[अर्काइभ] ‘भविष्य नभएको कांग्रेस’लाई धुलो चटाउने एमालेको त्यो उद्घोष...

आन्तरिक र पार्टी-पार्टीबीचको द्वन्द्व बढ्दै गएको पृष्ठभूमिमा काठमाडौंको बानेश्वरमा २०५३ पुस १२ मा आयोजित उपनिर्वाचनको उम्मेदवार घोषणा सभामा एमाले नेताहरूले कांग्रेसको भविष्यमाथि कडा टिप्पणी गरेका थिए ।

चैत्र २०, २०८२

कान्तिपुर संवाददाता

[Archive] UML's declaration that casts doubt on 'Congress without a future'...

What you should know

काठमाडौँ — शेरबहादुर देउवाविरुद्धको अविश्वास प्रस्ताव दोस्रो पटक असफल भएपछि एमाले र कांग्रेसबीचको दूरी झन्झन् बढ्दै गएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाउने सर्तमा एमालेको अगुवाइमा राखेको अविश्वास प्रस्ताव २०५३ पुस ९ मा संसदबाट असफल भएको थियो । 

देउवा सरकार ढाल्न नसकेकामा एमाले–राप्रपा निकै आक्रोशित थिए । एमालेले संसद‍्बाट नसके पनि आन्दोलन गरेर सडकबाटै देउवा सरकार ढाल्ने उद्घोष गरेको थियो । अविश्वास प्रस्तावले राप्रपाभित्र भने निकै ठूलो द्वन्द्व चर्केको थियो । देउवा नेतृत्वमा सत्तामा बसेर आफ्नै सरकारविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको राप्रपा फुटको संघारमा पुगेको थियो । 

आन्तरिक र पार्टी-पार्टीबीचको द्वन्द्व बढ्दै गएको पृष्ठभूमिमा काठमाडौंको बानेश्वरमा २०५३ पुस १२ मा आयोजित उपनिर्वाचनको उम्मेदवार घोषणा सभामा एमाले नेताहरूले कांग्रेसको भविष्यमाथि कडा टिप्पणी गरेका थिए । सभामा एमाले अध्यक्ष मनमोहन अधिकारीले आक्रामक शैलीमा भनेका थिए, ‘महाभारतबाट कृष्णको कूटनीति सिक्यौं, कांग्रेसलाई धुलो चटाउन राप्रपालाई अस्त्रका रूपमा प्रयोग गर्‍यौं ।’ उनले अविश्वास प्रस्ताव ल्याउँदा राप्रपालाई कांग्रेसविरुद्धको अस्त्रका रूपमा प्रयोग गरेको खुलासा गरेका थिए ।

संसद‍्मा २० सिट जितेको राप्रपाको समर्थनबिना कांग्रेस, एमाले कसैको पनि सरकार बन्ने अवस्था थिएन । त्यसैले २०५२ भदौ २६ मा कांग्रेसले आफ्नो नौ महिने सरकार ढालेको बदला लिन एमालेले राप्रपालाई प्रधानमन्त्री बनाउने आश्वासन दिएको खुलासा उक्त चुनावी सभामा गरिएको थियो । सभामा अधिकारीले अविश्वास प्रस्तावको झटारोले सरकार पक्षको मत १ सय ७ बाट घटेर ८४ मा झरेको बताएका थिए । एमालेको बुझाइमा सरकारले सांसद अपहरण गरेर संख्या पुग्न दिएको थिएन । त्यसैले नेताहरू कांग्रेसमाथि खनिएका थिए । सालिन स्वभावका अधिकारीले समेत उक्त सभामा निकै आक्रोशित भएर मन्तव्य राखेका थिए । [Archive] UML's declaration that casts doubt on 'Congress without a future'...

अधिकारीले हिउँदे अधिवेशनसम्म आफ्नो सरकार बन्ने दाबी गर्दै त्यतिबेलासम्म कुर्न आग्रह गरेका थिए । उनले सभामा भनेका थिए, ‘हाम्रो नेतृत्वमा सरकार बनेपछि कसलाई मित्र बनाउँला, कसलाई कुन पद दिउँला त्यसबेला थाहा होला ।’ उनले सर्वोच्च अदालतप्रति व्यंग्य गर्दै अधिकारीको पखेटा काट्न स्थापित गरेको नजिरले अहिले कांग्रेसको पखेटा काट्नेछ । नौ महिने सरकार ढाल्ने समयमा आफूले गरेको मध्यावधि निर्वाचनको सिफारिस कार्यान्वयन नभएको प्रति इंगित गर्दै अधिकारीले उक्त प्रसंग उठाएका थिए । 

२०५२ भदौ १२ मा सर्वोच्चले गरेको फैसलामा सकेसम्म संसद‍्भित्रैबाटै सरकार बन्नुपर्ने उल्लेख गरेको थियो । त्यही विषय जोडेर अधिकारीले देउवाले मध्यावधि निर्वाचन गराउन अदालतले छेक्ने तर्क गरेका हुन् । तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायले गरेको फैसलालाई मनमोहनले आफ्नो पखेटा काटेको संज्ञा दिएका थिए । देउवाले मध्यावधि घोषणा गरेमा विगतको फैसला नजिर हुने तर्क अधिकारीको थियो । त्यसैमा टेकेर अधिकारीले देउवाले मध्यावधि निर्वाचन गर्न खोजे सडक तताएर आफ्नो सरकार बनाउने दाबी गरेका हुन् । 

कांग्रेसको इतिहास छ, भविष्य छैन 

उपनिर्वाचनका सिलसिलामा एमाले उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै एमाले सांसद विद्यादेवी भण्डारीले कांग्रेसको इतिहास जे भए पनि त्यसको अब कुनै भविष्य नभएको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘देशको जिम्मेवारी एमालेको काँधमा आएको छ । राप्रपाको न त इतिहास छ, न भविष्य नै छ ।’

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा हुन लागेको उपनिर्वाचन सभामा उनले २०४६ सालअघि सत्तामा रहेका तत्त्वहरू फेरि सत्ता ओगट्ने प्रयास गरिरहेको भन्दै यसले प्रजातन्त्रप्रति निराशा र कुण्ठा पैदा गराएको बताएकी थिइन् । उनले पूर्वपञ्चहरूको पार्टी राप्रपालाई इंगित गरेर उक्त विचार राखेकी थिइन् । उक्त क्षेत्रबाट जितेकी विद्याले राजिनामा दिएपछि एमालेले नारायण ढकाललाई उम्मेदवार बनाएको थियो ।

एमालेका तत्कालीन महासचिवले २०४८ को संसदीय निर्वाचन उक्त क्षेत्रबाट जितेका थिए । अन्तरिम सरकारका प्रधानमन्त्री तथा कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईलाई मदन भण्डारीले पराजित गरेका थिए । मदनको दासढुंगा दुर्घटनामा २०५० जेठमा मृत्युको थियो । उपनिर्वाचनमा विद्याले जितेकी थिइन् । २०५१ को मध्यावधि निर्वाचनमा मनमोहनले काठमाडौं ३ र १ बाट जितेका थिए । उनले १ बाट राजिनामा दिएपछि उपनिर्वाचनमा ढकाल उम्मेदवार बनेका थिए । भण्डारीले जितेको र भट्टराईले हारेको उक्त क्षेत्र त्यतिबेला निकै चर्चामा थियो । 

उक्त सभामा एमाले सांसद तथा केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठले भने अधिकारीको वक्तव्यको खण्डन गर्दै मध्यावधि निर्वाचन ‘फेस’ गर्न तयार भएको बताएका थिए । उनले मन्त्री र सांसदहरू अपहरण गरेर सत्ता टिकाएको भन्दै गृहमन्त्री खुमबहादुर खड्काको राजिनामा मागेका थिए । उनले भनेका थिए, ‘कांग्रेसीहरू अहिले वडा/वडामा डोजर पुर्‍याइरहेका छन्, गोठाटारमा पनि डोजर पुग्दैछ । यो खसी–बाख्रालाई घाँस खुवाएजस्तै हो ।’ उम्मेदवार ढकालले कांग्रेसले नेपाली राजनीतिलाई बिहारीशैलीमा परिणत गराएको आरोप लगाएका थिए । उनले अल्पमतको सरकारले बहुमतमाथि शासन गरिरहेको बताएका थिए । 

देउवाविरुद्धको अविश्वास प्रस्ताव विफल भएपछि एमाले अध्यक्ष अधिकारीसहितका नेताहरूले कांग्रेसप्रति राखेको धारणा र सत्ता प्राप्तिका लागि राप्रपालाई प्रयोग गरेको सन्दर्भमा केन्द्रित भएर तयार गरेको समाचार कान्तिपुर दैनिकले ‘कांग्रेसलाई धुलो चटाउन राप्रपालाई अस्त्रका रूपमा प्रयोग गरेका हौःं अधिकारी’ शीर्षकमा २०५३ पुस १३ मा प्रकाशन गरेको थियो । सोही दिन कान्तिपुरले चुनावी सभामा भेला भएका स्थानीय र एमाले उम्मेदवार ढकालले भाषण गरेको फोटो पनि प्रकाशित गरेको थियो । उक्त फोटो पत्रकार केदार ओझाले खिचेका थिए । 

प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully