[अर्काइभ] माधव नेपाललाई महासचिवबाट हटाउन खोजेपछि...

पार्टीका केन्द्रीय सदस्य प्रदीप नेपालले भने वामदेव गौतम पक्षको प्रतिरक्षास्वरूप २०५३ माघ २८ को केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी भंग गर्ने प्रस्ताव राखेका थिए । स्थायी कमिटी विघटन गर्ने प्रस्तावमा छलफल हुन नदिएमा उक्त प्रस्तावलाई पत्रिकामार्फत सार्वजनिक गर्ने धम्की नेपालले दिएको स्रोतले जानकारी दिएको थियो ।

चैत्र २५, २०८२

कान्तिपुर संवाददाता

[Archive] After trying to remove Madhav Nepal as Secretary General...

What you should know

काठमाडौँ — २०५३ असोज ४ गते राती पौने ९ बजे महाकाली सन्धि पारित भएको थियो । सन्धि पारित गर्ने क्रममा एमालेको आन्तरिक कलह उचाइमा पुगेको थियो । सन्धिको विपक्षमा एमालेका २६ जना सांसद उभिएका थिए । सन्धि पारित गर्ने र नगर्ने अडानले रातीसम्म निकै ठूलो विवाद चलेको थियो । अन्ततः एमालेले आफ्ना सबै सांसदहरूलाई सन्धिको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । तर ती २६ जना सांसदले ह्वीप उल्लंघन गरेर मतदानमा भाग लिएनन् । सन्धि अनमोदनका क्रममा एमालेसहित ८ जना सांसदले विपक्षमा मत जाहेर गरेका थिए । 

सन्धिका बेला भएको मनमुटाव एमालेवृत्तमा झाँगिँदै गएको थियो । अन्ततः सन्धिविरोधी नेताहरू वामदेव गौतम, राधाकृष्ण मैनाली, सीपी मैनाली, सहाना प्रधान, त्रिलोचन ढकालसहितका नेताहरूले माधव नेपाललाई महासचिव पदबाट हटाउने कसरतमा लागेका थिए । महासचिव नेपाल महाकाली सन्धि पारित गराउने पक्षमा थिए । त्यसैले गौतमसहितका नेताहरू महासचिवलाई हटाउने गरी भित्री रणनीति बनाउन थालेका थिए । सार्वजनिक रूपमा भने उनीहरूले भनेका थिएनन् । 

केन्द्रीय कमिटी बैठकमा एजेन्डामाथि छलफल हुन थालेपछि महासचिवको विषय उठाउने सहमति भएको गौतम पक्षका नेताहरूले बताएका थिए । महाकाली सन्धिको अनुमोदनपछि एमाले नेताहरू सन्धि पक्षधर र विरोधीका रूपमा विभाजित भएर नेतृत्व परिवर्तनको अभ्यासको चरणमा पुगेका थिए । प्रत्यक्ष रूपमा महाकाली सन्धिको कुरा नउठाएर सामूहिक नेतृत्वको भावना अनुसार काम नगरेको बहाना बनाएर नेपाललाई महासचिवबाट हटाउने रणनीति पूर्वउपमहासचिव गौतम पक्षले बनाएका थिए । २०५० जेठमा तत्कालीन महासचिव मदनकुमार भण्डारीको दासढुंगा दुर्घटनामा निधन भएपछि केन्द्रीय कमिटीको निर्णयअनुसार नेपाललाई महासचिव बनाइएको थियो । तत्कालीन अवस्थामा केन्द्रीय समितिको निर्णयबाट हटाउन सकिने प्रस्तावको तयारी गरिएको थियो । नेपाल पक्षले भने महासचिव हटाउने प्रस्ताव पारित हुने बहुमत गौतमसँग नभएको दाबी गरेको थियो । 

पार्टीका केन्द्रीय सदस्य प्रदीप नेपालले भने गौतम पक्षको प्रतिरक्षास्वरूप २०५३ माघ २८ को केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी भंग गर्ने प्रस्ताव राखेका थिए । स्थायी कमिटी विघटन गर्ने प्रस्तावमा छलफल हुन नदिएमा उक्त प्रस्तावलाई पत्रिकामार्फत सार्वजनिक गर्ने धम्की नेपालले दिएको स्रोतले जानकारी दिएको थियो ।

तर एकाथरीले भने महाकाली सन्धि पारित गराउने समयमा पार्टी ह्वीप उल्लंघन गरेको अभियोगमा कारबाही हुने चिन्ताले गौतम पक्षले महासचिव हटाउने प्रस्ताव ल्याउन खोजेको बताएका थिए । आफूमाथिको कारबाहीबाट जोगिन गौतमले बार्गेनिङको रूपमा यस्तो प्रस्ताव ल्याएको हुन सक्ने दाबी महासचिव नेपाल पक्षका नेताहरूको थियो । एमालेले सन्धिको विपक्षमा बोल्ने र पार्टी ह्वीप उल्लघंन गर्ने २६ जनालाई स्पष्टीकरण सोधेको थियो । 

महासचिव नेपालसँग एमाले अध्यक्ष मनमोहन अधिकारी पनि असन्तुष्ट थिए । किनभने, केन्द्रीय कमिटीको ३० औं बैठकको निर्णय पार्टीका कार्यकर्ताहरूका लागि अन्तरपार्टी निर्देशन गर्दा निर्णयभन्दा फरक बेहोराको पत्राचार गरेकोप्रति अधिकारी असन्तुष्ट थिए । अधिकारीले केही समयअघि भएको उपनिर्वाचनमा एमालेप्रति मुलुकभर लहर देखिएका बेला देशी/विदेशी प्रतिक्रियावादी तत्त्व सक्रिय रहेको बताउने गरेका थिए । पार्टीका नेताहरू आन्तरिक खिचातानीमा लागेका बेला अधिकारीले यस्तो धारणा राखेका थिए ।

पाँच दिनसम्म स्थायी कमिटीको बैठक बसेर पनि केन्द्रीय कमिटीको बैठकमा नेताहरू बिनातयारी प्रस्तुत भएका थिए । बैठक तनावको स्थितिमा सञ्चालन भएको नेताहरूले बताएका थिए । विवादकै कारण महासचिव नेपालले प्रतिवेदन पेस गरेका थिएनन् । प्रतिवेदन स्थायी कमिटीले गरेको निर्णयअनुसार तयार गर्नुपर्ने थियो । तर नेताहरूबीच सहमति हुन नसक्दा प्रतिवेदन तयारी गर्ने परिस्थिति नै नबनेको महासचिव नेपाल निकट नेताहरूले जानकारी दिएका थिए । 

बैठकमा उपनिर्वाचनमा बैतडीमा कांग्रेस हराएर राप्रपालाई जिताउने भनेको आन्तरिक निर्णय कार्यान्वयन नभएकामा छलफल भएको थियो । उक्त स्थानमा कांग्रेसले जितेका कारण राप्रपालाई जिताउने निर्णय उल्लंघन भएको घटना छानबिन गर्न अमृत बोहरालाई तोक्ने निर्णय बैठकले गरेको थियो । बैतडीका एक विद्यार्थी नेताले एमालेले चुनाव जित्न सक्ने बताएका कारण नेता केपी शर्मा ओलीले एमालेको पक्षमा मत माग्न अह्राएका थिए । बैतडीमा राप्रपालाई सघाउन नहुने धारणा ओली र प्रदीप नेपालले राखेका थिए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई हटाएर राप्रपाका लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाउने खेल भइरहेको थियो । त्यसका लागि एमालेले राप्रपासँगको सम्बन्ध सुधार्न बैतडीमा राप्रपा उम्मेदवारलाई सघाउने निर्णय गरेको थियो । तर त्यो कार्यान्वयन हुन सकेन । 

एमाले केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठले उपनिर्वाचनका बेला जनवर्गीय संगठनमा फेरबदल गरेर आतंक मच्चाएको बताएका थिए । अर्का केन्द्रीय सदस्य प्रेमसिंह धामीले आफूविरुद्ध पार्टी निकट पत्रिकामा लगातार समाचार दिएको भन्दै रिसाएका थिए । बैठकमा स्थायी कमिटी सदस्यहरू मैनाली दाजुभाइ, गौतम, झलनाथ खनाल तथा केन्द्रीय सदस्यहरू मुकुन्द न्यौपाने, केशव बडाल, कमल चौलागाईं, मोदनाथ प्रश्रित, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, अशोक राई, जितेन्द्र देवलगायतका नेताहरूले बोलेका थिए ।

एमालेमा महाकाली सन्धिका कारण नेताहरूमा देखिएको विभाजित मनस्थितिबाट उत्पन्न परिस्थिति, महासचिव नेपाल हटाउने रणनीतिलगायतका विषयमा केन्द्रित भएर पत्रकार गुणराज लुर्इंटेलले तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५३ माघ २९ मा प्रकाशन गरेको थियो । उक्त समाचार ‘एमाले केन्द्रीय कमिटीको बैठकः महासचिवलाई हटाउने प्रस्ताव, स्थायी कमिटी विघटन गर्ने प्रस्ताव’ शीर्षकमा प्रकाशित छ ।

प्रस्ततिः ऋषिराम पौड्याल 

कान्तिपुर

Link copied successfully