[अर्काइभ] कोइरालाले देउवालाई सोधेको त्यो प्रश्न- ‘तपाईं कसको निर्देशनमा काम गरिरहनुभएको छ ?’

सरकार बनेको करिब १६ महिनामा दुई पटक आएको अविश्वास प्रस्तावको सामना गर्न देउवालाई साम, दाम, दण्ड, भेद सबै प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । प्रधानमन्त्री जोगाउन राप्रपाका सांसदहरूलाई मन्त्री पद मात्र होइन, रोजेको मन्त्रालय दिनुपर्ने र सबै सांसदलाई मन्त्री बनाउनुपर्ने सर्त मान्नैपर्ने बाध्यतामा थिए, देउवा ।

चैत्र २१, २०८२

कान्तिपुर संवाददाता

[Archive] The question Koirala asked Deuba - 'Under whose direction are you working?'

What you should know

काठमाडौँ — २०५३ पुस ९ मा संसदमा भएको मतदानमा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्धको अविश्वास प्रस्ताव पारित हुन सकेन । तर संसदमा उनको पक्षमा बहुमत पनि देखिएको थिएन । एमालेले दोस्रो पटक राखेको अविश्वासको पक्षमा १ सय १ मत परेको थियो भने सरकारको समर्थनमा ८४ प्राप्त भएको थियो । सत्तापक्षका १४ जना सांसद अनुपस्थित भएका थिए । सरकार ढाल्न १ सय ३ मत चाहिन्थ्यो । त्यसैले नैतिकताका आधारमा देउवाले राजिनामा दिनुपर्ने वा संसदबाट विश्वासको मत लिनुपर्ने दबाब बढेको थियो ।

प्रमुख प्रतिपक्षी दल एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको एउटा खेमाले देउवाले कि त संसदमा बहुमत देखाउनु पर्ने कि राजिनामा दिनुपर्ने भन्दै त्यसका लागि सडक संघर्ष गर्ने चेतावनी दिएको थियो । त्यसैले देउवालाई विश्वासको मत लिन राप्रपाका सांसदहरूमध्ये धेरै जनालाई आफ्नो समर्थनमा ल्याउनुपर्ने बाध्यता थियो । अविश्वास प्रस्तावमा मतदान हुने दिन राप्रपासहित ५ जना मन्त्रीलाई उपचारको नाममा बैंकक पठाइएको, दुई जनालाई गृहमन्त्री खुमबहादुर खड्काले अपहरण गरेको र केहीलाई भारत पठाइएको आरोप थियो ।

सरकार बनेको करिब १६ महिनामा दुई पटक आएको अविश्वास प्रस्तावको सामना गर्न देउवालाई साम, दाम, दण्ड, भेद सबै प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । प्रधानमन्त्री जोगाउन राप्रपाका सांसदहरूलाई मन्त्री पद मात्र होइन, रोजेको मन्त्रालय दिनुपर्ने र सबै सांसदलाई मन्त्री बनाउनुपर्ने सर्त मान्नैपर्ने बाध्यतामा थिए, देउवा । त्यसैले उनले २०५३ पुस २४ मा मन्त्रिमण्डल पुनर्गठन गरेर अविश्वासको पक्षमा लागेका राप्रपाका सांसदहरूलाई पुनः मन्त्री बनाएका थिए । 

अविश्वासको पक्षमा लागेका राप्रपा संसदीय दलका नेता लोकेन्द्रबहादुर चन्द पक्षका कमल थापासहितलाई मन्त्री बनाएर आफूतिर तानेका थिए । उनले २०५३ पुस २१ मा वक्तव्य प्रकाशित गरेर राजनीतिक स्थिरताका लागि सरकारलाई सहयोग गर्न राप्रपासहितका दलहरूलाई आह्वान गरेका थिए । त्यही आह्वानलाई आधार मानेर चन्द पक्षका राप्रपा सांसदहरूले देउवाको समर्थनमा लाग्ने भन्दै वक्तव्य निकालेका थिए । आफ्नो सरकारले विश्वासको मत पाउने अपेक्षमा देउवाले राप्रपा सांसदहरूलाई खुसी पार्ने गरी मन्त्री बनाएका थिए । देउवाले मन्त्रिमण्डल पुनर्गठन गरेको विषयमा कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र नेता कृष्णप्रसाद भट्टराईलाई जानकारी थिएन । यसले पार्टीभित्र निकै खैलाबैला भएको थियो ।[Archive] The question Koirala asked Deuba - 'Under whose direction are you working?'

कोइरालाले मन्त्रिमण्डल पुनर्गठन गरेको जानकारी पार्टी कार्यकर्ताबाट पाएका थिए । देउवाले पार्टीलाई बेवास्ता गरेको भन्दै कोइराला निकै आक्रोशित भएका थिए । गृहनगर विराटनगर पुगेका कोइरालाले टेलिफोनमा देउवालाई आक्रोशित हुँदै सोधेका थिए, ‘मन्त्रिमण्डल पुनर्गठन भएको कुरा पहिले पार्टी कार्यकर्तालाई थाहा हुन्छ कि सभापतिलाई ?’ उनले फोनमा पुनः प्रश्न गरेका थिए, ‘पार्टी सभापति तपाईं कि म ?’ नेपाल विद्यार्थी संघको महाधिवेशन उद्घाटनका क्रममा विराटनगर पुगेका कोइरालाले देउवालाई प्रश्न गरेका थिए, ‘तपाईं कसको निर्देशनमा काम गरिरहनुभएको छ ?’ कोइरालाले देउवालाई ‘ज–जसलाई मन्त्री बनाइएको छ, उनीहरूप्रति आफ्नो समर्थन नभएको’ पनि बताएका थिए । उनले मन्त्रिमण्डल पुनर्गठनलाई दुर्भाग्य भनेका थिए । 

देउवामाथि कांग्रेस सक्न खोजेको आरोप 

कांग्रेस उपसभापति शैलजा आचार्यले मन्त्रिमण्डल पुनर्गठनलाई लिएर तीव्र आक्रोश पोखेकी थिइन् । उनले देउवालाई कांग्रेस समाप्त गर्न खोजेको आरोप लगाएकी थिइन् । काठमाडौंमा उनले भनेकी थिइन्, ‘प्रधानमन्त्रीको कदम दुर्भाग्यपूर्ण ।’ उनले प्रधानमन्त्री देउवाले गरेको निर्णय दुर्भाग्यपूर्ण हुँदै हो, यसको परिणाम अझ दुर्भाग्यपूर्ण हुनेछ ।’ उनले देउवालाई ‘तपाईं आफैं पनि आत्महत्या गर्दै हुनुहुन्छ र सँगसँगै पार्टीलाई समाप्त पार्ने तत्त्वबाट प्रेरित भइरहनुभएको छ’ भनेकी थिइन् । आफूले देउवाको राजिनामा मागेको प्रसंग जोड्दै आचार्यले त्यो नभएकाले अहिले यो अवस्था आएको भन्दै आक्रोश पोखेकी थिइन् । देउवा र आचार्य समकालीन हुन् ।

२०५१ को मध्यावधि निर्वाचनपछि आचार्य संसदीय दलको नेता हुन चाहन्थिन् । उनले दलको नेता चुनिन मनोनयन दर्ता पनि गरेकी थिइन् । तर अन्तिममा दलको नेतामा आकांक्षा राख्ने सबैलाई मनोनयनपत्र फिर्ता लिन लगाइएको थियो । देउवालाई सर्वसम्मत रूपमा दलको नेता घोषणा गरिएको थियो । त्यतिबेलाका जानकारहरूका अनुसार शैलजालाई गिरिजाप्रसाद र कृष्णप्रसादले नै मनोनयनपत्र फिर्ता लिन दबाब दिएका थिए । दबाबपछि शैलजाले आँशु झारेर मनोनयन फिर्ता लिएको प्रत्यक्षदर्शीहरूले बताउने गरेका छन् । २०४८ मा गृहमन्त्री भएका देउवा संसदीय दलको नेता भएदेखि पार्टीमा बलियो बन्दै गएका थिए । त्यही जगबाटै उनी पाँचपटक प्रधानमन्त्री र दुईपटक सभापति भएका थिए ।

कांग्रेसको आस्थामा आँच

 कांग्रेसमा तत्कालीन दुई महामन्त्री सुशील कोइराला र तारानाथ रानाभाटले मन्त्रिमण्डल पुनर्गठनप्रति असन्तुष्टि जनाएका थिए । उनीहरूले विज्ञप्ति नै निकालेर मन्त्रिमण्डलमा समावेश भएको नामबाट आफूहरू स्तब्ध भएको बताएका थिए । संयुक्त सरकारलाई संकटमा पार्ने व्यक्तिहरू नै मन्त्रिमण्डलमा समावेश गरिएको भनाइ उनीहरूको थियो । उनीहरूले दुई महामन्त्रीले देउवालाई भेटेर पार्टीको धारणा अवगत गराएको चौविस घण्टा नबित्दै मन्त्रिमण्डल पुनर्गठन गरेको बताएका थिए । उनीहरूले विज्ञप्तिमा राप्रपाका केही सांसदहरूको क्रियाकलापले प्रजातन्त्र, बहुदलीय व्यवस्था र संसदीय अभ्यासका आदर्श, मर्म, शैली र मूल्य मान्यतामा गम्भीर प्रहार भएको उल्लेख गरेका थिए ।

विषम परिस्थितिमा कांग्रेसले मुकदर्शक नभएर सम्मानजनक बाटो खोज्नुपर्ने विज्ञप्तिमा उल्लेख थियो । अपवित्र गठबन्धले सत्तास्वार्थको भोक मेटिए पनि बहुदलीय व्यवस्था, संसदीय प्रणाली र प्रजातन्त्रको सर्वमान्य सिद्धान्त मात्र होइन, कांग्रेसको आस्था र अडानमा गम्भीर आँच आउने विज्ञप्तिमा उल्लेख थियो । कांग्रेस सांसद ध्रुव शर्माले राप्रपाका ‘अनैतिक’ सांसदलाई मन्त्री बनाउन नहुने बताउँदै आएका थिए । कांग्रेस सांसद जयप्रकाश गुप्ताले हिउँदे अधिवेशनमा देउवाविरुद्ध आउने अविश्वास प्रस्तावका बेला आफूहरूले उक्त प्रस्तावलाई कुनै पनि निर्णायक मोडमा पुर्‍याइदिने चेतावनी दिएका थिए । देउवाले कांग्रेसलाई सत्ताको दास बनाएको भनाइ उनको थियो । कांग्रेस सांसद कृष्णप्रसाद गौतमले प्रधानमन्त्रीको कदमले स्तब्ध भएको बताएका थिए । सांसद होमनाथ दाहालले हामी व्यावहारिक भन्दा पनि असरवादी त भएनौं भन्दै प्रश्न गरेका थिए । 

पशुपतिशमशेरको ससुरालीमा खोभारी

अविश्वास प्रस्तावको विपक्षमा मतदान गराउन राप्रपा सांसद खोभारी रायलाई राप्रपा महामन्त्री तथा जलस्रोतमन्त्री पशुपतिशमशेर राणाको ससुराली भारतको दिल्लीमा राखेको रहस्य खुलेको थियो । खोभारीले भने छोराको उपचारका लागि दिल्ली गएका बेला जबरजस्ती दिल्लीको पशुपतिको सुसुरालीमा घेराबन्दीमा राखेको बताएका थिए । 

उनी अविश्वास प्रस्तावमाथि मतदान हुने केही दिनअघि मात्र नेपाल आएका थिए । खोभारीलाई मन्त्री राणाको निर्देशनमा सासु राजमाता (भारतीय जनता पार्टीकी उपाध्यक्ष विजयराजे सिन्धिया)कहाँ राखिएको थियो । आफूलाइ ज्वाइँसरह सम्मान गरेर राखेको भए पनि सुरक्षा व्यवस्था निकै कडा रहेको बताएका थिए । उनले नेपाल फर्केर अविश्वास प्रस्तावको पक्षमा मतदान गरेका थिए । तर सरकार नढलेपछि कमल थापासँगै सरकारको समर्थनमा फेरि वक्तव्य दिएर मन्त्री हुने चाहना राखेका थिए । तर पुनर्गठित मन्त्रिमण्डलमा नपरेपछि रायले आक्रोश पोख्दै पशुपतिशमशेरले धोका दिएको बताएका थिए ।[Archive] The question Koirala asked Deuba - 'Under whose direction are you working?'

मन्त्रीमा निरन्तरता नभएपछि रायले ‘ममाथि षड्यन्त्र गरियो, बर्बाद पारियो, यसको बदला लिन्छु’ भन्दै आक्रोश पोखेका थिए । चन्द समूहका खोभारी अविश्वास प्रस्ताव दर्ता भएको केही दिनदेखि बेपत्ता थिए । एमाले र राप्रपाले भने खोभारीलाई सत्तापक्षले अपहरण गरेको आरोप लगाएको थियो । खोभारीले हिचकिचाहटपूर्वक भनेका थिए, ‘म आफ्नै कामले बाहिर गरेको थिएँ, कसैले अपहरण गरेको होइन ।’ 

मन्त्रिमण्डलमा नपरेपछि उनले आक्रोशित भएर भनेका थिए, ‘मन्त्री पदको लोभ कसलाई छैन ? कमिसन खाने दाउमा को छैन ? मैले पनि मध्यावधि निर्वाचन नचाहेर सरकारको पक्षमा वक्तव्य दिएँ । तर पशुपतिशमशेरले मलाई धोका दिनुभयो ।’ उनले आफू दिल्लीमा रहेका बेला पशुपतिलाई फोन गरेर सबै कुरा जानकारी गराएको बताएका थिए । फोनपछि पशुपति आफैं दिल्ली गएका थिए । खोभारीको भनाइमा पशुपति दिल्ली गएपछि राती ३ बजे अघिअघि दुईवटा गाडी र पछिपछि दुईवटा गाडीसहित ग्वालियरस्थित राजमाताकै दरबारमा पुर्‍याइएको थियो । उनले आफूलाई सबैथोक सुविधा दिए पनि सुरक्षा कडा थियो भन्दै भागेर काठमाडौं आएको बताएका थिए । उनले भारतबाट चन्द पक्षका सांसद दीपक बोहरालाई फोन गरेर उतै बोलाएका थिए । राजमाताको घरको गार्डलाई पैसा खुवाएर फोन गरेको दाबी पनि खोभारीले गरेका थिए ।

बोहराले उनलाई दिल्लीबाट झाँसी, गोरखपुर हुँदै भैरहवा पुर्‍याइएका थिए । भैरहवामा प्रहरी तैनाथ थियो । त्यतिबेला खोभारीलाई काठमाडौं ल्याउन एमाले र राप्रपाले बोहरालाई ३५ लाख दिएको चर्चा थियो । खोभारीलाई प्रधानमन्त्री क्वाटर बालुवाटार लैजान प्रहरी तैनाथ गरिएको भनिए पनि भैरहवामा केही घन्टा बसेर हेलिकप्टरबाट काठमाडौं आएको खोभारीले जानकारी दिएका थिए । काठमाडौं एयरपोर्टमा कमल थापा र राजीव पराजुली खोभारी लिन गएका थिए । मन्त्री नभएपछि खोभारीले पशुपतिलाई फोन गरेर आफूलाई धोका दिएको बताएका थिए । पशुपतिले उनलाई ‘तिमीले धोका दिएकाले आफूले पनि यस्तै गर्नुपरेको’ जवाफ दिएका थिए । खोभारीले भनेका थिए, ‘पशुपतिको कुरा सुनेर आफूलाई मन्त्री नबनाएको हो । अब म मुख खोल्छु । पशुपतिको इज्जत राख्न चुप बसेको हुँ ।’ 

नेपाली कांग्रेसमा देउवाविरुद्धको आवाज, सत्ता प्राप्तिका लागि भएका सांसद अपहरण र राजनीतिमा देखिएको नैतिकताको प्रश्नलगायतका सन्दर्भहरू समेटेर तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५३ पुस २५ मा ‘मन्त्रिपरिषद्को पुनर्गठनप्रति कांग्रेस स्तब्ध’ शीर्षकमा प्रकाशन गरेको थियो । साथै सोही दिन राप्रपा सांसद खोभारी कसरी अपहरणमा परे ? सत्ता टिकाउन कस्ता कस्ता प्रपञ्च रचिएको थियो ? राज्य स्रोतको दुरुपयोग कसरी गरिएको थियो, त्यसको उजागर हुने गरी कान्तिपुरले प्रकाशन गरेको अर्को समाचारको शीर्षक थियो, ‘मलाई अपहरण गरिएको थियोः खोभारी ।’ 

प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully