[अर्काइभ] अधिकारीको रावसँग भेट, यस्तो थियो भारत भ्रमणको उपलब्धि

मनमोहन अधिकारीले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरसिंह रावसँग नेपालको चाहना र एजेन्डा प्रस्ट रूपमा राखेका थिए । तर संयुक्त विज्ञप्तिमा भने ‘छलफलका लागि छलफल गर्न सहमति भएको’ सन्देश मात्र प्रवाह गरिएको थियो ।

मंसिर ११, २०८२

कान्तिपुर संवाददाता

[Archive] Adhikari's meeting with Rao, this was the achievement of the India visit

What you should know

काठमाडौँ — एमाले नेतृत्वमा सरकार बनेपछि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५१ चैत २७ बाट पाँचदिने भारत भ्रमण गरेका थिए । भ्रमणको सिलसिलामा भारतसँग औपचारिक र अनौपचारिक मुख्य एजेन्डा प्रस्तुत गरिएको थियो । एजेन्डाहरू नेपालसँग भएको १९५० को शान्ति तथा मैत्री सन्धि, जलस्रोतको उपयोग, व्यापार, टनकपुर सन्धि, सीमा विवादलगायत थियो ।

प्रतिपक्षमा रहँदा भारतप्रति अनुदार अभिव्यक्ति दिँदै आएको एमालेले सत्तामा पुगेपछि के गर्ला भन्ने जिज्ञासा मुलुकभित्र सर्वत्र चर्चामा रहेका बेला अधिकारीको भारत भ्रमण भएको थियो ।

सरकार गठन भएको पाँच महिनापछि प्रधानमन्त्री अधिकारीले भारतको औपचारिक भ्रमण गरेका थिए । भ्रमणका क्रममा भारतीय प्रधानन्त्री पीभी नरसिंह राव र नेपालका प्रधानमन्त्री मनमोहन अधिकारीबीच सामूहिक र ‘वान टू वान’ वार्ता भएको थियो । भ्रमणको तेस्रो दिन दुवै मुलुकका प्रधानमन्त्रीहरूबीचको सहमतिअनुसार नेपालका परराष्ट्र सचिव केदारभक्त श्रेष्ठ र भारतीय विदेश सचिव सलमान हैदरले २०५१ चैत २९ मा संयुक्त विज्ञप्ति प्रकाशित गरेका थिए । 

प्रधानमन्त्री अधिकारीले नयाँदिल्लीको भ्रमण सकेर कलकत्ता जाने दिन दुवै मुलुकका तर्फबाट जारी विज्ञप्तिमा १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकनका विषयमा छलफल भएको उल्लेख गरिएको थियो । ‘दुवै देशका नेताहरू १९५० को सन्धिबारे छलफल जारी राख्न सहमत भएका छन् । द्विपक्षीय हितका अन्य सबै सान्दर्भिक विषयमा दुवै देशबीच यथायोग्य तहमा छलफल जारी नै रहने छ,’ विज्ञप्तिमा भनिएको थियो । 

व्यापार र पारवहनको क्षेत्रमा भारतले काण्डला र बम्बईको बन्दरगाह अतिरिक्त रूपमा उपलब्ध गराउने, नेपालमा उत्पादित बस्तुहरूका लागि भारतीय बजार उपलब्ध गराउनेबारे दुवै देशका सरकारले विचार गर्ने र व्यापार र वाणिज्यका लागि दुवै मुलुकका अन्तरसरकारी संयन्त्रले पुनरावलोकन गर्ने संयुक्त वक्तव्यमा उल्लेख गरिएको थियो । त्यतिबेला प्रधानमन्त्री अधिकारीले भारत पक्षलाई १९५० को सन्धि पुनरावलोकन गर्न सफल भएको विश्लेषण भएको थियो ।[Archive] Adhikari's meeting with Rao, this was the achievement of the India visit

जलस्रोतको उपयोग, टनकपुर सन्धि, व्यापारजस्ता विषयमा भने ठोस उपलब्धि देखिएको थिएन । भ्रमण टोलीमा सहभागी नेपाली कांग्रेसका सांसद ढुण्डीराज शास्त्रीले प्रधानमन्त्री अधिकारीले भारतसँग १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकन गर्न प्रस्ट कुरा राखेको बताएका थिए । शास्त्रीले उक्त सन्धिलाई भविष्यमा राजनीतिक नाराका रूपमा प्रयोग भएमा पुनरावलोकन गर्न कठिन हुने प्रतिक्रिया दिएका थिए । 

अधिकारीले भ्रमणका सिलसिलामा कलकत्ता पुगेका भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का नेता तथा पश्चिम बंगालका मुख्यमन्त्री ज्योति बसुसँग पनि वार्ता गरेका थिए । बसुसँग भएको वार्तामा भुटानी शरणार्थी समस्या हल गर्नेबारे छलफल भएको जानकारी अधिकारीले दिएका थिए । संयुक्त विज्ञप्तिमा भने भुटानी शरणार्थीको सन्दर्भ उल्लेख थिएन ।

त्यतिबेला नेपालमा बसोबास गरिरहेका शरणार्थी समस्याका रूपमा रहेको थियो । त्यसमा भारतीय सहयोगबिना समस्या हल हुने सम्भावना थिएन । अधिकारीले भारतीय उद्योग संघ (सीआईआई)को पूर्व क्षेत्रको बैठकलाई सम्बोधन गर्दै एमाले सरकारले अपनाएको खुला अर्थतन्त्रका बारेमा भ्रममा नपर्न आग्रह गरेका थिए । एमाले सरकारप्रति भ्रम सिर्जना गरेको भन्दै अधिकारीले भारतीय उद्यमीलाई नेपालमा लगानी गर्न आग्रह गरेका थिए । 

‘आर्थिक उदारवादप्रति हाम्रो प्रतिबद्धताबारे भ्रममा नपर्नुस्,’ उनले भनेका थिए । अधिकारीले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरसिंह रावसँग नेपालको चाहना र एजेन्डा प्रस्ट रूपमा राखेका थिए । तर संयुक्त विज्ञप्तिमा भने ‘छलफलका लागि छलफल गर्न सहमति भएको’ सन्देश प्रवाह गरिएको थियो । कुनै पनि विषय प्रस्ट रूपमा यसै गर्ने भनिएको थिएन । 

अधिकारीको भारत भ्रमण र उपलब्धिमा केन्द्रित भएर पत्रकार किशोर नेपालले कलकत्ता ‘डेट लाइन’मा तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५१ चैत ३० गते ‘अधिकारी र नरसिंहबीच अन्तिम चरणको वार्ता : जलस्रोत र व्यापारको क्षेत्र उपलब्धिविहीन’ शीर्षकमा प्रकाशित गरेको थियो । 

 प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully