए, ‘राप्रपाका चन्द पार्टीभित्रकै एउटा शक्तिलाई बलियो बनाउँदा निरीह बनेका छन् र एमालेको सहयोगमा उनको छवि मुखरित भएको छ ।’ उनले राप्रपा अध्यक्ष सूर्यबहादुर थापालाई निरीह बनेर कसैको पछिपछि लागेको आरोप लगाएका थिए । थापा देउवा सरकार ढाल्न नहुने पक्षमा थिए । तर आफ्नै पार्टीका नेता चन्द प्रधानमन्त्री बनेपछि उनलाई नैतिक संकट परेको थियो ।
संसदमा प्रमुख प्रतिपक्षी दल कांग्रेस सांसद जयप्रकाशप्रसाद गुप्ताले प्रजातान्त्रिक दललाई निष्प्रभावी बनाउने षड्यन्त्र भइरहेको बताएका थिए । उनले मुलुकको राजनीतिकलाई चक्रब्युहमा पारेको धारणा राखेका थिए । उनले संसदलाई प्रयोजनविहीन पारिएको भन्दै यसमा सरकार असहयोगी बनेको बताएका थिए । मुलुकमा भय र शंकाको राजनीतिले संकट निम्त्याउन सक्ने धारणा उनको थियो ।
कांग्रेस सांसद देवेन्द्रराज कँडेलले माओवादी गतिविधि र सरकारको क्रियाकलापको प्रसंग जोड्दै गृहयुद्धको आभाष हुन थालेको बताएका थिए । सरकारले हिरासतमा रहेका माओवादी धमाधम छाडेकामा उनले विरोध जनाएका थिए । माओवादीले २०५२ फागुन १ बाट सुरु गरेको सशस्त्र विद्रोह त्यतिबेला पश्चिमी जिल्लाबाट बिस्तारै बढ्दै गएको थियो ।![[Archive] When the National Panchayat was discussed in Parliament...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-chait-15-1942026084627-1000x0.jpg)
खासगरी सत्ताका लागि दलहरूभित्र देखिएको विकृतिको रूप त्यतिबेला सतहमा आएको थियो । सत्ता प्राप्तिका लागि जे गर्दा पनि उचित हुन्छ भन्ने मनोभाव त्यस्ता घटनाक्रमले देखाएको थियो । शेरबहादुर देउवालाई हटाएर चन्दलाई प्रधानमन्त्री बनाउन १८ महिनादेखि चल्दै आएको खेलले केही नेताहरू निकै आलोचित भएका थिए । राजनीतिलाई एउटा विकृत खेलका रूपमा चित्रण गर्न थालिएको थियो ।
मनमोहनले सूर्यबहादुरसँगै बस्न चाहेनन्
संसदमा सत्तारुढ एमालेका सांसद जागृतप्रसाद भेटवालले आफ्नो पार्टीको अध्यक्ष तथा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीले बस्ने कुर्सी नपाएको जानकारी सभामुख रामचन्द्र पौडेललाई गराएका थिए । ‘मनमोहन अधिकारी कहाँ बस्ने हो, सभामखुले रुलिङ गर्नुपर्यो,’ भेटवालले माग गरेका थिए ।
सभामुख पौडेलले भेटवालले उठाएको सवालको समाधान दिँदै भनेका थिए, ‘पूर्वप्रधानमन्त्रीको नाताले बस्ने हो भने उहाँका लागि विशेष स्थान तोकिएको छ । नत्र भने उहाँ जता पनि बस्न सक्नुहुन्छ ।’ पूर्वप्रधानमन्त्रीहरू बस्न सदनमा विशेष कुर्सीको व्यवस्था गरिएको थियो । त्यहाँ सूर्यबहादुर थापा बसेका थिए । तर मनमोहन सूर्यबहादुरसँग बस्न चाहँदैनथे ।
मनमोहन अधिकारीले थापासँग बस्न मानेका थिएनन् । देउवाले विश्वासको मत लिने दिन पनि उनी अन्य सांसदहरूसँग सातौं लहरमा बसेका थिए । राप्रपा र एमाले सरकारमा थिए तर मनमोहन सरकारमा भएको पार्टीको अध्यक्ष थापासँग बस्न मानेका थिएनन् । त्यसैले एमाले सांसद भेटवालले सभामुख पौडेललाई मनमोहन कहाँ बस्ने भन्दै प्रश्न गरेका थिए ।
संसद्मा राष्ट्रिय पञ्चायतको चर्चा
संसदमा बोल्ने क्रममा राप्रपा सांसद तथा उपाध्यक्ष पद्मसुन्दर लावतीले सभामुख पौडेललाई भनेका थिए, ‘तपाईं मलाई हेपाहा व्यवहार गर्नुहुन्छ । म जति पनि समय बोल्न सक्छु, तपाईं के गर्नुहुन्छ ?’ उनको यो भनाइले २०५३ चैत १४ को संसद् बैठकमा निकै होहल्ला र एकअर्काबीच आरोप–प्रत्यारोप भएको थियो ।
सभामुख पौडेलले उपलब्ध गराएको समय अपुग भएको भन्दै लावतीले १५ मिनेट बोलेका थिए । सभामुखले भनाइ छोट्याउ आग्रह गरे पनि उनले मानेनन् । लावतीले कसैलाई समय दिने कसैलाई नदिने भन्दै पक्षपात गरेको आरोप सभामुख पौडेलमाथि लगाएका थिए ।
सभामुखले लावतीलाई भनेका थिए, ‘रुलिङ तपाईंले गर्ने कि मैले ?’ निर्धारित समयमा बोल्नुपर्ने भन्दै सभामुखले चेतावनी दिए पनि लावतीले बोल्न छाडेनन् । त्यसपछि प्रतिपक्ष कांग्रेसका सांसदहरूले लावती नजिक आएर सभामुखलाई धम्की दिने भन्दै नियमापत्ति गरेका थिए । सभामुखको रुलिङ सबैले मान्नुपर्ने भए पनि लागू हुन नसकेपछि सदनमा निकै होहल्ला भएको थियो ।
कांग्रेस सांसदहरू होमराज दाहाल, नरेशबहादुर सिंह, कृष्णप्रसाद गौतम, तीर्थ भुसाललगायतले लावतीकै नजिक पुगेर दादागिरी गर्ने भनेर आक्रोश पोखेका थिए । लावती बोलिनै रहेका थिए । कांग्रेस सांसद रामशरण महतसहितका नेताहरूले आफ्ना सांसदलाई सम्झाएका थिए । एमाले सांसदहरूले लावतीले बोल्न पाउनुपर्ने माग गरिरहेका थिए । दुवै पक्षबीच भनाभन र होहल्ला भएपछि सभामुख पौडेलले सांसदहरूलाई आ–आफ्नो स्थानमा बस्न भनेका थिए । रुलिङको अपमान गरेको भन्दै सांसद होमराजले लावतीमाथि अनुशासनको कारबाही गर्नुपर्ने माग राखेका थिए ।
अख्तियारलाई दिमाग खुस्केको भनेपछि...
शेरबहादुर देउवा मन्त्रिपरिषद्मा कृषिमन्त्री हुँदा मल खरिद काण्डमा भ्रष्टाचारको मुद्दा लागेकामा राप्रपा सांसद लावती निकै आक्रोशित थिए । उनले संसदमा अख्तियारलाई दिमाग त ठिक छ भन्दै आलोचना गरेका थिए । संसदमा बोल्ने क्रममा उनले भनेका थिए, ‘म मात्र यस्तो मन्त्री हुँ, सात करोड भ्रष्टाचार गरेको विशेष उपाधि ग्रहण गरेको छु । अख्तियारको दिमाग ठिक भएको भए अरु मन्त्रीको पनि हेर्ने थियो ।’
लावतीको कुरा सुनेर सांसद होमराजले आपत्ति जनाएका थिए । उनले सांसद लावतीको भनाइ संसदीय व्यवस्थामाथि अपमान गर्ने र खतरा पुर्याउने उद्देश्यबाट प्रेरित भएको बताएका थिए । होमराजको भनाइ थियो, ‘गरिमामय सांसदले अख्तियार दुरुपयोगजस्तो संवैधानिक संस्थाको दिमाग खुस्केको भनाइ राख्न मिल्छ ? लावतीले यो भनाइ फिर्ता लिनुपर्छ ।’
लावतीले अख्तियारको दिमाग खुस्केका कुरामा आफू अडानमा रहेको बताएका थिए । उनले भनेका थिए, ‘अख्तियारको दिमाग खुस्केको कुरा यथार्थ हो । म निरन्तर रूपमा भन्दै जानेछु । म तपाईंहरूले तर्साएर तर्सिन्नँ र कसैले रोक्न पनि सक्दैन ।’ लावतीले बोलिसकेपछि प्रतिपक्ष सांसदहरूसँग भनाभन भएको थियो । तर सभामुख पौडेलले रुलिङ गरेका थिए, ‘वारिपारि बसेर गफ गर्न पाइँदैन ।’
‘यो राष्ट्रिय पञ्चायतको भवन हो’
लावतीको भनाइप्रति असहमति जनाउँदै कांग्रेस सांसद ध्रुव शर्माले यो राष्ट्रिय पञ्चायत होइन भन्दै व्यंग्य गरेका थिए । पञ्चायतकाल नसम्झिन आग्रह गर्दै उनले भनेका थिए, ‘यो प्रतिनिधिसभा हो । संयमित भएर संसदीय मर्यादालाई ख्याल राखेर बोल्नूस् ।’ त्यसपछि पनि लावतीले बोल्न छोडेनन् । उनले भनेका थिए, ‘अध्यक्षज्यू मलाई थाहा छ, यो पञ्चायत होइन, बहुदलीय व्यवस्था हो भन्ने बुझेको छु । त्यसैले त म जनताबाट निर्वाचित भएर आएको हुँ, कुदेर संसदभित्र पस्न आएको होइन ।’
लावतीले अध्यक्षज्यू भनेको प्रति प्रतिपक्षी सांसदहरूले यो ‘राष्ट्रिय पञ्चायत होइन’ भनेर आपत्ति जनाएका थिए । लावतीको भाषणलाई सभामुख पौडेलले ‘टङ स्लिप’ भएको होला भनेर प्रतिपक्षी सांसदहरूलाई थामथुम पारेका थिए । तर लावतीले अर्को तर्क गरे, ‘सबैलाई थाहा छ यो राष्ट्रिय पञ्चायत नभए पनि राष्ट्रिय पञ्चायतको भवन हो ।’ बहुदलपछि सभामुख भनेजस्तै पञ्चायतकालमा राष्ट्रिय पञ्चायतमा बोल्दा अध्यक्ष भनेर सम्बोधन गर्ने चलन थियो । त्यसैले पञ्चायतका हस्ती लावतीले बहुदलको सदनमा पनि पुरानो बानी परेकाले अध्यक्ष भन्ने सम्बोधन गरेको भनाइ प्रतिपक्षी सांसदहरूको थियो ।
सत्ता स्वार्थका कारण प्रजातन्त्रका लागि लडेका शीर्ष नेताहरूप्रति बन्दै गएको नकारात्मक भावना, युवा सांसदहरूले सदनमा प्रस्तुत गरेको प्रतातन्त्र बलियो बनाउनपुर्ने सुझाव र राप्रपा नेता पद्मसुन्दर लावती र सांसदहरूबीच भएका तर्कवितर्कलाई समेटेर कान्तिपुर दैनिकले २०५३ चैत १५ मा ‘यो राष्ट्रिय पञ्चायत होइन, मलाई थाहा छ’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । सोही दिन कान्तिपुरले ‘राजनीति चक्रव्यूहमा परेकामा युवा सांसदहरू चिन्तित’ शीर्षकको समाचार पनि प्रकाशन गरेको थियो ।
प्रस्तृतिः ऋषिराम पौड्याल
![[Archive] When the National Panchayat was discussed in Parliament...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/padma-sundar-laoti-1942026083710-1000x0.jpg&w=1001&h=0)