केन्द्रीय गलैंचा उद्योग संघको २०५२ वैशाख २४ मा काठमाडौंमा भएको साधारणसभामा बोल्दै प्रधानमन्त्री अधिकारीले बालश्रमको विषय उठाएर गलैंचा उद्योग संकटमा पारेको भन्दै असन्तुष्टि जनाएका थिए ।
What you should know
काठमाडौँ — विसं २०५०/०५१ सम्म नेपालको निर्यात व्यापारको पहिलो उत्पादन नै गलैंचा थियो । बर्सेनि १३ देखि १४ अर्बको निर्यात हुन्थ्यो । निर्यात व्यापारको झण्डै ६० प्रतिशत हिस्सा गलैंचाले ओगटेको थियो । २०५२ सालसम्म आइपुग्दा निर्यात व्यापार १० अर्बमा झरेको थियो ।
त्यतिबेला गलैंचा निर्यातको प्रमुख गन्तव्य जर्मनी थियो । तर नेपालमा बालबालिकाको श्रमबाट गलैंचा बुन्ने गरिको सन्देश बाहिरी मुलुकमा प्रवाह गरेका कारण निर्यात व्यापार खुम्चिँदै गएको थियो । आन्तरिक रूपमा मुलुकभित्रै पनि गलैंचाले प्रदूषण बढाएको, खानेपानीको अभाव सिर्जना गरेको जस्ता आवाज एकाथरीेले लगातार उठाइरहेका थिए । बालश्रमको मुद्दा निकै जल्दोबल्दो रूपमा उठेको थियो । यसले अमेरिका, युरोप र जर्मनीमा हुँदै आएको व्यापारमा ह्रास आउन थालेको थियो ।
नेपालका संघसंस्थासँगै रगमार्ग भन्ने विदेशी संस्थाले समेत गलैंचामा बालमजदुर लगाएको विषय उठाएका थिए । त्यसैले बालश्रमको विषय अन्तर्राष्ट्रिय तहमा पुगेको थियो । संघसंस्थाको लबिइङका कारण जर्मनीको पानोरमा टेलिभिजनले बालश्रमको विषयमा डकुमेन्ट्री नै बनाएर प्रचार गरेको थियो ।
विदेशी मुद्रा आर्जन गरिरहेको र हजारौंले रोजगारी पाएको गलैंचा उद्योग धराशायी हुँदै गएका बेला तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले काठमाडौंमा विद्यमान खानेपानी अभाव र वातावरणको निहुँमा गलैंचा उपत्यका बाहिर पठाउने प्रवृत्तिको आफू विरोधी भएको बताएका थिए । उनले भनेका थिए, ‘प्रदूषणका लागि दोष दिने चलनको म सख्त विरोधी हुँ ।’
केन्द्रीय गलैंचा उद्योग संघको २०५२ वैशाख २४ मा काठमाडौंमा भएको साधारणसभामा बोल्दै प्रधानमन्त्री अधिकारीले बालश्रमको विषय उठाएर गलैंचा उद्योग संकटमा पारेको भन्दै असन्तुष्टि जनाएका थिए । उनले भनेका थिए, ‘संसारमा कुन ठाउँमा बालश्रम उपयोग भएको छैन ? हामीलाई थाहा छ । पश्चिमी मुलुकमा औद्योगिकीकरण गर्दा कति बालश्रमिक थिए ? यो कुरा जर्मनीका कूटनीतिक मित्रहरूलाई बताएको छु ।’
उनले हरेक निर्यात बस्तुलाई युरोपेली आँखाले हेर्ने हो भने नेपालले कुनै पनि बस्तु निर्यात गर्न नसक्ने भनाइ अधिकारीको थियो । तर पनि बालश्रम र वातावरणको विषयमा उद्यमीले पनि ख्याल गर्नुपर्ने सुझाव अधिकारीले दिएका थिए । त्यतिबेला गलैंचा निकासी शुल्कबाट सरकारले बर्सेनि २० करोडभन्दा बढी राजस्व पाउने गरेको थियो । ![[Archive] The Prime Minister's displeasure over the collapse of the carpet industry...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/page1kpr-01122025020231-1000x0.jpg)
प्रदूषण बढेको र पानीको अभाव भएको मुद्दा उठाएर गलैंचा कारखानालाई उपत्यकाबाहिर लैजाने निर्णय अघिल्लो सरकारले गरेको थियो । केही कारखाना हेटौंडामा लैजान सुरु गरिएको थियो । साथै बालश्रममुक्त गलैंचा भन्ने ट्याग राख्ने निर्णय पनि भएको थियो । प्रधानमन्त्री अधिकारीले गलैंचा उद्योगमा भारतीय लगानी पनि भित्र्याउन सकिने धारणा अघि सारेका थिए । त्यतिबेला गलैंचा उद्योगले शिक्षाको अवसर नपाएका युवाहरूलाई रोजगारी सिर्जना गराएको थियो । कतिपयले गाउँमा आफ्नै घरमा गलैंचाको तान राखेर बुन्ने गरेको पाइन्थ्यो ।
विदेशी मुद्रा आर्जन गर्ने पहिलो नेपाली बस्तु गलैंचा उद्योग धराशायी हुन लागेकामा सरकारको धारणा तथा व्यवसायीको चाहनालाई सन्दर्भ बनाएर तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५२ वैशाख २५ मा ‘गलैंचा व्यवसाय संकटग्रस्त हुँदै गएकामा प्रम चिन्तित’ शीर्षकमा प्रकाशित गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] The Prime Minister's displeasure over the collapse of the carpet industry...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/galaichha-0682025013553-1000x01-01122025020415-1000x0.jpg&w=1001&h=0)