[अर्काइभ] भारतबाट फर्केको ३८ घण्टामै चीन उडेका थिए मनमोहन

सडकमा गुञ्जने भारतविरोधी आवाज र सत्तामा पुगेपछिको यथार्थता फरक छ भन्ने सन्देश अधिकारीको भारत भ्रमणले दिएको थियो । अधिकारी भारत भ्रमणलगत्तै चीनको भ्रमणमा निस्कनुले पनि पहिलो प्राथमिकता भारत नै हो भन्ने सन्देश दिन खोजेको कूटनीतिक वृत्तमा चर्चा थियो ।

मंसिर १२, २०८२

कान्तिपुर संवाददाता

[Archive] Manmohan Singh flew to China within 38 hours of returning from India

What you should know

काठमाडौँ — प्रधानमन्त्री नियुक्त भएपछि पहिलो विदेश भ्रमण भारतमा कि चीनमा ? यो विषय नेपाली राजनीतिक वृत्तमा उठ्ने गरेको सदावहार जिज्ञासा हो । यसको निकै ठूलो कूटनीतिक अर्थ लगाउने चलन अहिले पनि कायमै छ । छिमेकी कुन मुलुकले औपचारिक भ्रमणको पहिलो निम्तो दियो ? पहिलो भ्रमणका लागि प्रधानमन्त्रीले छिमेकी भारत र चीन कुन रोज्यो ? यसबारेमा विभिन्न ढंगले अर्थ लगाउने गरिन्छ ।

जता गए पनि प्रधानमन्त्रीले जुन देशको पहिलो भ्रमण गर्‍यो, सरकार त्यतै ढल्किएको बुझ्ने चलन रहेको छ । ५० को दशकमा त आमनागरिकमा पनि नेपाली कांग्रेस भारतसँग र एमालेसहितका कम्युनिस्ट पार्टीहरू चीनसँग नजिक रहेको बुझाइ थियो । खासगरी वामपन्थी दलहरूले सडकदेखि सदनसम्म लगाउने गरेको नाराले पनि कांग्रेस भारततिर र कम्युनिस्ट पार्टीहरू चीनतिर भन्ने सन्देश दिने गरेको थियो । 

नेपालका कम्युनिस्ट पार्टीहरूले विभिन्न फोरम, सडक र राजनीतिक गतिविधिका क्रममा १९५० को शान्ति तथा मैत्री सन्धिको खारेजी वा पुनरावलोकन, टनकपुर सम्झौता, सीमा विवाद, व्यापार तथा पारवहनजस्ता भारतसँग जोडिएका विषय निरन्तर उठाउने गरेका थिए । २०४६ को परिवर्तनपछि पनि सरकारविरुद्ध सडकमा लगाउने स्थायी नारामा जहिल्यै कांग्रेस र भारत जोडिएकै हुन्थ्यो ।

भारतको विरोध गरेपछि राष्ट्रवादी बनिन्छ भन्ने बुझाइ अहिले पनि कायम छ । त्यसैले कतिपय वामपन्थी र पञ्चायती पृष्ठभूमि भएका राजनीतिज्ञले नेपाल–भारत सीमामा गाह्रो लगाएर छेक्नुपर्ने, पासपोर्ट लागू गर्नुपर्ने, भारतसँग युद्ध नै गर्नुपर्ने जस्ता अर्थ लाग्ने गरी सन्देश दिइरहेको पाइन्छ ।

२०४६ को परिवर्तनपछि २०५१ मा एमाले सरकार बन्नुअघि नेपालका एमालेसहितका कम्युनिस्ट पार्टीहरूको भारतसँगको सम्बन्ध (खासगरी भारतको संस्थापन पक्षसँग) राम्रो देखिँदैनथ्यो । त्यसैले २०५१ मंसिरमा एमाले नेतृत्वमा अल्पमतको सरकारका प्रधानमन्त्री मनमोहन अधिकारीको पहिलो भ्रमण भारतमा हुन्छ कि चीनमा भन्ने जिज्ञासा कूटनीतिक क्षेत्रमा व्याप्त थियो ।

अन्ततः प्रधानमन्त्री अधिकारीले २०५१ चैत २७ देखि भारतमा पहिलो औपचारिक भ्रमण गरेका थिए । प्रतिपक्षमा रहँदा भारतको विषयमा एमालेको धारणा निकै कडा र रुखो भए पनि नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री अधिकारीको पहिलो भ्रमण भारतमै भएको थियो । 

भारतको पाँचदिने भ्रमण सकेर नेपाल फर्केका प्रधानमन्त्री अधिकारी ३८ घण्टाभित्रै २०५२ वैशाख ३ मा चीन भ्रमणमा निस्केका थिए । त्यसले पनि जो प्रधानमन्त्री भए पनि भारतको भ्रमण नगरी चीनको भ्रमण गर्दा सरकार नै टिक्दैन भन्ने बुझाइ अहिले पनि रहेको छ ।[Archive] Manmohan Singh flew to China within 38 hours of returning from India

सम्भवतः यो बुझाइ त्यतिबेला पनि थियो । त्यसैले सडकमा गुञ्जने भारतविरोधी आवाज र सत्तामा पुगेपछिको यथार्थता फरक छ भन्ने सन्देश अधिकारीको भारत भ्रमणले दिएको थियो । अधिकारी भारत भ्रमण लगत्तै चीनको भ्रमणमा निस्कनुले पनि पहिलो प्राथमिकता भारत नै हो भन्ने सन्देश दिन खोजेको कूटनीतिक वृत्तमा चर्चा थियो । 

अधिकारी चीनको औपचारिक भ्रमणमा जाने पहिलो कम्युनिस्ट प्रधानमन्त्री थिए । नेपाल–चीनबीच उच्चस्तरीय भ्रमणको आदान–प्रदान १९५६ मा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यका समयमा भएको थियो । चीन र नेपालबीच १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । प्रधानमन्त्री अधिकारीले चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै चीनसँग आर्थिक तथा यातायातको क्षेत्रमा सहयोग आदान–प्रदान हुने जानकारी दिएका थिए ।

चीनका प्रधानमन्त्रीको निम्तामा पाँच दिने भ्रमणमा निस्केका अधिकारीको टोलीमा श्रीमती साधना अधिकारी, निर्माण तथा यातायात राज्यमन्त्री अशोककुमार राई, एमाले उपमहासचिव तथा सांसद वामदेव गौतम, सांसदहरू शरदसिंह भण्डारी, खोभारी राय यादव, काशीनाथ अधिकारी, विष्णु पौडेल र गोल्छे सार्की रहेका थिए । उद्योगपति, व्यापारी, सञ्चारकर्मीसहित ३५ जनाको टोलीको नतृत्व अधिकारीले गरेका थिए । 

भ्रमणका क्रममा चीनका राष्ट्रपतिसँग भेटघाट र कुराकानीको कार्यक्रम तय गरिएको थियो । अधिकारीले नेपाल–चीनबीच रहेको सद्भाव र मित्रतालाई बढाउनु पनि भ्रमणको उद्देश्य रहेको बताएका थिए । उनले नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच वार्ता गर्न तयार रहेको जानकारी गराएका थिए । अधिकारीले चीनपछि मंगोलियाको भ्रमण गर्ने कार्यक्रम रहेको थियो । 

नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्रीले भारत र चीनको भ्रमण र दुई छिमेकी मुलुक नेपालका लागि कति महत्त्वपूर्ण छन् भन्ने सन्दर्भ जोडेर कान्तिपुर दैनिकले तयार गरेको समाचार २०५२ वैशाख ४ गते ‘प्रम चीन भ्रमणका लागि प्रस्थानः नेपाल–चीन सम्बन्ध अझ सुदृढ हुने विश्वास’ शीर्षकमा प्रकाशित गरिएको थियो ।

 प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully