[अर्काइभ] कांग्रेसकै दुई सांसदले देउवा सरकार ढालेको त्यो घटना...

सरकार सञ्चालनका क्रममा सांसद खरिदबिक्री गरेको, बिरामी भएको बहानामा सांसदहरूलाई बैंकक पठाएको, सांसद अपहरण, होटलमा थुनेर सरासुन्दरीको व्यवस्था गरेको जस्ता अनगिन्ती विकृति र घटनाक्रम जोडिएर टिकेको सरकारलाई आफ्नै पार्टीका दुई सांसद अनुपस्थित भएर ढालेका थिए ।

वैशाख १, २०८३

कान्तिपुर संवाददाता

[Archive] The incident where two Congress MPs toppled the Deuba government...

What you should know

काठमाडौँ — एमालेले कांग्रेस नेतृत्वको सरकार ढाल्न राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहदुर चन्दलाई प्रधानमन्त्री बनाउने सार्वजनिक घोषणा गरेको थियो । राप्रपाको समर्थनमा शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको १६ महिनामा एमालेले दुईपटक अविश्वास प्रस्ताव राखिसकेको थियो । दोस्रो पटक २०५३ पुसमा राखेको अविश्वास प्रस्ताव अस्विकार भएको थियो तर प्रधानमन्त्रीको पक्षमा पनि १०३ सांसद संख्या पुगेको थिएन । त्यसैले प्रधानमन्त्री देउवाले संसदबाट विश्वासको मत लिनुपर्ने आवाज एमालेले उठाइरहेको थियो । त्यही आवाज सम्बोधन गर्न देउवाले विश्वासको मत लिने प्रस्ताव गरेका थिए । देउवाको अनुरोधमा सभामुख रामचन्द्र पौडेलले २०५३ फागुन २३ मा संसदमा मतदान गराएका थिए । 

तर, उक्त मतदानमा देउवाले आवश्यक संख्याको समर्थन पाएनन् । अन्य विपक्षी दलबाट होइन, आफ्नै पार्टी कांग्रेसका दुई सांसद अनुपस्थित भएका थिए । देउवाको पक्षमा १०१ मत परेको थियो । विपक्षीको पक्षमा ९२ मत परेको थियो । संसदको विश्वास पाउन १०३ मत चाहिन्थ्यो । त्यतिबेला प्रतिनिधिसभा सदस्य संख्या २०५ थियो । देउवाले विश्वासको मत लिने समयमा कांग्रेसका दुई सांसद दीपकजंग शाह र चक्रबहादुर शाही सदनमा उपस्थित नै भएनन् । नेपाल सद्भावना पार्टीका अध्यक्ष तथा आपूर्ति मन्त्री गजेन्द्रनारायण सिंहले मतदान गरेनन् ।

सत्तापक्षको कुर्सीमा बसेका सिंहले उठेर मतदानमा भाग नलिने बताएका थिए । उनले सरकारलाई दिएको समर्थन पनि फिर्ता भएको घोषणा गरेका थिए । सिंहले मतदान नगरेको र कांग्रेसका दुई सांसद अनुपस्थित भएका बेला सभामुखले बैठकमा कोही छुटेका छन् कि भन्दै सांसदहरूलाई पटक–पटक मतदानका लागि आग्रह गरेका थिए । सांसदद्वय र सिंहले मतदान नगरेको थाहा पाएका सभामुख पौडेलले बेलाबेलामा मतदान गर्नुस् भन्दै सांसदहरूलाई सम्झाए पनि सिंह कुर्सीमै बसिरहेका थिए । सरकारमै बसेर चन्द पक्षका ५ जना सांसदले मतदान गरेका थिएनन् । सद्भावनाका हृदयेश त्रिपाठीले पनि मतदान गरेनन् ।

अन्ततः १८ महिना पदमा बसेर शेरबहादुर देउवा प्रधानमन्त्री पदबाट राजिनामा दिन बाध्य भएका थिए ।  मतदानका दिन कांग्रेसका दुई सांसद शाह र शाही हराएको दिउँसो २ बजेतिरै थाहा भएको थियो । सांसद हराएपछि संसद् बैठक निर्धारित समयभन्दा एक घन्टापछि सुरु गरिएको थियो । 

देउवामाथि तुलसी गिरी भएको आरोप

संसद् बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री देउवा दोस्रो तुलसी गिरी भएको बताएको थियो । एमालेले देउवालाई प्रजातन्त्र मास्न लागेको भन्दै गिरीसँग जोडेर उदाहरण दिएको थियो । मतदान हुनुअघि एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता मनमोहन अधिकारीले देउवा सरकार जसरी पनि फाल्नुपर्ने बताएका थिए । उनले भनेका थिए, ‘राष्ट्रलाई हानि पुर्‍याउने सरकार राख्न हुन्न । सरकार खर्चिलो छ । जतिबेला पनि पैसाकै कुरा गर्छ । देश विकास र सामाजिक कार्यका लागि पैसा नै हुँदैन ।’[Archive] The incident where two Congress MPs toppled the Deuba government...

प्रधानमन्त्री देउवाले भने एमालेको धारणाको प्रतिवाद गर्दै तुलसी गिरीसँग आफूलाई दाँज्न नमिल्ने तर्क गरेका थिए । आफू प्रजातन्त्रका लागि लडेर आएको भन्दै जसले शैक्षिक र प्रशासनिक क्षेत्रमा हस्तक्षेप गरेन, त्यसैमाथि आक्षेपको पहिरो लगाउनु गलत भएको उनले बताएका थिए । ‘तुलसी गिरी भनेको आफ्नै पार्टीको प्रधानमन्त्री (बीपी कोइराला)लाई खत्तम गरेर अर्को व्यवस्था ल्याएर आफैं प्रधानमन्त्री बनेको मान्छे हो,’ उनले भनेका थिए, ‘म प्रजातन्त्रका लागि ज्यान हत्केलामा राखेको व्यक्ति हुँ ।’ 

मतदान हुनुअघि देउवाले राखेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा राप्रपा अध्यक्ष सूर्यबहादुर थापाले भने पार्टीहरू चक्रव्यूहमा फसेको भन्दै संसदीय पद्धतिविरुद्धका व्यवहार हुन थालेको बताएका थिए । ‘पार्टीहरूले मूल्य र मान्यता छाडेर पाखण्ड, अहंकार र दानव प्रवृत्ति अंगाल्न थालेका छन्,’ उनले भनेका थिए, ‘ठूला पार्टीहरू साना पार्टी फुटाउन लागेका छन् । सिसाको घरमा बसेर अरुको महलमा ढुंगा नहानियोस् ।’ उनले एमालेप्रति लक्षित गर्दै यस्तो धारणा राखेका थिए । एमालेले नेता चन्दलाई प्रधानमन्त्रीको लोभ देखाएर आफ्नो पार्टीमा विभाजन ल्याउन खोजेको उनको दाबी थियो । उनले विश्वास र अविश्वास प्रस्तावले सरकारलाई काम गर्न नदिएको बताएका थिए ।  

कहाँ लुकेका थिए कांग्रेसका दुई सांसद ?  

कांग्रेसका २५ जना असन्तुष्ट सांसदहरू २०५३ फागुन २२ मा नागार्जुनमा वनभोज सकेर सांसद दीपकजंग शाहको निवासबाट छुटेका थिए । त्यो दिन उनीहरूबीच एकै स्थानमा एउटै होटलमा बस्ने सल्लाह पनि भएको थियो । तर अघिल्ला घटनाहरूले सांसद एउटै होटलमा बसेको र सुरासुन्दरीमा रमाएको चर्चाले उनीहरू आलोचित भएका थिए । त्यसैले दोस्रोपटक पनि होटलमा बसौं भने बेइज्जती हुन्छ भन्दै आ–आफ्नै घर जाने सहमति भएको थियो  । अर्थात् संसदमा विश्वासको मत लिने दिन बिहान ९ बजे कांग्रेस संसदीय दलको कार्यालयमा भेट्ने सहमति गरेर उनीहरू शाहको घरबाट छुटेका थिए ।[Archive] The incident where two Congress MPs toppled the Deuba government...

बिहान अरु सबै सांसद आए तर हुम्लाका शाही र जाजरकोटका शाह आएका थिएनन् । संसदीय दलको कार्यालयमा भेला भएका कांग्रेस सांसदहरूले गृहमन्त्री खुमबहादुर खड्काकहाँ गएर माओवादी गतिविधिका बारेमा छलफल गरेका थिए । त्यतिबेला पनि दुई सांसद थिएनन् । मध्याह्न १२ बजे संसद् बैठक सुरु भएको थियो । तर ती दुई सांसद अनुपस्थित थिए । संसदमा देउवाले राखेको विश्वासको मत लिनेसम्बन्धी प्रस्तावमा छलफल भइरहेको थियो । कांग्रेसका दुई सांसद हराएको सूचना फैलियो । उनीहरूको खोजी गर्न मन्त्रीका गाडी राजधानीमा परिचालन गरियो । गाडीहरू सम्भावित स्थानमा चहारेर फर्किए तर सांसद भेटिएनन् ।

सांसद खोज्न मध्यमाञ्चल क्षेत्रका डीजाईजी कृष्णमोहन श्रेष्ठले प्रहरी परिचालन गरे । थानकोट नाकादेखि विमानस्थलसम्म प्रहरी परिचालन गरियो । संसदमा मतदान सुरु भयो तर उनीहरू फेला परेनन् । संसदमा प्रधानमन्त्री देउवाले जवाफ दिने क्रममा उनको स्वर, अडान र शैलीको कडापनबाट सांसदहरू फेला नपरेको प्रस्ट भएको थियो । कतिपयले सांसदहरू एमाले संसदीय दलको कार्यालयमा रहेको शंका पनि गरेका थिए । तर पुष्टि भएको थिएन । अन्ततः आफ्नै पार्टीका सांसद अनुपस्थित भएर देउवा सरकार ढालेका थिए । 

यसरी गुपचुप थिए दुई सांसद  

शाह भैंसेपाटी घरबाट बिहान साढे ७ बजे निस्केका थिए । त्यहाँबाट त्रिपुरेश्वरस्थित खेलकुद् परिषद् पुगेर उनले माधव खड्का भन्ने व्यक्तिलाई भेटेका थिए । शाही भने बिहान ८ बजे घरबाट निस्केका थिए । उनीहरू दुवै जना एकैपटक राप्रपाका तत्कालीन महामन्त्री रविन्द्रनाथ शर्माको बानेश्वरस्थित घर पुगेका थिए । त्यहाँबाट सांसद शाह र शाही राप्रपा नेता चन्दको घर गएको प्रहरी स्रोतले जानकारी दिएको थियो ।

संसदमा मतदान भइरहँदा उनीहरू चन्दकै घरमा बसेर देउवा सरकार ढलेको सामाचार सुनिरहेका थिए । उनीहरू चन्दको घरमा बसेको पुष्टि गृहराज्यमन्त्री दीपकप्रकाश बास्कोटाले गरेका थिए । बहिनी नन्दाका अनुसार आफ्ना दाइ सांसद शाही घरमा भात खान आउने भन्दै निस्केको बताएकी थिइन् । तर उनी राती अबेरसम्म घर फर्केका थिएनन् ।

राष्ट्रिय पञ्चायतका सदस्यसमेत भएका शाही चन्द निकट मानिन्थे । दुवै जना चन्दसँग व्यक्तिगत सम्बन्ध राम्रो भएकाले अनुपस्थित भएको अनुमान गरिएको थियो । कतिपयले देउवा सरकार ढलेपछि बन्ने सरकारमा मन्त्री बनाउने आश्वासन दिएको र आर्थिक लाभ पनि लिएको अनुमान गरेका थिए । कांग्रेस सांसद जयप्रकाश आनन्दले शाही र शाहले पार्टीलाई विश्वासघात गरेको र लेनदेनको खेलमा परेको प्रतिक्रिया दिएका थिए । जाजरकोटका सांसद शाह देउवाका हितैषी भए पनि चन्द निकट भएको कांग्रेसकै सांसदहरूले अनुमान लगाएका थिए । संसदमा अविश्वास प्रस्तावको खेल हुँदादेखि नै उनीहरू दुवै जना चन्द निकट बनेको दाबी सूत्रहरूले गरेका थिए ।

सांसद लुकाएको विषयमा प्रतिक्रिया लिन खोज्दा चन्द सम्पर्कमा आएका थिएनन् । महामन्त्री शर्माले भने ‘उनीहरूले सांसदहरूलाई बैंककमा राख्न हुने, हामीले घरमा राख्न किन नहुने ?’ भन्ने प्रतिक्रिया दिएका थिए । पुसमा भएको मतदानका बेला सांसदहरूलाई उपचारका नाममा बैंकक पठाएर देउवा सरकारलाई जोगाइएको थियो । त्यही प्रसंगमा शर्माले यस्तो प्रतिक्रिया दिएका थिए । 

एमालेमा दुई धार 

देउवा सरकार ढलेपछि कसको नेतृत्वमा सरकारमा जाने भन्नेबारेमा एमालेभित्र दुई धारबीच छलफल सुरु भएको थियो । अध्यक्ष मनमोहन अधिकारी र महासचिव नेपालले सकेसम्म कांग्रेससँग मिलेर जानुपर्ने विचार अघि सारेका थिए । सत्ता परिवर्तनको खेलमा लामो समयदेखि लागेका वामदेव गौतमले भने प्रतिस्पर्धी शक्ति कांग्रेससँग होइन, कमजोर शक्ति राप्रपासँग मिल्नुपर्ने अडान राखेका थिए ।[Archive] The incident where two Congress MPs toppled the Deuba government...

मनमोहनले भने राप्रपासँग मिलेर सरकार बनाउने कुराको ‘च्याप्टर क्लोज’ भएको बताएका थिए । गौतमले भने राप्रपा नेता चन्दलाई प्रधानमन्त्री बनाएर एमाले सरकारमा सामेल हुनुपर्ने अडानमा थिए । अध्यक्ष मनमोहनसहितको एमालेको एउटा धारले सकेसम्म अल्पमतको सरकार बनाउने नसकेमा कांग्रेसको समर्थनमा एमाले नेतृत्वको सरकार बनाउनुपर्ने प्रस्ताव अघि सारेको थियो । गौतमले भने कमजोर प्रतिपक्षी राप्रपासँग मिलेमा मार्क्सवादसंगत हुने बताएका थिए । सत्तामा जाने सर्तमा महासचिव नेपाल हटाउन गौतमले राखेको प्रस्ताव निष्क्रिय बनाएर एमालेको आन्तरिक कलह मिलाइएको थियो । त्यसैले गौतमले राखेको प्रस्तावमा महासचिव नेपाल धेरै कडा हुन सकेका थिएनन् ।  

संसदीय व्यवस्थामा सांसदहरूले नै विकृति भित्र्याएको र सरकार बनेको १८ महिनामा आफ्नै पार्टीका सांसद अनुपस्थित भएर देउवा नेतृत्वको सरकार ढालेको सन्दर्भमा केन्द्रित भएर पत्रकार नारायण वाग्ले, गुणराज लुईंटेल र हरिबहादुर थापाले विभिन्न कोणमा तयार गरेका तीनवटा समाचार कान्तिपुर दैनिकले फरक–फरक शीर्षकमा एकै दिन २०५३ फागुन २४ मा प्रकाशन गरेको थियो । ‘कांग्रेस सांसदका कारण विश्वासको प्रस्ताव असफलः सरकारको पक्षमा १ सय १ र विपक्षमा ९२ मत’, ‘सरकार ढाल्ने दुई सांसद चन्दको घरमा’ र ‘एमाले नयाँ सत्ता समीकरणका लागि सक्रिय’ शीर्षकमा एकै दिन तीन समाचार प्रकाशन गरिएको थियो । 

यसरी एमालेले राप्रपालाई अघि सारेर सरकार ढाल्न गरेको अभियान कांग्रेसकै सांसद प्रयोग गरेर पूरा गरिएको थियो । सरकार सञ्चालनका क्रममा सांसद खरिदबिक्री गरेको, बिरामी भएको बहानामा सांसदहरूलाई बैंकक पठाएको, सांसद अपहरण, होटलमा थुनेर सरासुन्दरीको व्यवस्था गरेको, जम्बो मन्त्रिमण्डल गठन गरेको, सांसदहरूलाई भन्सार छुटमा गाडी किन्ने कानुन ल्याएको, मन्त्री र सांसदहरूको संलग्नतामा भएको भ्रष्टाचार र अनियमिततामा प्रधानमन्त्री चुपाचाप बसेको जस्ता अनगिन्ती विकृति र घटनाक्रम जोडिएर टिकेको सरकारलाई आफ्नै पार्टीका सांसद अनुपस्थित भएर ढालेका थिए । 

प्रस्तुतिः ऋषिराम पौड्याल 

कान्तिपुर

Link copied successfully