[अर्काइभ] विद्रोह नियन्त्रणका नाममा राज्यले सिर्जना गरेको त्यो 'कहालीलाग्दो दमन' 

माओवादीले सरकार मात्र होइन, संसदीय व्यवस्था नै ढालेर राज्यकब्जाको सैद्धान्तिक बाटो अपनाएका बेला सरकारले भने विद्रोह कम गर्ने रणनीतिक उपाय निकाल्न सकेको थिएन । शान्तिसुरक्षा कायम गराउनेभन्दा पनि दमन गरेरै ठिक पार्न सकिने नीति सरकारले लिएको थियो ।

चैत्र २४, २०८२

कान्तिपुर संवाददाता

[Archive] The 'terrible repression' created by the state in the name of controlling the rebellion

What you should know

काठमाडौँ — २०५२ फागुन १ मा पश्चिम नेपालको रोल्पा, रुकुमबाट सुरु भएको माओवादी सशस्त्र विद्रोहले एक वर्ष पार गर्दै थियो । संसदीय व्यवस्थाबाट मुलुक र जनताको हित नहुने भन्दै ‘जनयुद्ध’ का नाममा भएको सशस्त्र आन्दोलन चर्किंदै थियो । धनजनको क्षति कहालीलाग्दो थियो । माओवादीले प्रहरी चौकीमाथिको आक्रमण र सुरक्षाकर्मीको हत्या, सुराकीका नाममा जनप्रतिनिधि र सर्वसाधारणको हत्या, सरकारी सम्पत्तिको तोडफोड र आगजनीजस्ता गतिविधि बढाउँदै लगेका थिए ।

सरकारले माओवादी नेता, कार्यकर्ता र समर्थकहरूमाथि कारबाही तीव्र बनाएको थियो । मुलुकभर कतिबेला कुन ठाउँमा कस्तो घटना होला र कसको मृत्युको खबर आउला भन्ने त्रासले सर्वसाधारणसमेत आतंकित थिए । पश्चिम नेपाल सबैभन्दा धेरै आतंकित थियो । सशस्त्र विद्रोह त्यहीँबाट सुरु भएकाले जीउधनको सुरक्षा एकप्रकारको चुनौतीपूर्ण बन्दै गएको थियो । राज्य र विद्रोहीको मारमा निःशस्त्र सर्वसाधारणले ज्यान गुमाइरहेका थिए । 

सरकारले भने द्वन्द्व व्यवस्थापन गर्न सकेको थिएन । शान्तिसुरक्षा कायम गराउनेभन्दा पनि दमन गरेरै ठिक पार्न सकिने नीति सरकारले लिएको थियो । माओवादीले सरकार मात्र होइन, संसदीय व्यवस्था नै ढालेर राज्यकब्जाको सैद्धान्तिक बाटो अपनाएका बेला सरकारले भने विद्रोह कम गर्ने रणनीतिक उपाय निकाल्न सकेको थिएन । माओवादीले घोषणा गरेरै सरकार होइन, राज्यसत्ता नै कब्जा गर्ने घोषित नीति अघि सारेको थियो ।

आफ्नो नीति सर्वसाधारमा पुर्‍याउन माओवादीले सर्वसाधारणलाई विद्रोहमा लाग्न प्रेरित गरिरहेको थियो । त्यही सिलसिलामा संयुक्त जनमोर्चा नेपाल (बाबुराम भट्टराई) समूहका तत्कालीन उपाध्यक्ष कृष्णबहादुर महराले २०५२ माघ २४ मा सार्वजनिक गरेको वक्तव्यमार्फत ‘महान् ध्वंश र महान् निर्माण’ (माओवादीकै भाषा)मा सहभागी हुन आह्वान गरिएको थियो । उनको वक्तव्यमा भनिएको थियो, ‘सुन्दर भविष्य निर्माणार्थ र आजको कठिन परिस्थितिको सामना गर्ने दह्रो आँट र साहसका साथ महानपथ ‘सहिद अभियान’मा लामबद्ध बनौं ।’

उनको यो वक्तव्यले धेरैभन्दा धेरै मानिसलाई युद्धमा समावेश हुन र आवश्यक परेमा मृत्युको बाटोसमेत रोज्न सकिने ढंगले सर्वसाधारणलाई प्रेरित गरेको बुझ्न सकिन्थ्यो । उनले राज्यविरुद्ध आगोको ज्यालाजस्तै दन्कनुपर्ने भन्दै मुक्ति आन्दोलनले मात्र सुन्दर नेपाल बनाउन सकिने विज्ञप्तिमा उल्लेख गरेका थिए । 

माओवादी पश्चिमाञ्चल व्युरोले दिएको सूचनाअनुसार सशस्त्र विद्रोह सुरु भएको एक वर्षमा पश्चिम नेपालमा मात्र ६१ जनाको हत्या र ९ सय ८३ जना गिरफ्तार गरिएको दाबी गरिएको थियो । व्युरोका अनुसार यस अवधिमा १ सय ८९ जनालाई सरकारले बन्दी बनाएको दाबी गरिएको थियो । माओवादीले सरकारले हत्या गरेका मध्ये २६ जना मात्र आफ्नो संगठनको सदस्य रहेको बताएको थियो ।[Archive] The 'terrible repression' created by the state in the name of controlling the rebellion

प्रत्यक्ष फौजी संगठनमा लागेका ७ जना, राजनीतिक संगठनमा लागेका ६ जना, निर्वाचित जनप्रतिनिधि ४ जना र सहायक संगठनमा लागेका ३ जनाको हत्या भएको दाबी माओवादीले गरेको थियो । युद्धका सामान्य समर्थकहरू ३० जना र शुभचिन्तक ५ जनाको राज्यपक्षले हत्या गरेको तथ्यांक सार्वजनिक गरिएको थियो । माओवादीको पश्चिमाञ्चल व्युरोले सरकारले निहत्था नागरिकलाई अमानवीय र क्रूर यातना दिएको भन्दै कडा निन्दा गरेको थियो । व्युरोले प्रहरीले गरेको दमनको चित्रण गर्दै लुटपाटमा समेत संलग्न भएको विवरण सार्वजनिक गरेको थियो । 

कहाँ र कसरी भयो दमन ? 

माओवादीले सरकारी पक्षले पश्चिममा सञ्चालित युद्धका क्रममा २०५२ मंसिरमा रोल्पा मिरुलको घटनालाई लिएको थियो । मंसिर २ मा भएको उक्त घटनामा स्थानीयलाई घरबाट निकालेर चौकीमा लागेर गोली हानेर ५ जनाको हत्या गरेको माओवादीको दाबी थियो । त्यस्तै मंसिर १८ मा रोल्पाको चैतेलेख चंगैरामा बारीमा काम गरिरहेका र मिरुलप्रजामा गोठमा काम गरिरहेकाहरूलाई गोली हानी हत्या गरेको जानकारी दिइएको थियो । त्यस्तै पुस २८ र माघ ५ मा मिरुलको पाजीमा र थबाङको जंगलमा मुठभेडका नाममा युवक संगठनका पुनबहादुर रोकासहितको हत्या गरिएको भनाइ माओवादीको थियो ।

माओवादीले यसबीचमा मारिएका आफ्ना नेता र कार्यकर्ताको विवरण सार्वजनिक गर्दै डोल्पामा मारिएका दौलतराम घर्ती पार्टीको कमान्डर भएको जानकारी दिएको थियो । त्यतिबेलासम्म मारिएका माओवादीमध्ये घर्ती सबैभन्दा ठूलो पदका थिए । 

अघोषित नजरबन्द र जनसहभागिता 

सरकारले रोल्पा, रुकुम, सल्यानलगायतका जिल्लामा अघोषित नाकाबन्दी गरेको दाबी माओवादीले गरेको थियो । उक्त जिल्लाका विभिन्न गाउँमा सरकारले जंगलीराज चलाएको भन्दै चर्को आलोचना गरिएको थियो । व्यापक धरपकड गरेर नागरिकमा त्रास सिर्जना गरेको भन्दै माओवादीले सरकारी दमनविरुद्ध सर्वसाधारणको जनसहभागिता बढ्दै गएको दाबी गरेको थियो ।

सरकारले रामेछाप, काभ्रे, रोल्पा, सिन्धुलीलगायतका जिल्लामा नक्कली प्रजातन्त्रको नमुना देखाएको दाबी माओवादीले गरेको थियो । उपाध्यक्ष महराले प्रतिक्रियावादी सरकारको भरमा नपरी अधिकारका लागि लड्न आह्वान गर्दै विज्ञप्तिमार्फत न्याय र सत्यको विजय हुने बताएका थिए । उनले हकहित र मुक्तिका लागि ‘जनयुद्ध’को बाटो रोज्न आह्वान गरेका थिए । 

माओवादीले विद्रोहका क्रममा चौकी आक्रमण गरेर प्रहरीको हतियार खोस्ने अभियान नै चलाएको थियो । त्यही हतियारले थप आक्रमण गर्ने रणनीति उनीहरूले बनाएका थिए । सरकारले पश्चिम नेपालका केही स्थानबाट चौकीहरू उठाउन र सार्न थालेको थियो । मुलुकमा सशस्त्र विद्रोह चलिरहेका बेला सरकारविरुद्ध अविश्वास प्रस्ताव र प्रधानमन्त्री परिवर्तनको विषय निरन्तर चलिरहेको थियो । संसदीय व्यवस्थाविरुद्ध माओवादी सशस्त्र विद्रोहमा लागेका बेला सरकारको गतिविधि भने व्यवस्थामाथि नै प्रश्न उठ्ने गरी भइरहेको देखिन्थ्यो । 

सांसद अपहरण, अविश्वास प्रस्ताव असफल बनाउन उपचारका नाममा सांसद तथा मन्त्रीहरूलाई विदेश पठाउने, आर्थिक तथा पदीय प्रलोभन देखाउने, पटक–पटक अविश्वास प्रस्ताव ल्याउनेजस्ता गतिविधि भइरहेको थियो । प्रतिपक्षलाई जसरी पनि सत्तामा जानुपर्ने र सत्तापक्षलाई पदमा टिकिरहनुपर्ने प्रवृत्तिले सरकार बदनाम भइरहेको थियो । त्यही समयमा माओवादी संगठन विस्तारमा मलजल पुगेको थियो ।

माओवादीले चलाएको सशस्त्र विद्रोहमा सरकारी पक्षले गरेको कारबाही, दमन र धरपकडको सन्दर्भमा कान्तिपुर दैनिकले तयार गरेको समाचार ‘जनयुद्ध दबाउन सरकारले हत्या, यातना र लुट मच्चाएको आरोप’ शीर्षकमा २०५३ माघ २५ मा प्रकाशन गरेको थियो । उक्त समाचार माओवादीले आफ्नो पक्षमा दिएको सूचनाका आधारमा तयार गरिएको थियो । 

प्रस्तुतिः ऋषिराम पौड्याल 

कान्तिपुर

Link copied successfully