[अर्काइभ] जब स्थानीयले अरुण आयोजनाको भविष्य खोजे...

तत्कालीन जलस्रोत मन्त्री हरि पाण्डेले अमेरिकाको भ्रमण गरेर अरुणको लागत घटाउन लबिइङसमेत गरेका थिए । वातावरण बिग्रने, हिमताल फुट्ने, बैंकको ऋण राष्ट्रहितमा नभएको, स्थानीयको जीवनस्तर उठाउन अरुणले सहयोग नगर्ने जस्ता विषय बारम्बार उठ्दै आएका थिए ।

मंसिर १७, २०८२

कान्तिपुर संवाददाता

[Archive] When locals explored the future of the Arun Project...

What you should know

काठमाडौँ — पञ्चायतकालका पशुपतिशमशेर राणादेखि बहुदलपछिको अन्तरिम शासन, कांग्रेस शासन र एमाले सरकारको जलस्रोतमन्त्री प्रदीप नेपालसम्मले अरुण चाहिँदैन भनेका थिएनन् । तर अरुणको लगानी जुटाएर निर्माण अघि बढाउन पनि सकेका थिएनन् ।

प्रदीप नेपाल अरुणको फाइल हेर्ने सातौं जलस्रोत मन्त्री थिए । स्थानीय प्रभावितले पनि भन्न थालेका थिए, ‘हामीलाई योजना आउने/नआउने निधो चाहियो । खासमा हामीलाई मोटरबाटो चाहिएको छ ।’

प्रतिपक्षमा रहेका बेला एमालेसहितका वामपन्थी दलहरू, राष्ट्रिय/अन्तर्राष्ट्रिय संघसंस्थाहरूले अरुणको बाटो बनाउँदा वातावरण बिग्रने आवाज सबैभन्दा धेरै उठाएका थिए । त्यसैले स्थानीयले बसन्तपुर–खाँदवारी बाटो बनाउँदा वातावरण नबिग्रने तर अरुणको बाटो बनाउँदा मात्र बिग्रने किन भन्ने प्रश्न पनि उठाउन थालेका थिए ।

दुई चरणमा गरेर ४ सय २ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य ऋणदाता विश्व बैंक थियो । विश्व बैंकको ऋणको पनि नेपालमा विरोध भइरहेको थियो । २०४६ को परिवर्तनपछि विद्युत् उत्पादनमा निजी क्षेत्रको लगानी भित्र्याउने नीति सरकारले ल्याएको थियो । तर कांग्रेसले सरकारको नेतृत्व गरेका बेला अरुण आयोजना बनाउने सन्दर्भमा प्रमुख प्रतिपक्षी दल एमाले र एनीजीओ/आईएनजीओले सडकदेखि सदनसम्म विरोध जनाएका कारण विश्व बैंकसमेत ऋण लगानी गर्ने कि नगर्ने दोधारमा परेको थियो । 

पटक–पटकको छलफल र विश्व बैंकका अधिकारीहरूको नेपाल भ्रमण बाक्लै भए पनि निर्णय हुन सकेको थिएन । विश्व बैंकको निरीक्षण टोली अरुणको अनुसन्धान गर्न २०५२ जेठ १४ मा काठमाडौं आउने भएपछि अघिल्लो दिन काठमाडौंमा छलफलको आयोजना गरेर स्थानीय, अरुण विरोधी अभियन्ता र सरोकारवालाले आ–आफ्नो धारणा सार्वजनिक गरेका थिए ।[Archive] When locals explored the future of the Arun Project...

अरुणविरोधी अभियन्ताका रूपमा चिनिएका अन्तर्राष्ट्रिय मानव अधिकार, वातावरण तथा विकास प्रतिष्ठान (इन्हुरेड इन्टरनेसनल) का गोपाल सिवाकोटी चिन्तनले अरुणको विषय पारदर्शी नभएको भन्दै विरोध जनाइरहेका थिए । उनले भनेका थिए, ‘एमाले प्रतिपक्षमा रहँदा पारदर्शीको कुरा गर्थ्यो तर उसको शैली पनि हिजो (कांग्रेस सरकार) को जस्तै देखिएको छ ।’

तत्कालीन जलस्रोत मन्त्री हरि पाण्डेले अमेरिकाको भ्रमण गरेर अरुणको लागत घटाउन लबिइङसमेत गरेका थिए । वातावरण बिग्रने, हिमताल फुट्ने, बैंकको ऋण राष्ट्रहितमा नभएको, स्थानीयको जीवनस्तर उठाउन अरुणले सहयोग नगर्ने जस्ता विषय बारम्बार उठ्दै आएका थिए । 

उता अमेरिकी सहयोग नियोग यूएसएडका लागि तयार गरेको एक प्रतिवेदनमा हिमताल विस्फोटलगायतका कुनै पनि प्रकोपको खतरा नरहेको उल्लेख गरिएको थियो । 

हिमालका मान्छे भनेर चिनिने स्विट्जरल्यान्डका मौरिस हरजोगले अरुण उपत्यकाको भ्रमण गरेर उक्त प्रतिवेदन तयार गरेका थिए । हरजोगले अरुण आयोजनाको प्रस्तावित बाँध र बरुण हिमतालबीचको दूरी ५० किमि रहेको भन्दै हिमतालको प्रकोप नपर्ने ठोकुवा गरेका थिए । उनले २३ अप्रिल १९९५ मा हेलिकप्टरबाट पनि अध्ययन गरेको प्रतिवेदनमा उल्लेख गरेका थिए । उनले २०३८/०३९ को दशकमा मकालु बरुण आधार शिविरसम्म जाने क्रममा पनि अध्ययन गरेको बताएका थिए । 

हरजोगनको प्रतिवेदनअनुसार तल्लो बरुण हिमतालको लम्बाइ १ हजार मिटर र चौडाइ ५ सय मिटर रहेको छ । उक्त हिमतालको क्षेत्रफल शून्य दशमलव ६ किमि र गहिराइ १ सय मिटर रहेको प्रतिवेदनमा उल्लेख थियो । त्यतिबेला हिमतालमा कुल २ करोड ८० लाख घनमिटर पानी रहेको अनुमान गरिएको थियो । 

अरुण बनाउने योजना दशकदेखि चर्चामा सीमित रहेका बेला विश्व बैंकको अध्ययन टोली नेपाल आउन लागेको पूर्वसन्ध्यामा स्थानीय, अरुणविरोधी अभियन्ता, सरकार र सरोकारवालाको भनाइलाई समेत समेटेर तयार गरेको समाचार कान्तिपुर दैनिकले ‘अरुण आयोजना अनुसन्धानको संघारमा’ शीर्षकमा २०५२ जेठ १४ मा प्रकाशित गरेको थियो । 

प्रस्तुतिः ऋषिराम पौड्याल 

कान्तिपुर

Link copied successfully