त्यतिबेला पुष्पकमल दाहाल नै माओवादीको महासचिव हुन् भन्ने मानिँदै आएको थियो । उनी त्यतिबेला रहस्यमय कम्युनिस्ट नेताका रूपमा पनि चिनिन्थे ।
What you should know
काठमाडौँ — २०५२ फागुन १ बाट सुरु भएको सशस्त्र राजनीतिक विद्रोहका क्रममा एक वर्षमा मुलुकभरमा झण्डै सय जना मान्छेले ज्यान गुमाइसकेका थिए । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का नाममा ११ दुर्गम जिल्लाबाट सुरु भएको ‘जनयुद्ध’ को प्रभाव विस्तार हुँदै गएको थियो ।
भूमिगत रूपमा विद्रोह हाँकिरहेका नेकपा माओवादीका कमाण्डर ४३ वर्षीय पुष्पकमल दाहाल (प्रचण्ड) ले विद्रोह सुरु भएको पहिलो वार्षिकोत्सवमा प्रेस वक्तव्य सार्वजनिक गर्दै ‘जनयुद्ध’मार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने लक्ष्य लिएर क्रान्ति सुरु भएको घोषणा गरेका थिए ।
प्रचण्ड को हुन् ? विभिन्न अड्कलाबाजी भइरहेका बेला उनले निकालेको वक्तव्य सार्वजनिक भएको थियो । उनले वक्तव्यमा भनेका थिए, ‘जनयुद्धको ऐतिहासिक प्रक्रियाले विवेक, साहस, त्याग र आत्मबलिदानको अनुपम आदर्श स्थापित गरेको छ । योजनाबद्ध छापामार युद्धको विकास गर्न आह्वन गर्दछु ।’ त्यतिबेला पुष्पकमल दाहाल नै माओवादीको महासचिव हुन् भन्ने मानिँदै आएको थियो । उनी त्यतिबेला रहस्यमय कम्युनिस्ट नेताका रूपमा पनि चिनिन्थे ।
तत्कालीन नेकपा (मशाल)को पूर्णकालीन कार्यकर्ताका रूपमा विद्यार्थी जीवनमा नै भूमिगत भएका पुष्पकमल दाहाल २०४४ सालमा नै उक्त पार्टीको महामन्त्री भइसकेका थिए । २०४७ मा चौथो महाधिवेशन र नेकपा (मशाल) एकीकृत भएर बनेको एकता केन्द्रमा पनि उनी महासचिव भएका थिए । संसदीय निर्वाचनको उपयोग र नयाँ जनवादी क्रान्तिको विषयमा विवाद भएपछि नेकपा (माओवादी) गठन गरेर पुष्पकमल पुन: महासचिव बनेका हुन् । ![[Archive] That 'interview' to which Pushpa Kamal Dahal sent a written reply...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-1-0942026075421-1000x0.jpg)
सशस्त्र आन्दोलनका क्रममा एक वर्षमा विपक्षी राजनीतिक कार्यकर्ता ‘स्थानीय सामन्त र जाली–फटाहा’का नाममा २० भन्दा बढी मारिएका थिए । प्रहरी कारबाहीमा ७१ जना मारिएको तथ्यांक सार्वजनिक गरिएको थियो । त्यतिबेला रुकुम, धनुषा, सिन्धुपाल्चोकमा ६ जना प्रहरीको हत्या भएको थियो । सरकारले माओवादी कारबाहीलाई ‘आतंककारी गतिविधि’ घोषणा गरेको थियो । सरकारले गैरसंवैधानिक र आतंककारी गतिविधिलाई दबाएरै छाड्ने घोषणा गरेको थियो । माओवादीले तत्काल सरकारसँगको वार्ता सान्दर्भिक नभएको बताएको थियो । उसले संसदीय व्यवस्थाबाट जनहित नहुने ठोकुवा गर्दै विद्रोह सुरु गरेको थियो ।
माओवादीले वार्षिकोत्वका दिन ‘छापामार युद्धको विकास गरौं’ भन्ने नारा लेखिएका रंगीन पोस्टरहरू टाँस्ने तयारी गरेको थियो । सशस्त्र विद्रोह जति कठिन भए पनि विजय अवश्यम्भावी छ भन्ने विश्वास लिएर सुरु भएको हिंसात्मक कारबाही र राजनीतिक एजेन्डाका विषयमा केन्द्रित भएर कान्तिपुर दैनिकका प्रमुख संवाददाता तारानाथ दाहालले ‘जनयुद्ध’का कमाण्डर पुष्पकमल दाहालसँग अन्तर्वार्ता लिएका थिए ।
भूमिगत पुष्पकमललाई लिखित रूपमा पठाएको प्रश्नको जवाफ कान्तिपुरलाई लिखित रूपमै प्राप्त भएको थियो । पुष्पकमलले अन्तर्वार्ताका क्रममा भनेका थिए, ‘अहिले यो ‘जनयुद्ध’ आफ्नो विकास र विस्तारको रक्षात्मक चरणबाट गुज्रिरहेको छ । दर्जनौं सहिदको प्रेरणा, हजारौं जनता र कार्यकर्ताको त्याग, तपस्या र लाखौं जनताको सहयोग एवं समर्थनबाट यो जनयुद्ध फैलँदै गएको छ ।’
युद्धको औचित्य र तत्कालीन अवस्थाका बारेमा कान्तिपुरको प्रश्नमा पुष्पकमलले सामन्तवाद र साम्राज्यवादको लुट र हिंसामा आधारित राज्यसत्ताविरुद्ध क्रान्तिकारी हिंसा आवश्यक हुने धारणा राखेका थिए । उनले सशस्त्र विद्रोहलाई २०४६ को आन्दोलनको निरन्तरताको अर्थ लगाउँदै कम्युनिस्ट पार्टीहरूमा अवसरवाद हावी भएको ठहर गरेका थिए ।
‘जनयुद्ध’ केका विरुद्ध केन्द्रित हो ? वर्तमान राजकीय ढाँचा र शासन व्यवस्थाप्रति कि सीमित गाउँका आफ्ना विरोधीप्रति ? भन्ने कान्तिपुरको प्रश्नमा पुष्पकमलले भनेका थिए, ‘दुई सय वर्ष पुरानो सामन्तवाद र साम्राज्यवादको गठबन्धनमा आधारित राज्यसत्ताको संरचनालाई ध्वस्त पारी त्यसको ठाउँमा जनवादी गणतन्त्रको स्थापना गर्ने कुरामा केन्द्रित छ ।’![[Archive] That 'interview' to which Pushpa Kamal Dahal sent a written reply...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page3kpr-2-0942026075425-1000x0.jpg)
चलिरहेको शासकीय संरचनामा जस्तोसुकै सरकार आए पनि देश र जनतालाई झन् भयानक दुर्घटनामा लैजाने भन्दै उनले मुलुकको संरचना नै फेर्नुपर्ने बताएका थिए । आफ्नो कसैसँग व्यक्तिग इबी नभएको भन्दै उनले सडेगलेको भत्काउने क्रममा जो त्यसको रक्षा गर्न आउँछ ऊसँग टक्कर लिनु इतिहासको आवश्यकता भएको बताएका थिए ।
‘अन्य कम्युनिस्ट पार्टीप्रतिको धारणा के हो ? एमाले वर्गीय मित्र शक्ति हो ? एमाले सरकारकै समयमा हतियार जुटाउने अवसर पाएको पनि भनिन्छ ? अहिलेसम्म एमालेमाथि आक्रमण पनि भएको छैन,’ भन्ने कान्तिपुरको प्रश्नको जवाफमा पुष्पकमलले भनेका थिए, ‘नेपालमा कम्युनिस्ट नाममा कति गुट छन्, त्यसको अर्थ छैन । केबल ट्रेडमार्कका रूपमा मात्र कम्युनिस्ट नामको प्रयोग भएको छ । प्रतिक्रियावादीधारको प्रतिनिधित्व एमाले गुटले गरिरहेको छ । प्रतिक्रियावादमा पतन भएको एमाले गुट क्रान्तिको मित्र शक्ति हुनै सक्दैन ।’
पुष्पकमलले कुनै पार्टीलाई तोकेर हमला नगरेको स्पष्टीकरण दिँदै ‘जनयुद्ध’विरुद्ध खडा हुने जो कोहीसँग टक्कर पर्ने बताएका थिए । माओवादीले सुरु गरेको सशस्त्र विद्रोह, एक वर्षमा भएको धनजनको क्षति, आन्दोलनका कमान्डर पुष्पकमलको अन्तर्वार्तामार्फत सार्वजनिक गरिएको विचारमा केन्द्रित रहेर पत्रकार तारानाथ दाहालले तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५३ फागुन १ मा ‘हामी वार्ताको निरपेक्ष विरोधी छैनौं र निरपेक्ष समर्थक पनि छैनौःं प्रचण्ड’ शीर्षकमा प्रकाशन गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] That 'interview' to which Pushpa Kamal Dahal sent a written reply...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/politics/dahal-0312026062256-1000x0.jpg&w=1001&h=0)